इजरेल फर्कने दिन कुर्दै साम्बा, जहाँको फुटबल युद्धले खलबल्याएको छ

तस्बिर स्रोत, Picture Courtesy: Sabitra Bhandari
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
इजरेलमा पुगेर युरोपेली लीग फुटबल खेलेको महिना दिन बितेको थिएन, इजरेल-हमास युद्धले सावित्रा भण्डारीको इजरेली फुटबल यात्रा खलबलियो।
जम्माजम्मी दुई महिना त्यहाँ बिताउन पाएकी साम्बा उपनामले चर्चित नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा नेपाल फर्किन पर्यो।
इजरेलको शीर्ष डिभिजनको महिला लीगमा सावित्राले आफ्नो प्रभाव जमाउन सुरु गरिसकेकी थिइन्।
लीगको पाँचौँ चरणको खेल मात्र सकिएको थियो। अनि त्यसमा छ गोल गर्दै साम्बा उच्च गोलकर्तामा अगाडि आइसकेकी थिइन्।
तर युद्धले लीग नै स्थगित हुन पुग्यो। युरोपेली लीगमा खेलेको नयाँ इतिहास कोर्दै गरेकी नेपाली महिला फुटबल खेलाडीको खुसी केही समयपछि डरमा परिणत भएको थियो।
त्यहाँ रहेका केही नेपालीहरूले युद्धमा ज्यानै गुमाएपछि तेल अभिभमा रहेकी साम्बालाई सुरक्षाको चिन्ता बढेको थियो।
उक्त माहौलमा सावित्रा गत असोज २५ गते नेपाल फर्किइन्।
चाडको सदुपयोग
सावित्रालाई नेपाल फर्किएको एउटा फाइदा भयो।
उनी फर्किएलगत्तै नेपालमा दशैँको माहौल थियो। आफ्नो घर लमजुङ पुगेर सावित्राले दशैँ मनाइन्। घरपरिवार र साथीहरू भेटेर रमाइलो गर्न पाइन्।
त्यसपछि आफू आबद्ध सशस्त्र प्रहरीको एपीएफ क्लब फर्केर उनी आफ्नो नियमित प्रशिक्षणमा लागेकी छिन्।
युरोपेली लीगको स्तर र त्यहाँ प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्ने चुनौतीका माझ चाडबाडमा रमाइलो मात्र गर्ने समय उनीसँग थिएन।
फेरी लीग कुनै पनि बेला सुरु हुने र आफूलाई बोलाउने भएकोले पनि तन्दुरुस्त भएर बस्नु अनिवार्य थियो।
त्यसैले तिहार मनाउन उनी गाउँ गइनन्। गाउँमा दुई भाइ छन्। उनी भन्छिन्, "उता (इजरेल) बोलाउनासाथ जानुपर्छ। करिअरमा ध्यान दिन जरुरी छ नि अहिले।"
कहिले फर्किने ?
इजरेल-हमास द्वन्द्व साम्य भएपछि मात्र स्थगित लीग फेरि सुरु हुनेछ।
सावित्रा आफ्नो क्लब हापोएल रानानाका व्यवस्थापक प्रशिक्षकसँग नियमित सम्पर्कमा छिन्।
उनले भनिन्, “क्लबले वातावरण सामान्य हुनासाथ लीग सुरु गर्ने भएकाले तयार भएर बस्न भनेको छ। स्थिति चाँडै राम्रो होस् भन्ने पर्खाइमा छु।"
इजरेल महिला लीगमा जम्मा आठ वटा क्लब छन्। जम्मा १० महिना चल्ने उक्त लीगमा सावित्राले सम्झौताअनुसार अझै आठ महिना खेल्न बाँकी नै छ।
एशिया क्षेत्रमा रहे पनि इजरेलले युरोपेली फुटबल महासङ्घको सदस्यता लिएको हुनाले त्यहाँको लीग युरोपेली बनेको हो।
अनि सावित्राले युरोपेली फुटबल लीग खेल्ने पहिलो नेपाली (महिला-पुरुष दुवैमा) बन्ने इतिहास रचेकी हुन्।
इजरेलको क्लब हापोएल रानानामा अनुबन्ध भएकी सावित्राले लीग खेल्नुअगाडि 'एथेना कप' प्रतियोगितामा भाग लिइन्।
त्यही प्रतिस्पर्धामा उनले आफ्नो छाप छोडेकी थिइन्। उनको क्लब सो प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो।
नयाँ अनुभव

