इराकमा गोप्य अस्त्रको खोजी कसरी विफल भयो

इराक युद्धविरुद्ध प्रदर्शन

तस्बिर स्रोत, JIM WATSON

तस्बिरको क्याप्शन, इराक युद्धविरुद्ध भएको प्रदर्शन

इराकमाथि आक्रमण भएको २० वर्षपछि पनि "आमविनाशकारी अस्त्र" (डब्ल्यूएमडी) को अस्तित्वबारे अझै विवाद कायम छ। यूकेले डब्ल्यूएमडीका कारण उक्त युद्धमा आफ्नो सहभागिताको औचित्य पुष्टि गरेको थियो। बीबीसीको शृङ्खला 'शक एन्ड वार: इराक ट्वेन्टी यिअर्स अन' का लागि उक्त प्रकरणमा प्रत्यक्ष संलग्न दर्जनौँ व्यक्तिसँग गरिएको कुराकानीका आधारमा इराकमा डब्ल्यूएमडीको खोजीबारे नयाँ विवरणहरू फेला परेका छन्।

"आबुइ!" अमेरिकीहरू इराकमा युद्ध गर्ने विषयमा दृढ रहेको कुरा आफ्ना सहकर्मीले बताउँदा ब्रिटिश गुप्तचर निकाय एमआईसिक्सका एक वरिष्ठ अधिकारीले सन् २००१ को अन्त्यतिर एक शब्दमा यसरी प्रतिक्रिया व्यक्त गरेका थिए।

अमेरिकी गुप्तचर निकाय सीआईएका अधिकारीहरू पनि आफ्ना ब्रिटिश समकक्षीहरू स्तब्ध भएको स्मरण गर्छन्। सीआईएको इराक अपरेशन्स ग्रूपका प्रमुख लुइस रुएडा भन्छन्, "मलाई त्यो छलफलमै उनीहरूलाई हृदयाघात होला जस्तो लागेको थियो।" "उनीहरू सज्जन नभएको भए टेबलपारि आएर उनीहरूले मलाई झापड हान्ने थिए।"

उक्त सन्देश चाँडै डाउनिङ स्ट्रीट पुग्यो। कूटनीतिज्ञहरूले नभई गुप्तचरहरूले त्यो जानकारी दिए।

"मैले नै प्रधानमन्त्रीलाई सम्भवत: पहिलो पटक 'तपाईँलाई मन परे पनि नपरे पनि आफूले गर्नुपर्ने सबै तयारी पूरा गर्नुहोस् किनभने उनीहरू आक्रमण गर्न तयार भए जस्तो देखिन्छ' भनेको थिएँ," बारम्बार वाशिङ्टनको भ्रमण गरेका एमआईसिक्सका तात्कालिक प्रमुख सर रिचर्ड डिअरलभले एउटा दुर्लभ अन्तर्वार्तामा बीबीसीसँग भने।

विदेशमा गुप्तचरी गर्ने यूकेको एमआईसिक्स आफ्नो इतिहासमै सबैभन्दा विवादास्पद र गम्भीर परिणाम उत्पन्न हुने शृङ्खलामध्ये एउटामा गहिरोसँग अल्झिएको थियो।

इराकी नेता सद्दाम हुसेनलाई हटाउने आफ्नो गम्भीर अभियानका निम्ति अमेरिकाका लागि आमविनाशकारी अस्त्र (डब्ल्यूएमडी) गौण थियो। "यदि सद्दाम हुसेनसँग रबर ब्यान्ड र पेपर क्लिप मात्र भएको भए पनि हामीले इराकमा आक्रमण गर्ने थियौँ," रुएडा भन्छन्।

"हामी भन्थ्यौँ होला- 'ओहो! उनले तपाईँका आँखा निकाल्नेछन्'।"

Presentational grey line
Shock and War: Iraq 20 Years On
Presentational grey line

बीबीसीका सुरक्षा संवाददाता गोर्डन कोरेराले इराक युद्ध किन भयो, त्यसको अर्थ के हो र आजका दिनमा यसको विरासतको अर्थ के हो भन्ने विषयमा नयाँ उत्तर खोजिरहेका छन्।

