हमासको नियन्त्रणमा रहेको भनिएका विपिन जोशीलाई छुटाउने 'पहल जारी', अवस्था अझै ‘अज्ञात’

इजरेलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणका बेला जोशीलाई उक्त समूहले बन्धक बनाएर लगेको बताइएको छ

तस्बिर स्रोत, Facebook/Bipin Joshi

तस्बिरको क्याप्शन, इजरेलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणका बेला जोशीलाई उक्त समूहले बन्धक बनाएर लगेको बताइएको छ

प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेको ठानिएका नेपाली विद्यार्थी विपिन जोशीलाई छुटाउन “सबैखाले प्रयास जारी रहेको तर उनको पछिल्लो अवस्थाबारे थाहा पाउन नसकिएको” अधिकारीहरूले बताएका छन्।

इजरेलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणका बेला जोशीलाई उक्त समूहले बन्धक बनाएर लगेको बताइएको छ।

हमासको आक्रमणमा परेर दक्षिणी इजरेलको गाजासँग सीमा जोडिएको कृषि फर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए।

मृतकहरूको शव पहिचान गरेर नेपाल ल्याइसकिएको अधिकारीहरूले जानकारी दिएका छन्।

नेपालका परराष्ट्रमन्त्री एनपी साउदले जोशीको परिवारलाई “सरकारले उनलाई सकुशल फिर्ता ल्याउन सबैखाले उपाय अपनाइरहेको” बताएका छन्।

उनले शनिवार विपिनका परिवारलाई “इजरेल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको” जानकारी पनि दिएका थिए।

विपिन बन्धक अवस्थामा रहेको आधार

विपिन जोशी

तस्बिर स्रोत, KISHOR CHANDRA JOSHI

इजरेलस्थित नेपाली राजदूत कान्ता रिजालले जोशीको मोबाइल गाजा क्षेत्रमा ‘ट्रेस’ भएको जानकारी आएपछि उनी बन्धक अवस्थामा रहेको आधार प्राप्त भएको बताइन्।

उनले भनिन्, “सुरुमा हामीले नेपालबाट विपिन जोशीको परिवारका सदस्यहरूको डीएनए मगाएर पहिचान नभएका र उक्त हमलामा परेका शवहरूसँग त्यसलाई जुधाएर हेर्‍यौँ। कुनै पनि नचिनिएका शवहरूसँग उसको डीएनए मिलेन।”

“त्यसपछि केही दिनमा हमासले बन्धक बनाएकाहरूलाई छुटाउनका निम्ति पहल गरिरहेका निकायहरूले हामीलाई उनको मोबाइल गाजा क्षेत्रमा ‘ट्रेस’ भएको जानकारी गराए। त्यसका आधारमा उनी बन्धक भएको ठानिएको हो।”

हमासले उक्त हमलापछि इजरेलीसहित अन्य देशका नागरिकहरूलाई पनि बन्धक बनाएको थियो।

त्यसमध्ये केही देशका नागरिकहरूलाई उसले मुक्त गरे पनि अझै २३० भन्दा बढी बन्धकहरू गाजामै रहेको बताइएको छ।

ती बन्धकमध्येमा विपिन जोशी पनि रहेको ठानिएको अधिकारीहरू बताउँछन्।

जोशीको मुक्तिका लागि कस्ता कस्ता पहल भए?

परराष्ट्रमन्त्री साउद

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, परराष्ट्रमन्त्री साउदले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटनका क्रममा जोशीलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसँग समेत आफूले कुराकानी गरेको बताए

परराष्ट्रमन्त्री साउदले शनिवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटनका क्रममा जोशीलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसँग समेत आफूले कुराकानी गरेको बताएको सरकारी समाचार संस्था राससले जनाएको छ।

उनले भने, “जोशीको गम्भीर चिन्ता गरिहरेका बेला गाजाको क्षेत्रमा बन्धक रहेको भन्ने आएको छ। सुरक्षामा गम्भीर रूपमा ध्यान दिँदै सकुशल छुटाउन अमेरिकी परराष्ट्रमन्त्रीसित पनि आग्रह गरिएको छ।”

उनले अन्तर्राष्ट्रिय रेडक्रशसित त्यसबारे कुराकानी गरेको र उनीहरूलाई पनि आवश्यक पहलका लागि आग्रह गरिएको बताए।

“बन्धक रहेका जोशीलाई छुटाउन आज बिहान मात्रै कतारका राजदूतसित छलफल भएको छ” शनिवार उनले भने।

उनले सोही स्थानमा विपिनका मातापिता र दाजुलाई भेटेर पनि आवश्यक पहल भइरहेको जानकारी गराएका थिए।

इजरेलस्थित नेपाली राजदूत रिजालले पनि जोशीको मुक्तिका लागि आवश्यक सबै पहल गरिएको बताइन्।

उनले भनिन्, “मैले यहाँका राष्ट्रपतिज्यूसँग पनि समय मागेर केहीअघि भेटघाट गरे र विपिनको उद्धारका लागि पहल गरिदिन आग्रह गरेँ। उहाँले अन्य देशकासँगै विपिनको पनि उद्धारका लागि सबैखाले पहल गर्ने आश्वासन दिनु भयो।”

यद्यपि हालसम्म विपिनको पछिल्लो अवस्थाबारे थाहा पाउन नसकिएको उनले बताइन्।

“हामीले सरकारी निकायबाहेक मानवीय सहायता गर्ने एजेन्सीहरू र अन्य नागरिक समाजका बन्धक छुटाउने पहलमा सक्रिय व्यक्तिहरूलाई पनि उनको मुक्तिका लागि पहल गर्न आग्रह गरेका छौँ,” उनले भनिन्।

कतारले के भन्यो?

