वर्षौँदेखि इजरेलमा रहेका नेपाली अहिलेको अवस्थाबारे के भन्छन्?

इजरेलबाट नेपाल फर्काइएकी एक विद्यार्थीकी र उनकी दिदी शुक्रवार बिहानका राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, इजरेलबाट नेपाल फर्काइएकी एक विद्यार्थीलाई स्वागत गर्न पुगेकी उनकी दिदी शुक्रवार बिहानको राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भावुक भएकी थिइन्
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

झापाकी भिमा थापा रोजगारीका लागि इजरेल गएको १७ वर्ष हुन लाग्यो। उनी त्यहाँ केअरगिभरको रूपमा कार्यरत छिन्।

उनी काम गर्ने स्थान ओफाकिम सहर अहिले इजरेल-हमास द्वन्द्वको केन्द्रमा रहेको गाजा स्ट्रीपबाट नजिकै पर्छ।

गाजामा अहिले पनि गोलाबारी जारी छ र ओफाकिममा एकै दिनमा कैयौँ पटक मानिसहरूलाई सुरक्षित स्थलमा जान चेतावनीस्वरूप साइरन बजाइन्छ।

साइरन बजेपछि उनले हेरचाह गर्ने एक जना ९३ वर्षिया महिलासहित बङ्करमा बस्न जानुपर्छ।

हुन त यस्तो गर्नुपरेको यो पहिलो पटक होइन। उनी इजरेल पुगेको डेढ दशकमा भिमाले कैयौँ पटक यस्तै अवस्थाको सामना गरेकी छन्।

यद्यपि यसपालि भने उनलाई पनि पहिलेको भन्दा निकै चिन्ता र डरले सतायो।

त्यसको कारण हो- हमासका लडाकुहरू गाजाबाट इजलेरली भूमिमै पसेर आक्रमण गर्नु।

गत शनिवार हमासले गरेको उक्त आक्रमणमा परेर एक हजार ३०० भन्दा बढी इजरेलीहरू मारिएको पुष्टि भइसकेको छ।

त्यसको प्रतिउत्तरमा इजरेलले सुरु गरेको आक्रमणमा गाजामा पनि एक हजार ४०० भन्दा बढीको ज्यान गएको छ।

झापाकी भिमा थापा इजरेल गएको डेढ दशक भइसक्यो

तस्बिर स्रोत, Facebook/Bhima Thapa

तस्बिरको क्याप्शन, झापाकी भिमा थापा इजरेल गएको डेढ दशक भइसक्यो

“यसअघि पनि हामी बसेको क्षेत्र वरपर रकेट प्रहार हुन्थ्यो अनि इजरेलले पनि कारबाही गरेको खबर सुनिन्थ्यो तर यत्रो धेरै मानिस मारिएका थिएनन्,” उनी भन्छिन्।

“यसपालि यतिधेरै मानिसहरू मारिएको र इजरेलभित्रै लडाकु पसेको भन्ने कुराले म पनि निकै आत्तिएँ तर अहिले भने अवस्था पहिलेभन्दा सुधार भएको छ। अब स्थिति साम्य बन्दै गएको जस्तो देखिएको छ। हामी सुरक्षित छौँ भन्ने मलाई लागेको छ।”

उनी इजरेलमा 'अहिले मात्र यस्तो अवस्था आएको र सबै नेपालीहरू असुरक्षित छन्' भन्ने कुरा सामाजिक सञ्जालमा फैलाइएको देखेको भन्दै त्यस्तो नगर्न आग्रह गर्छिन्।

“हाम्रो घर परिवारमा मानिसहरू आत्तिनेगरी हल्ला सामाजिक सञ्जालमा फैलाइएको छ। यहाँ हामी सुरक्षित छौँ। त्यस्तो आत्तिनु पर्ने अवस्था छैन।”

