नेपालीको उद्धार गर्न 'नेपाल वायुसेवा निगमको विमान' इजरेल उड्यो

इजरेलमा निधन भएका नेपालीको सम्झनामा गरिएको दीपप्रज्वलन

तस्बिर स्रोत, RSS

इजरेलमा अलपत्र परेका नेपालीहरूलाई उद्धारका लागि काठमाण्डूबाट तेल अभिभतर्फ नेपाल वायुसेवा निगमको विमान उडेको अधिकारीहरूले बताएका छन्।

नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले बिहीवार बिहानका राति नेपालीहरूलाई उद्धारका लागि एउटा वाइडबडी जहाज इजरेलतर्फ गएको जानकारी दिए।

"जहाज दुबई ट्रान्जिट हुँदै तेल अभिभतर्फ जाने तय भए अनुसार त्यता गएको छ। परराष्ट्रमन्त्रीज्यूको नेतृत्वमा नेपाली टोली त्यहाँ गएको हो," उनले भने।

उक्त जहाजले २५४ जना नेपाली विद्यार्थीहरूलाई नेपाल लिएर आउने उनले जानकारी दिए।

"उहाँहरूलाई लिएर बेलुका साढे ९ बजेसम्ममा जहाज काठमाण्डूमा आइसक्ने ठानिएको छ," उनले भने।

बुधवार अपराह्ण पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयले नेपाल वायुसेवा निगमको जहाज इजरेल जाने जानकारी दिएको थियो।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनेकी थिइन्, "नेपाल फर्कन चाहने नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउनका लागि आजै राति २५० सिटको नेपाल एयरलाइन्सको जहाज काठमाण्डूबाट तेल अभिभ तर्फ जाँदैछ।"

उनले नेपाल आउन चाहनेमा अधिकांश त्यहाँ 'लर्न एन्ड अर्न' कार्यक्रममार्फत गएकाहरू रहेकाले उनीहरू नै प्राथमिकतामा पर्ने बताइन्।

उनले प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परेर इजरेलमा निधन भएका १० नेपालीको शव नेपाल ल्याउन पनि पहल भइरहेको बताइन्।

उनले भनिन्, "अहिले शवहरू इजरेल सरकारको संरक्षणमा राखिएको छ। इजरेली निकायहरूले शव हस्तान्तरण गरेलगत्तै हामी शव ल्याउन सम्पूर्ण शक्ति लगाएर लागेका छौँ।"

यसअघि बुधवार बिहान त्यहाँ अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि “सकभर आजै नेपालबाट विमान पठाइने” परराष्ट्रमन्त्रीले बीबीसीलाई बताएका थिए।

“नेपाल वायु सेवा निगमले हवाई उडान अनुमतिका लागि पहल गरिरहेको छ। उडान अनुमति पाउनेबित्तिकै हामी सकभर आजै विमान त्यसतर्फ पठाउँछौँ,” उनले भनेका थिए।

हमास र इजरेलबीच लडाइँ भइरहेको क्षेत्रबाट सुरक्षित स्थानमा लगिएका नेपालीहरूले भने उद्धार कहिले हुन्छ भन्ने निश्चित नहुँदा आफूहरू “थप अन्योलमा परेको” बताएका छन्।

शनिवार हमासले गरेको आक्रमणमा गाजानजिकै १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।

हराइरहेका भनिएका विद्यार्थी विपीन जोशीको खोजी कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्।

परराष्ट्र मन्त्रीद्वारा इजरेली समकक्षीसँग कुराकानी

परराष्ट्रमन्त्री

तस्बिर स्रोत, Rss

परराष्ट्र मन्त्रालयले मङ्गलवार साँझ एउटा वक्तव्य जारी गर्दै नेपाली नागरिकको शव चाँडै स्वदेश ल्याउन लागिएको जनाएको थियो।

“इजरेलमा निधन भएका १० जना नेपालीको शव नेपाल ल्याउनका लागि इजरेल सरकारका विधिविज्ञान निकायसँग समन्वय भई सकेसम्म चाँडो ल्याउनेगरी कार्यप्रक्रिया सुरु भइसकेको छ,” वक्तव्यमा भनिएको छ।