बीबीसी साउन्ड्सबाट १० वटै एपिसोड वा डाउनलोड स्ट्रीम गर्नुहोस्।

Presentational grey line

अन्योलमा रहेका सर्वसाधारण मानिसलाई इराकबारे कुरा बुझाउन यूकेसँग डब्ल्यूएमडी - रासायनिक, जैविक र पारमाणविक अस्त्रहरू - बाट उत्पन्न हुने ठानिएको जोखिम मुख्य विषय थियो।

यदाकदा यूके सरकार आफैँले डब्ल्यूएमडीबारे कपोलकल्पित दाबी गरेको आरोप पनि लागेको छ। तर त्यतिबेलाका मन्त्रीहरूले आफूलाई ब्रिटिश गुप्तचरहरूले त्यस्ता अस्त्रहरू रहेको कुरामा आश्वस्त पारेको बताएका छन्।

"मैले प्राप्त गरेको गुप्त सूचनामा म भर परिरहेको थिएँ भन्ने बुझ्नु निकै महत्त्वपूर्ण हुन्छ। अनि मलाई लाग्छ मैले त्यो पत्याउनैपर्ने थियो," भूतपूर्व प्रधानमन्त्री सर टोनी ब्लेअरले मलाई बताए। आक्रमणको पूर्वसन्ध्यामा आफूले जोइन्ट इन्टेलिजन्स कमिटीबाट फेरि आश्वासन मागेको र त्यो प्राप्त भएको उनले बताए। तर त्यो गलत भएकोमा गुप्तचर निकायहरूको आलोचना गर्न उनले अस्वीकार गरे।

अरू मन्त्रीहरूले भने त्यतिबेला आफूलाई द्विविधा भएको बताए।

"तीन पटक मैले रिचर्ड डिअरलभलाई त्यो गुप्त सूचनाको स्रोतबारे सोधेँ," तात्कालिक विदेशमन्त्री ज्याक स्ट्रले भने। "मलाई त्यसबारे केही अप्ठ्यारो लागेको थियो। तर डिअरलभले मलाई प्रत्येक पटक ती एजेन्टहरू भरपर्दा हुन् भनेर आश्वासन दिए।" अन्तिम निर्णय लिने काम राजनीतिज्ञहरूकै भएकाले उनीहरूले नै अन्ततः त्यसको जिम्मेवारी लिनुपर्ने स्ट्र बताउँछन्।

इराकबारे फर्केर हेर्दा त्यसलाई उनी गुप्तचरी विफलताको रूपमा हेर्छन् कि भनेर सोध्दा रिचर्ड डिअरलभले सामान्य रूपमा उत्तर दिए: "हेर्दिनँ।" उनी इराकसँग केही प्रकारको अस्त्र कार्यक्रम भएको र ती तत्त्वहरूलाई सिरियाको सीमातिर सारिएको हुनसक्ने अझै पनि ठान्छन्।

सर रिचर्ड डियरलभ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २००८ मा खिचिएको सर रिचर्ड डियरलभको तस्बिर

अरूहरू त्यसमा सहमत छैनन्। "यो एउटा ठूलो विफलता थियो," यूकेका तात्कालिक सुरक्षा तथा गुप्तचर संयोजक डेभिड ओमान्ड भन्छन्। एउटा पूर्वाग्रहयुक्त पुष्टिकरणले गर्दा सरकारी विज्ञहरूले सद्दाम हुसेनसँग डब्ल्यूएमडीहरू छन् भन्ने धारणालाई समर्थन गर्ने खालका आंशिक सूचनाहरू सुन्न प्रेरित गरेको र त्यसो नगर्नेलाई नपत्याएको उनले बताए।

एमआईसिक्सभित्रका कतिपयले पनि आफूहरूलाई त्यतिबेला चिन्तित भएको बताएका छन्। इराकमा काम गरेका र यसअघि कहिल्यै नबोलेका एक अधिकारीले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा भने, "त्यतिबेला हामीले जे गरिरहेका थियौँ त्यो गलत थियो भन्ने मलाई महसुस भएको थियो।"

