अल-शिफा अस्पतालमा लडाइँ जारी, हमास नेताको घर इजरेली लडाकु विमानको निसानामा

हमास नेता इस्माइल हनिया

तस्बिर स्रोत, Reuters

इजरेली सेनाले लडाकु विमानहरू प्रयोग गरी हमास लडाकु सङ्गठनका एक वरिष्ठ नेता इस्माइल हनियाको घरमा आक्रमण गरिएको दाबी गरेको छ।

हानिया सन् २०१७ सम्म हमासको राजनीतिक विभागका प्रमुख थिए। उनी कैयौँ वर्षदेखि कतारमा बस्दै आएका छन्।

हानिया सन् १९८० को दशकको अन्त्यमा हमासका प्रमुख सदस्य थिए। उनलाई तीन वर्ष इजरेलको जेलमा पनि राखिएको थियो।

गाजा फर्किनुअघि उनले निर्वासनमा एक वर्ष बिताएका थिए।

सन् १९९७ मा उनलाई हमासको आध्यात्मिक नेताको कार्यालयको प्रमुख घोषणा गरिएको थियो। त्यसबाट उनको अवस्था बलियो बनेको थियो।

इजरेली तारोमा किन इस्माइल हानियाको घर

गाजा

सन् २००६ मा प्यालेस्टिनी राष्ट्रपति महम्मुद अब्बासले हानियालाई प्रधानमन्त्री नियुक्त गरेका थिए। तर त्यसको एक वर्षपछि साताव्यापी हिंसात्मक द्वन्द्वमाझ अब्बासको फताह पार्टी गाजा क्षेत्रबाट विस्थापित भएको थियो अनि हानिया पदमुक्त भएका थिए।

हनियाले आफूलाई हटाउने कदम "असंवैधानिक" रहेको बताउँदै आफ्नो सरकारले ‘प्यालेस्टिनी नागरिकप्रतिको राष्ट्रिय दायित्वलाई नछाड्ने’ बताएका थिए। उनले गाजामा आफ्नो शासन निरन्तर रहेको दाबी पनि गर्दै आएका थिए।

यसअघि इजरेलको सेनाले हमासका वरिष्ठ नेताको गाजास्थित घरमा आक्रमण गरेको जनाएको थियो। उक्त हमलामा कोही हताहत भए कि भएनन भन्ने स्पष्ट छैन।

इजरेली सेनाले उक्त भवन "आतङ्ककारीहरूको पूर्वाधार" भएको आरोप लगाउँदै त्यसलाई हमासका वरिष्ठ नेताहरूले "बैठकका लागि प्रयोग गर्ने गरेको" दाबी गरेको छ।

बुधवार राति लडाकु विमानहरू प्रयोग गरी उक्त भवनमा आक्रमण गरिएको बताइएको छ। बीबीसीले स्वतन्त्र रूपमा इजरेली डिफेन्स फोर्सले गरेको दाबी पुष्टि गर्न सकेको छैन।

उक्त क्षेत्रमा उत्पन्न अस्तव्यस्त अवस्थाका कारण गाजाबाट क्षतिको वास्तविक विवरण प्राप्त गर्न कठिन भइरहेको देखिन्छ।

अल-शिफा अस्पताल क्षेत्रमा पुगेको भए बीबीसीको एउटा टोलीले त्यहाँ रहेका चिकित्सक वा बिरामीसँग कुरा गर्न पाइएन
तस्बिरको क्याप्शन, अल-शिफा अस्पताल क्षेत्रमा पुगेको भए बीबीसीको एउटा टोलीले त्यहाँ रहेका चिकित्सक वा बिरामीसँग कुरा गर्न पाइएन

अल‍-शिफा अस्पताल क्षेत्र बीबीसीको टोलीले के देख्यो

इजरेलले हमासको प्रमुख कमान्ड केन्द्र भन्दै आएको गाजा सहरस्थित अल-शिफा अस्पताल क्षेत्रमा खोजी जारी राखेको छ।

इजरेली सेनासँगै अस्पतालको एउटा क्षेत्रमा बीबीसीको एउटा टोली पुगेको छ।

त्यहाँबाट बीबीसी संवाददाता लुसी विलिअम्सनले आफूलाई गोलीगट्ठा र सुरक्षाका लागि प्रयोग हुने सामग्री देखाइएको र इजरेलले त्यो हमासले लुकाएको जनाएको बताएकी छन्।

उनलाई डाक्टर वा बिरामीसँग भने कुरा गर्न दिइएन।

इजरेली सेनाले बीबीसीलाई एउटा ल्याप्टप पनि देखाएको छ जसमा हमासले बन्धक बनाएका मानिसहरू फोटो र भिडिओ रहेको उसको भनाइ छ।

गाजामा इजरेली सैनिक

तस्बिर स्रोत, Israel Defense Forces/Handout via REUTERS

तस्बिरको क्याप्शन, इजरेली सेनाले अल-शिफा अस्पताल परिसरमा घातक हतियार र अन्य उपकरण फेला परेको दाबी गरेको छ

इजरेलले आफ्ना सैनिकहरू अघि बढ्दा हमासका लडाकुहरू भागेको उल्लेख गरेको छ।

यसैबीच इजरेली सेनाले गाजामा आफ्ना सेनाले स्थल कारबाही सुरु गरेयता ज्यान गुमाउने आफ्ना सैनिकको सङ्ख्या ५० पुगेको जनाएको छ।

पछिल्लो पटक थप दुई जना इजरेली सैनिकले गाजामा ज्यान गुमाएका छन्।

सोमवार हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले त्यहाँ ११,२४० जनाको ज्यान गइसकेको र मारिनेमध्ये ४,६३० जना बालबालिका रहेको जनाएको थियो।

इजरेली सेनाले बीबीसीको टोलीलाई अस्पतालको एउटा भाग देखाएको थियो
तस्बिरको क्याप्शन, इजरेली सेनाले बीबीसीको टोलीलाई अस्पतालको एउटा भाग देखाएको थियो

इजरेल र प्यालेस्टाइन दुवैले किन गरे राष्ट्रसङ्घीय प्रस्तावको आलोचना

इजरेल र प्यालेस्टाइन दुवैले गाजामा तत्काल मानवीय कामका लागि लडाइँ रोक्न माग गरिएको राष्ट्रसङ्घीय सुरक्षा परिषद्को एउटा प्रस्तावको आलोचना गरेका छन्।

प्यालेस्टिनी दूत रियाद मन्शुरले मानवीय कामका लागि अस्थायी रूपमा लडाइँ रोक्नुभन्दा पनि लामो समयअघि नै युद्धविराम गरिनुपर्थ्यो भनेका छन्।

इजरेलका राजदूतले उक्त प्रस्तावको कुनै औचित्य नरहेको बताए।

बुधवार अनुमोदित प्रस्ताव इजरेलले गाजामा पाँच साताअघि सुरु गरेको बम आक्रमणयता त्यसबारे सहमति जनाइएको पहिलो दस्तावेज हो।

त्यसमा बिनासर्ता बन्दीहरू रिहा गर्न भनिएको छ।

गाजा सिटीको एउटा भित्तामा षट्कोणभित्र आईडीएफ लेखिएको छ भने त्यसमाथि 'नेभर अगेन' अर्थात' 'फेरि कहिल्यै नहोस्' लेखिएको छ
तस्बिरको क्याप्शन, गाजा सिटीको एउटा भित्तामा यहुदीहरूको प्रतीक 'षट्कोण'भित्र आईडीएफ र माथि 'नेभर अगेन' अर्थात् 'फेरि कहिल्यै नहोस्' लेखिएको छ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।