अल-अक्सा किन सधैँ इजरेल र प्यालेस्टाइनबीच झगडाको कारण बन्छ

अल-अक्सा मस्जिद परिसरमा इजरेली प्रहरीको गस्ती

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अल-अक्सा मस्जिद परिसरमा इजरेली प्रहरीको गस्ती

अधीनस्थ पूर्वी जेरुसलेमस्थित अल-अक्सा मस्जिदमा फेरि हिंसा भएको छ। प्यालेस्टाइनी युवाहरूको एउटा समूहलाई मस्जिदभित्रै धर्ना बस्न नदिन इजरेली प्रहरीहरू त्यहाँभित्र पसेका थिए।

इजरेलको उक्त कदमले वेस्ट ब्याङ्क, गाजा र बाँकी मुस्लिम समुदायलाई क्रुद्ध बनाएको छ।

लेबननबाट हमासले इजरेललाई लक्ष्य गर्दै दर्जनौँ रकेट प्रहार गरेको आरोप लगाउँदै इजरेली सेनाले उत्तरी लेबनन र गाजा स्ट्रिपमा रहेका हमाससँग सम्बन्धित स्थानहरूमा हवाई आक्रमण गरेको छ।

अल-अक्सा किन यति धेरै महत्त्वपूर्ण?

अल-अक्सा मस्जिद जेरुसलेमको पुरानो नगरको मध्यभागमा छ। यो मस्जिद द नोबल स्याङ्क्चुअरी वा मुस्लिमहरूले अल-हरम अल-शरिफ भन्ने गरेको एउटा थुम्कोमाथि अवस्थित छ।

झन्डै १४ हेक्टरमा फैलिएको यो क्षेत्रलाई टेम्पल माउन्ट भनिन्छ जसलाई यहुदीहरूले हार हा-बायित भन्छन्।

यो सम्पूर्ण क्षेत्रलाई अल-अक्सा मस्जिद भनिन्छ।

यहाँ मुस्लिमहरूको दुईवटा पवित्रस्थल छन्: डोम अफ रक र अल-अक्सा वा किब्ली मस्जिद। तिनको निर्माण आठौँ शताब्दीमा भएको थियो।

मस्जिद परिसरको नक्सा

मुस्लिमहरूका निम्ति मक्का र मदिनापछि अल-अक्सा तेस्रो ठूलो पवित्रस्थल हो।

मुस्लिमहरूले पैगम्बर भनेर मान्ने इब्राहिम (अब्राहम), दाउद (डेभिड), सुलेमान (सोलोमन), इल्यास (एलियाह) र इसा (जीसस) ले त्यहाँ प्रार्थना गरेको ठानिन्छ।

साथै पैगम्बर मोहम्मदलाई इस्वी संवत् ६२० को एकै रातमा मक्काबाट अल-अक्सा लगिएको र त्यहाँबाट स्वर्ग लगिएको मुस्लिमहरूको विश्वास छ।

सोही स्थल यहुदीहरूका निम्ति पनि टेम्पल माउन्टका रूपमा सबभन्दा पवित्रस्थल रहँदै आएको छ।

उनीहरूको विश्वासमा त्यहाँ राजा सोलोमनले ३,००० वर्षअगाडि पहिलो मन्दिर बनाएका थिए। त्यहाँ बनाइएको दोस्रो यहुदी मन्दिरलाई सन् ७० मा रोमनहरूले ध्वस्त पारिदिएका थिए।

गाजाबाट प्रहार गरिएका अधिकांश रकेटहरूलाई इजरेलको आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले विफल बनाइदिएको थियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गाजाबाट प्रहार गरिएका अधिकांश रकेटहरूलाई इजरेलको आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले विफल बनाइदिएको थियो

हिजोआज अल-अक्साको व्यवस्थापन कसले गर्छ ?

सन् १९६७ मा अरब छिमेकीहरूसँगको युद्धका बेला इजरेलले अल-अक्सा क्षेत्र आफ्नो कब्जामा लिएको थियो। साथै सो क्षेत्रसहित बाँकी पूर्वी जेरुसलेम र नजिकैको वेस्ट ब्याङ्कका भूभागलाई इजरेलले आफूमा गाभेको थियो।

ती क्षेत्र त्यतिखेर इजिप्ट तथा जोर्डनका नियन्त्रणमा थिए। इजरेलका ती कदमलाई अन्तर्राष्ट्रिय रूपमा भने कहिल्यै मान्यता दिइएको थिएन।

जोर्डनका हाशेमाइट राजालाई मुस्लिम तथा इसाईहरूको प्रार्थनास्थल रहेको अल-अक्सा क्षेत्रको आधिकारिक संरक्षक मानिन्छ।

सो क्षेत्रको व्यवस्थापन गर्ने इस्लामिक वक्फका सदस्यहरूको नियुक्ति उनैले गर्छन्।

अल अक्सा परिसर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मुस्लिमहरूको विश्वासमा अल-अक्सा मस्जिद परिसर नै त्यो ठाउँ हो जहाँबाट पैगम्बर मोहम्मद स्वर्ग गएका थिए

लामो समयदेखिको एउटा सहमतिअन्तर्गत गैरमुस्लिमहरूले पनि अल-अक्सामा जान पाउँछन्। तर मस्जिदको परिसरमा प्रार्थना गर्न भने केवल मुस्लिमहरूले मात्र पाउँछन्।

