रफाह नाका कहाँ छ, गाजाका लागि यो किन महत्त्वपूर्ण छ

रफाह नाकामा जम्मा भएका प्यालेस्टिनी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रफाह नाकामा प्यालेस्टिनीहरूको भिड लागेको छ

इजरेलले गाजामा स्थलगत आक्रमण गर्ने अनुमान गरिएका बेला त्यहाँबाट सुरक्षित निस्किन पाउने आशमा प्यालेस्टिनीहरू दक्षिणी गाजाको इजिप्टसँग जोडिएको रफाह क्रसिङ अर्थात् सीमानाकामा भेला भएका छन्।

अमेरिकी सञ्चारमाध्यमहरूले जनाएअनुसार समय नतोकीकन दुवै नागरिकलाई निस्किन दिन र मानवीय सहायताका लागि सीमानाका खोलिने छ।

उक्त नाका मङ्गलवार रातिसम्म खुलेको थिएन।

रफाह क्रसिङ के हो?

रफाह क्रसिङ गाजाबाट निस्किने सुदूरदक्षिणी सीमाबिन्दु हो जुन इजिप्टको साइनाई प्रायःद्वीपसँग जोडिएको छ।

गाजा क्षेत्रतिरबाट आउजाउ गर्ने दुईवटा सीमा मात्र छन्: इरेज र केरम शुलम।

इजरेलसँग सीमा जोडिएको इरेज भएर आउजाउ गर्न मिल्छ। केरम शुलम दक्षिणी गाजा र इजरेल जोडिएको सीमा हो जहाँबाट सामान मात्र ओसारपसार हुन्छ।

अहिले दुवै सीमानाका बन्द छन्।

रफाह सीमानाका अहिले किन महत्त्वपूर्ण छ?

गाजामा शासन गर्दै आएको प्यालेस्टिनी लडाकु समूह हमासले अक्टोबर ७ तारिखमा इरेज सीमानाकाबाट छिरेर दक्षिणी इजरेलमा अभूतपूर्व आक्रमण गरेको थियो। त्यस क्रममा १,३०० जनाभन्दा बढीको ज्यान गयो।

त्यसको केही दिनपछि इजरेलले अर्को सूचना नआएसम्मका लागि उक्त नाका बन्द गर्‍यो।

त्यो कदमसँगै गाजाबाट ओहोरदोहोर गर्ने एउटा नाकाको रूपमा रफाह बाँकी रह्यो।

मानवीय सहायता ओसारपसारका लागि अहिले रफाह नाका मात्र उपलब्ध छ।

इजिप्टको विदेश मन्त्रालयले गाजाका लागि अन्तर्राष्ट्रिय सहायता पुर्‍याउने उडानहरू उत्तरी साइनाईस्थित इल-आरिश विमानस्थलबाट गर्न निर्देशन दिइएको गत साता बताएको थियो।

हाल इन्धन र मानवीय सहायता सामग्री बोकेका सयौँ लरीहरू रफाह सीमानाकाको इजिप्टपट्टि रोकिएका छन्। गाजा प्रवेश गर्न ती नाका खुल्ने प्रतीक्षामा छन्।

रफाह नाका

सीमानाकामा के भइरहेको छ?

अक्टोबर ७ तारिखमा हमासले आक्रमण गरेयता रफाह सीमानाकाको अवस्थालाई लिएर विरोधाभासपूर्ण विवरणहरू आइरहेका छन्।

उक्त सीमानाका भएर कसले आउजाउ गर्न सक्छ भन्ने कुरा हमास र इजिप्टले नियन्त्रण गर्छन्। तर इजरेली हवाई आक्रमणहरूका कारण त्यो क्षेत्र प्रभावित बनेको छ।

अक्टोबर ९ र १० तारिखका दिन इजरेलले रफाहमा गरेका तीनवटा हवाई हमलापछि उक्त नाका बन्द गरिएको इजिप्टका सञ्चारमाध्यमले जनाएका छन्। हमलाबाट सीमानाकाको दुवैपट्टि मानिसहरू घाइते भए।

