आइएसविरुद्धको लडाइँ अन्त्य: इराक

तस्बिर स्रोत, AFP
इराकका प्रधानमन्त्री हैदर अल अबादीले इस्लामिक स्टेट समूहविरुद्धको लडाइँ अन्त्य भएको औपचारिक घोषणा गरेका छन्।
आइएसको नियन्त्रणमा रहेका अन्तिम भू-भागहरुमाथि इराकी सेनाले पुन: नियन्त्रण कायम गरेको उनले बग्दादमा सञ्चारकर्मीहरुलाई बताए।
रुसी सेनाले सिरियामा आइएस नियन्त्रित क्षेत्र अब बाँकी नरहेको र आफ्नो अभियान सफल भएको बताएको दुई दिनपछि इराकी प्रधानमन्त्रीको पछिल्लो घोषणा आएको छ।
गौरव
बीबीसी संवाददाता सिबास्टियन असर भन्छन्, "सिरियासँगको सीमा क्षेत्रमा आफ्नो सेनाले पुन: नियन्त्रण जमाएको घोषणा गर्न पाउनु निश्चयनै अबादीका लागि एउटा गौरवको क्षण हो। आइएसको पकड क्षेत्र मोसुल पुन:नियन्त्रणमा लिएपछि इराक र सिरिया दुवैको सीमातिर जिहादीहरुविरुद्ध कारबाही तीव्र बनेको थियो"।
केही इस्लामवादी लडाकुहरु गाम्रीण क्षेत्रमा छरिएको र विदेशी लडाकुसहितका कतिपय टर्कीसँगको सिमाना हुँदै भागेको ठानिएको छ।
आइएसले सिरिया र इराकका ठूलो भूभाग सन् २०१४ मा कब्जामा लिएको थियो।
त्यसबेला उसले ती क्षेत्रलाई आफ्नो छुट्टै राज्य 'क्यालिफेट' घोषणा गरी १ करोडभन्दा बढी मानिसमाथि शासन चलाएको थियो।
तर पछिल्लो दुई वर्षमा उसले श्रृखंलावद्ध हारको सामना गर्नुपर्यो।








