गाजाको अस्पतालमा विस्फोटन : 'सयौँ मानिसको मृत्यु'

गाजामा अस्पतलमा भएको आक्रमणपछि डराएका महिला र बालबालिकाहरू
    • Author, डेभिड ग्रिटन
    • Role, बीबीसी न्यूज

गाजा सिटीस्थित एउटा व्यस्त अस्पतालमा भएको विस्फोटनमा परेर सयौँ व्यक्तिको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

एक डाक्टरले अल-अहली अरब अस्पतालमा "नरसंहार" भएको भन्दै निन्दा गरेका छन् भने अर्का चिकित्सकले उक्त विनाशकारी दृश्यको वर्णन गरेका छन्।

प्यालेस्टिनी अधिकारीहरूले इजरेली हवाई हमलाका कारण उक्त विस्फोट भएको बताएका छन्।

तर इजरेली सेनाले त्यो प्यालेस्टिनी ‘इस्लामिक जिहाद’ समूहको असफल रकेट प्रक्षेपणको नतिजा भएको बताएको छ।

उक्त आरोपलाई उक्त सशस्त्र समूहले अस्वीकार गरेको छ।

गाजामा भएको आक्रमणपछिको दृश्य

तस्बिर स्रोत, EPA

इजरेलको आक्रमण

गत अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरेलमा अप्रत्याशित आक्रमण गरेपछि इजरेली लडाकु विमानहरूले गाजामा बमबारी गरिरहेका छन्। हमासको आक्रमणमा परेर इजरेलमा १,३०० भन्दा बढीको मृत्यु भएको थियो।

इजरेलले गाजामा गरेको आक्रमणमा परी हालसम्म ३,००० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ।

अहिले अस्पतालमा भएको विस्फोटले त्यहाँको मानवीय सङ्कट समाधान गर्ने प्रयासहरूलाई पनि पर धकेलिरहेको छ।

अस्पतालमा आक्रमण

तस्बिर स्रोत, EPA

जोर्डनले बुधवार अमेरिकी राष्ट्रपति जो बाइडन, जोर्डनका राजा अब्दुल्ला तथा प्यालेस्टिनी र इजिप्टका नेताहरूबीच गर्ने भनेको एउटा सम्मेलनलाई स्थगित गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले चाहिँ आफ्नो देशले "इजरेललाई जनाएको ऐक्यबद्धता" र "उसको सुरक्षाका लागि गरेको प्रतिबद्ध" देखाउन तेल अभिभको यात्रा गर्न लागेका छन्।

गाजाको अस्पतालमा के भयो?

मङ्गलवार राति सार्वजनिक भएका अल-अहली अरब अस्पतालका तस्बिरहरूमा त्यहाँको अस्तव्यस्त र भयावह दृश्य देखिन्छ।

त्यहाँ रगतले लतपतिएको अवस्थामा अशक्तहरूलाई रातको अँध्यारोमा स्ट्रेचरहरूमा बाहिर निकालिएको थियो।

तस्बिरमा भत्किएका सडकमा शव र ध्वस्त भएका सवारीसाधनहरू देख्न सकिन्छ। एउटा भिडिओमा उक्त क्षेत्रमा प्रहार भएपछि विस्फोटन भएको देखिन्छ।

आक्रमण भएको गाजास्थित अस्पताल

तस्बिर स्रोत, EPA

"हामी अस्पतालमा काम गरिरहेका थियौँ, त्यहाँ शक्तिशाली विस्फोटन भयो र शल्यक्रिया गरिने कोठाको छत खस्यो। यो एउटा नरसंहार हो," युद्धमा घाइते भएकाहरूको उपचार गर्न सहयोग गरिरहेका मेड्साँ सँ फ्रोन्टिअरका प्लास्टिक सर्जन डा घसन सित्ताहले भने।

अर्का एक चिकित्सकले बीबीसीलाई बताएअनुसार अस्पतालको ८० प्रतिशत सेवा बन्द गरिएको छ। त्यहाँ १,००० मानिस मारिएको वा घाइते भएका छन् भन्ने अनुमान छ।

आक्रमण भएको अस्पतालबारे के थाहा छ?

अहली अल-अरब अस्पताल पूर्ण रूपमा एङ्ग्लिकन चर्चद्वारा दिइने आर्थिक सहायताबाट सञ्चालित छ। त्यो गाजाका कुनै पनि राजनीतिक गुटहरूसँग नजोडिएको स्वतन्त्र सेवा हो।

जेरुसलेमको सेन्ट जोर्ज कलेजका डीन क्यानन रिचर्ड सेवेलले के भएको हो भन्ने भरपर्दो जानकारी प्राप्त गर्न गाह्रो भएको तर अस्पतालमा क्षति भएको पुष्टि गर्न सकिने बताए।

उनले त्यहाँ "डरलाग्दो सङ्ख्यामा मानिसहरू मारिएको" हुन सक्ने बताएका छन्। उनी जेरुसलेम सहरका चर्चका शीर्ष व्यक्तित्वहरूमध्ये एक हुन्।

उनले बीबीसीलाई गत साताको अन्त्यमा करिब ६,००० विस्थापित मानिसहरू अस्पताल परिसरमा आश्रय लिइरहेको बताएका थिए। उनका अनुसार अस्पताललाई पहिलो पटक इजरेली हवाई हमलाले क्षति पुर्‍याएको थियो र शनिवार चार जना घाइते भएका थिए।

अस्पतालमा आक्रमण

तस्बिर स्रोत, EPA

त्यसपछि ५,००० जति मानिसले उक्त ठाउँ छाडेको तर १,००० मानिस आश्रय लिएर बसिरहेको उनले बताएका थिए।

रिचर्ड सेवेलले सोमवार विस्फोटन हुँदा झन्डै ६०० बिरामी र उनीहरूको उपचार गर्ने कर्मचारी अस्पतालभित्र रहेको तर मारिनेमध्ये धेरै अस्पतालको आँगन र आसपासमा थिए भन्ने आफूलाई लागेको बताए।

उनले भने, "यस प्रकारको आक्रमणको कुनै पनि हिसाबले न्यायोचित छैन, चाहे त्यो आकस्मिक रूपमा गरिएको होस् वा जानाजान गरिएको होस् यो निकै डरलाग्दो कुरा हो र जसरी त्यसको खुलासा भइरहेको छ।"

प्रत्यक्षदर्शी के भन्छन्?

