इजरेलका लागि श्रम स्वीकृति स्थगित, बिदामा स्वदेश फर्केकाहरू चिन्तित

ललिता विष्ट र विष्णु गुरुङ

तस्बिर स्रोत, Lalita/Bishnu/Facebook

तस्बिरको क्याप्शन, ललिता विष्ट र विष्णु गुरुङ
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

इजरेलबाट दशैँ मनाउन नेपाल आएकी ललितपुरकी ललिता विष्ट श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति लिएर इजरेल जाने नेपालीका सम्बन्धमा सरकारले गरेको निर्णयका कारण अन्योलमा परेकी छन्।

सरकारी निर्णयका कारण आफू दशैँको बेला पनि रमाउन नसकेको उनी बताउँछिन्।

डेढ दशकदेखि इजरेलको जेरुसलेममा केअरगिभरको रूपमा कार्यरत विष्ट इजरेलमाथि हमासको आक्रमण हुनुभन्दा केही दिनअघि मात्र बिदा मिलाएर काठमाण्डू आइपुगेकी थिइन्।

नोभेम्बर अन्तिम साता पुनः इजरेल फर्कनुपर्ने भए पनि सरकारले इजरेल जानेको ‘पुनः श्रम स्वीकृति’ तत्कालका लागि स्थगित गर्ने निर्णय गरेपछि आफ्नो रोजगारी गुम्ने हो कि भन्ने चिन्ताले उनलाई पिरोलेको छ।

“म १४ वर्षदेखि त्यहाँ काम गरिरहेकी छु। हरेक पटक यता आएपछि पुनः श्रम स्वीकृति लिएर म इजरेल फर्किनुपर्छ,” बीबीसीसँग उनले भनिन्।

“अहिले त्यस्तो इजाजत रोकियो भन्ने थाहा पाएपछि मलाई छटपटी भइरहेको छ।”

“हुन त अझै करिब एक महिनासम्म समय छ तर त्यस बेलासम्म खुलेन भने मेरो रोजगारी मात्रै गुम्दैन, उता (इजरेलमा) जम्मा भएको मेरो सञ्चयकोष र उपदान पनि नपाउने अवस्था बन्न सक्छ।”

ललिता विष्ट

तस्बिर स्रोत, Lalita Bista/Facebook

तस्बिरको क्याप्शन, ललितपुरकी ललिता विष्ट १४ वर्षदेखि इजरेलमा कार्यरत छिन्

उन्नाइस महिनाअघि केअरगिभरकै रूपमा इजरेल गएकी स्याङ्जाकी विष्णु गुरुङ उत्तरी इजरेलको हाइफा सहरमा कार्यरत छिन्।

दशैँ मनाउन नेपाल आएकी उनी नोभेम्बर पहिलो साता नै इजरेल फर्कनुपर्ने छ। तर सरकारको पछिल्लो निर्णयले उनलाई पनि अन्योलमा पारेको छ।

“फर्कन पाइँदैन भन्ने सूचना आयो। अब जान पाइने हो कि होइन भन्ने कुराले सताइरहेको छ। त्यस्तो नभएको भए दशैँ पनि ढुक्कले मनाउन पाइन्थ्यो। त्यो कुरा सम्झेर दशैँ पनि ढुक्कले मनाउन नपाइने भयो,” उनले बीबीसीसँग भनिन्।

यद्यपि आफूले पुनः श्रम स्वीकृतिका लागि कागजपत्र पेस गरिसकेकाले त्यस्तो अनुमति पाउने उनको आशा छ।

अधिकारीहरू भने आफ्ना नागरिकहरूको सुरक्षामा संवेदनशील भएर नै उक्त निर्णय गरिएको बताउँछन्।

विष्णु गुरुङ

तस्बिर स्रोत, Bishnu Gurung/Facebook

तस्बिरको क्याप्शन, उन्नाइस महिनाअघि केअरगिभरकै रूपमा गएकी स्याङ्जाकी विष्णु गुरुङ हाइफा सहरमा काम गर्छिन्

किन रोकियो इजरेलका लागि श्रम स्वीकृति

हमासले इजरेलमा अप्रत्याशित आक्रमण गर्दा सयौँ मानिसको मृत्यु भयो। तीमध्ये १० जना नेपाली विद्यार्थी पनि थिए। उक्त घटनापछि नेपालले विमान नै पठाएर २५० भन्दा विद्यार्थीको इजरेलबाट उद्धार गरेको थियो।

