इरान हमला: अमेरिका र इजरेलको 'रोजाइको युद्ध'

इजरेल र अमेरिकी हमलापछि तेहरानमा भेला भएका इजरेल तथा अमेरिका विरोधी प्रदर्शनकारीहरू

तस्बिर स्रोत, EPA/Shutterstock

तस्बिरको क्याप्शन, इजरेल र अमेरिकी हमलापछि तेहरानमा भेला भएका इजरेल तथा अमेरिका विरोधी प्रदर्शनकारीहरू
    • Author, जेरमी बावेन
    • Role, अन्तर्राष्ट्रिय मामिला सम्पादक
  • पढ्ने समय: ३ मिनेट

संयुक्त राज्य अमेरिका र इजरेलले आफूलाई इरानसँगको नयाँ युद्धमा होम्ने भनेर जुन निर्णय लिएका छन् यसले पहिले अनुमानै नगरिएका असरहरू सहितको एकदमै डरलाग्दो अवस्थाको सिर्जना गरेको छ। इजरेलले आफूले गरेको हमलाको औचित्य पुष्टि गर्न "पूर्व प्रत्याक्रमण" भनेको छ।

तर प्रमाणहरूले देखाए अनुसार त्यस्तो शब्दावलीले अर्थ्याउने जसरी यो इजरेलमाथि हुनै लागेको आक्रमणलाई देखेर जनाइएको प्रतिक्रिया होइन।

बरू यो आफ्नो रोजाइ अनुसार गरिएको युद्ध हो।

इरान कमजोर भएको आकलन

इजरेल र संयुक्त राज्य अमेरिकाले इरानको इस्लामिक शासन अहिले कमजोर अवस्थामा रहेको भन्ने आकलन गरेका छन्।

उक्त देश गम्भीर आर्थिक सङ्कटमा छ र यो वर्षको आरम्भदेखि भएको विरोध प्रदर्शन अनि त्यसमा सहभागी भएकाहरूमाथि गरिएको क्रुर दमनको असर तथा गत ग्रिष्मयाममा भएको युद्धपछि प्रतिरक्षा प्रणालीहरू अझै क्षतिग्रस्त अवस्थामा रहेका छन्।

उनीहरूले यो अवसर छुटाउनै नहुने खालको भएको निष्कर्ष निकालेका जस्तो देखिन्छ।

यो अन्तर्राष्ट्रिय कानुनको धरमराउँदो प्रणालीमाथि अर्को धक्का पनि हो।

आ-आफ्ना वक्तव्यहरूमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरान तिनीहरूका देशका लागि खतरा भएको बताएका छन्।

ट्रम्पले त झन इरानलाई विश्वकै निम्ति खतरा समेत भने।

उक्त इस्लामिक सत्ता तिनीहरुको खराब शत्रुका रूपमा रहेको छ। तर अमेरिका र इजरेलको संयुक्त शक्ति एकातर्फ र अर्कोतर्फ इरान रहेको अवस्थामा देखिने ठूलो शक्ति असन्तुलनका माझ आत्मरक्षाका लागि पहिले हमला गरिएको भन्ने कारणको कानुनी औचित्य कसरी पुष्टि गर्न सकिन्छ भन्ने बुझ्न गाह्रो पर्दछ।

युद्ध – एक राजनीतिक कदम

युद्ध एउटा राजनीतिक कदम हो। सशस्त्र द्वन्द्वहरू एकपटक आरम्भ भएपछि हत्तपत्त नियन्त्रण गर्न गाह्रो हुन्छ। नेताहरूलाई त्यसका लागि स्पष्ट उद्देश्यहरू चाहिन्छ।

बेन्जमिन नेतन्याहुले दशकौँदेखि नै इरानलाई इजरेलको सबैभन्दा खतरनाक शत्रुका रूपमा हेर्दै आएका थिए। उनका लागि यो तेहरानको सत्ता र इरानको सैन्य क्षमतालाई सम्भवभएसम्म सबैभन्दा खराब क्षति पुर्‍याउने अवसर हुनसक्छ। नेतन्याहुले यो वर्ष केही पछि आमनिर्वाचनको पनि सामना गर्दैछन्।

