गाजाको अस्पतालभित्र 'नेपाली बन्धक' पनि देखिएको विवरण, के भन्छ नेपाल सरकार

इजरेली डिफेन्स फोर्सेसले सार्वजनिक गरेको तस्बिर

तस्बिर स्रोत, Israel Defense Forces/Reuters

तस्बिरको क्याप्शन, इजरेली डिफेन्स फोर्सेसले सार्वजनिक गरेको फुटेजमा देखिएको दृश्य

इजरेली सेनाले गाजास्थित अल-शिफा अस्पतालको एउटा फुटेज सार्वजनिक गर्दै त्यसमा देखिएकामध्ये एक जना नेपाली नागरिक पनि रहेको जनाएको छ।

इजरेली सेनाको एक्स (पहिलाको ट्विटर) खातामा भनिएको छः “…इजरेली भूमिबाट अपहरण गरिएका एक नेपाली र एक थाई नागरिक सशस्त्र हमास आतङ्कवादीहरूबाट घेरिएका [फुटेजमा] देखिन्छ।”

अक्टोबर ७ तारिखको हमास हमलापछि बन्धक बनाइएका व्यक्तिहरूलाई अल-शिफा अस्पताल पुर्‍याउँदै गरिएको देखिएको आईडीएफले उल्लेख गरेको छ।

समाचार ब्रीफिङका क्रममा इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले आइतवार सार्वजनिक गरेको सीसीटीभी फुटेजको बीबीसीले स्वतन्त्र रूपमा आधिकारिता पुष्टि गर्न सकेको छैन।

एनपी साउद
MoFA Nepal
हामीले कतार सरकार र अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसीसँग कुराकानी गरिरहेका छौँ।.... हमास समूहसँग नै हाम्रो कुरा भएको छैन...
एनपी साउद
परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री के भन्छन्?

आईडीएफले सार्वजनिक गरेको पछिल्लो भिडिओ फुटेजबारे बीबीसी न्यूज नेपालीले परराष्ट्रमन्त्री एनपी साउदसमक्ष जिज्ञासा राखेको थियो।

सो क्रममा उनले ताजा भिडिओबारे थाहा नभए पनि हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी “सकुशल” रहेको जानकारी पाएको बताए।

इजरेलस्थित नेपाली दूतावासले पनि आइतवार एउटा विज्ञप्ति जारी गर्दै “जोशी हालसम्म सम्पर्कविहीन रहेको र उनको खोजी जारी रहेको” जनाएको छ।

“त्यो भिडिओ फुटेजबारे नै त हामीलाई केही जानकारी आएको छैन। तर हिजो राति अबेर इजरेली अधिकारीबाट हामीले पाएको जानकारीअनुसार विपिन जोशी सकुशल र बन्धक अवस्थामा हुनुहुन्छ, ” साउदले भने।

जोशीको रिहाइका लागि आवश्यक पहल गरिरहेको अधिकारीहरूले बताउँदै आएका छन्।

“हामीले कतार सरकार र अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसीसँग कुराकानी गरिरहेका छौँ,” साउदले सोमवार बिहान भने।

हमाससँग पनि केही कुराकानी भएको छ कि भन्ने प्रश्नमा उनले भने, “हमास समूहसँग नै हाम्रो कुरा भएको छैन।”

अधिकारीहरूका अनुसार जोशीको रिहाइमा सघाइदिन भन्दै कतारलाई औपचारिक पत्र नै पठाइसकिएको छ।

विपिन जोशी

तस्बिर स्रोत, KISHOR CHANDRA JOSHI

तस्बिरको क्याप्शन, इजरेलस्थित नेपाली दूतावासले “जोशी सम्पर्कविहीन रहेको र उनको खोजी जारी रहेको” जनाएको छ

के कतारले सघाउन सक्छ?

हमासको नियन्त्रणमा रहेका आफ्ना नागरिकको रिहाइमा सघाउन नेपालका लागि कतार नै “सबैभन्दा अनुकूल विकल्प” भएको त्यहाँका लागि पूर्वराजदूत नारद भारद्वाज बताउँछन्।

अक्टोबर ७ को हमलालगत्तै नेपालले “आतङ्कवादी हमला” भन्दै निन्दा गरेको थियो।

नेपालले त्यसो भनिसकेको अवस्थामा र अहिले इजरेली हमलामा गाजामा अधिकांश गैरसनिकको ज्यान गइरहेको पृष्ठभूमिमा हमाससँग सीधै सम्पर्क गर्न सम्भावना पनि भारद्वाज देख्दैनन्।

