गाजामा इजरेलको स्थल आक्रमणले कस्तो स्वरूप लिनसक्छ?

गाजाको सीमा नजिकै इजरेली सैनिक बोकेको ट्याङ्क

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, गाजाको सीमा नजिकै इजरेली सैनिकका ट्याङ्कहरू परिचालित छन्
    • Author, जोनाथन बील
    • Role, रक्षा संवाददाता

इजरेलले गाजामा स्थल आक्रमण गर्ने तयारी गरिरहेको छ।

उसको सेनाले गाजाको उत्तरी क्षेत्रमा बसिरहेका ११ लाख मानिसहरूलाई दक्षिणमा स्थानान्तरण हुन भनेको छ। यसैबीच दशौँ हजार फौज, ट्याङ्क र गोलीगठ्ठाहरू सीमा नजिकै तैनाथ गरिएका छन्।

तर व्यापक जनघनत्व रहेको गाजाको शहरी क्षेत्रहरूमा स्थल फौजहरू पठाएर गरिने सैन्य कारबाही जोखिमसहितको चुनौती हो।

अहिलेसम्म उक्त सम्भावित स्थल कारबाहीको दायरा प्रस्ट छैन। उक्त आक्रमण कति परसम्म जान्छ र कति समय चल्छ भन्नसक्ने अवस्था छैन।

कहिलेबाट आक्रमण हुनसक्छ?

स्थल कारबाहीका लागि आवश्यक पूर्व तयारीहरू सुरु भइसकेका छन्।

मेजर जनरल आमोस गिलीअड इजरेली डिफेन्स फोर्सेजका अवकाशप्राप्त वरिष्ठ अधिकारी हुन र उनले विगतमा गाजामा सैन्य कारबाहीबारे विज्ञता हासिल गरेका छन्। उनका अनुसार इजरेलले सबैभन्दा पहिला गर्नुपर्ने काम भनेको अब हुने घटनाक्रममा नागरिकको समर्थन प्राप्त गर्नसक्ने एकताको सरकार बनाउनु हो।

हालै भएका अमेरिकी र युरोपेली नेताहरूका उच्चस्तरीय कूटनीतिक भ्रमणहरूले इजरेललाई अन्तर्राष्ट्रिय समर्थन वृद्धि गर्न सघाएको छ। तर यो ऐक्यबद्धता युद्ध लम्बिँदा र गैर सैनिक नोक्सानी बढ्दै जाँदा कमजोर पनि हुनसक्छ।

सैनिक कारबाहीका क्रममा इजरेली सेनाले भोग्नसक्ने उल्लेख्य क्षतिले पनि उसको सामर्थ्यको परीक्षण गर्नेछ।

सैनिक तयारीको कुरा गर्दा इजरेलले गाजाको सीमा नजिकै आफ्ना फौजहरूलाई तैनाथ गरिसकेको छ। आपत्कालीन अवस्थामा फौजमा तत्कालै भर्ना गर्न सकिने सैनिक तालिम पाएका करिब तीन लाख जगेडा फौजहरूलाई क्रियाशील गराइएको छ भने १ लाख ६० हजार भन्दा बढी नियमित सैनिकहरूलाई तम्तयार अवस्थामा राखिएको छ।

एउटा साङ्गितिक कार्यक्रममा झन्डै २६० जनाको ज्यान गएको क्षेत्रमा पट्रोल गर्दै इजरेली सैनिक

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, झन्डै २६० जनाको ज्यान गएको एउटा साङ्गीतिक कार्यक्रममा भएको क्षेत्रमा अहिले इजरेली सैनिकले गस्ति गरिरहेका छन्

हालै दक्षिणमा पुगेका कतिपय त्यस्ता अल्पकालीन फौजीहरूसँग हामीले कुरा गरेका थियौँ र उनीहरूको मनोबल उच्च पाइएको छ।

हमासले आक्रमण गरेको पहिलो पटक थाहा पाउँदा श्रीलङ्कामा रहेका निजिमले आफ्नो युनिटमा हाजिर हुन पहिलो फ्लाइट समातेका थिए। “यो हाम्रो घर हो। हामीले यसको लागि लड्नै पर्छ,” उनले भने।

सुकीले व्यापारसँग सम्बन्धित आफ्नो जागिर तुरुन्तै छाडे। उनले भने, “हामी शान्ति स्थापना भएको देख्न चाहान्छौँ। तर दुर्भाग्यवश त्यो सम्भव छैन। हामी जीवनमा रमाइलो गर्छौँ त्यही भएर हाम्रो बाँच्ने अधिकारको लागि हामीले लड्नै पर्छ।”

कारबाहीको आवश्यकताबारे इजरेल एकमत देखिन्छ र लडाइँको आदेशको त्यहाँ प्रतीक्षा भइरहेको छ। जति लामो समय फौजहरूलाई कुराइन्छ त्यति नै उनीहरूको तत्परता र मनोबल कायम राख्न अप्ठेरो देखा पर्न सक्छ।