इजरेलका मुख्य रब्बिनेट वा धर्माधिकारीद्वारा यहुदीहरूलाई टेम्पल माउन्टको परिसरभित्र जान वर्जित गरिएको छ किनकि उक्त स्थललाई उनीहरू टेक्न पनि नहुने अत्यधिक पवित्र मान्छन्।

इजरेल सरकारको नियमानुसार इसाई वा यहुदीहरूले सो क्षेत्रमा केवल पर्यटकका रूपमा भ्रमण गर्न सक्छन्, त्यो पनि साताको पाँच दिन अनि दिनको चार घण्टाका निम्ति मात्र।

यहुदी धर्मावलम्बीहरूले टेम्पल माउन्टमुन्तिर रहेको वेस्टर्न वाल वा वेलिङ वालमा गएर प्रार्थना गर्छन्।

त्यो ठाउँलाई उनीहरू सोलोमनले निर्माण गरेको मन्दिरको अन्तिम बाँकी भग्नावशेष ठान्छन्।

अल-अक्सामा कस्ता झडप भएका छन्?

सन् २००० मा दक्षिणपन्थी लिकुड पार्टीका सांसदहरूको नेतृत्व गर्दै इजरेलको प्रमुख प्रतिपक्षी दलका तत्कालीन नेता एरिएल शारोन उक्त क्षेत्रमा पुगेका थिए।

उनले भने: “द टेम्पल माउन्ट हाम्रो हातमा छ र हामीसँगै रहने छ। यो यहुदी धर्मको पवित्रस्थलमा छ र प्रत्येक यहुदीको टेम्पल माउन्ट भ्रमण गर्ने अधिकार हो।”

प्यालेस्टाइनीहरूले त्यसविरुद्ध प्रदर्शन गरेका थिए र हिंसात्मक झडपहरू पनि भए। अन्ततः द्वन्द्व चर्किएर अल-अक्सा इन्तिफादा भनिने दोस्रो प्यालेस्टाइनी आन्दोलन बन्न पुग्यो।

यो हिंसामा ३,००० जनाभन्दा बढी प्यालेस्टिनी र झन्डै १,००० इजरेलीहरूको ज्यान गएको थियो।

अल-अक्सा नजिक भएको झडप

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अल-अक्सा क्षेत्रमा मुस्लिम र इजरेली प्रहरीबीच झडप भइरहन्छ

सन् २०२१ को मे महिनामा अल-अक्सा क्षेत्रबाट केही परिवारहरूलाई निकाला गरिएको विरोधमा प्रदर्शन गरिरहेका प्यालेस्टाइनीहरूको प्रहरीसँग झडप भयो। यो घटनामा कम्तीमा १६३ प्यालेस्टिनी र १७ इजरेली प्रहरी अधिकारीहरू घाइते भएका थिए।

यसको प्रतिक्रियामा इस्लामिक समूह हमासले गाजा स्ट्रिपबाट जेरुसलेमतर्फ रकेट प्रहार गर्‍यो जसका कारण इजरेलसँग ११ दिन लामो द्वन्द्व भयो।

गत वर्ष इस्लामहरूको पवित्र महिना रमजान र यहुदीहरूको साताव्यापी बिदा पासओभर तीन दशकपछि पहिलो पटक एकैपटक पर्‍यो।

इजरेली प्रहरीले यहुदी आगन्तुकलाई यो परिसरसम्म पुर्‍याउन आँगन खाली गर्दा झडपका हिंसात्मक दृश्यहरू देखिए।

प्रहरीले वेस्टर्न हलतर्फ माथिबाट ढुङ्गाहरू पनि हानिएको बताएको थियो।

मस्जित भएका झडपका कारण ठूलो क्षति भयो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अल-अक्सा मस्जिदमा भएका झडपका कारण ठूलो क्षति भएको छ

अहिले भएको घटनामा प्रहरीले "आन्दोलनकारीहरू"ले भक्तजनसहित आफूलाई अल‍-अक्सामा मस्जिदभित्रै थुनेको भन्दै त्यहाँ छापा मार्‍यो।

प्रहरीका अनुसार ती आन्दोलनकारीहरूले ढुङ्गा र पटकालाई हतियारका रूपमा प्रयोग गरेका थिए।

प्यालेस्टाइनीहरूका अनुसार प्रहरीले स्टन ग्रिनेड र रबरका गोली प्रहार गरेको थियो र उक्त कारबाहीमा परेर ५० जना घाइते भए।

रेड लाइन
रेड लाइन

केही अतिवादी यहुदीहरूले पासओभर पर्वको अवसर पारेर टेम्पल माउन्टमा एउटा बाख्राको बली दिन लागेको विवरण आएपछि विरोधप्रदर्शन सुरु भएको थियो। प्राचीन कालमा रोमनहरुले उक्त मन्दिर ध्वस्त पार्नुअघि यहुदीहरूले त्यहाँ बली दिने चलन थियो।

इजरेली प्रहरी र धार्मिक निकायहरूले त्यहाँ त्यस्तो गतिविधि हुन नदिने बताएका छन्।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले "शान्ति कायम गर्न .... र टेम्पल माउन्टमा सबै धर्मको पहुँच खुलाउन र यथास्थिति अन्त्य गर्न प्रहरीले कारबाही गर्नुपरेको" बताएका छन्।

यद्यपि इस्लामिक वक्फले प्रहरीले गरेको कारबाहीबाट "मस्जिद मुस्लमहरुको प्रार्थनास्थल भएको पहिचान र कार्यलाई मिचिएको" बताएको छ।