हमाससँगको दुई वर्ष लामो लडाईँपछिको प्रमाण के हो भने इजरेल युद्धमा भएका बेला उनलाई लाग्छ उनको राजनीतिक अवस्था बलियो बन्ने गर्छ।

डोनल्ड ट्रम्पको उद्देश्यहरू भने चारित्रिक हिसाबले परिवर्तन भइरहने गर्छन्। ज्यानुअरी महिनामा उनले इरानका प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै तिनीहरूकालागि मद्दत आउँदै गरेको बताएका थिए।

त्यसबेला अमेरिकी नौसेनाको ठूलो भाग भेनेजुएलामा त्यहाँका नेतालाई अपदस्थ गर्नमा व्यस्त थियो। त्यही भएर उनीसँग सैन्य विकल्प सीमित थियो।

त्यस क्षेत्रमा दुईवटा क्यारिएर स्ट्राइक समूहहरू परिचालन गरिरहँदा र उल्लेख्य सङ्ख्यामा स्थलगत सैन्य शक्ति त्यसतर्फ पठाउँदै गर्दा ट्रम्पले इरानको परमाणु अस्त्र हासिल गर्ने उद्देश्यहरूको खतराको ठूलै चर्चा गर्ने गर्दथे। यद्यपी गत ग्रिष्म महिनामा भएको युद्धपछि ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई "ध्वस्त पारिएको" घोषणा गरेका थिए।

इरानको अवस्था

इरानी सत्ताले सँधै नै आफूले परमाणु अस्त्र तयार पार्न नचाहेको बताउँदै आएको छ।

तर उसले परमाणु कार्यक्रममा गैरसैनिक प्रयोजनका लागि उपयोग नहुने स्तरमा युरेनियम प्रशोधन गरेको थियो। यस सन्दर्भमा उसको न्यूनतम चाहना भनेको एउटा बम बनाउन प्रयोग गर्न सकिने विकल्पसम्म तयार पार्ने हुनसक्ने अनुमान गर्न सकिन्छ। तर यस्तो पनि हुन लागेको भन्ने देखाउने प्रमाण इजरेल र अमेरिकाले हालसम्म सार्वजनिक गरेका छैनन्।

हवाई हमलाहरू गर्दैमा कुनै पनि देशमा सत्ता परिवर्तन भएको दृष्टान्तहरू छैनन्। इराकमा सन् २००३ मा अमेरिकी नेतृत्वको ठूलो अतिक्रमणकारी सैन्यले सद्दाम हुसेनलाई सत्ताच्युत गरेको थियो।

लिबियामा मुअम्मर गद्दाफीलाई सन् २०११ मा विद्रोही सैन्यले हटाएका थिए र तिनीहरूलाई नेटो र अन्य केही अरब देशहरूले हवाई शक्ति दिएका थिए।

ती दुवै घटनामा निस्किएको नतिजा भनेको सत्ताको पतन, गृहयुद्ध र हजारौँको मृत्यु नै रह्यो। लिबिया अझै पनि असफल राष्ट्रको रूपमा रहेको छ। इराक अझै त्यसबेलाको सैन्य अतिक्रमण र रक्तपातको असरसँग जुझिरहेको छ।

यसपटक हवाई हमलाको शक्तिका भरमा नै सत्ता परिवर्तन भएमा पनि त्यहाँको इस्लामिक शासनलाई मानवअधिकारको प्रत्याभूति दिने उदारवादी प्रजातान्त्रिक व्यवस्थाले प्रतिस्थापन गर्ने छैन। अहिलेको शासन ढलेमा सत्ताको बागडोर सम्हाल्नका लागि भनेर निर्वासनमा रहेको कुनै विश्वसनीयताप्राप्त सरकार तयार अवस्थामा बसिरहेको पनि छैन।

अहिले इरानका नेताहरू कसरी यो युद्धबाट निस्कने, कसरी जोगिने र कसरी यसका प्रभावहरूलाई व्यवस्थापन गर्ने भनेर हिसाबकिताब गरिरहेका हुन सक्छन्।

साउदी अरेबियाको नेतृत्वमा रहेका तिनीहरूका छिमेकीहरू भने शनिवारका हमलाका घटनाहरूका सम्भावित परिणामहरू र निकै ठूलो अनिश्चितताको वातावरणबाट चिन्तित अवस्थामा रहेका हुनसक्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।