इजरेल-हमास युद्धको चार हप्तामा देखिएका पाँच नयाँ वास्तविकता

गाजा स्ट्रिपमा इजरेली आक्रमणपछिको भग्नावशेषमा बसेका एक व्यक्ति

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, केही दिनअघि गाजाको जाबालिया शरणार्थी शिविरमा आक्रमण भएको थियो
    • Author, जेरमी बोवन
    • Role, अन्तर्राष्ट्रिय सम्पादक, दक्षिणी इजरेलबाट

गत ७ अक्टोबरमा हमासले इजरेलमा गरेको आक्रमणपछि प्रकाशन र प्रसारण भएका रेपोर्टाज, विश्लेषण तथा टिप्पणीहरूबारे बुझ्नुपर्ने एउटा कुरा भनेको के हो भने कसैले पनि पूर्ण कथा दिएका छैनन्।

युद्धमैदानमा के भइरहेको छ भनी थाहा पाउन युद्धको तुवाँलोभित्र छिर्न कठिन मात्र छैन, इजरेली र प्यालेस्टिनीहरूको द्वन्द्वको नयाँ स्वरूप अझै देखा परेकै छैन।

अझै पनि घटनाहरू तीव्र गतिमा अघि बढिरहेका छन्। यो लडाइँ अझै फैलनेछ भन्ने डर साँच्चै नै वास्तविक हो।

मध्यपूर्वका नयाँ वास्तविकताहरू बाहिरिएका छन् तर तिनको आकार र स्वरूप चाहिँ यो लडाइँ यस वर्षको बाँकी अवधि र सम्भवतः त्यसभन्दा अगाडि पनि कसरी जानेछ भन्ने कुरामा भर पर्नेछ।

यहाँ हामीलाई थाहा भएका र थाहा नभएका केही कुरा छन्। यो सूची पूर्ण होइन।

सन् २००३ मा इराकमाथि आक्रमण हुँदा अमेरिकी रक्षामन्त्री डोनल्ड रम्सफेल्डले "अज्ञात अज्ञातहरू"को कुरा गर्दा केही मानिसहरूले खिल्ली उडाएका थिए। तर संसारको यस भागमा अन्य कुनै भागमा झैँ त्यस्ता अज्ञात कुराहरू अस्तित्वमा छन् र तिनीहरूको स्वरूप देखिएका बेला तिनले धेरै फरक पार्न सक्नेछन्।

१.

गाजामा हमास र यसको 'जूनिअर' साझेदार इस्लामिक जिहादको शक्ति कमजोर बनाउन इजरेलले सैन्य अभियानलाई अगाडि लैजान्छ भन्ने कुरा निश्चित छ। हमासको आक्रमण, १,४०० भन्दा बढी मानिसको मृत्यु र गाजामा करिब २४० जनालाई बन्धक बनाइएको घटनाले उनीहरू आक्रोशित छन्।

गत ७ अक्टोबरमा हमासको आक्रमणपछि इजरेली सेनाबाट अवकाश पाएका जेनरल नोअम तिबोनले आफ्नी पत्नीलाई गाजासँग सीमा जोडिएको नाहल ओज भन्ने समुदायमा कसरी पुर्‍याए भनी थाहा पाउन मैले उनलाई भेटेँ।

हमासका बन्दुकधारीहरू बाहिर घुमिरहेको सुन्दै सुरक्षित कोठामा बसेका उनका छोराबुहारी र उनीहरूका दुई साना छोरीहरूलाई उद्धार गर्नु उनको उद्देश्य थियो र त्यसमा उनी सफल पनि भए।

अवकाश पाइसकेका भए पनि ६२ वर्षे तिबोन तन्दरुस्त देखिन्छन्। असल्ट राइफल र एक मृत इजरेली सैनिकको हेल्मेट लिएर उनी निस्किए अनि आफूले त्यस दिनको भद्रगोलमा जम्मा गरेका सैनिकहरूको एक समूहको नेतृत्व गर्दै उनी उक्त समुदायमा गए। उनले आफ्नो परिवारसँगै अन्य धेरैको पनि ज्यान जोगाए।

