यूएई र बहराइनसँगको इजरेली सम्झौताले अर्थ राख्नुका पाँच कारण

सेप्टेम्बर १ तारिखका दिन यूएईका लागि ऐतिहासिक उडानका क्रममा इजरेली राष्ट्रिय सुरक्षा सल्लाहकार

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सेप्टेम्बर १ तारिखका दिन यूएईका लागि ऐतिहासिक उडानका क्रममा इजरेली राष्ट्रिय सुरक्षा सल्लाहकार
    • Author, जेरेमी बोवेन
    • Role, बीबीसी मध्यपूर्व सम्पादक

इजरेल र संयुक्त अरब एमिरेट्स यूएईका उच्च प्रतिनिधिमण्डलले संयुक्त राज्य अमेरिकाले मध्यस्थता गरेको ऐतिहासिक शान्ति सम्झौतामा मङ्गलवार ह्वाइट हाउसमा हस्ताक्षर गरेका छन्

बहराइनका विदेशमन्त्री पनि समारोहमा सहभागी भए जसले इजरेलसँग सम्बन्ध सामान्य बनाउने विषयमा छुट्टै सम्झौतामा हस्ताक्षर गरे।

त्यसको घोषणा गत साता मात्रै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेका थिए।

ती सम्झौताहरू यसकारण महत्त्वपूर्ण छन्ः

१. खाडी मुलुकहरूले थप व्यापारसहितका अवसर देखेका छन्

आफूलाई एउटा सैन्य शक्तिको रूपमा विकास गरेको यूएईलाई आफूकहाँ व्यापार गर्न अथवा बिदा मनाउनका लागि इजरेलीहरू आउने दिशामा सम्झौताले सघाउने विश्वास छ।

विगतमा यूएईलाई प्राप्त नभएको अत्याधुनिक अस्त्रहरू उपलब्ध गराउने वाचासहित अमेरिकाले त्यो सम्झौतामा सघाएको जस्तो देखिन्छ।

यूएईले अस्त्रले सुसज्जित आफ्नो फौजको लिबिया र यमनमा प्रयोग गरिसकेको छ।

तर उसको सबैभन्दा गम्भीर सम्भावित शत्रु भनेको इरान हो जुन खाडीको अर्कोतर्फ रहेको छ।

यूएईमा अमेरिकी राष्ट्रपतिका सल्लाहकार जारेड कुश्नर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यूएईमा अमेरिकी राष्ट्रपतिका सल्लाहकार जारेड कुश्नर

इजरेल र अमेरिका यूएईको जस्तै इरानप्रति शङ्का गर्छन्। बहराइनले पनि त्यस्तै गर्छ। सन् १९६९ सम्म इरानले बहराइन आफ्नै भूभाग भएको दाबी गर्थ्यो।

दुवै खाडी मुलुकको इजरेलसँग गुपचुप सम्बन्ध थियो। अब उनीहरूले विश्वका अत्याधुनिकमध्येको प्रविधि क्षेत्र भएको इजरेलसँग खुला रूपमा कारोबार गर्नेछन्।

कोरोनाभाइरस महामारी सकेको अवस्थामा इजरेलीहरू मरुभूमि, तट र खाडीका व्यापारिक मलहरू पुग्न खोज्ने छन्। यसबाट सबैतिर फाइदा हुनेछ।

२. इजरेलले क्षेत्रीय रूपमा एक्लिएको स्थितिलाई घटाएको छ

यूएई र बहराइनसँगको सम्बन्ध सामान्य गर्न पाउनु इजरेलीहरूका लागि वास्तविक उपलब्धि हो।

प्रधानमन्त्री बेन्जमिन नेतन्याहु यहुदी राज्य र अरब देशहरूबीच "फलामे पर्खाल" लगाउनुपर्ने रणनीतिमा विश्वास गर्ने व्यक्ति हुन् जुन रणनीतिबारे सन् १९२० को दशकमा वर्णन गरिएको थियो।

इजरेली शक्तिका कारण उसको अस्तित्व स्वीकार्नुको विकल्प नभएको अरबहरूलाई महसुस गराउनु नै त्यो रणनीतिको उद्देश्य रहेको छ।

इजरेलीहरू मध्यपूर्वमा एक्लिएर रहिरहन चाहदैनन्। इजिप्ट र जोर्डनसँगको शान्ति उसका लागि कहिल्यै न्यायो भएन।

खाडी मुलुकहरूसँगको भावी सम्बन्धबारे उनीहरू अझ आशावादी होलान्।

इरानविरुद्ध साझेदारी बलियो बनाउनु अर्को उपलब्धि हो। नेतन्याहुले इरानलाई इजरेलको एक नम्बरको शत्रु ठान्छन्, इरानी नेताहरूलाई उनले नाजीसँग दाँज्ने गरेका छन्।

भ्रष्टाचारसम्बन्धी मुद्दाको सामना गरिरहेका नेतन्याहु आफैँ तनावमा छन् र दोषी प्रमाणित भए उनी जेल पनि जान सक्छन्।

यस अर्थमा सम्झौताका लागि ह्वाइट हाउसमा आयोजित समारोह ठिक समयमा हुन सकेन।

३. डोनल्ड ट्रम्पलाई विदेश नीतिमा कू गरेको खुशियाली

अमेरिकी राष्ट्रपतिका लागि यो सम्झौताले विभिन्न तहमा काम गर्नेछ।

इरानमाथि "अधिकतम दबाव" सिर्जना गर्ने उनको रणनीतिमा यसले सघाउ पुर्‍याउनेछ।

खासगरी राष्ट्रपतीय चुनाव हुन लागेका बेलामा सम्झौता गराउने विश्वकै उत्कृष्ट व्यक्तिका रूपमा आफूलाई गर्वका साथ प्रस्तुत गर्न सम्झौताले ट्रम्पका लागि अस्त्रकै रूपमा काम गर्नेछ।