"इराकले डब्ल्यूएमडी कार्यक्रमहरू फेरि थालेको र तिनबाट ठूलो जोखिम भएको देखाउने कुनै पनि नयाँ वा विश्वसनीय गुप्त सूचना वा मूल्याङ्कन गरिएको थिएन," ती भूतपूर्व अधिकारीले सन् २००२ को सुरुतिरको प्रसङ्गबारे भने। "मलाई लाग्छ सरकारको दृष्टिकोणबाट उनीहरूले भेट्टाउन सक्ने एउटा मात्र कुरा थियो.... डब्ल्यूएमडी एउटा मात्र यस्तो अङ्कुश थियो जहाँ उनीहरू वैधता झुन्ड्याउन सक्थे।"

सन् २००२ को वसन्तयाममा प्राप्त गुप्तचरी सूचना पूर्णतः विश्वसनीय थिएन। लामो समयदेखि इराकमा रहेका एमआईसिक्सका गुप्तचहरूसँग डब्ल्यूएमडीबारे निकै कम जानकारी थियो वा छँदै थिएन। अनि विशेषगरी सेप्टेम्बरमा एउटा नयाँ मिसिल बनाउने योजना बनेपछि उक्त मुद्दालाई बलियो बनाउनका लागि नयाँ स्रोतहरूबाट आतुरीपूर्वक गुप्त सूचना खोजिएको थियो।

गुप्तचर निकायका अर्का एकजना भित्रिया व्यक्ति एउटा सन्देशको अर्थ लगाएको स्मरण गर्छन्। उनका अनुसार उक्त सन्देशमा गुप्तचर सेवाका लागि ब्रिटिश जनतालाई उक्त कारबाहीका लागि मनाउनुबाहेक "अरू महत्त्वपूर्ण भूमिका" नभएको उल्लिखित थियो। त्यो उपयुक्त थियो कि थिएन भनेर प्रश्न उठेको थियो र त्यो सन्देश मेटिएको उनले बताए।

लन्डनस्थित एमआईसिक्सको मुख्य कार्यालय

तस्बिर स्रोत, Dan Kitwood

तस्बिरको क्याप्शन, लन्डनस्थित एमआईसिक्सको मुख्य कार्यालय

सेप्टेम्बरमा १२ मा सर रिचर्ड एउटा महत्त्वपूर्ण नयाँ स्रोतबारे खबर लिएर डाउनिङ स्ट्रीट पुगे। ती व्यक्तिले सद्दाम हुसेनका कार्यक्रमहरू पुन: सुरु भइरहेको दाबी गरेका थिए र चाँडै नयाँ विवरणहरू उपलब्ध गराउने वाचा गरेका थिए। उक्त स्रोतबारे पूर्ण रूपमा परीक्षण नगरी र उनले दिएको जानकारीबारे विज्ञहरूसँग पनि छलफल नगरी प्रधानमन्त्रीलाई ती विवरणहरू उपलब्ध गराइएको थियो।

सर रिचर्डले उनी डाउनिङ स्ट्रीटको धेरै निकट बनेको आरोपलाई "हास्यास्पद" भनी खण्डन गरे। तर उक्त घटनाको विवरण वा विशिष्ट स्रोतहरूबारे उनले टिप्पणी गरेनन्। तर त्यसपछिका महिनाहरूमा उक्त नयाँ स्रोतले कहिल्यै पनि सूचना प्रदान गरेनन् र अन्य गुप्तचर स्रोतहरूले उनले पहिला दिएका सूचना कपोलकल्पित भएको माने। गुणस्तर नियन्त्रण भत्किन थालेको उनीहरूको तर्क छ।

केही नयाँ स्रोतहरूले पैसाका लागि वा सद्दाम सत्ताच्युत भएको हेर्न कपोलकल्पित सूचना दिएका हुनसक्छन। मैले सन् २००३ को ज्यानुअरीमा सद्दाम हुसेनको जासुसी सेवाबाट भागेका एक व्यक्तिलाई जोर्डनमा भेट्दा उनले संयुक्त राष्ट्रसङ्घीय निरीक्षकहरूले थाहा नपाउनेगरी जैविक अस्त्र बनाउने घुम्ती प्रयोगशालाहरू बनाउन आफू सहभागी भएको दाबी गरेका थिए।