हमासको आक्रमणमा ध्वस्त भएको एउटा घर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, हमासले इजरेलमा आक्रमण गर्दा १,४०० जनाको ज्यान गएको थियो

यी जेनरल एक परम्परावादी तर सिधा कुरा गर्ने इजरेली अधिकारी थिए।

"गाजाले अब दुःख पाउँदै छ... आफ्ना छिमेकीले बच्चाहरू, महिला वा अन्य मानिसको हत्या गर्ने कुरामा कुनै राष्ट्र पनि सहमत हुँदैन। दोस्रो विश्वयुद्धमा पनि तिमीहरू [ब्रिटिश]ले आफ्ना शत्रु मार्‍यौ। अब हामीले गाजामा त्यही गर्नुपर्छ। अब दया गरिँदैन।"

"त्यसो भए मारिएका निर्दोष र निःशस्त्र प्यालेस्टिनीहरूबारे के सोच्नुहुन्छ?" मैले सोधेँ।

"दुर्भाग्यवश यस्तो भइरहेको छ। हामी कठिन छिमेकीसँग बसेका छौँ र हामी बाँच्नुपर्छ... हामीले कठिन निर्णय लिनैपर्छ। अर्को विकल्प छैन।"

अन्य धेरै इजरेलीहरूले पनि निःशस्त्र प्यालेस्टिनीहरूको मृत्यु दुर्भाग्यपूर्ण भए पनि हमासकै गतिविधिका कारण उनीहरू मारिनुपरेको भनाइ दोहोर्‍याइरहेका छन्।

२.

हमासमाथिको इजरेली आक्रमणले डरलाग्दो रक्तपात निम्त्याएको कुरा पनि स्पष्ट छ। हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजारभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ र तीमध्ये ६५ प्रतिशत बालबालिका तथा महिला छन्।

मृत पुरुषहरूमध्ये कति निःशस्त्र थिए अनि कति हमास वा इस्लामिक जिहादका लागि लडिरहेका थिए भन्ने स्पष्ट छैन। अमेरिकी राष्ट्रपति जो बाइडन र इजरेलीहरू उक्त मन्त्रालयको तथ्याङ्कमा विश्वास गर्दैनन्। तर विगतका द्वन्द्वहरूमा मृत्यु तथा घाइतेबारे प्यालेस्टिनी तथ्याङ्कलाई अन्तर्राष्ट्रिय संस्थाहरूले तथ्यपूर्ण मानेका छन्।

युद्धग्रस्त गाजा स्ट्रिपमा एक बच्चालाई फुल्याउँदै एक महिला तथा पुरुष

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गाजामा इजरेली आक्रमणमा युद्ध अपराध भएको हुन सक्ने संयुक्त राष्ट्रसङ्घको भनाइ छ

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले पनि इजरेली हवाई आक्रमणमा धेरै निःशस्त्र नागरिक मारिएको तथा घाइते भएको तथा यस्ता आक्रमणका युद्ध अपराध भएको हुन सक्ने बताएको छ।

हमास आक्रमणको प्रारम्भदेखि नै अमेरिकी राष्ट्रपति जो बाइडनले हमासलाई गाजाको सत्ताबाट हटाउन सैन्य शक्ति प्रयोग गर्ने इजरेली निर्णयको समर्थन गर्दै आएका छन्। तर उनले "सही तरिका"ले यसो हुनुपर्ने बताएका छन्। अर्थात् निःशस्त्र नागरिकलाई युद्धबाट जोगाउन अपनाउनुपर्ने कानुनको इजरेलले पालना गर्नुपर्ने उनको भनाइ छ।

मैले विगत ३० वर्षमा इजरेल संलग्न सबै युद्धको रिपोर्ट गरेको छु। कुनै पनि अमेरिकी सरकारले इजरेलले युद्धका नियम पालना गर्नुपर्ने भनी यसरी सार्वजनिक रूपमा बताएको मलाई सम्झना छैन।

हालै तेल अभिभ आएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले भनेका छन्, "कुनै प्यालेस्टिनी बच्चा भत्काइएको भवनको भग्नावशेषबाट निकालिएको देख्दा त्यसले मलाई भित्रैदेखि छुन्छ, जसरी मलाई इजरेल वा अन्य ठाउँको बच्चा देख्दा।"

३.