उक्त आक्रमण भएका बेला नजिकै रहेका ब्रिटिश-प्यालेस्टिनी सिभिल इन्जिनियरिङ सल्लाहकार र विश्वविद्यालयका प्राध्यापक जाहेर कुहाइलले बीबीसीसँग आफूले देखेको कुरा "कल्पनातीत" भएको बताए।

"मैले एफ-१६ वा एफ-३५ [फाइटर जेट] बाट आएका दुईवटा रकेटहरू [देखेँ], तिनले मानिसहरूलाई गोलाबारी गर्दै र उनीहरूलाई कुनै दया नगरी निर्ममतापूर्वक मारे," उनले भने।

उनले विस्फोट भएको आगलागीबाट धेरै व्यक्तिको मृत्यु भएको र सबैभन्दा पहिले उद्धार गर्न पुगेकासँग बाँचेकाहरूलाई उद्धार गर्न आवश्यक उपकरणको अभाव रहेको बताए।

गाजाको स्वास्थ्य मन्त्रालयले ५०० जनाको मृत्यु भएको र सयौँ भग्नावशेषमुनि फसेको हुन सक्ने बताएको छ।

अस्पतालमा आक्रमण

तस्बिर स्रोत, EPA

हमास के भन्छ?

हमासले इरेली हमलालाई "भयानक नरसंहार" भनेको छ।

वेस्ट ब्याङ्कमा रहेका प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासका प्रवक्ताले इजरेलले "जघन्य अपराध" गरेको आरोप लगाए।

उक्त हमलापछि त्यसले वेस्ट ब्याङ्कका प्यालेस्टिनीहरूमा पनि आक्रोश उत्पन्न भएको छ।

त्यहाँका सडकहरूमा त्यो देखिएको छ। सयौँ प्रदर्शनकारीहरूको सुरक्षा बलहरूसँग झडप भएको छ र त्यसलाई रोक्न त्यहाँ अश्रुग्यास प्रहार भएको छ।

इजरेल डिफेन्स फोर्स (आईडीएफ)ले पहिलो प्रतिक्रियामा अस्पतालहरूलाई लक्षित नगरेकोमा जोड दिएको छ र "अप्रमाणित दाबी"बारे सावधानी अपनाउन आग्रह गरेको थियो।

वेस्ट ब्याङ्कमा प्यालेस्टिनीहरूले प्रदर्शन गरेका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, वेस्ट ब्याङ्कमा प्यालेस्टिनीहरूले प्रदर्शन गरेका छन्

पछि त्यसका प्रमुख प्रवक्ता डानिएल हगारीले एउटा भिडिओ सन्देशमा भनेका छन्, "अतिरिक्त समीक्षा र कारबाही तथा गुप्तचर प्रणालीको पुन: परीक्षण पछि आईडीएफले गाजाको अस्पतालमा आक्रमण नगरेको स्पष्ट भएको छ।"

"इस्लामिक जिहाद नामको आतङ्ककारी सङ्गठनद्वारा प्रक्षेपण गरिएको असफल रकेटका कारण अस्पतालमा क्षति पुगेको हो," उनले भने।

उनले युद्ध सुरु भएदेखि इजरेलतर्फ अन्धाधुन्ध रूपमा प्रहार गरिएका हजारौँ रकेटमध्ये ४५० वटा गाजाभित्र खसेका र सर्वसाधारणलाई खतरामा पारेको बताए।

प्यालेस्टिनी इस्लामिक जिहादले आफ्नो कुनै पनि रकेटका कारण उक्त घटना भएको अस्वीकार गरेको छ। उसले गाजा सहर वरपर आफूले कुनै गतिविधिनगरेको बताएको छ।

गाजा

अन्तर्राष्ट्रिय संस्थाको भनाइ के छ?

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले गाजाका विवरणहरूबाट स्तब्ध भएको बताएको छ।

"अस्पतालहरू मानव जीवन बचाउने स्थल हुनुपर्छ, मृत्यु र विनाशको स्थल होइन।”

“कुनै पनि बिरामीलाई अस्पतालको बेडमा मारिनु हुँदैन। कुनै पनि डाक्टरले बिरामीलाई बचाउँदै गर्दा आफ्नो ज्यान गुमानुपर्ने अवस्था बन्नु हुँदैन।”

“अस्पतालहरू अन्तर्राष्ट्रिय मानवतासम्बन्धी अन्तर्राष्ट्रिय कानुन अन्तर्गत सुरक्षित हुनै पर्छ।”

विश्व स्वास्थ्य सङ्गठनले पनि तत्काल सर्वसाधारण र स्वास्थ्यकर्मीहरूको सुरक्षाको प्रत्याभूति गरिनुपर्ने बताएको छ।

उसले इजरेली सेनालाई उत्तरी गाजाका २० अस्पताललाई खाली गर्न दिएको निर्देशन फिर्ता लिन पनि भनेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।