गाजास्थित अल‍-शिफा अस्पताल 'अब एउटा समाधिस्थलजस्तो'

अल शिफा अस्पताल

तस्बिर स्रोत, GETTY IMAGES

सावधान : यो समाचारमा उल्लिखित केही विवरणले तपाईँलाई विचलित बनाउन सक्छन्

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गाजाको सबैभन्दा ठूलो अस्पताल अब झन्डै एउटा ‘चिहान’ जस्तै बन्न पुगेको बताएको छ।

गाजाको उत्तरमा अवस्थित अल-शिफा अस्पताल केही दिनदेखि लडाइँको अग्रमोर्चा बन्न पुगेको छ।

इजरेली सेनाले उक्त अस्पतालमुनि रहेका सुरुङूबाट हमासले युद्धको निर्देशन तथा नियन्त्रण केन्द्र 'कमान्ड एन्ड कन्ट्रोल सेन्टर' सञ्चालन गरिरहेको दाबी गरेको छ।

तर हमास र उक्त अस्पतालले इजरेली दाबीको खण्डन गरेका छन्।

अल-शिफा अस्पतालबाट दक्षिणतिर जाँदै एक घाइते महिला

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, फाइल तस्बिर

अमेरिकी राष्ट्रपति जो बाइडनले गाजा स्ट्रिपमा रहेका अस्पतालहरूको सुरक्षा गरिनुपर्ने बताएका छन्। उनले इजरेलले त्यहाँ “कम अतिक्रमणपूर्ण” कदम चाल्ने छ भन्ने आफूले आशा गरेको पनि बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले अल-शिफा अस्पताल समाधिस्थलजस्तै बन्न पुगेको भनेर चिन्ता व्यक्त गरेपछि राष्ट्रपति बाइडनको त्यस्तो टिप्पणी आएको छ।

अस्पतालमा शवको थुप्रो

डब्ल्यूएचओका प्रवक्ता क्रिस्टिआन लिन्ड्माइअरका अनुसार उक्त अस्पतालमा झन्डै ६०० जना बाँकी छन् भने अरू मानिस हल्वेमा शरण लिएर बसिरहेका छन्।

"अस्पतालवरिपरि शवहरू छरिएका छन् र तिनलाई केही गर्न सकिने अवस्था छैन। न त कतै लैजाने न त गाड्ने न त कुनै प्रकारको शवगृहमा लैजाने, केही गर्न सकिँदैन,” उनी भन्छन्।

“अस्पताल अब योभन्दा बढी सञ्चालन गर्ने सकिने अवस्था छैन। अनि यो लगभग शवहरू रहेको कुनै समाधिस्थलजस्तै बन्न पुगेको छ,“ प्रवक्ता लिन्ड्माइअरले भने।

त्यहाँका डाक्टरहरूले पनि अस्पतालमा शवहरूको थुप्रो लागेको र केही त सड्न थालेको बताएका छन्।

इजरेली अधिकारीहरूले सड्न थालेका शवहरूलाई गाड्नका निम्ति अन्यत्र लैजाने अनुमति नदिँदा अस्पतालभित्र पसेका कुकुरहरूले शव खान थालेको पनि देखिएको बीबीसीसँग कुरा गर्दै डा मोहमद अबु सेल्मियाले बताए।

नवजात शिशुहरू

गाजाको अल-शिफा अस्पतालमा बिजुली नभएपछि नवजात शिशुहरूलाई इन्क्यूबेटरबाट बाहिर निकालिएको छ

तस्बिर स्रोत, REUTERS

तस्बिरको क्याप्शन, गाजाको अल-शिफा अस्पतालमा बिजुली नभएपछि नवजात शिशुहरूलाई इन्क्यूबेटरबाट बाहिर निकालिएको छ

अस्पतालमा विद्युत् आपूर्ति काटिएपछि इन्क्यूबेटरमा राख्न नसकिएका समय नपुगी जन्मेका दर्जनौँ नवजात शिशुहरूको जीवन के होला भन्ने अन्योल बढेको छ।

"अक्सिजनको अभावमा त्यस्ता सात बच्चाहरूको ज्यान गइसकेको छ," डा सेल्मियाले भने।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुका एक वरिष्ठ सल्लाहकार मार्क रेगेभले त्यस्ता शिशुलाई स्थानान्तरण गर्ने “व्यावहारिक समाधान” इजरेलले दिएको र त्यस्तो प्रस्ताव हमासले नमानेको बताएका छन्।

अल-शिफाका साथै गाजा स्ट्रिपमा रहेका अरू अस्पतालहरूले पनि व्यापक समस्याहरूका बारे बताइरहेका छन्। त्यस्ता समस्यामा आवश्यक चिकित्सासामग्रीको अभाव र विद्युत् आपूर्ति बन्द भएको जस्ता अवस्थाहरू छन्।

अल-शिफा अस्पताल

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, अल-शिफा अस्पतालभित्र अझै सयौँ मानिस छन्

दक्षिणी गाजामा शरण लिनेको घुइँचो

अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणपछि चर्केको लडाइँ र इजरेलले गाजामा गरेको नाकाबन्दीलगायत विकसित घटनाक्रममा पछिल्लो अवस्था त्यस्तो बन्न पुगेको छ।

गाजामा भएको इजरेली हमलामा अहिलेसम्म ११,००० जनाभन्दा बढीको ज्यान गइसकेको बताइएको छ।

मानवीय उद्धार संयोजन मामिलाको राष्ट्रसङ्घीय कार्यालाय (ओचा) ले इजरेलले अनुमति दिएको मानवीय उद्धारमार्गको प्रयोग गरेर अनुमानित दुई लाख प्यालेस्टिनीहरूले उत्तरी गाजा छाडिसकेका छन्।

उनीहरू दक्षिण गाजामा गएपछि अचानक मानिसहरूको घुइँचो बढेपछि आश्रयस्थल, खानेकुरा र पिउने पानीको चरम अभाव उत्पन्न भएको पनि उक्त निकायले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।