हामीलाई थाहा भएको अर्को कुरा के हो भने इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहु उच्च दबावमा छन्।

इजरेलका सुरक्षा तथा सैन्य प्रमुखजस्तो उनले ७ अक्टोबरमा इजरेली सीमानजिकका बस्तीहरूलाई सुरक्षा दिन नसक्नुको व्यक्तिगत जिम्मेवारी स्वीकार गरेका छैनन्।

गत २९ अक्टोबरमा उनले गुप्तचर निकायलाई दोष दिएर एक ट्विट गरे। यसबारे व्यापक चर्चा भएपछि उनले त्यसलाई हटाए र माफी मागे।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहु

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सात अक्टोबरको घटनाका लागि कतिपयले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुलाई दोष दिएका छन्

एक जना शान्ति वार्ताकार, इजरेली आन्तरिक गुप्तचर निकाय शिनबेटका एक पूर्वप्रमुख र एक प्रविधि उद्यमीले 'फरन अफेअर्स' नामक एक जर्नलमा एक लेख लेख्दै नेतान्याहु उक्त युद्ध तथा त्यसपछिका अन्य घटनामा सामेल हुन हुँदैनथ्यो भनेका छन्। उनीप्रति प्रतिबद्ध समर्थक पनि होलान् तर इजरेलको सैन्य तथा सुरक्षा संस्थापनका प्रतिष्ठित व्यक्तिहरूको विश्वास उनले गुमाएका छन्।

आफ्नो परिवारको रक्षा गर्न सफल भएका अवकाशप्राप्त जेनरल नोअम तिबोन नेतान्याहुलाई विन्स्टन चर्चिलअघिका ब्रिटिश प्रधानमन्त्री नेभिल चेम्बरलेनसँग तुलना गर्छन्। चेम्बरलेनलाई सन् १९४० मा राजीनामा दिन बाध्य पारिएको थियो।

तिबोनले मलाई भने, "इजरेलको इतिहासमा यो सबैभन्दा ठूलो विफलता हो। यो सैन्य असफलता हो, गुप्तचरको असफलता हो र राज्यको असफलता हो। वास्तवमै नेतृत्वमा रहेका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुलाई दोष जान्छ।... उनी इजरेलको इतिहासमा सबैभन्दा ठूलो असफलताको नेतृत्वमा छन्। "

४.

पुरानो यथास्थिति भङ्ग भएको कुरा पनि स्पष्ट छ। हुन त त्यो अवस्था पनि कुरूप र खतरनाक नै थियो तर निराश भए पनि हामीसँग परिचित स्थिरताजस्तो देखिन्थ्यो। सन् २००५ ताका प्यालेस्टिनी आन्दोलनको अन्त्य भएपछि नेतन्याहुले जेमा विश्वास गर्छन् त्यसलाई अनन्त कालसम्म टिकाउन सकिन्छझैँ देखिन्थ्यो। इजरेली र प्यालेस्टिनीलगायत सबैका लागि त्यो एउटा खतरनाक भ्रम थियो।

त्यसपछि प्यालेस्टिनीहरू इजरेलका लागि खतरा होइनन् बरु व्यवस्थापन गर्नुपर्ने समस्या हुन् भन्ने तर्क अघि सारियो। त्यसका लागि दण्ड तथा पुरस्कार अनि "फुटाऊ र राज गर"को प्राचीन साधन उपलब्ध थिए।

सन् २००९ पछिको अधिकांश समय प्रधानमन्त्री भएका नेतन्याहुले निरन्तर शान्तिका लागि इजरेलको कुनै साझेदार नभएको तर्क निरन्तर गर्दै आएका छन्।