गत अगस्टमा राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा तथाकथित "अब्राहम सम्झौता" को घोषणा गरेका थिए

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत अगस्टमा राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा सम्झौताको घोषणा गरेका थिए

इजरेललाई र खासगरी इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको सरकारलाई हुने फाइदा अमेरिकी इसाई मतदातासम्म पुग्नेछ जुन ट्रम्पका लागि महत्त्वपूर्ण मताधार हो।

खाडी अरब राष्ट्रहरू इजरेलसँगको सम्बन्धबारे गोप्य रूपमा भन्दा खुला रूपमा अगाडि आएपछि "अमेरिकी मित्रहरू" इरानविरुद्ध अझ सहज ढङ्गले काम गर्नेछन्।

इजरेल र प्यालेस्टिनीबीच शान्ति ल्याउने भनेर ट्रम्पले भनेको तथाकथित "शताब्दीकै सम्झौता" असफल छ।

तर "अब्राहम सम्झौता" मध्यपूर्वमा शक्ति सन्तुलनमा फेरबदल ल्याउने दिशामा महत्त्वपूर्ण छ र ह्वाइट हाउसले त्यसलाई एउटा महत्त्वपूर्ण विदेश नीति कूको रूपमा प्रस्तुत गरिरहेको छ।

४. प्यालेस्टिनीहरूले धोका पाएको महसुस गरेका छन्

एक पटक फेरि सान्त्वना पुरस्कार पाएको जस्तो उनीहरूलाई भएको छ।

अब्राहम सम्झौतालाई उनीहरूले धोकाको सङ्ज्ञा दिएका छन्।

प्यालेस्टिनीहरूले स्वतन्त्रता पाएपछि मात्रै इजरेलसँगको सम्बन्ध सामान्य हुनसक्ने अरब जगत्‌को लामो समयदेखिको एउटा अडानलाई यो सम्झौतालाई अन्त्य गरिदिएको छ।

तर अहिले आएर इजरेलले अरब देशहरूसँग नयाँ सम्बन्ध कायम गरिरहेको छ जबकि प्यालेस्टिनीहरू अझै अधिनस्थ इस्ट जेरुसलेम र वेस्ट ब्याङ्कमा कमजोर अवस्थामा छन् जुन गाजामा खुला कारागार सरह छ।

अबुधाबीका युवराज मोहम्मद बिन जायद अल नह्यान भन्छन्, वेस्ट ब्याङ्कको ठूलो हिस्सा गाभ्ने काम बन्द गर्नका लागि इजेरल सहमत हुनु नै उनको लागि यो सम्झौताको मूल्य हो।

इजरेलसँगको सम्बन्ध सामान्य बनाउने दुई खाडी देशको कदमको प्यालेस्टिनी नेताहरूले भर्त्सना गरेका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इजरेलसँगको सम्बन्ध सामान्य बनाउने दुई खाडी देशको कदमको प्यालेस्टिनी नेताहरूले भर्त्सना गरेका छन्

तर इजरेली प्रधानमन्त्री नेतन्याहु कम्तीमा तत्कालका लागि व्यापक अन्तर्राष्ट्रिय दबावका कारण त्यो योजनाबाट पछि हटेको देखिन्छ।

राजनीतिक बाटो बन्द भइसकेको अवस्थामा यूएईले उनलाई मार्ग प्रशस्त गरिदिएको छ।

सम्झौतामा बहराइन पनि समावेश भएपछि प्यालेस्टिनीहरूको बेचैनी बढ्नेछ।

साउदी अरेबियाको अनुमोदनविना त्यो हुन सक्थेन। साउदीहरू अरब शान्ति योजनाका सूत्राधार हुन् जुन योजनाले स्वतन्त्र प्यालेस्टाइनको माग गर्छ।

इस्लामका दुई पवित्रतम् धार्मिक स्थलका संरक्षक भएका नाताले राजा सलमानलाई त्यसले व्यापक अधिकार प्रदान गरेको छ। उनले इजरेललाई तत्काल मान्यता दिनेछन् जस्तो लाग्दैन।

उनका छोरा तथा उत्तराधिकारी मोहम्मद बिन सलमान कम अनिच्छुक हुन सक्छन्।

५. इरानलाई नयाँ रणनीतिक दुखाइ भएको छ

इरानी नेतृत्वले सम्झौताको चर्को निन्दा गरेको छ।

यो अभिव्यक्तिभन्दा अझ बढी कुरा हो। अब्राहम सम्झौताले उनीहरूलाई अतिरिक्त तनाव थपिदिएको छ।

राष्ट्रपति ट्रम्पले गरेका प्रतिबन्धका असर अर्थतन्त्रमा पर्न थालेको छ। अहिले उनीहरूलाई रणनीतिक टाउको दुखाइ पनि थपिएको छ।

यूएईले इजरेलसँग गरेको सम्झौताले इरानमा विरोध निम्त्याएको छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, यूएईले इजरेलसँग गरेको सम्झौताले इरानमा विरोध निम्त्याएको छ

इजरेलका हवाई अखडाहरू इरानदेखि टाढा छन्। यूएईका चाहिँ खाडीका समुद्रमाथि नै छन्। अतः इरानी पारमाणविक केन्द्रहरूमाथि हवाई हमला गर्नुपर्ने अवस्थामा इजरेलका लागि त्यो महत्त्वपूर्ण हुनेछ।

युद्ध्याभ्यास गर्नलाई इरानका निम्ति स्थान घटेको छ।