मृतकहरूको शव अझै नेपाल ल्याइएको छैन। दशमध्ये पाँचवटा शव इजरेली अधिकारीहरूले नेपाली दूतावासलाई हस्तान्तरण गरेको जनाइएको छ।

हमास र इजरेलबीचको पछिल्लो तनावका कारण नेपालीहरूको समेत ज्यान गएपछि सुरक्षा संवेदनशीलतालाई विचार गरी हाललाई श्रम स्वीकृति नदिने निर्णय गरिएको वैदेशिक रोजगार विभागका अधिकारीहरूले बताएका छन्।

इजरेलमा तीज मनाउँदै नेपालीहरू

तस्बिर स्रोत, Bishnu Gurung/Facebook

तस्बिरको क्याप्शन, इजरेलमा गत वर्ष दशैँ मनाउन भेला भएका महिलाहरू

विभागका महानिर्देशक मदन दाहाल भन्छन्, “सुरक्षाका कारणले हामीले हाललाई इजरेलमा सरकार-सरकारबीचको सम्झौता (जीटूजी) र व्यक्तिगत वा संस्थागत तवरले जानेहरूका लागि पनि श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दुवै स्थगित गरेका छौँ।”

“यो सधैँका लागि त होइन स्थिति साम्य नहुन्जेलका लागि हो। सुरक्षाको प्रत्याभूति हुनेबित्तिकै हामी यस्ता सेवाहरू पुनः सुरु गरिहाल्छौँ।”

नेपाली नागरिकलाई इजरेल नजान सरकारको आग्रह

सुरक्षाको कारण देखाउँदै सरकारले गत साता जीटूजीमार्फत् इजरेल जानका लागि हवाई टिकट समेत लिइसकेका २४ जना नेपालीको यात्रा पनि रोकिदिएको थियो।

त्यस्तै अध्यागमन विभागले पनि इजरेल जान लागेका नेपालीहरूलाई आफ्नो यात्रा स्थगित गर्न आग्रह गर्दै सूचना निकालेको छ।

विभागले निकालेको सूचनामा लेखिएको छ, “पछिल्ला दिनहरूमा मित्रराष्ट्र इजरेलमा द्वन्द्व कारणले भएको जनधनको क्षतिबारे विदितै छ। उक्त द्वन्द्वमा परी केही नेपाली नागरिकले ज्यान गुमाउनुपरेको तथा त्यहाँ रहेका नेपाली नागरिकलाई उद्धारसमेत गर्नुपर्ने अवस्था सिर्जना भएको छ।”

“तसर्थ विभिन्न प्रयोजनमा इजरेल प्रस्थान गर्ने तयारीमा रहनुभएका नेपाली नागरिकलाई यस विषम परिस्थितिमा हाललाई इजरेल भ्रमण स्थगित गर्नुहुन अनुरोधसहित सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।”

इजरेलबाट फर्कएकी विद्यार्थी आफन्तसँग

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, इजरेलबाट फर्कएकी विद्यार्थी आफन्तसँग

‘अर्को मान्छे राखेर आएका छौँ’

इजरेलबाट बिदामा आएका केअरगिभरहरूका अनुसार उनीहरूले आफूले हेरचाह गर्ने व्यक्तिका निम्ति जनशक्ति व्यवस्थापन गरेर आएका छन्।

“म त्यहाँ एक जना हजुरआमाको हेरचाह गर्छु। उहाँका लागि मैले एकजना नेपाली साथीलाई नै सातामा दुई दिन गएर हेरचाह गरिदिने व्यवस्था मिलाएर आएकी छु,” विष्टले भनिन्।

“उहाँहरूलाई हामीले आफ्नै तलबबाट कटाएर घण्टाको हिसाबले पैसा दिनुपर्छ। अब समयमा जान पाएनौँ भने उहाँहरूलाई पनि अप्ठ्यारो हुन्छ अनि हामीलाई पनि त्यस्तै हुन्छ।”

इजरेल

गुरुङ पनि जानुपर्ने बेलामा जान नसकेमा आफूले धेरै खाले व्यवस्थापकीय कठिनाइ भोग्नुपर्ने हुन सक्ने बताउँछिन्।

“समयमा पुग्न सकिएन भने त गाह्रो भइहाल्छ नि! त्यसैले त मलाई अहिले धेरै तनाव भइरहेको छ,” उनले भनिन्।

