हमास लडाकुलाई चिया र बिस्कुट दिएर 'अलमल्याएकी' इजरेली हजुरआमा

रेचल एड्री

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बाइडनसँगको भेटपछि तस्बिर खिचाउँदै रेचल एड्री

“एक जना आतङ्ककारीले मलाई ‘तिमी त मेरी आमाजस्तै लाग्यो’ भने” रेचल एड्री सम्झन्छिन्।

“मैले पनि उनलाई भनिदिएँ ‘म वास्तवमा तिम्री आमाजस्तै त हुँ नि’ म तिमीलाई सहयोग गर्छु। तिम्रो ख्याल पनि राख्छु। तिमीलाई के चाहिन्छ?”

उनले चिया र बिस्कुट खाने मन गरे।

त्यसपछि गाजा नजिकैको ‌ओफाकिममा आफ्नो घरमा जबर्जस्ती प्रवेश गरेका हमासका पाँच जना लडाकुलाई जागिरे जीवनबाट अवकाशप्राप्त ६५ वर्षकी ति हजुरआमाले आफूले बनाउन सिपालु रहेको मोरोक्कन कुकिज् खुवाइन्।

हमास लडाकुसँग सकेसम्म लामो कुराकानी गरेर आफू र आफ्ना श्रीमान्‌को उद्धारका लागि समय लम्ब्याउन खोजेको उनले इजरेली सञ्चारमाध्यमलाई बताएकी छिन्।

उनीहरूसँग गरिएको सामान्य कुराकानीले ठूलो फरक पार्‍यो।

अक्टोबर ७ मा दक्षिणी इजरेलको बस्तीमा प्रवेश गरेका हमास लडाकुले उनीहरूको घरमा पुगेर श्रीमान्-श्रीमतीलाई बन्धक बनाउनुअघि दर्जनौँको हत्या गरिसकेका थिए।

आफ्नो धैर्य र सेवा सत्कारको व्यवहारका कारण उनीहरू दुवै जना बाँच्न सफल भए अनि एड्री राष्ट्रियस्तरमै चर्चित बनिन्।

उनी इन्टरनेटमा मीमहरुका पात्र बनिन् र तेल अभिभको भ्रमणमा पुगेका अमेरिकी राष्ट्रपति जो बाइडनलाई समेत भेट्ने अवसर पाइन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिकी राष्ट्रपतिले समेत उनलाई देशको रक्षाका लागि योगदान गरेकोमा धन्यवाद दिएका थिए

अरबी र हिब्रु गीत

टेलिभिजनमा दिएका अन्तर्वार्तामा उनले पाँचजना सशस्त्र लडाकुहरू आफ्नो बैठक कोठामा आउँदा आफूले जनाएको प्रतिक्रियाबारे चर्चा गरेकी छन्।

“चार बजिसकेको थियो। मैले मनमनै भनेँ। हे! ईश्वर उनीहरूले खाना खाएकै छैनन् होला। मलाई डरलाग्यो... भोका मानिसहरू छिटै नै रिसाउने गर्छन्,” उनले भनिन्।

“खानपिन गरेपछि उनीहरू धेरै नै शान्त भए।”

तर एड्री र उनका श्रीमान्‌लाई २० घण्टासम्म बन्धक बनाएका लडाकुहरूलाई उनले चिया र कुकिज् मात्रै दिइनन्।

उनले ती लडाकुहरूका लागि अरबी गीत गाइदिएको बताइन्। उनीहरूले पनि हिब्रु गीत गाइदिए।

“मैले कुरा गर्न सुरु गरेपछि एउटा बिन्दुमा त मैले उनीहरू आतङ्ककारी हुन् भन्ने नै बिर्सिएछु,” एड्रीले इजरेली समाचार वेबसाइट वाईनेटसँग भनिन्।

ब्रिटिश विदेशमन्त्री

तस्बिर स्रोत, Simon Dawson / No 10 Downing Street

तस्बिरको क्याप्शन, हमासको आक्रमणमा क्षति पुगेको एड्रीको घर हेर्न ब्रिटिश विदेशमन्त्री समेत पुगेका थिए

उद्धार अभियान

त्यसबीचमा इजरेलको प्रहरी उनको घर बाहिर पुगेर उनलाई उद्धार गर्ने तयारी गरिरहेको थियो।

करिब १७ घण्टापछि प्रहरीहरू घरभित्र प्रवेश गरे र हमास लडाकुहरूलाई गोली हानेर मारिदिए।

स्थानीय प्रहरीमा रहेका एड्रीका छोराले घरको नक्सा बनाएर उद्धार टोलीलाई त्यहाँ पुग्न र लडाकुहरूमाथि अचानक हमला गर्न सहयोग गरेका थिए।

उनीहरूको घर नराम्ररी ध्वस्त भएको छ। एड्री र उनका श्रीमान्‌लाई मध्य इजरेलको एउटा होटेलमा सारिएको छ।

उनीहरूको यो कथा इजरेलमा मात्रै सीमित रहेन। गत बुधवार इजरेल पुगेका अमेरिकी राष्ट्रपति जो बाइडनले हमासको आक्रमणमा बचेकाहरूसँग पनि भेट गरेका थिए। त्यसमध्येकी एक थिइन् एड्री।

उनले खुलेर मुस्कुराउँदै अमेरिकी राष्ट्रपतिलाई अङ्गालो मारिन्। बाडइनले उनलाईचिया, कुकिज् र शान्त वार्तालापको माध्यमले “आफ्नो देशको रक्षा” गरेकोमा धन्यवाद दिए। 

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।