गाजामा रहेका प्यालेस्टिनीहरूलाई दक्षिणतर्फ भाग्न इजरेलले दिएको चेतावनी अर्को चरणको उसको सैनिक कारबाही अवश्यम्भावी भएको सङ्केत हो।

आक्रमणको तयारी

इजरेलको पहिलो काम आफ्नो भूमिको सुरक्षा गर्नु र सीमा पार गरेर आफ्नो मुलुकभित्र प्रवेश गरी १,३०० जनाभन्दा बढीको हत्या गर्ने र कम्तीमा डेढ सय जनालाई बन्धक बनाउने हमास विद्रोहीहरूको हत्या गर्ने, वा उनीहरूलाई नियन्त्रणमा लिने र सोधपुछ गर्ने रहेको थियो।

इजरेलले हमासको सैनिक नेतृत्व र पूर्वाधारहरूलाई निशाना बनाउँदै अहिले नै व्यापक हवाई आक्रमणहरू गरिसकेको छ।

पछिल्लो पटक छ दिनमा उसको वायु सेनाले गाजामा ६,०००भन्दा बढी बम खसालेको छ। तुलना नै गर्ने हो भने सन् २०११ मा लिबिया युद्धमा नेटोका फौजहरूले पुरै लडाइँ अवधिभर ७ हजार ७०० बम खसालेका थिए।

अहिलेसम्म गाजामा गरिएका हवाई आक्रमणमा १५ सय भन्दा बढीको ज्यान गएको छ।

हमलाको योजना गोप्य रूपमा अघि बढाइने भएपनि इजरेलले वर्षौँदेखि त्यसका लागि तयारी गर्दै आएको थियो। उसले आफ्ना फौजहरूको तालिम दशौँ लाख डलर खर्च गरेर दक्षिणमा निर्माण गरिएको एउटा सहरी युद्ध अभ्यास केन्द्रमा गराउँदै आएको थियो। उक्त स्थानलाई मिनी गाजा भन्ने गरिएको छ।

इजरेल

त्यहाँ उनीहरूले साँघुरो गरी निर्माण गरिएका भवन र सुरुङहरूमा कसरी लडाइँ गर्ने भन्ने अभ्यास गरेका छन्। हमासले एक हजार भन्दा बढीको सङ्ख्यामा त्यस्ता संरचना बनाएको ठानिन्छ।

जेरुसलेम पोस्टका पूर्व सम्पादक तथा इजरेली सेनाबारे प्रकाशित कैयौँ पुस्तकका लेखक याकोभ कात्सका अनुसार विशिष्ट बिग्रेडहरूलाई यस्तो खालको परिस्थितिमा काम गर्न प्रशिक्षित बनाइएको छ। उनले इन्जिनियरहरू, हतियारसहितका बुल्डोजर र ट्याङ्कहरूले मिलेर त्यस्तो कारबाही गर्ने अभ्यास गरेको जनाए।

सहरी युद्ध मैदान र सुरुङ

अवकाशप्राप्त मेजर जनरल याकोभ एमिडरोर इजरेली रक्षा फौझ आइडीएफका पूर्व कमान्डर र पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार हुन्। उनले हमास विरुद्धको लडाइँ कठिन हुने स्वीकार गरे।

हमासले विस्फोटक पदार्थसहितका धराप प्रवेश द्वार र साँघुरा गल्लीहरूमा थाप्ने उनले बताए। इजरेलले हमासका फौजीहरूको सङ्ख्या ३० हजार रहेको अनुमान गरेको छ। उनीहरूसँग स्वचालित राइफल, रकेट, ग्रिनेड र ट्याङ्कलाई समेत ध्वस्त पार्नसक्ने क्षेप्यास्त्रसहितका अस्त्र छन्। त्यसमध्ये कतिपय रुसमा बनेका हुन्।

अझै पनि हमाससँग रकेटहरूको ठूलो भण्डार छ जुन उनीहरूले इजरेलतर्फ प्रहार गरिरहेका छन्। याकोभ कात्स भन्छन्, हमासले आत्मघाती हमला गर्ने सामर्थ्य भएका साना ड्रोनहरू पनि आफैँ उत्पादन गर्दै आएको छ।

उनले उक्त समूहसँग काँधमा राखेर आकाशमा रहेका मिसाइल खसाल्न प्रयोग गर्न सकिने अस्त्रहरूको सीमित भण्डार भएको पनि उल्लेख गरे।

हमाससँग इजरेलजस्तै बख्तर बन्द गाडी, ट्याङ्क र गोलाबारी छैन। तर व्यापक जनघनत्व रहेको सहरी क्षेत्रमा युद्ध गर्नु इजरेलका लागि चुनौती हो। सुरुङ युद्धका लागि इजरेलसँग विशिष्ट इन्जिनियरिङ शक्ति छ र उसको अर्को युनिटले कुकुरहरूलाई प्रयोग गरेर फौजी कारबाही गर्नसक्छ।

