इजरेल र गाजामा अहिले के भइरहेको छ, हमास के हो?

तस्बिर स्रोत, Getty Images
हमासका बन्दुकधारीहरूले अक्टोबर ७ तारिखमा गाजा स्ट्रिपमा अभूतपूर्व हमला गरी १,४०० जनाभन्दा बढीलाई मारिदिए भने दुई सय जनाभन्दा धेरैलाई बन्धक बनाए।
त्यसयता इजरेलले गाजामाथि हमलाहरू गर्दै आएको छ। हमासले चलाएको स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली हमलामा अहिलेसम्म १० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।
ज्यान गुमाउनेमध्ये चार हजार जनाभन्दा बढी बालबालिका रहेका बताइएको छ।
इजरेलले गाजामा के गरिरहेको छ?

तस्बिर स्रोत, Reuters
इजरेली रक्षा बल (आईडीएफ) ले गाजामाथि हवाई हमला गर्दै आएको छ भने स्थल फौज पनि त्यहाँ पठाएको छ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले “हमासको सैन्य र शासकीय सामर्थ्यलाई ध्वस्त पार्ने स्पष्ट उद्देश्यका साथै” बन्धकहरूलाई मुक्त गर्ने ध्येय रहेको बताएका छन्।
आईडीएफका अधिकांश जवानहरू उत्तरी गाजामा केन्द्रित भएका छन्। गाजा सिटीको जनघनत्व धेरै रहेको छ र नजिकै जबालिआ र शाती शरणार्थी शिविर छन्।
इजरेलले उत्तरतिरका बासिन्दालाई सुरक्षित ठाउँमा जान भनेको दक्षिणी गाजामा पनि हमलाहरू गरिरहेको छ।
बीबीसीका कूटनीतिक संवाददाता पल एडम्सका अनुसार उत्तरी गाजामा अझै तीनै मानिस बसिरहेका छन्।
गाजाको अवस्था क्षणक्षणमा परिवर्तन भइरहेको छ। पछिल्ला घटनामाः
- गाजा सिटीलाई घेरा हाली दुई भागमा बाँडेको सोमवार आईडीएफले जनाएको छ
- सर्वसाधारणलाई दक्षिणतर्फ जान दिनका लागि मार्ग दिएको उसले बताएको छ
- गाजा स्ट्रिपमा आक्रमण तीव्र पारेको भन्दै इजरेलले हमासका पूर्वाधारहरूलाई निशाना बनाइरहेको बताएको छ।
गाजाका नाकाहरूमा आईडीएफका दशौँ हजार जवान, ट्याङ्क तथा अस्त्रहरू तैनाथ छन्।
आईडीएफले आफ्ना एक लाख साठी हजार जवानसँगै तीन लाख जगेडा फौज तयार पारेको छ।
हमासको सैन्य विभागमा करिब २५ हजार सदस्य छन्। उसले भूमिगत सञ्जालबाट गतिविधि सञ्चालन गर्दै आएको छ।
गाजामा मानवीय अवस्था कस्तो छ?