इजिप्ट सरकारले गाजाका बासिन्दाहरूको “लाइफलाइन” को रूपमा रहेको सीमानाकामा हवाई हमला रोक्न अक्टोबर १२ तारिखमा इजरेललाई आग्रह गर्‍यो। सो क्रममा इजिप्ट सरकारले आफ्ना कर्मचारीहरूको सुरक्षा सुनिश्चित नभएसम्म सीमानाका नखोल्ने पनि स्पष्ट पार्‍यो।

उक्त नाका खोल्ने विषयमा कुनै सहमति हुन सकेको छैन।

बीबीसीको न्यूजआवर कार्यक्रमसँग कुरा गर्दै इजिप्टका विदेशमन्त्री समेह शूकरीले इजिप्टको दृष्टिकोणबाट "हाम्रोतर्फ रफाह नाका औपचारिक रूपमा खुला" भएको बताए। हवाई आक्रमण भइरहेकाले उक्त नाकालाई प्रयोग गर्न नसकिएको र सहायता बोकेका लरीहरू गाजातिर जान सुरक्षित नभएको उनको तर्क छ।

पश्चिमा मुलुकहरू पनि रफाह सीमानाकालाई आउजाउ र मानवीय सहायता सामग्री ओसारपसारका लागि सुरक्षित गराउने विषयमा लागिपरेका छन्।

यूकेका विदेशमन्त्री जेम्स क्लेभर्ली र उनका अमेरिकी समकक्षी एन्टोनी ब्लिङ्कन दुवैले उक्त सीमानाका खुलाउने दिशामा इजरेल, इजिप्ट र “सो क्षेत्रका अन्य राजनीतिक पक्षसँग” मिलेर काम गरिरहेको बताएका छन्।

युद्धविरामको सहमतिपछि केही समयका लागि रफाह सीमानाका खोलिन सक्ने विवरणबीच सोमवारदेखि त्यहाँ मानिसहरूको भिड लाग्यो। तर त्यस्तो सम्भावनालई इजरेल र हमास दुवै पक्षले तत्कालै अस्वीकार गरे।

गाजाबाट मानिसहरूलाई सुरक्षित रूपमा बाहिर लैजाने निकासमार्ग

सीमानाका किन बन्द छन्?

हमास लडाकुहरूले गाजा छोड्न नपाऊन् भन्ने र गाजातिर जान लागेका लरीहरूमा हतियार नभएको सुनिश्चित गर्ने इजरेलको चाहना छ।

हुन त इजिप्टले मानवीय सहायता पुर्‍याउनका निम्ति र विदेश पासपोर्टधारीका लागि उक्त सीमानाका खुलाउने विषयमा सहमतिका लागि अरू देशसँग सहकार्य गरिरहेको छ। तर प्यालेस्टिनीहरू भागेर साइनाईतिर पुग्ने सम्भावनालाई लिएर ऊ चिन्तित देखिन्छ।

त्यो भएर इजिप्ट कसैका लागि र निस्किन खोज्ने गाजाका सबैका लागि सीमानाका खोल्न चाहेको देखिँदैन।

इस्लामिस्ट लडाकुहरू इजिप्ट प्रवेश गर्न सक्ने सम्भावनालाई लिएर पनि त्यहाँको सरकार चिन्तित देखिन्छ।

पहिला रफाह नाका कसरी प्रयोग हुन्थ्यो?

रफाह नाका प्रयोग गरेर प्यालेस्टिनीहरू गाजाबाट सजिलै बाहिर जान पाउँदैनन्।

कायरोले वर्षौँदेखि उक्त नाका प्रयोग गरी आउजाउ गर्न कडाइ गरेको छ।

उक्त नाका भएर जान चाहने प्यालेस्टिनीहरूले स्थानीय अधिकारीहरूसमक्ष दुईदेखि चार हप्ता पहिले निवेदन दिनुपर्ने हुन्छ।

त्यस्तो निवेदनलाई प्यालेस्टिनी अथवा इजिप्टका अधिकारीहरूले सामान्य चेतावनी वा कारण देखाउँदै अस्वीकार पनि गर्न सक्छन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२३ मा इजिप्टका अधिकारीहरूले गाजाबाट १९,६०८ जनालाई निस्किन दियो भने ३१४ जनाको निवेदन अस्वीकृत गरिदियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।