तस्बिर स्रोत, Picture Courtesy: Sabitra Bhandari
सावित्राले दक्षिण एसियामा नेपालसहित भारत र मालदिभ्सको लीग खेलिसकेकी छिन्।
उनले यसअघि भारतीय विमिन्स लीगमा दुई सिजन खेलेर दुवै पटक आफ्नो क्लबलाई च्याम्पिअन बनाएकी थिइन्।
भारतीय महिला लीगमा गोकुलम् केरालालाई लीग च्याम्पियन बनाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेपछि उनी इजरेलको आँखामा परेकी थिइन्।
उनले गोकलुम्बाट उपाधिसहित सर्वाधिक गोलकर्ताको अवार्ड समेत जितेकी थिइन्। त्यसअघि उनले सेथु एफसीबाट खेल्दै उपाधि जितेकी थिइन्।
इजरेली लीगमा भारतको लीगभन्दा फरक अनुभव गरेको उनी बताउँछिन्।
युरोपेली लीगको संरचना, खेल तालिका र खेलाडीहरूलाई गर्ने व्यवहार सबै उच्च व्यावसायिक रहेको सावित्राको अनुभव छ।
उनका अनुसार इजेरेली लीगको तालिका र खेलाडीहरूको आराम गर्ने समय तालिका मिलाइएको हुन्छ। यसले गर्दा खेलाडीहरू बढी सुरक्षित छन्।
उनले भनिन्, "खेलाडीको सुरक्षा र स्वास्थ्यमा ध्यान दिइएको हुन्छ। प्रशस्त आराम गर्न पाइन्छ। अनि पदाधिकारीहरूको व्यवहार पनि निकै व्यावसायिक छ। खेल्न मज्जा छ।"
युरोपबाट धेरै सिक्न पाएको उनी बताउँछिन्।
उनले भनिन्, "भारतीय लीगमा घाना र नाइजिरियाका खेलाडी मात्र छन्। तर यहाँ युरोपका खेलाडी छन्। ब्रजिली खेलाडीहरू पनि छन्। उनीहरूसँग खेल्दा फरक महसुस हुन्छ। केही नयाँ सिक्न पाएको छु। सोचेभन्दा फरक खेलाडीसँग खेल्दा आत्मविश्वास बढेको छ।”
थप अवसर

तस्बिर स्रोत, Picture Courtesy: Sabitra Bhandari
सावित्रा अनुबन्धित क्लब हापोएल रानाना इजरेली लीगको मध्यम स्तरको टोली हो।
क्लब अहिले लीगको पाँचौँ नम्बरमा छ।
तर यसले सावित्रालाई भने फाइदा पुगेको छ। मध्यम क्लबमा खेल्दा उनलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका मिलेको छ।
हापोएल रानानाको प्रमुख आकर्षण नै सावित्रा बनेकी छिन्।
एउटा नकआउट र लीगको पाँच खेल खेल्दा नै इजरेलका अन्य क्लबका अधिकारीहरूले आफ्नो क्लबबाट खेल्ने प्रस्ताव गरिसकेको उनी बताउँछिन्।
उनले भनिन्, "अन्य क्लबहरू पनि कुरा गर्न आएका छन्। तर अहिले यही क्लबबाट खेल्ने हो। अर्को सिजनमा के हुन्छ हेरौँला।"
क्लब परिवर्तन पछिको कुरा हो। अहिले भने सावित्रा कहिले इजरेलको वातावरण सामान्य बन्ला र लिग खेल्न पुगौँला भन्ने पर्खाइमै छिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।