तस्बिर स्रोत, SOPA Images
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले गाजा “बालबालिकाका लागि चिहान” बन्दै गएको चेतावनी दिएका छन्।
इजरेलले गाजामा हवाई हमलामा तीव्रता दिएसँगै महासचिवको चेतावनी आएको हो।
“मानवीय सहायताका निम्ति युद्धविराम हरेक घण्टा अति जरुरी” भइरहेको उनले बताएका छन्।
यसअघि राष्ट्रसङ्घीय निकायहरूले सोमवार एउटा संयुक्त वक्तव्य जारी गर्दै दुवैतर्फ सर्वसाधारण मारिनु “भयावह” भएको बताएका थिए।
“अब अति भइसक्यो” भन्दै राष्ट्रसङ्घीय निकायका प्रमुखहरूले मानवीय सहायताका निम्ति तत्काल युद्धविराम गर्न आह्वान समेत गरे।
बन्धक बनाइएका मानिसहरूलाई निःशर्त रिहा गर्न पनि उनीहरूले आह्वान गरेका छन्।
इजरेलले गाजा स्ट्रिप छोड्न भनेयता अनुमानित १४ लाख मानिस भागेर दक्षिणतर्फ पुगेका छन्।
फोन र इन्टरनेट सेवा काटिने क्रम जारी रहँदा एम्बुलेन्स समेत बोलाउन मानिसहरूलाई मुश्किल भएको छ।
गाजाले दैनिक ५०० लरी सामान पाउने गरेकोमा त्यसको सानो हिस्सा मात्र अहिले पुगिरहेको छ।
बन्धक बनाइएकाहरू को हुन्?
इजरेली सेनाका अनुसार हमासको नियन्त्रणमा गाजामा २४२ जना बन्धक रहेका छन्।
बन्धक बनाइएका मानिसहरूको अवस्थालाई लिएर “निकै चिन्तित” रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
खासगरी बालबालिका र ज्येष्ठ नागरिक वा कमजोर स्वास्थ्य भएका मानिसहरूको अवस्थालाई लिएर चिन्तित बनेको भन्दै उसले तत्काल रिहा गथर्न आग्रह गरेको छ।
अक्टोबरयता इजरेलले जेलमा कैद राखेका अनुमानित ५,१०० जना प्यालेस्टिनीको रिहाइका लागि दबाव सिर्जना गर्न हमासले बन्धकहरूलाई मुक्त नगरेको ठानिएको छ।
बन्धक बनाइएकामध्ये ५० जना इजरेली हवाई हमलामा मारिएका हमासले जनाएको छ।
गाजा स्ट्रिप के हो?
गाजा स्ट्रिप ४१ किलोमिटर लम्बाइ र १० किलोमिटर चौडाइ भएको इजरेल, इजिप्ट र भूमध्यसागरबीचको भूभाग हो।
त्यहाँ २३ लाख व्यक्तिको बसोबास छ। विश्वका धेरै जनघनत्व भएका ठाउँमध्ये गाजा स्ट्रिप पनि एक हो।
इजरेलले गाजाको आकाश (हवाई क्षेत्र) र समुद्री तटमा नियन्त्रण गर्छ र आफूसँग जोडिएको सीमानाका भएर को आउजाउ गर्न पाउँछ अनि के सामान ओसारपसार गर्न दिने हो भन्ने कुरा इजरेलको नियन्त्रणमा छ।
त्यसै गरी इजिप्टले पनि आफूसँग जोडिएको नाका भएर को आउजाउ गर्न पाउँछ भन्ने कुराको नियन्त्रण गर्छ।
हमास के हो?
हमास एउटा प्यालेस्टिनी इस्लामवादी लडाकु समूह हो। गाजा स्ट्रिपमा अहिले त्यस समूहको सत्ता छ।
हमासले इजरेलको विनाशको शपथ लिएको छ र सन् २००७ मा गाजाको सत्ता हातमा लिएयता उसले कैयौँ पटक इजरेलसँग लडाइँ गरिसकेको छ।
ती लडाइँका क्रममा उसले इजरेलमाथि रकेटहरू प्रहार गरेको छ अथवा अरू समूहलाई पनि प्रहार गर्न लगाएको छ।
इजरेलले पनि लगातारजसो हमासविरुद्ध हवाई हमलाहरू गर्दै आएको छ र इजिप्टसँग मिलेर सन् २००७ यता गाजा स्ट्रिपमाथि नाकाबन्दी गरेको छ।
आफ्नो सुरक्षाका निम्ति त्यसो गरेको इजरेलको दाबी छ।
इजरेल, संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र यूकेका साथै विभिन्न मुलुक समग्रमा हमासलाई अथवा केही अवस्थामा उसको सैन्य सङ्गठनलाई आतङ्कवादी समूह ठान्छन्।
हमासलाई इरानले सघाउँदै आएको छ। उसले सो समूहलाई आर्थिक सहायता उपलब्ध गराउनुका साथै अस्त्र तथा प्रशिक्षण दिँदै आएको छ।
इजरेल र हमासबीच किन लडाइँ भएको हो?

तस्बिर स्रोत, OREN ROSENFELD
हमास र इजरेलबीच निरन्तर तनाव रहिआएको छ।
तर हमासले शनिवार बिना कुनै चेतावनी इजरेलभित्र आक्रमण गर्यो।
हमासले इजरेलमाथि हजारौँ रकेट प्रहार गर्यो भने उसका लडाकुहरूले सीमामा लगाइएको तारबार हटाए अनि इजरेली समुदायमाथि अतिक्रमण गरे, सयौँलाई मारिदिए र कैयौँलाई बन्धक बनाएर लगे।
गाजामा लडाकुहरूको अखडालाई लक्ष्य बनाएर इजरेलले तत्कालै हवाई हमलाहरू शुरू गर्यो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




