इजरेली रक्षा प्रणाली पार गर्न हमासले प्रयोग गरेको दोस्रो विश्वयुद्धकालीन अस्त्र

प्यालेस्टिनी लडाकु प्याराशूटमा उडेर इजरेलतर्फ जाँदै

तस्बिर स्रोत, Hamas

तस्बिरको क्याप्शन, प्यालेस्टिनी लडाकु प्याराशूटमा उडेर इजरेलतर्फ जाँदै
    • Author, मोहम्मद हम्दार र हाना राजिक
    • Role, बीबीसी न्यूज अरबिक

हमासको सैन्य शाखा “इज अल-दिन अल-कसम ब्रिगेड”ले गाजा स्ट्रिप वरिपरिका सहरहरू र एउटा मेलामा जानेहरूलाई लक्षित गर्दै आक्रमण गर्‍यो।

त्यो आकस्मिक र अप्रत्याशित रूपमा गरिएको आक्रमणलाई हमासले “अल-अक्सा फ्लड” भनेको छ।

इजरेली सेनाका प्रवक्ता रेचर्ड हेचले प्यालेस्टिनी लडाकुहरू “प्याराशूट”बाट इजरेलको समुद्री तथा स्थल क्षेत्रमा प्रवेश गरेको पुष्टि गरेका छन्।

सामाजिक सञ्जालमा शेअर गरिएका तस्वीर र भिडिओहरूमा अल-कसम ब्रिगेड प्याराशूटबाट ओर्लिँदै गरेको देखिन्छ।

इजरेलविरुद्ध हमासले यसरी आक्रमण गरेको यो नै पहिलो पटक हो।

लडाकु

तस्बिर स्रोत, Hamas

आकाशबाट सिमानाको तारबार नाघ्दै

प्यालेस्टिनी लडाकुहरू एक वा दुई व्यक्तिका लागि सिट भएका प्याराशूटमा बसेर इजरेलबाट गाजालाई छुट्ट्याउने तारबार पार गर्न सफल भएका थिए।

एउटा जेनरेटर र ब्लेडद्वारा सञ्चालित यस्ता प्याराशूटहरूलाई गाजा स्ट्रिप वरपरका क्षेत्रमा नियन्त्रित रूपमा प्रवेश गराइयो।

प्यालेस्टिनी बन्दुकधारीहरू शनिवार सीमा क्षेत्रको बार पार गरेर दक्षिणी इजरेलका क्षेत्रहरूमा प्रवेश गरे।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, प्यालेस्टिनी बन्दुकधारीहरू शनिवार सीमा क्षेत्रको बार पार गरेर दक्षिणी इजरेलका क्षेत्रहरूमा प्रवेश गरे

दोस्रो विश्वयुद्धमा अपनाइएको रणनीति

सैन्य प्याराशूटहरू नियमित रूपमा सैन्य एकाइहरूका लागि माथिबाट बन्दोबस्तीका सामान खसाल्न प्रयोग हुँदै आएका छन्।

अग्रमोर्चामा रहेको आफ्नो सैन्य टोलीलाई विपक्षीका रेखा पार गराउन सकिन्छ भन्ने उद्देश्यका साथ त्यसो गरिन्छ।

प्याराशूट टोलीहरू पहिलो विश्वयुद्धमा युद्धरत जर्मन र मित्र राष्ट्रहरू दुवैले खटाएका थिए।

दोस्रो विश्वयुद्धको ७८औँ वर्षगाँठ मनाउने क्रममा अमेरिकी सैनिकहरूले सन् २०२२ जुनमा सी-१३० हर्कुलस विमानबाट प्यारासट गर्दै फ्रान्सको नर्मन्डीमा अवतरण गरेका थिए।

तस्बिर स्रोत, Getty images

तस्बिरको क्याप्शन, दोस्रो विश्वयुद्धको ७८औँ वर्षगाँठ मनाउने क्रममा अमेरिकी सैनिकहरूले सन् २०२२ जुन महिनामा सी-१३० हर्कुलस विमानबाट प्याराशूट गर्दै फ्रान्सको नर्मन्डीमा अवतरण गरेका थिए

सन् १९८७ को ग्लाइडर आक्रमण

हमासले शनिवार गरेको आक्रमणले प्यालेस्टाइनको मुक्तिका लागि ‘पपुलर फ्रन्ट’-जनरल कमान्डका दुई प्यालेस्टिनी, एक सिरियाली र एक ट्युनिशियालीले ग्लाइडर प्रयोग गरी आक्रमण गरेको घटना स्मरण गराएको छ।

उनीहरू सन् १९८७ नोभेम्बरमा इजरेली सैन्य क्षेत्रमा आक्रमण गर्न लेबननबाट उडेका थिए।

एकजना इजरेली सिपाही सन् १९८७ नोभेम्बरमा उत्तरी इजरेलको एउटा सैन्य शिविरमा आत्मघाती आक्रमणमा प्रयोग गरिएको मोटरले सञ्चालन हुने ह्याङ्ग ग्लाइडर हेर्दै। त्यहाँ ६ जना इजरेली सैनिकहरू मारिए र सात घाइते भएका थिए।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एकजना इजरेली सिपाही सन् १९८७ नोभेम्बरमा उत्तरी इजरेलको एउटा सैन्य शिविरमा आत्मघाती आक्रमणमा प्रयोग गरिएको मोटरले सञ्चालन हुने ह्याङ्ग ग्लाइडर हेर्दै। त्यहाँ ६ जना इजरेली सैनिक मारिए र सात घाइते भएका थिए

