गाजास्थित प्रमुख अस्पताल काम गर्न नसक्ने अवस्थामाः डब्ल्यूएचओ

अल-शिफा अस्पताल

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अल-शिफा अस्पताल

विश्व स्वास्थ्य सङ्गठन, डब्ल्यूएचओले गाजास्थित प्रमुख स्वास्थ्य केन्द्र अल-शिफा अस्पतालको अवस्था “दयनीय र जोखिमपूर्ण” बनेको चेतावनी दिएको छ।

उक्त अस्पताल अहिले लगभग बिजुली नभएको र खानेकुरा तथा पानीको अभावको अवस्थाबाट गुज्रिरहेको छ।

पहिल्यैदेखिको गम्भीर अवस्थालाई अस्पताल क्षेत्र आसपास “निरन्तर भइरहेका गोलाबारी र बमबारी” ले झन् बिगारेको र अल-शिफाले “अस्पतालको रूपमा काम गर्न छोडेको” डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन्।

त्यहाँ उपचाररत जोखिममा रहेका नवजात शिशुहरूलाई उक्त अस्पतालबाट अर्को अस्पतालमा सार्ने काममा “ सघाउन तयार रहेको” इजरेली सेनाले दोहोर्‍याएको छ।

तीनमध्ये एकको ज्यान जाँदै

महिना नपुगी जन्मेका प्रत्येक तीनमध्ये एक शिशुको बिजुली अभावका कारण ज्यान जाने गरेको अल-शिफा अस्पतालका शल्यक्रिया प्रमुख मारवान अबु सादाले बीबीसीलाई बताए।

यसअघि इन्क्यूबेटरमा राखिएका नवजात शिशुहरूलाई बिजुली अभावका कारण शल्यचिकित्सा वार्डका शय्याहरूमा सारिएको छ।

थुप्रै नवजात शिशुहरूले पाउनुपर्ने सेवा नपाइरहेको भन्दै उनले “ती सबैको ज्यान जान सक्ने डर भएको” बताए।

शिशु

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अल-शिफा अस्पताल

यसअघि बीबीसीसँग कुरा गर्दै इजरेली राष्ट्रपति आइजक हर्टसोगले अल-शिफा अस्पतालमा 'हमास र त्यसका मुख्यालयहरू रहेका' आरोप दोहोर्‍याएका थिए।

हमास समूहलले अस्पताललाई सैन्य उद्देश्यका लागि प्रयोग गरेको अस्वीकार गर्दै आएको छ।

डा. अबु सादाले पनि इजरेली आरोपलाई “ठूलो झूट” को सङ्ज्ञा दिँदै नजिक रहेका फौजहरूलाई आउन र अस्पतालको निरीक्षण गर्न “खुला निम्तो” दिएका छन्।

अस्पतालभित्र दुई हजारभन्दा बढी

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अल-शिफा अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै अस्पतालभित्र अझै कम्तीमा २,३०० जना रहेका जनाएको छ।

त्यो सङ्ख्याबारे डब्ल्यूएचओलाई जानकारी गराइएको र उसले सामाजिक सञ्जाल एक्समा त्यसलाई पोस्ट गरेको हो।

मन्त्रालयको अद्यावधिक जानकारी अनुसार ६०० देखि ६५० जना उपचाररत रहेका छन् भने २०० देखि ५०० स्वास्थ्यकर्मी र आश्रय लिएका विस्थापितहरू करिब १,५०० जना छन्।

बिजुली, पानी र खानेकुराको अभावले जीवन “तत्काल जोखिममा रहेको” पनि मन्त्रालयले जनाएको छ।

“तत्काल युद्धविराम” गर्न र “सर्वसाधारण तथा स्वास्थ्य संस्थाहरूलाई जोगाउन” विश्व स्वास्थ्य सङ्गठनले फेरि आह्वान गरेको छ।

डक्टर्स विदआउट बोर्डर्सले गए रातियता अल-शिफा अस्पतालस्थित आफ्ना कर्मचारीहरूसँग सम्पर्क हुन नसकेको जनाएको छ।

अल-शिफा अस्पताल गाजा स्ट्रिपमा रहेकामध्ये सबैभन्दा ठूलो अस्पताल हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।