विपिन जोशी

तस्बिर स्रोत, KISHOR CHANDRA JOSHI

तस्बिरको क्याप्शन, आफ्नो परिवारसँग विपिन जोशी

जोशीलाई छुटाउने पहल गरिदिन नेपालले कतार सरकारलाई पनि औपचारिक पत्र नै लेखेर आग्रह गरेको थियो।

कतारस्थित नेपाली राजदूत नरेशविक्रम ढकालले दुई साताअघि कतारी विदेश मन्त्रालयलाई उनको मुक्तिका लागि पहल गरिदिन आग्रह गरेको बताएका थिए।

त्यसबेला उनले भनेका थिए, “हामीले उनको परिवारसँग आवश्यक कागजातसमेत मागेर यहाँको विदेश मन्त्रालयलाई उनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छौँ। उहाँहरूलाई हामीसँग प्राप्त भएको विवरण र सूचना पनि उपलब्ध गराएका छौँ।”

ढकालका अनुसार तीन साता कतारको विदेशमन्त्रालयलाई त्यस्तो आग्रह गरिएको थियो। कतार सरकारले पनि नेपाली नागरिकको मुक्तिका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको ढकालले बताए।

हमाससँग कुराकानी गरेर कतारले केही पश्चिमी देशका नागरिकहरूलाई मुक्त गराएको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्।

त्यस्तै पहल नेपाली नागरिकका लागि पनि कतारले गरिदेओस् भनेर आग्रह गरिएको दूतावासका अधिकारीहरूको भनाइ छ।

शनिवार बीबीसीसँग कुरा गर्दै ढकालले भने, “उहाँहरूले लिखित रूपमा नै जानकारी गराउनु त भएको छैन तर कतारको विदेश मन्त्रालयका अधिकारीहरूले हामीलाई मौखिक रूपमा विपिनको जीवन रक्षाका लागि पहल गरेको र बन्धक अवस्थामा भए सुरक्षित राख्न पहल गरिएको जानकारी दिनु भएको छ।”

हमासका नेताहरूसँग कतारले निरन्तर संवाद गरिरहेकाले जोशीलाई सुरक्षित राख्न र मुक्त गर्ने काममा चाँडै सफलता पाउन सकिने आशा आफूले राखेको ढकालको भनाइ छ।

इजरेल गाजा

इजरेल कसरी पुगे विपिन?

नेपाली विद्यार्थीहरूलाई सिक्दै अध्ययन पनि गर्न दिने नेपाल र इजरेलबीच भएको एउटा सम्झौता अन्तर्गतको कार्यक्रममा विपिन इजरेल पुगेका थिए।

विपिनसहित सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत विद्यार्थीहरू इजरेल र नेपाल सरकारबीचको सम्झौता अनुसार विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गाजाको सीमा नजिकै कार्यरत थिए।

त्यहाँ एउटा कृषि फर्ममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा मारिएका थिए भने चार जना घाइते र जोशी बेपत्ता भएका थिए। अन्य दुईजना भने सकुशल रहेका थिए।

जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए।

तर पछि उनलाई हमास लडाकुले लगेको ती विद्यार्थीहरूले सञ्चारमाध्यमलाई बताएका थिए।

इजरेलस्थित नेपाली राजदूत कृषि क्षेत्रबारे अध्ययन गरिरहेका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै (फाइल फोटो)

तस्बिर स्रोत, EMBASSY OF NEPAL ISRAEL

तस्बिरको क्याप्शन, इजरेलस्थित नेपाली राजदूत कृषि क्षेत्रबारे अध्ययन गरिरहेका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै (फाइल फोटो)

इजरेलमा नेपालीको सङ्ख्या

नेपालको परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार अहिले इजरेलमा ४,५०० नेपालीहरू केअरगिभरको रूपमा कार्यरत छन्।

त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएका थिए।

त्यसमध्ये २५३ जनालाई स्वदेश फर्काइएको छ भने १० जनाको निधन भएको छ। त्यस्तै घाइते भएका दुई जना हाल इजरेलमै उपचाररत रहेको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ।

यद्यपि इजरेलमा रहेका नेपालीहरू केही मात्रामा सरकारी विवरणमा नसमेटिएका र गैरकानुनी रूपमा इजरेलमा कार्यरत नेपालीहरू पनि रहेको बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।