सन् २००३ को फेब्रुअरीमा राष्ट्रसङ्घमा अमेरिकी विदेशमन्त्री कोलिन पावलले गरेको एउटा प्रस्तुतिमा ती पूर्वगुप्तचर अधिकारीले गरेका दाबीहरू पनि समाविष्ट गरियो। यद्यपि अमेरिकी सरकारभित्रकै केहीले पहिले नै त्यो सूचनालाई विश्वास गर्न सकिँदैन भनेर "बर्न नोटिस" अर्थात् "त्यसलाई विश्वासन नगर्नू" भन्ने सूचना जारी गरिसकेका थिए। अमेरिका र यूकेले विश्वास गरेका र गुप्त नाम "कर्भबल" राखिएका एक स्रोतले पनि प्रयोगशालाहरूबारे कृत्रिम विवरणहरू उपलब्ध गराइरहेका थिए।

सद्दाम हुसेन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सद्दाम हुसेन सन् १९७९ देखि सन् २००३ मा उनको पतन नभएसम्म इराकाका राष्ट्रपति थिए

हामीले के पनि सम्झिनुपर्छ भने सद्दामसँग कुनै बेला आमविनाशकारी अस्त्रहरू थिए। सन् २००३ मा युद्ध सुरु हुनु केही साताअघि मैले उत्तरी इराकको हलब्जा गाउँको भ्रमण गरेको थिएँ र स्थानीयवासीहरूबाट सन् १९८८ मा सद्दामको सेनाले उनीहरूमाथि रासायनिक अस्त्र प्रहार गरेको कुरा सुनेको थिएँ। ती अस्त्रहरू कुन अवस्थामा छन् भन्ने कुरा युद्धपछि मात्र थाहा हुने थियो।

इराकका शीर्ष वैज्ञानिकमध्ये एकले मलाई पछि बताएअनुसार सद्दाम हुसेनले पहिलो खाडी युद्धपछि संयुक्त राष्ट्रसङ्घीय अस्त्रनिरीक्षकहरूबाट सफाइ प्राप्त गर्ने आशामा सन् १९९० को सुरुमा आफ्ना धेरै डब्ल्यूएमडी कार्यक्रमलाई नष्ट गर्न आदेश दिएका थिए। ती इराकी नेताले पछिल्लो बिन्दुमा त्यस्ता कार्यक्रम पुन: सुरु गर्ने आशा गरेका हुनसक्छन्। तर उनले सबै कुरा गोप्य रूपमा नष्ट गरेका थिए - आफूले केही अघि मात्र युद्ध गरेको छिमेकी इरानविरुद्ध प्रयोग गर्न सक्नेगरी केही कुरा अझै बाँकी भएको डर कायम हुनेगरी। संयुक्त राष्ट्रसङ्घका निरीक्षकहरूले इराकलाई पछि सबै कुरा नष्ट गरेको प्रमाणित गर्न आग्रह गर्दा उसले त्यस्तो गर्न सकेन।

एक इराकी वैज्ञानिकले पछि खुलासा गरेअनुसार उनीहरूले जमिनमा खन्याएर एउटा घातक यौगिक नष्ट गरेका थिए। पश्चिमी गुप्तचर निकायहरूले उक्त यौगिक फेला नपरेको बताएका थिए। तर सद्दाम हुसेनको एउटा दरबारनजिकै त्यसो गरेको कुरा स्वीकार गर्दा आफूहरूलाई हुसेनले मारिदिने डर इराकी वैज्ञानिकहरूमा थियो। यी सबै कारणहरूको परिणामस्वरूप इराकले कहिल्यै पनि अब आफूसँग त्यस्ता अस्त्र बाँकी नभएको भनेर प्रमाणित गर्न सकेन।

सन् २००२ को अन्त्यतिर संयुक्त राष्ट्रसङ्घका निरीक्षकहरू डब्ल्यूएमडीहरू खोज्न इराक फर्केका थिए। तीमध्ये केही निरीक्षकहरूले पहिलो पटक बीबीसीसँग कुरा गर्दै पश्चिमी गुप्तचरहरूले दिएका सूचनाका आधारमा घुम्ती प्रयोगशाला रहेको हुनसक्ने ठानिएका स्थानहरूको अवलोकन गरेको स्मरण गरेका छन्। उनीहरूले माकुराको जालोले ढाकेको "बढाइचढाइ गरिएका आइसस्क्रीम ट्रकहरू" मात्र फेला पारे। स्रोतहरू सूचना दिन विफल हुँदा र निरीक्षकहरू निष्कर्षमा पुग्न नसक्दा युद्ध सँघारमा इपुगेको बेला पनि सर्वसाधारण मानिसहरूले त्यतिबेलाको चिन्ताबारे थाहै पाएनन्। एक भित्रिया व्यक्तिले त्यतिबेलाको अवस्थालाई "आतङ्कपूर्ण" भनेर वर्णन गरेका छन्।

