इराकमा प्रदर्शन: हिंसा रोक्न संयुक्त राष्ट्रसङ्घको आह्वान
संयुक्त राष्ट्रसङ्घले इराकमा भइरहेको हिंसा अन्त्य गर्न आह्वान गरेको छ।
सरका विरुद्ध केही दिनदेखि भइरहेका प्रदर्शनहरूमा मर्नेहरूको सङ्ख्या झन्डै १०० पुगेको अवस्थामा राष्ट्रसङ्घबाट त्यस्तो अभिव्यक्ति आएको हो।
प्रदर्शनकारीहरूले देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र कमजोर सार्वजनिक सेवाविरुद्ध आफूहरूले अडान लिएको बताएका छन्।
इराकका लागि राष्ट्रसङ्घको सहायता अभियानकी प्रमुख जानिन हेनिस प्लेसचार्टले भनिन्, "मृत्यु र घाइते हुने थालेको पाँच दिन: यो रोकिनुपर्छ।"
हत्याका लागि जिम्मेवार व्यक्तिलाई कानुनको परिधिमा ल्याइनुपर्ने उनले बताइन्।
शनिवार बग्दादको पूर्वी क्षेत्रमा भएको प्रदर्शनलाई सुरक्षा अधिकारीहरूले तितरबितर पारिदिएका थिए।
राजधानीमा भएका भिडन्तहरूमा पाँच जनाले ज्यान गुमाएको बताइएको छ। सुरक्षा अधिकारीहरूले पुनः अश्रुग्यास प्रहार गरेको बताइएको छ।
गत मङ्गलवार राजधानीबाट सुरु भएको प्रदर्शन बिस्तारै दक्षिणी भेगमा फैलिएको थियो।

तस्बिर स्रोत, Reuters
इराकको संसद्अन्तर्गत रहेको मानवाधिकार आयोगका अनुसार हालसम्म कम्तीमा ९९ जना को मृत्यु भएको छ भने घाइतेहरूको सङ्ख्या झन्डै चार हजार रहेको छ।
इराकमा सन् २०१७ मा इस्लामिक स्टेट भनेर चिनिने आतङ्कवादी समूह पराजित भएको घोषणा गरिएपछिको यो सबैभन्दा खतरनाक अवस्था हो।
सत्तामा आएको एक वर्ष पुग्न लागेका प्रधानमन्त्री अदेल अब्देल मादीको नेतृत्वको सरकारका लागि यो सबैभन्दा ठूलो चुनौती रहेको बताइएको छ।
अधिकारीहरूले तनाव कम गर्न कर्फ्यू लगाउनुका साथै इन्टरनेट सेवा लगभग ठप्प पारेका छन्।
पछिल्ला विवरण
शनिवार दिउँसो कर्फ्यू हटाइएपछि सानो सङ्ख्यामा रहेका प्रदर्शनकारीहरूले पुन: आफ्ना विरोधप्रदर्शन गर्न थालेका थिए।
सहरस्थित ताहिर स्क्वाएर प्रदर्शनको मुख्य बिन्दु बनेको थियो।
तर स्थानीय समाचा संस्थाहरूका अनुसार शनिवार उक्त स्थान जानमा रोक लगाइयो।
शनिवार संसद्को एउटा आपत्कालीन सत्र सम्पन्न हुन सकेन।

तस्बिर स्रोत, AFP
प्रदर्शनकारीहरूले विभिन्न टेलिभिजन स्टेशनमाथि आक्रमण गरेका छन्।
अनासुरीहमा भिडले छवटा राजनीतिक दलका कार्यालयमा आगजनी गरेका छन्।

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, AFP

तस्बिर स्रोत, Reuters
प्रतिक्रिया
गत शुक्रवार इराकका प्रधानमन्त्रीले प्रदर्शनकारीहरूको मागको सुनुवाइ गर्ने बताएका थिए।
तर उनीहरूका माग चामत्कारिक रूपमा पूरा गर्न भने नसकिने उनले उल्लेख गरेका थिए।
सुरक्षानिकायलाई आफ्नो पूर्ण समर्थन रहेको बताउँदै प्रधानमन्त्री अदेल अब्देलले सुरक्षाकर्मीहरूले अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुरूप प्रदर्शनकारीहरूसँग व्यवहार गरिएको बताए।
हिंसाबारे चासो व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घ र अमेरिकाले इराकी अधिकारीहरूलाई संयमित हुन आग्रह गरेका छन्।

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, AFP/Getty Images