तर सम्भवतः इजरेलसँग यस्तो साझेदार छ। हमासको मुख्य प्रतिस्पर्धीका रूपमा रहेको प्यालेस्टिनिअन अथोरिटी (पीए) एउटा त्रुटिपूर्ण सङ्गठन हो र यसको समर्थन गर्ने धेरैले यसका पाका उमेरका अध्यक्ष महमुद अब्बासले राजीनामा दिनपुर्ने विश्वास गर्दछन्। तर यसले सन् १९९० को दशकमा इजरेलकै समर्थनमा प्यालेस्टिनी राज्य स्थापना गर्ने विचारलाई समर्थन गरेको थियो।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र प्यालेस्टिनिअन अथोरिटीका नेता मोहम्मद अब्बास

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, नेतान्याहुले हमास र (अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनसँग हात मिलाएको देखिएका) महमुद अब्बास नेतृत्वको प्यालेस्टिनिअन अथोरिटीबीच विभाजनको रेखा कोर्ने प्रयास गरेका छन्

५.

अमेरिकी समर्थन पाएको इजरेलले हमासलाई सत्तामा रहन दिने कुनै पनि सम्झौता स्विकार्ने छैन भन्ने पनि स्पष्ट छ। यसको अर्थ अझ धेरै रक्तपात हुनु हो। अनि अब तिनलाई कसले वा केले विस्थापन गर्छ भन्ने अनुत्तरित प्रश्न पनि खडा गर्छ।

जोर्डन नदी र भूमध्यसागरबीचको भूभागको नियन्त्रणका विषयमा अरबी र यहुदीहरूबीचको द्वन्द्व १०० वर्षभन्दा बढी भइसकेको छ। यसको लामो तथा रक्तपातपूर्ण इतिहासले त्यसको कहिल्यै पनि सैन्य समाधान हुन नसक्ने पाठ सिकाएको छ।

सन् १९९० को दशकमा इजरेलनजिकैको पूर्वी जेरुशलेम राजधानी हुने गरी प्यालेस्टिनी राज्य स्थापना गर्दै द्वन्द्व अन्त्य गर्ने प्रयासमा ओस्लो शान्ति प्रक्रिया सुरु भएको थियो। वार्ता हुँदै र रोकिँदै वर्षौँ बितेपछि यस प्रयासलाई पुनर्स्थापना गर्ने अन्तिम प्रयास ओबामा प्रशासनका समयमा भएको थियो। एक दशकअघि यो पनि असफल भयो अनि त्यसपछि युद्ध झनै खराब हुने अवस्था भयो।

गाजामा मारिएका सैनिकलाई श्रद्धाञ्जली दिँदै सैन्यचिकित्सकr killed in Gaza

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गाजामा स्थल कारबाही सुरु भएदेखि २० भन्दा बढी इजरेली सैनिकहरू मारिइसकेका छन्

अमेरिकी राष्ट्रपति बाइडन र अन्य धेरैले भनेझैँ थप युद्ध छल्ने एक मात्र सम्भव उपाय भनेको इजरेलसँगै प्यालेस्टिनी राज्य स्थापना गर्नु हो। दुवै पक्षमा हालकै नेतृत्व रहुन्जेल त्यो सम्भव हुनेछैन। यस प्रस्तावलाई विफल तुल्याउन दुवै पक्षका अतिवादीहरूले यथासम्भव प्रयास गर्नेछन्। सन् १९९० मा पनि उनीहरूले त्यसै गरेका थिए।

उनीहरूमध्ये केहीले आफूले "ईश्वरको इच्छा" पछ्याएको बताएका छन् र यस तर्कका कारण उनीहरूलाई धर्मनिरपेक्ष सम्झौताका लागि मनाउन असम्भव भएको छ।

तर यदि युद्धले गहिरोसँग गाडिएका पूर्वाग्रहहरू तोडिने गरी र 'दुई राज्य समाधान' को सम्भावनालाई मूर्त रूप दिने गरी झड्का दिन सकिएन भने केही पनि हुनेवाला छैन। द्वन्द्व अन्त्य गर्न दुवै पक्षले स्वीकार गर्ने उपायबिना इजरेली र प्यालेस्टिनी दुवै पक्षका थप पुस्ताहरू युद्धमा होमिनुपर्नेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।