त्यसबारे मङ्गलवार अपराह्ण परराष्ट्रमन्त्री साउदले इजरेली समकक्षीसँग टेलिफोन कुराकानीसमेत गरेको वक्तव्यमा उल्लेख छ।

इजरेली परराष्ट्रमन्त्री एली कोहेनले नेपालीहरूको शव फर्काउन र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसमा भनिएको छ, “…माननीय परराष्ट्रमन्त्रीज्यूले आफ्ना इजरेलका समकक्षीसँग टेलिफोन संवाद गरी हालको कठिन समयमा नेपाल इजरेलको साथमा रहेको जनाउँदै निधन भएका नेपालीहरूको शव स्वदेश ल्याउन, नेपालीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र स्वदेश फर्कन चाहने नेपालीहरूलाई सहजीकरण गर्ने विषयमा कुराकानी गर्नुभयो।”

“इजरेली सरकारका परराष्ट्रमन्त्रीले पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको छ।”

बुधवार बिहान बीबीसीसँगको कुराकानीमा इजरेलस्थित नेपाली राजदूत कान्ता रिजालले पनि “इजरेली अधिकारी र निकायहरूको समन्वयमा नेपालीको शव यथाशीघ्र नेपाल पठाउने पहल भइरहेको” बताएकी छन्।

उनका अनुसार इजरेली निकायले नेपालीको शव हस्तान्तरण गर्नेबित्तिकै स्वदेश फर्काउने गरी काम गरिरहेको बताइन्।

त्यस्तै उद्धारको पर्खाइमा रहेकाहरूलाई पनि स्वदेश फर्काउने अन्तिम तयारी भइरहेको उनको भनाइ छ।

इजरेलमा नेपाली

तस्बिर स्रोत, PRADIP THAPA

तस्बिरको क्याप्शन, हमासले गरेको आक्रमणमा परी ज्यान गुमाउने नेपालीहरू 'लर्न एन्ड अर्न' योजनाअन्तर्गत गएका कृषि विज्ञानका विद्यार्थी हुन्

कति छन् उद्धारको पर्खाइमा?

इजरेलमा रहेका र स्वदेश फर्कन चाहनेका लागि तेल अभिभस्थित नेपाली राजदूतावासले अनलाइनमार्फत् विवरण सङ्कलन गरिरहेको छ।

त्यस क्रममा मङ्गलवार बेलुकासम्म ३५० जना नेपालीहरूले स्वदेश फर्कन अनलाइन आवेदन दिएको दूतावासले जनाएको छ।

दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, “इजरेल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरूलाई इजरेली सुरक्षा संयन्त्रसमेतको सहयोगमा उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ।“

“यसैगरी इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहनुभएका ७२ जना नेपाली विद्यार्थीहरूलाई अझ सुरक्षित ठाउँमा सारिएको छ।”

दूतावासले बेपत्ता भएका एकजना नेपालीको खोजी कार्य पनि जारी रहेको वक्तव्यमा उल्लेख गरेको छ।

त्यसमा भनिएको छ, “हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका चार जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदै छ भने हराइरहेको एक जना नेपाली विद्यार्थीको खोजी कार्य प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तीव्र पारिएको छ।”

इजरेल

इजरेलमा रहेका नेपाली के भन्छन्?

गाजा क्षेत्रबाट उद्धार गरेर रामात नेगेभ क्षेत्रमा पुर्‍याइएका कतिपय नेपाली विद्यार्थीले अरू देशले आफ्ना नागरिकको उद्धार गर्दा पनि नेपाल सरकारले ढिलो गरेको गुनासो गरेका छन्।

त्यस्तै मध्येका एक बर्दियाका लुइस रिजालले बीबीसीसँगको सम्पर्कमा भने, “उद्धार कहिले हुन्छ भन्ने कुराले हामीलाई अझ अन्योल थपेको छ। हामी थप चिन्तामा परेका छौँ।”