कात्स भन्छन् इजरेली फौज अत्यावश्यकबाहेक अन्य अवस्थामा सुरुङभित्र प्रवेश गर्ने छैनन्। हमास सुरुङसँग बढी परिचित भएर तीनलाई विस्फोटक पदार्थले ध्वस्त पारिदिनसक्ने भएकाले फौजहरू चनाखो हुने उनी ठान्छन्।

बन्धकहरूको भविष्य

हमास लडाकु

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हमासलाई नष्ट गर्ने इजरेलको घोषित नीति हो

इजरेलबाट बन्धक बनाइएका मानिसहरूको विषयले पनि स्थल कारबाहीलाई जटिल बनाउनेछ।

मेजर जेनरल गिलिअड सन् २००६ देखि सन् २०११ सम्म पाँच वर्ष हमासले बन्धक बनाएका एक जना इजरेली सैनिक गिलाड सलिटको रिहाइ सम्बन्धी वार्ताहरूमा सहभागी थिए। एक हजार भन्दा बढी प्यालेस्टिनी बन्दीहरूसँग उनलाई साटिएको थियो।

गिलिअड भन्छन् सेनाले बन्धक व्यक्तिहरूको भविष्यलाई पनि ध्यान दिनुपर्ने हुन्छ। “हामीले केही ठोस काम गरेनौँ भने हामी अझ चुनौतीपूर्ण समस्याहरूमा फस्न सक्नेछौँ।”

तर मेजर जेनरल एमिडरर भन्छन्, बन्धकहरूका कारण कारबाही रोकिनेछैन। उनले भने, “हामी अन्त्यसम्म हमाससँग लड्नेछौँ र कारबाहीकै समयमा हामीले बन्धकहरूको पनि खोजी गर्नेछौँ।”

इजरेलको उद्देश्य के हो?

इजरेलको घोषित नीति हमासलाई निमिट्यान्न पार्नु हो।

३० वर्षसम्म इजरेली डिफेन्स फोर्समा काम गरेका मेजर जेनरल गिलिअड विगतमा गाजा भित्र गरिएको कारबाही ‘दमन गर्ने उद्देश्य’साथ भएको भन्दै अब त्यसको दायरा धेरै फराकिलो हुने ठान्छन्।

यसपटक, उनले भने, “हामीले अझ बढी नाटकीय केही गर्नुपर्छ।”

निर्णायक सैनिक कारबाहीले उक्त क्षेत्रमा रहेका इजरेलका अन्य शत्रुहरू हिजबुल्लाह र इरान पनि हच्कने उनको विश्वास छ।

कात्सले इजरेलले बढी व्यवहारिक लक्ष्य राख्ने र उसले भविष्यमा इजरेललाई फेरि आक्रमण गर्ने सामर्थ्य हमासको कहिल्यै नहोस् भन्ने सुनिश्चित गर्न खोज्ने बताए।

उनले भने, “इजरेलले गाजामाथि पुन: नियन्त्रण कायम गर्न र आफूविरूद्ध रहेका २० लाख मानिसहरूको हेरविचार गर्न चाहेको छैन।”

तर पछिल्ला इतिहासहरूले सैनिक अतिक्रमण विरलै योजना अनुसार अघि बढेको सङ्केत गर्छन्।

संसारकै अत्याधुनिक फौजहरू तुरुन्तै विफल हुन सक्छन्। इराक र अफगानिस्तानमा अमेरिकी सेना र युक्रेनमा हालै रुसी सेनाको भोगाइ त्यसका उदाहरण हुन्।

जम्मा ४० किलोमिटर लम्बाई रहेको गाजामा हुने सैनिक कारबाही त्यो स्तरको हुनेछैन तर त्यसको परिणाम प्रस्ट नभएको इन्स्टिट्यूट अफ स्ट्रटिजिक स्टडिजका लेफ्टिनेन्ट जेनरल सर टम बेकेट बताउँछन्।

“साँचो भन्नुपर्दा गाजामा स्थल सैनिक कारबाहीको कुनै राम्रो विकल्प छैन। उक्त कारबाही हमासलाई पराजित गर्न जति नै सफल किन नहोस्, हमासको राजनीतिक अनिवार्यता र प्रतिरोधप्रतिको त्यहाँको जनसङ्ख्याको समर्थन निरन्तर रहनेछ।”

“इजरेलले या त गाजालाई नियन्त्रण गर्नका लागि उसमाथि फेरि कब्जा जमाउँछ या लडाइँपछि पछि हटेर तीनै मानिसहरूलाई जमिन सुम्पिदिनेछ जसका लागि प्रतिरोध नै अस्तित्व हो।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।