इरानले मध्यपूर्वका विभिन्न सहरमा हवाई आक्रमण गरेको विवरण

बाहरेनमा विस्फोटपछि उडेको धुवाँको मुश्लो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बाहरेनमा विस्फोटपछि उडेको धुवाँको मुश्लो
पढ्ने समय: ३ मिनेट

इरानले आफ्नो सिमानाभित्रका विभिन्न स्थानमा भएका अमेरिकी र इजरेली ह‍‍मलाको जबाफमा मध्यपूर्वभरी नै हवाई हमलाहरू गरेको छ।

इरानले हमला गरेको भन्ने विवरणहरू दुबई, दोहा, बाहरेन, कुवेत जस्ता स्थानबाट आइरहेका छन् जहाँ अमेरिकी सैन्य अखडाहरू रहेको ठानिएको छ।

दोहामा त्यहाँ अवस्थित त्यस क्षेत्रकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा रहेको अल उदेइद हवाई अखडालाई निशाना बनाएर विस्फोटन भएको थियो।

रोएटर्स समाचार संस्थाले इराकको एब्रिलस्थित अमेरिकी सैन्य अखडा नजिकै एउटा ड्रोनलाई अमेरिकी हवाई प्रतिरक्षा प्रणालीले खसालिदिएको जनाएको छ।

इजरेलसँग सिमा जोडिएको जोर्डनले उस्का सशस्त्र सैन्यले दुईवटा बलिस्टिक क्षेप्यास्त्रलाई खसालीदिएका जनाएको छ।

इजरेलले पनि इरानी क्षेप्यास्त्रहरूको लहर नै आएको जनाएको छ भने देशै भर हवाई हमलाको चेतावनी दिने साइरनहरू बजिरहेका थिए।

कतिपय विमान सेवाहरूले त्यस क्षेत्रमा आफ्ना हवाई उडानहरू रद्द गरेका छन्।

दुबईको पाँच तारे होटेलमा विस्फोटन

दुबईको पाँच तारे होटेलको प्रवेश द्वारमा विस्फोटन

तस्बिर स्रोत, Video screengrab

तस्बिरको क्याप्शन, दुबईको पाँच तारे होटेलको प्रवेश द्वारमा विस्फोटन

संयुक्त अरब एमिरेट्सको दुबई शहरस्थित फेअरमोन्ट द पाम होटेलमा विस्फोटन भएको देखिएको छ। अधिकारीहरूले "पाम जुमेरा क्षेत्रमा एउटा भवनमा भएको" भनेका त्यस घटनामा चारजनालाई चोट पटक लागेको जनाइएको छ।

उक्त घटनाको भएको भनिएको र सत्यता पुष्टि भएको भिडिओ दृश्यहरू सामाजिक सञ्जालहरूमा राखिएका छन्। तिनमा द फेअरमोन्ट होटेलको प्रवेश द्वारमा विस्फोट भएको देखिन्छ।

उक्त होटेलको अगाडिको भवनबाट खिचिएको भिडि‌ओमा क्षेप्यास्त्र खसेको र विस्फोट भएको दृश्य देखिन्छ।

उक्त दृश्य खिचिरहेका व्यक्ति विस्फोटपछि भुइँमा लडेको जस्तो लाग्छ र आगोको ठूलो मुस्लो देखिँदा उनी सो भवनको बाल्कोनीबाट पर हट्दछन्।

पुष्टि भएका अरू भिडि‌ओहरूमा उक्त पाँच तारे होटेलमाथि धुवाँको मुश्लो उडिरहेको देखिन्छ।

युएईको रक्षा मन्त्रालयले भनेको छ उस्ले इरानी क्षेप्यास्त्र र ड्रोनहरूको नयाँ लहरलाई बीच मै रोकिदिएको छ। त्यसअघि सो देशमाथि "इरानी बलिस्टिक क्षेप्यास्त्रहरूबाट हमला भएको" जनाइएको थियो।

सडकमा क्षेप्यास्त्र खसेपछि कतारले गर्यो इरानको निन्दा

कतारको एक आवासीय क्षेत्रमा एउटा क्षेप्यास्त्र सम्भवतः प्रतिरोधी हमलापछि अनियन्त्रित भएको खसेको भिडिओ दृश्यमा देख्न सकिन्छ।

उक्त क्षेप्यास्त्र जमिनमा खसेपछि ठूलो आगोको ज्वाला निस्कन्छ र कालो धुवाँको मुश्लो आकाशमा उड्न थाल्छ। त्यहाँ वरपर रहेका मानिसहरू यत्रतत्र भाग्न थाल्छन्।

कतारको विदेश मामिला मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै "इरानी बलिस्टिक क्षेप्यास्त्रले कतारी भूभागमा निशाना" बनाउने कार्यको निन्दा गरेको छ।

त्यसलाई उस्ले आफ्नो "राष्ट्रिय सार्वभौमिकतामाथिको सिधा उल्लंघन र उस्को सुरक्षा र अखण्डतामाथिको हमला" भनेको छ। र त्यो "अस्विकार्य गतिविधि" भएको पनि जनाएको छ।

कुवेतमा पनि विस्फोटन

उत्तरी इजरेलस्थित हाइफाको खाडीमा खसेको क्षेप्यास्त्र

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उत्तरी इजरेलस्थित हाइफाको खाडीमा खसेको क्षेप्यास्त्र विस्फोटन

बीबीसी संवाददाता केट विलिअम्स भन्छिन् उनले कुवेतमा शिक्षकको काम गर्ने सेब गिब्सनसँग कुरा गर्दा त्यहाँ उनले ठूलो विस्फोटनको आवाज सुनेको र त्यसपछि उनी बसेको भवन थर्किएको बताएका थिए। त्यसपछि अरू साना तीन या चार विस्फोटनहरू भएका उनले बताए।

उक्त स्थान कुवेत सिटिबाट ३० मिनेटको मोटरबाटोको दुरीमा पर्ने महबुला हो।

विस्फोटनको आवाजहरू सुनिनु अघि त्यहाँ चेतावनीका साइरनहरू बजेका थिए र अरबी तथा अङ्ग्रेजी भाषाहरूमा सावधानीका सन्देशहरू पनि दिइएको उनले बताए। सेबले उनी कार्यरत विद्यालय भोली पनि बन्द रहने बताइएको जानकारी दिए।

त्यसअघि कुवेतको रक्षा मन्त्रालयका एकजना प्रवक्ताले त्यहाँको अली अल-सलेम हवाई अखाडालाई इरानी बलिस्टिक क्षेप्यास्त्रहरूले निशाना बनाएका जनाएका थिए। कुवेतको स्थानीय सञ्चार माध्यमहरूले त्यहाँको विमानस्थललाई एउटा ड्रोनले निशाना बनाएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।