उनले भने, “हामीलाई अहिले एउटा कृषि फर्ममा राखिएको छ। नजिकै एउटा रकेट खसेको भन्ने सुनिएको थियो। हामीलाई त्यसैले यहाँ पनि सुरक्षित छैनौँ कि भन्ने डर लागेको छ। खानेकुरा किन्ने पैसा पनि सकियो। सरकारले तत्काल उद्धार गरोस् भन्ने हाम्रो भनाइ छ।”

संसदीय समितिको बैठक

तस्बिर स्रोत, RSS

संसदीय समितिको निर्देशन

मङ्गलवार संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरेलमा निधन भएका नेपालीको शव ल्याउने र स्वदेश आउन चाहनेहरूलाई तत्काल उद्धार गर्न निर्देशन दिएको थियो।

उक्त समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेको उपचार गर्न, सम्पर्कविहीन भएकाको तत्काल खोजी गर्न, असहज परिस्थितिमा परेका नेपालीको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा स्वदेश फर्काउनका लागि इजरेल सरकारसँग समन्वय गरी काम गरिरहेको बताएका थिए।

समितिले नेपालीको उद्धारलाई प्राथमिकतामा राखेर काम गर्न पनि निर्देशन दिएको थियो।

इजरेलमा नेपालीको सङ्ख्या

नेपालको परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार अहिले इजरेलमा ४,५०० नेपालीहरू केअरगिभरको रूपमा कार्यरत छन्।

त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएको सरकारी तथ्याङ्क छ।

यद्यपि इजरेलमा रहेका नेपालीहरू केही मात्रामा सरकारी विवरणमा नसमेटिएका र गैरकानुनी रूपमा इजरेलमा कार्यरत नेपालीहरू पनि रहेको बताउँछन्।

इजरेलले गरेको आक्रमणका कारण गाजामा ठूलो विध्वंस भएको मासले गरेको अप्रत्याशित आक्रमणको जबाफमा इजरेलले गाजा क्षेत्रमा चार दिनदेखि निरन्तर हवाई हमला गरिरहेको छ। गत शनिवार प्यालेस्टिनी लडाकु समूहले हमासले इजरेलमा भीषण आक्रमण गर्दा ज्याने जानेहरूको सङ्ख्या १,२०० पुगेको छ। उक्त आक्रमणलाई इजरेलको ७५ वर्षे इतिहासमा भएको सबैभन्दा नराम्रो घटना मानिएको छ। मृत्यु हुनेमा नेपालीसहित विदेशी नागरिकहरू पनि छन्। इजरेलले गरेको हवाई आक्रमणका कारण गाजामा ज्यान गुमाउने मानिसको सङ्ख्या ९०० नाघेको छ। त्यस क्रममा हमासका दुई वरिष्ठ अधिकारी पनि मारिएको बताइएको छ। इजरेलले हवाई आक्रमण गर्न थालेपछि गाजाबाट २,६०,००० जनाभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इजरेलले गरेको आक्रमणका कारण गाजामा ठूलो विध्वंस भएको छ

मृतकको सङ्ख्या निरन्तर बढ्दै

हमासले गरेको अप्रत्याशित आक्रमणको जबाफमा इजरेलले गाजा क्षेत्रमा चार दिनदेखि निरन्तर हवाई हमला गरिरहेको छ।

इजरेलमा ज्यान जानेहरूको सङ्ख्या १,२०० पुगेको छ। उक्त आक्रमणलाई इजरेलको ७५ वर्षे इतिहासमा भएको सबैभन्दा नराम्रो घटना मानिएको छ। मृत्यु हुनेमा विदेशी नागरिकहरू पनि छन्।

इजरेलले गरेको हवाई आक्रमणका कारण गाजामा ज्यान गुमाउने मानिसको सङ्ख्या ९०० नाघेको छ। त्यस क्रममा हमासका दुई वरिष्ठ अधिकारी पनि मारिएको बताइएको छ।

इजरेलले हवाई आक्रमण गर्न थालेपछि गाजाबाट २,६०,००० जनाभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।