"मेरो भविष्य तपाईँको हातमा छ," ब्लेअरले ज्यानुअरी २००३ मा सर रिचर्डलाई केही ठट्यौलो पारामा भनेका थिए। त्यस बेला डब्ल्यूएमडीको प्रमाण खोज्न दबाव बढिरहेको थियो।

मार्च २००३ मा दक्षिणी इराकमा यूकेको सेना

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मार्च २००३ मा दक्षिणी इराकमा यूकेको सेनाको एउटा टोली

"त्यो समय निराशाजनक थियो," सर रिचर्ड अहिले सम्झिन्छन्। उनले निरीक्षकहरूले केही फेला पार्न नसकेकोमा उनीहरू "अक्षम" भएको आरोप लगाए। संयुक्त राष्ट्रसङ्घको रासायनिक र जैविक निरीक्षणको नेतृत्व गर्ने हान्स ब्लिक्सले बीबीसीलाई बताएअनुसार सन् २००३ आरम्भ हुँदा सम्म उनले त्यहाँ अस्त्रहरू छन् भन्ने विश्वास गरेका थिए तर प्राप्त सूचनाहरू पुष्टि नभएपछि तिनको अस्तित्वबारे शङ्का गर्न थाले। उनी उत्तर खोज्न थप समय चाहन्थे तर त्यो पाएनन्।

"अकाट्य प्रमाण" फेला नपरेको भए पनि त्यसले सन् २००३ को मार्चमा युद्ध रोक्न सक्दैनथ्यो।

टोनी ब्लेअरले बीबीसीलाई भने, "सैन्य कारबाही नहोस् भनेर मैले अन्तिम क्षणसम्म प्रयास गरेँ।" अमेरिकी राष्ट्रपति जर्ज बुशले युद्धको पूर्वसन्ध्यामा आफ्ना सहयोगीले संसद्‌मा विश्वास गुमाउने डरले उनलाई आक्रमणबाट पछि हट्ने र त्यसपछिको अवस्थामा मात्र संलग्न हुने प्रस्ताव भिडिओ कलमा दिएका थिए। तर ब्लेअरले अस्वीकार गरे।

उनले सद्दाम हुसेनसँग व्यवहार गर्ने आवश्यकताको सन्दर्भमा र अमेरिकासँग यूकेको सम्बन्ध कायम राख्नुपर्ने कारणले पनि सैद्धान्तिक रूपमा आफ्नो निर्णयको प्रतिरक्षा गरे। "त्यसले सम्बन्धमा महत्त्वपूर्ण प्रभाव पार्ने थियो," उनी भन्छन्, "म प्रधानमन्त्री हुँदा राष्ट्रपति क्लिन्टन वा राष्ट्रपति बुशको नेतृत्वकालमा अमेरिकी राष्ट्रपतिले पहिला कसलाई फोन गर्थे भन्नेमा मलाई कुनै द्विविधा थिएन। ब्रिटिश प्रधानमन्त्रीलाई गर्थे। आज हामी युरोपबाट बाहिर छौँ र जो बाइडनले के पहिला कल ऋषि सुनकलाई पहिला फोन गर्छन्? म त्यसमा निश्चित छैन।"

तर पछि कुनै पनि डब्ल्यूएमडी फेला परेन। युद्धपछि सूचनास्रोतहरूबारे गरिएको एउटा आन्तरिक समीक्षाबारे स्मरण गर्दै एमआईसिक्सका एक भूतपूर्व अधिकारी भन्छन्, "सबै कुरा भताभुङ्ग भयो।" अनि त्यसले गुप्तचर र राजनीतिज्ञहरू दुवै पक्षका लागि गहिरो र दूरगामी परिणामहरू छोडिदियो।