“मैले काम गर्ने ठाउँ त सुरक्षित नै छ। सरकारले 'रिइन्ट्री भिसा'मा जानेलाई त सहज बनाइदिए हुने।”

हमासले आक्रमण गरेपछि सम्पर्कविहीन नेपाली विद्यार्थी विपीन जोशीबारे के थाहा छ

यसैबीच इजरेलस्थित नेपाली राजदूतावासले हमासको आक्रमणका क्रममा बेपत्ता भएका नेपाली नागरिक विपीन जोशीको खोजी कार्य जारी रहको जनाएको छ।

दूतावासले आइतवार जारी गरेको वक्तव्यमा भनिएको छ, “उपलब्ध संयन्त्रहरूको प्रयोग गरी सम्पर्क विहीन विपीन जोशीको खोजी कार्य अझै तीव्र पारिएको छ।”

“आक्रमणमा परी घाइते भएका चार जनामध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भएका (एक जना नेपाल पुगिसकेका र एक जना दूतावासको हेरचाहमा रहेका) छन् भने दुई जना अस्पतालमा उपचाररत छन्।“

दूतावासले मृतक १० जनामध्ये पाँच जनाको शव प्राप्त भएको र अन्यको बाँकी रहेको जनाएको छ।

प्राप्त शवहरूलाई ढिलो नगरी नेपाल पठाउन लागिएको दूतावासको भनाइ छ।

इजरेलस्थित नेपाली राजदूत कृषि क्षेत्रबारे अध्ययन गरिरहेका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै (फाइल फोटो)

तस्बिर स्रोत, EMBASSY OF NEPAL ISRAEL

तस्बिरको क्याप्शन, इजरेलस्थित नेपाली राजदूत कृषि क्षेत्रबारे अध्ययन गरिरहेका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै (फाइल फोटो)

विपीन जोशीसँगै काम गरेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले आक्रमण भएपछि जोशीले हमासले हानेको ग्रिनेड हातले टिपेर फालेकाले आफूहरू बाँचेको बताएका छन्।

कतिपय विद्यार्थीले उनलाई हमासले कब्जामा लिएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्। यद्यपि इजरेलस्थित नेपाली दूतावासले उनी हमासको कब्जामा रहेको पुष्टि नभएको जनाएको छ।

इजरेलस्थित नेपाली राजदूत कान्ता रिजालले गत साता त्यहाँका विदेशमन्त्रीलाई समेत भेटेर जोशीको अवस्था पत्ता लगाइदिन आग्रह गरेकी थिइन्।

इजरेली विदेशमन्त्रीले उनलाई जोशीको खोजीका लागि थप पहल गर्ने आश्वासन दिएको उनले बीबीसीलाई बताइन्।

इजरेल जान कति जनाले पुन: श्रम स्वीकृति लिएका छन्

वैदेशिक रोजगार विभागको विवरण अनुसार आर्थिक वर्ष २०७९/८० मा इजरेल जानका लागि कुल १०८४ जनाले श्रम स्वीकृति लिएका थिए र त्यसमा ७८५ जना महिला थिए।

त्यसमध्ये २९८ जनाले पुनः श्रम स्वीकृति पाएका थिए भने अरूले पहिलो पटक श्रम स्वीकृति लिएका थिए।

भदौमा ५१ जनाले श्रम स्वीकृति लिएकामा ४५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए।

इजरेलमा जीटूजीका माध्यमबाट र व्यक्तिगत ढङ्गले श्रम स्वीकृति लिएर पनि नेपालीहरू जाने गरेका छन्।

त्यस्तै म्यानपावर कम्पनीबाट पनि नेपालीहरू इजरेल जाने गरेका छन्।

इजरेलमा कति नेपाली छन्

नेपालको परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार अहिले इजरेलमा ४,५०० नेपालीहरू केअरगिभरको रूपमा कार्यरत छन्।

त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएका थिए।

त्यसमध्ये २५३ जनालाई स्वदेश फर्काइएको छ भने १० जनाको निधन भएको छ। त्यस्तै घाइते भएका दुई जना हाल इजरेलमै उपचाररत रहेको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ।

यद्यपि इजरेलमा रहेका नेपालीहरू केही मात्रामा सरकारी विवरणमा नसमेटिएका र गैरकानुनी रूपमा इजरेलमा कार्यरत नेपालीहरू पनि रहेको बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।