इराक: हविजा शहर नजिकै 'आमचिहान'

निरिक्षण

तस्बिर स्रोत, AFP/GETTY IMAGES

तस्बिरको क्याप्शन, सयौं शव पुरिएको ठाउँ निरीक्षण गर्दै इराकी फौज
Published

गत महिनासम्म इस्लामिक स्टेट लडाकुको नियन्त्रणमा रहेको इराकी शहर हविजा नजिकै ४०० वटा शव रहेको आमचिहान फेला परेको अधिकारीहरुले बताएका छन्।

किर्कुक प्रान्तका गभर्नर रकान सइदले भने- शहरको ठीक बाहिर हवाई आधार क्षेत्रमा ती शवहरु फेला परेका हुन्।

केही शव साधारण पोशाकमा देखिएका थिए भने केही आइएसले मृत्युदण्ड दिने मानिस छुट्याउन लगाउन दिने गरेको विशेष पोशाकमा देखिएका थिए।

सइदले भने, "उक्त हवाई आधार क्षेत्र मानिस मार्ने ठाउँ बनेको रहेछ।"

पहिचान

जर्नेल मोर्तदा अल-लुवाइबीले भने-स्थानीयवासीले त्यसबारे जानकारी दिएपछि इराकी सेनाले उक्त चिहान फेला पारेको हो।

इराकी फौजले आइएस नियन्त्रणमा रहेका कैयौँ क्षेत्रमा दर्जनौं आमचिहानहरु फेला पारिसकेको छ।

गत वर्ष असोसियटेड प्रेसले आमचिहानको सर्वे गरेर ७२ वटा ठाउँ पहिचान गरेको थियो।

तिनमा ५,२०० देखि १५,००० सम्म शव हुनसक्ने उक्त समाचार एजेन्सीले भनेको थियो।

त्यसयता सेनाले आइएसबाट थप क्षेत्रहरु फिर्ता लिएको छ।

हविजा राजधानी बगदादको उत्तरमा २४० किलोमिटर टाढा रहेको छ।

सन २०१३ देखि आइएसको नियन्त्रणमा रहेको उक्त क्षेत्र सुरक्षा फौजले गत महिना पुन: आफ्नो नियन्त्रणमा फिर्ता ल्याएको थियो।