यद्यपि अहिलेको जति धेरै इजरेलीहरू मारिनेगरी अकस्मात् खालको आक्रमण ५० वर्षअघि मात्र भएको थियो भनेर इजरेलीहरूले भन्ने गरेको उनी बताउँछिन्।

‘स्थिति सामान्य बन्दै’

गैर आवासीय नेपाली सङ्घ इजरेलकी कोषाध्यक्ष समेत रहेकी मञ्जु भुजेल अहिले पनि तुलनात्मक रूपमा सुरक्षित स्थल तेल अभिभमा छन्।

तर पहिलेका आक्रमण वा तनावको अवस्थामा भन्दा यसपालि “बढी सतर्कता अपनाउनुपर्ने” अवस्था बनेको उनी बताउँछिन्।

“म यहाँ केअरगिभरको रूपमा आएको दुई वर्ष भयो तर यस्तो ठूलो खालको आक्रमण भएको थिएन,” उनले भनिन्।

यसपटक हमासका लडाकुहरू इजरेलभित्रै प्रवेश गरेर आक्रमण गरेकाले पनि ठूलो क्षति भएको र नेपालीहरूको समेत निधन भएकाले धेरैलाई “पहिलेभन्दा बढी डर र चिन्ता लागेको” उनको भनाइ छ।

“यहाँ के राम्रो छ भने द्वन्द्वग्रस्त क्षेत्र भए पनि इजरेलीहरूले सुरक्षाका राम्रा प्रबन्ध गरेकाले हामी धेरै आत्तिहाल्नुपर्ने अवस्था भने छैन।”

गैर आवासीय नेपाली सङ्घ इजरेलका अध्यक्ष श्रीकृष्ण भण्डारी पनि विगत केही दिनहरूका तुलनामा अहिले स्थिति धेरै सामान्य भएकाले नेपालीहरूले आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन्।

उनी भन्छन्, “आपत्कालीन अवस्थामा रहेकाहरूलाई इजरेल सरकारले नै प्रबन्ध गरेर सुरक्षित स्थलमा सारेको छ भने अहिले गाजाबाट खासै आक्रमण भएको छैन। इजरेलले मात्र गाजामा हमला गरिरहेकाले पनि अवस्था सामान्य बन्दै गएको हो।”

नेपाली विद्यार्थी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेपाल फर्काइएका विद्यार्थीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

नेपाल फर्कन दुई सयभन्दा बढीको आवेदन

गत शनिवार हमासले इजरेलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीसहित सयौँ जनाको ज्यान गएको थियो।

उक्त घटनामा थप चारजना घाइते भएका र एकजना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।

बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको नेपाली अधिकारीहरूले बताएका छन्।

‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरेल गएका विद्यार्थीमध्ये नेपाल फर्कन चाहने लगभग सबैलाई फर्काइएको तेल अभिभस्थित नेपाली राजदूत कान्ता रिजालले बताइन्।

यद्यपि अहिले पनि २०० भन्दा बढी नेपालीहरूले स्वदेश फर्कन चाहेको भन्दै आवेदन दिएको उनले जानकारी दिइन्।

“सरकारको निर्णय अनुसार उहाँहरूलाई पनि हामी स्वदेश फर्काउने व्यवस्था मिलाएर क्रमश: पठाउने छौँ,” उनले भनिन्।

उनले पुन: आफ्नै जहाजमार्फत नेपालीहरूलाई स्वदेश फर्काउने वा अन्य ढङ्गले व्यवस्थापन गर्ने भन्ने टुङ्गो भने नभएको बताइन्।

बेपत्ताको खोजी गर्न इजरेलको थप प्रतिबद्धता

इजरेलका लागि नेपाली राजदूत कान्ता रिजाल

तस्बिर स्रोत, Embassy of Nepal Israel

तस्बिरको क्याप्शन, इजरेलका लागि नेपाली राजदूत कान्ता रिजाल

नेपाली राजदूत रिजालका भनाइमा इजरेली विदेशमन्त्रीले बेपत्ता भएका एकजना नेपाली नागरिक विपीन जोशीको खोजीका लागि थप पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले बिहीवार इजरेली विदेशमन्त्री एली कोहेनसँग आफूले संक्षिप्त भेट गरेको र उनले त्यस्तो प्रतिबद्धता जनाएको जानकारी दिइन्।