“यो स्थितिमा नेपालले सोझै हमाससित कूटनीतिक पहल गर्ने न कुनै सम्पर्क बिन्दु छ न त्यस्तो किसिमको अवस्था नै छ। त्यस कारण नेपालले सीधै गर्न सक्छ जस्तो मलाई लाग्दैन,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

इजरेली डिफेन्स फोर्सेसले सार्वजनिक गरेको फुटेजमा देखिएको दृश्य

तस्बिर स्रोत, Israeli Defense Forces/Reuters

तस्बिरको क्याप्शन, इजरेली डिफेन्स फोर्सेसले सार्वजनिक गरेको फुटेजमा देखिएको दृश्य

“कतारलाई नै प्रयोग गर्नु अहिलेको अवस्थामा सबैभन्दा अनुकूल हुन्छ भन्ने मलाई लाग्छ।”

विगतमा कतारले तालिबान र अमेरिकाबीच गराएको सहमतिलाई हेर्दा मध्यस्थतामा उसको दक्षतामाथि भरोसा गर्न सक्ने आधार रहेको जानकारहरू बताउँछन्।

त्यसमा सहमति जनाउँदै पूर्वराजदूत भारद्वाज भन्छन्, “मलाई लाग्छ कतारको कूटनीतिक पहल र अन्तर्राष्ट्रिय मध्यस्थतामा उच्च क्षमता छ।”

विपिन जोशी कसरी इजरेल पुगे?

नेपाली विद्यार्थीलाई सिक्दै अध्ययन पनि गर्न दिने नेपाल र इजरेलबीच भएको एउटा सम्झौताअन्तर्गत रहेको एउटा कार्यक्रममा विपिन जोशी इजरेल पुगेका थिए।

उनीसहित सुदूरपश्चिम विश्वविद्यालयमा कृषिविज्ञान अध्ययनरत विद्यार्थीहरू इजरेल र नेपाल सरकारबीचको सम्झौताअनुसार विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गाजाको सीमानजिकै कार्यरत थिए।

इजरेली डिफेन्स फोर्सेसले सार्वजनिक गरेको फुटेजमा देखिएको दृश्य

तस्बिर स्रोत, IDF/Reuters

तस्बिरको क्याप्शन, इजरेली डिफेन्स फोर्सेसले सार्वजनिक गरेको फुटेजमा देखिएको दृश्य

त्यहाँ एउटा कृषि फर्ममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा मारिएका थिए भने चार जना घाइते र जोशी बेपत्ता भएका थिए।

अन्य दुई जना भने सकुशल थिए।

जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए।

तर पछि उनलाई हमास लडाकुले लगेको ती विद्यार्थीहरूले सञ्चारमाध्यमलाई बताएका थिए।

फुटेजमा अरू के छ?

बीबीसीका निक बीकका अनुसार आइतवार समाचार ब्रीफिङका क्रममा आईडीएफका प्रमुख प्रवक्ता ड्यानिअल हगारीले सीसीटीभी फुटेज देखाएका थिए।

त्यो फुटेज अक्टोबर ७ तारिखको बिहानको हो जुन दिन हमासले दक्षिणी इजरेलमा अचानक हमला गरेको थियो।

त्यो हमलामा १,२०० इजरेली मारिए भने २४० जनाभन्दा बढीलाई हमासले बन्धक बनाएर लगेको थियो।

दुई बन्धकलाई गाजाको सबैभन्दा ठूलो र आधुनिक अस्पताल पुर्‍याउँदै गरिएको भिडिओ फुटेजमा देखिन्छ। अक्टोबर ७ तारिख उल्लिखित सीसीटीभी भिडिओमा सशस्त्र व्यक्तिहरू पनि देखिन्छन्।

एक बन्धकले प्रतिरोध गरिरहेको र अर्का स्ट्रेचरमा पल्टिरहेको पनि भिडिओमा देखिन्छ।

इजरेलले सार्वजनिक गरेको भिडिओबारे प्रतिक्रिया जनाउँदै गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले फुटेजको आधिकारिकता पुष्टि गर्न नसकेको जनाएको छ।

गाजामा स्वास्थ्यसेवाहरू काम नै नलाग्ने अवस्थामा पुर्‍याएको इजरेलले सबै जिम्मेवारी लिनुपर्ने मन्त्रालयले बताएको छ।

यसअघि आईडीएफले एउटा भिडिओ सार्वजनिक गरेको थियो जसमा १० मिटर गहिराइको ५५ मिटर लामो सुरुङ एउटा बन्द र मजबुत ढोकासम्म पुगेको देखिन्छ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अहिलेसम्म मारिनेको सङ्ख्या १२,३०० पुगेको छ भने २,००० जनाभन्दा बढी भग्नावशेषभित्रै रहेको आशङ्का छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।