'कडा प्रतिक्रिया जनाउने' इरानको चेतावनीका माझ कतारको दोहा अनि अन्य स्थानमा विस्फोटनको आवाज

इरानले क्षेप्यास्त्र हमला गरेको भनेपछि दोहामा एक महिला मोबाइल झिकेर आकासतर्फ हेर्दै

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इरानले क्षेप्यास्त्र हमला गरेको भनेपछि दोहामा एक महिला मोबाइल झिकेर आकासतर्फ हेर्दै
पढ्ने समय: २ मिनेट

कतारको सरकारी सञ्चारमाध्यमका अनुसार त्यहाँको रक्षा मन्त्रालयले "देशको भूभाग लक्षित कैयन् हमलाको सफलतापूर्वक प्रतिरोध गरिएको" जनाएको छ।

एकजना कतारी अधिकारीले एएफपी समाचार संस्थासँग बोल्दै अमेरिकी प्याट्रिअट क्षेप्यास्त्रले एक इरानी क्षेप्यास्त्र खसाएको बताए।

कतारमा उक्त क्षेत्रकै सबभन्दा ठूलो अमेरिकी सैन्य अखडा अल उदैद हवाई अखडा रहेको छ।

दोहाबाट संवाददाता बार्बरा प्लेट अशरले उक्त अखडा निसानामा पारिएको देखिएको जनाएकी छन्।

कुनै क्षति नपुगेको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको बताइएको छ।

मानिसहरूको फोनमा घरभित्रै रहन आपत्कालीन सन्देशहरू आइरहेको अशरले जनाएकी छन्।

संयुक्त अरब इमिरेट्स (युएई), बाहरेन र कुवेतमा पनि विस्फोटनहरू सुनिएको उनले बताइन्।

युएईको सरकारी सञ्चार माध्यमका अनुसार इरानी क्षेप्यास्त्रहरू प्रतिरोध गरिएपछि खसेका टुक्राटाक्री लागेर एकजनाको ज्यान गएको छ। त्यहाँको रक्षा मन्त्रालयले ती व्यक्ति एसियाली मूलको भएको भनेको छ। थप पहिचान खुलाइएको छैन।

बाहरेनमा पनि अमेरिकी नौसैनिक अखडामा क्षेप्यास्त्र प्रहार भएको जनाइएको छ। त्यहाँ यूएस फिफ्थ फ्लीटको मुख्यालय छ।

आफूमाथि आक्रमण भए सो क्षेत्रमा रहेका अमेरिकी अखडाहरूमा प्रहार गरिने इरानले चेतावनी दिँदै आएको थियो।

इरानले के भन्यो?

इरानको विदेश मन्त्रालयले अमेरिका र इजरेलको हमला गर्ने 'नियत' रहेको बारे आफूहरू जानकार हुँदा हुँदै पनि वार्तामा बसेको बताएको छ।

"इरान र अमेरिकासँग कूटनीतिक प्रक्रियामा रहेकै बेला" आक्रमण भएको उसले भनेको छ।

इरान र अमेरिकाबीचको तेस्रो चरणको अप्रत्यक्ष वार्ता जिनिभामा फेब्रुअरी २६ मा सम्पन्न भएको थियो।

गत वर्षको मे महिनामा पनि ती दुई देशले पाँच चरणमा वार्ता गरेका थिए। छैटौँ चरणको वार्ता चाहिँ जुनमा इजरेलले इरानमा आक्रमण गरेपछि रद्द भएको थियो।

त्यसपछि १२ दिन सम्म चलेको युद्धका बेला अमेरिकाले इरानका तीनवटा महत्त्वपूर्ण परमाणु केन्द्रहरूमा बमबारी गरेको थियो।

चर्को प्रतिक्रियाको चेतावनी

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले अमेरिका र इजरेलको संयुक्त हवाई हमलापश्चात् 'कडा प्रतिक्रिया' जनाइने वाचा गरेको छ।

"फेरि एकपटक वार्ताकै दौरान" हमला गरिएको उसले बताएको छ।

सो परिषदले इरानको फौजले बदलाको कारबाही थालिसकेको बताएको छ।

तेहरान तथा अन्य सहरहरूमा अमेरिकी तथा इजरेलको हमला जारी रहन सक्ने भन्दै उसले नागरिकहरूलाई "शान्त रहन" र सम्भव भएसम्म सुरक्षित ठाउँमा जान भनेको छ।

समाजलाई आवश्यक पर्ने सामग्रीको जोहो सरकारले गरिसकेको उसले बताएको छ।

त्यहाँ स्कूल तथा विश्वविद्यालयहरू अर्को सूचना नआएसम्म बन्द गरिने भएको छ। ब्याङ्कको सेवा जारी रहने तथा सरकारी कार्यालय आधा क्षमतामा चल्ने बताइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।