इजरेलमा रहेका नेपाली विद्यार्थीहरूलाई स्वदेश फर्काउने कार्यको नेतृत्व गर्दै नेपालका परराष्ट्रमन्त्री एनपी साउद बिहीवार तेल अभिभ पुगेका थिए।

अधिकारीहरूका अनुसार उनी इजरेल लाने तय भएपछि पहिले तोकिएको उडान समय अनुसार इजरेली समकक्षीसँग भेटघाटका लागि समय मिलाइएको थियो।

तर नेपालबाट गएको जहाज इजरेल पुग्न ढिलो भएपछि मन्त्री साउद तेल अभिभस्थित विमानस्थलको विशिष्ट कक्षबाटै स्वदेश फर्केका थिए।

साउदले भेट गर्न नमिल्ने अवस्था बनेपछि इजरेली विदेशमन्त्रीसँग नेपाली राजदूतले भेटघाट गरेकी थिइन्।

“मैले उहाँसँगको भेटमा नेपालका तर्फबाट हमासको आक्रमणबाट मारिएका इजरेलीहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै नेपालीहरूको शव स्वदेश फर्काउने र बेपत्ता भएका विपीन जोशीको खोजीको विषय उठाएँ,” उनले बीबीसीसँग भनिन्।

“उहाँले इजरेली सुरक्षा र गुप्तचर निकायहरूलाई बेपत्ताको खोजीका लागि विशेष निर्देशन पहिले नै दिइसकेको र पुन: त्यस्तो निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।”

इजरेल तनाव

शव नेपाल ल्याउनेबारे के हुँदैछ?

राजदूत रिजालले दिएको जानकारी अनुसार इजरेलमा मारिएका १० जना नेपालीको शव स्वदेश फर्काउने ठ्याक्कै मिति तय भइसकेको छैन।

उनले भनिन्, “अहिले धेरै शवहरूको बीचमा नेपालीको शव पनि राखिएको छ र पहिचान गर्ने काम जारी छ। धेरै इजरेलीहरूको पनि ज्यान गएकाले शव पहिचान गरेपछि मात्र त्यो हामीलाई हस्तान्तरण हुनेछ।”

उनका अनुसार अहिले नै इजरेल आफैँले नेपालीको शव लगिदिन्छ वा नेपालले व्यवस्थापन गर्नुपर्छ भन्ने पनि तय भइसकेको छैन।

“यहाँको नियमअनुसार सबै प्रक्रियाहरू पूरा गरेर मात्र शव हस्तान्तरण हुने भएकाले त्यसका लागि केही समय लाग्छ होला,” उनले भनिन्।

इजरेलमा नेपालीको सङ्ख्या

इजरेलबाट नेपाल फर्काइएका विद्यार्थीहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, इजरेलबाट नेपाल फर्काइएका विद्यार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तसँग

नेपालको परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार अहिले इजरेलमा ४,५०० नेपालीहरू केअरगिभरको रूपमा कार्यरत छन्।

त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएको सरकारी तथ्याङ्क छ।

त्यसमध्ये २५३ जनालाई स्वदेश फर्काइएको छ भने १० जनाको निधन भएको छ। त्यस्तै घाइते भएका दुईजना हाल इजरेलमै उपचाररत रहेको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ।

यद्यपि इजरेलमा रहेका नेपालीहरू केही मात्रामा सरकारी विवरणमा नसमेटिएका र गैरकानुनी रूपमा इजरेलमा कार्यरत नेपालीहरू पनि रहेको बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।