स्थल प्रक्षेपण

मोटर र नियन्त्रणहरूद्वारा सुसज्जित प्याराशूटहरू प्रयोग गरेर तिनीहरूलाई नियन्त्रण गर्न र लडाकुहरू जमिनबाट प्याराशूट प्रक्षेपण गर्न सक्षम भए।

त्यसले गर्दा उनीहरूलाई पहाडमा चढ्ने वा विमानबाट ओर्लने आवश्यकता परेन।

इन्जिनले प्याराशूटलाई प्रतिघण्टा ५६ किलोमिटरसम्मको प्रोपल्सन शक्ति अर्थात् धकेल्ने शक्ति उत्पन्न गर्न मद्दत गर्छ।

प्याराग्लाइडरहरू जमिनबाट औसत ५ हजार मिटरको उचाइमा तीन घण्टासम्म उड्न सक्छन्।

प्याराग्लाइडिङ वेबसाइटहरूका अनुसार उनीहरूले २३० किलोसम्म बोक्न सक्छन् वा उनीहरू चारजना व्यक्तिसम्मलाई एकैसाथ उडाउन सक्छन्।

यी छाता जस्तै जटिल प्रकृतिका उपकरणहरूमा एक जनाका लागि सिट हुन सक्छ अथवा दुईजना व्यक्तिहरू बस्नसक्ने तीन-पाङ्ग्रे डालो हुन सक्छ।

इज अल-दिन अल-कसम ब्रिगेडको "सैन्य मिडिया"ले पोस्ट गरेका भिडिओहरूमा प्याराग्लाइडरहरूले प्याराशूटलाई जमिनबाटै प्रक्षेपण गरिरहेको देखाइएको छ र त्यसलाई एक वा दुई जनाले उडाइरहेको देखिन्छ।

अन्य भिडिओहरूमा लडाकुहरूले इजरेली स्थानमा अवतरण गर्नु र आक्रमण गर्नुअघि आकाशबाटै गोली हानेको देखिन्छ। केही प्याराशूटमा मोटरसाइकलमा लडाकुहरू बसेका थिए।

हमासका लडाकुहरू गाजामा आक्रमणका क्रममा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हमासका लडाकुहरू गाजामा आक्रमणका क्रममा

इजरेली सेनाले किन प्याराशूट पत्ता लगाउन सकेन?

हमास मिडियाद्वारा पोस्ट गरिएका भिडिओहरूमा गाजा स्ट्रिपबाट व्यापक रकेट प्रहारसँगै छलिँदै सशस्त्र प्याराग्लाइडरहरू उडिरहेको देखिन्छ।

उनीहरूमध्ये कोही कम उचाइमा उडिरहेको देखिन्थ्यो भने कोही अलि उचाइमा थिए।

गाजा वरपरको आकाशमा उनीहरूलाई नाङ्गो आँखाले स्पष्ट रूपमा देख्न सकिन्थ्यो।

इजरेली सञ्चारमाध्यमले किन सैन्य एकाइहरूले उनीहरूलाई पत्ता लगाउन सकेनन् भनेर प्रश्न उठाएका छन्।

इजरेली सेनाले अझै पनि त्यसको कारण खुलासा गर्न सकेको छैन। प्याराशूटमा उडेर आएका मानिसहरूको भिडिओ कतिपयले आफ्नो आफ्नो फोनको क्यामेरामा समेत कैद गरेका थिए।

गाजाबाट प्रहार गरिएका रकेट

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, गाजाबाट प्रहार गरिएका रकेट

आइरन डोम

के त्यसो भए इजरेलीहरू गस्ती गर्नुको साटो अधिक रूपमा प्रविधिमा निर्भर थिए भन्ने प्रश्न उठेको छ।

केही विवरणमा इजरेली वायु रक्षा प्रणाली आइरन डोम र रडार त्यस्ता साना वस्तुहरू सामना गर्ने गरी नबनाइएको जनाइएको छ।

गाजा स्ट्रिपबाट इजरेली सहर अस्केलोनतर्फ प्रक्षेपण गरिएका रकेटहरूलाई इजरेलको आइरन डोमले रोकेको देखिन्छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गाजा स्ट्रिपबाट इजरेली सहर अस्केलोनतर्फ प्रक्षेपण गरिएका रकेटहरूलाई इजरेलको आइरन डोमले रोकेको देखिन्छ

यसपालिको आक्रमण

हमासले पाँच हजार वटाभन्दा बढी रकेट प्रहार गरेर आफ्नो अप्रत्याशित आक्रमण सुरु गरेको अल-कसम ब्रिगेडका कमान्डर मोहम्मद अल-डेफले पहिलो दिन जारी गरेको वक्तव्यमा जनाइएको थियो।

गाजाबाट प्रहार गरिएको रकेटले इजरेली सहर अस्केलोनमा सवारीसाधन ध्वस्त पारेको छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, गाजाबाट प्रहार गरिएको रकेटले इजरेली सहर अस्केलोनमा सवारीसाधन ध्वस्त पारेको थियो

रकेट प्रक्षेपणसँगै हमास लडाकुहरूले जमिन र समुद्रमा गनबोट र आकाशमा प्याराशूट प्रयोग गरेर पनि आक्रमण गरे।

सञ्चार र सैन्य विवरणहरूले हवाई सुरक्षालाई छल्नका लागि प्याराशूट आक्रमण गरिएको थियो भन्ने देखाएका छन्।

त्यसले इजरेलमा निकै ठूलो जनधनको क्षति पुर्‍यायो।

हमासले बालबालिकादेखि वृद्धवृद्धासम्मलाईअपहरण गरेको छ
तस्बिरको क्याप्शन, हमासले बालबालिकादेखि वृद्धवृद्धासम्मलाईअपहरण गरेको छ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।