टी २० विश्वकप क्रिकेट: नेपालको यात्रा कस्तो हुनसक्छ, कुन कुन टोलीसँग खेल्ने मौका आउनसक्छ?

क्रिकेट
तस्बिरको क्याप्शन, यसअघि नेपालले एक पटक टी २० विश्वकप खेलेको छ
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

एउटा स्वप्निल यात्रा पार गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली २० ओभरको विश्वकपमा प्रवेश गरिसकेको छ।

१० वर्ष अगाडि सन् २०१४ मा पारस खड्का नेतृत्वको राष्ट्रिय टोलीले टी ट्वेन्टी विश्वकप खेल्दा नेपाली टोलीले एउटा नयाँ युगको सुरुआत गरेको ठानिएको थियो।

अन्तर्राष्ट्रिय ध्यान त्यति बेला नेपाली टोलीले गरेको प्रभावशाली प्रदर्शन र नेपालको क्रिकेट 'क्रेज' देखेर मुग्ध बनेको थियो।

त्यही इतिहास दोहोर्‍याउने यात्रामा अहिले रोहित पौडेलको टोली अगाडि आएको छ।

विश्वकप प्रतियोगिता आगामी वर्ष २०८१ जेठ २२ देखि असार १७ गते (जुन ४ देखि ३० तारिख, २०२४) सम्म अमेरिका र वेष्ट इन्डिजमा हुँदैछ।

हरेक २ वर्षमा आयोजना गरिने २० ओभरको विश्वकपको यो नवौँ संस्करण हो।

नेपालको विश्वकप अवसर

सन् २०२१ को जुनमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले सन् २०२४, २०२६, २०२८ र २०३० को विश्वकपमा २० राष्ट्र सहभागी गराउने निर्णय गरेको थियो।

त्यो सँगै नेपालले एसिया क्षेत्र छनोटबाटै सिधै विश्वकपको यात्रा तय गर्ने अवसर पाएको हो।

यसअघि नेपालले छनोटको लागि 'ग्लोबल क्वालिफाइअर'मा प्रतिस्पर्धा गर्नुपर्थ्यो।

सन् २००७ बाट सुरु भएको टी २० विश्वकपमा सुरुमा १२ टोलीले मात्र प्रतिस्पर्धा गर्थे। सन् २०१४ को बाङ्ग्लादेशमा भएको विश्वकपमा टोलीको सङ्ख्या १६ पुर्‍याइएको थियो।

क्रिकेट विश्वकपको दायरा खुम्च्याइएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि आइसीसीले २० ओभरको विश्वकप खेल्ने टोलीको सङ्ख्या २० पुर्‍याएको हो।

त्यस अनुरूप एसिया क्षेत्रबाट २ एसोसियट राष्ट्रलाई कोटा दिइएको थियो।

नेपाल क्रिकेट सङ्घले उक्त छनोट प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गर्‍यो।

फाइनलमा पुग्ने दुई टोली विश्वकपमा पुग्ने प्रावधान अनुसार युएई माथि सेमिफाइनलमा शानदार विजय हात पार्दै नेपालले विश्वकपको ढोका खोलेको हो।

रोहित पौडेलको कप्तानीमा रहकेो नेपाली टोलीले महत्त्वपूर्ण सफलता पाइरहेको छ
तस्बिरको क्याप्शन, रोहित पौडेलको कप्तानीमा रहकेो नेपाली टोलीले महत्त्वपूर्ण सफलता पाइरहेको छ

विश्वकपमा को को सँग खेल्छ नेपाल

विश्वकपको टाइसिट 'ड्र' हुन बाँकी नै छ। तर नेपालले क्रिकेटमा शक्तिशाली मानिने केही राष्ट्रहरुसँग खेल्न पाउने भने पक्का छ।

विगतमा वरियता प्राप्त ठूला टिमसँग खेल्नु अगाडि वरियतामा तल परेका टिमहरू माझ हुने पहिलो समूह चरणका खेल पार गर्नुपर्ने हुन्थ्यो।

तर अहिले सहभागी २० टोलीलाई ४ समूहमा बाँडिएको छ र प्रत्येक समूहमा ५ राष्ट्र हुनेछन्।

यसको अर्थ नेपालको समूहमा भारत, पाकिस्तान, इङल्याण्ड वा अस्ट्रेलिया जस्ता कुनै ठूला राष्ट्रहरू पक्कै पर्ने नै छन्।

लिग चरणमा प्रत्येक चार समूहका शीर्ष दुई टोली छनोट हुने छन्। बाँकी तीन टोली बाहिरिनेछन्।

चार समूहबाट छानिएका आठ टोलीलाई दुई भागमा विभाजन गरी खेलाइनेछ। दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्। र त्यसका विजेताहरू बिच उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुनेछ।

एशिया कपमा नेपालले भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग खेल्ने अवसर पाएको थियो

तस्बिर स्रोत, ACC

तस्बिरको क्याप्शन, एशिया कपमा नेपालले भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग खेल्ने अवसर पाएको थियो

को को हुन् २० टोली

गत सन् २०२२ को विश्वकपमा शीर्ष आठमा रहेका टोली र दुई सह-आयोजक अनि दुई वरियता पाएका राष्ट्र गरी १२ टोली सिधै विश्वकपमा छानिएका छन्।

अस्ट्रेलिया, इङल्याण्ड, भारत, नेदरल्याण्डस्, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का शीर्ष आठ पूर्ण सदस्य राष्ट्र हुन्।

दुई सह आयोजक राष्ट्र अमेरिका र वेस्ट इन्डिज सिधै छनोट भएका छन्।

त्यस बाहेक अफगानिस्तान र बाङ्ग्लादेश पनि सन् २०२२ को नोभेम्बर भित्रको शीर्ष आठ पछि उच्च वरियताका टोलीका रूपमा विश्वकपमा छानिसकिएका छन्।

नेपाली क्रिकेट समर्थक

तस्बिर स्रोत, ACC

बाँकी ८ टोलीको छनोट प्रतिस्पर्धा

सिधै छानिएका १२ टोली पछिको बाँकी ८ टोलीबीच भने छनोट प्रतिस्पर्धा भएको थियो।

आइसीसीले ८ वटा 'कोटा'मा एशिया, अफ्रिका, युरोपलाई २/२ कोटा तथा अमेरिका र इस्ट एसिया प्यासिफिक राष्ट्रलाई १/१ कोटा बाँडेको थियो।

त्यसमध्ये हालसम्म सम्पन्न भएको छनोट प्रतिस्पर्धामा एशियाबाट नेपाल र ओमान, युरोपबाट आयरल्यान्ड र स्कटल्यान्ड, अमेरिकाबाट क्यानडा तथा इस्ट एसिया प्यासिफिकबाट पपुवा न्युगिनी गरी ६ राष्ट्रको छनोट भइसकेको छ।

अब अफ्रिकाबाट २ टोली छानिन मात्र बाँकी छ। उक्त छनोट आगामी २० नोभेम्बर देखि १ डिसेम्बरसम्म नामिवियामा हुँदैछ।

केन्या, नामिविया, नाइजिरिया, रुवान्डा, तान्जानिया र युगान्डाले उक्त प्रतिस्पर्धामा भाग लिनेछन्।

नेपाल क्रिकेट

नेपालको प्रदर्शन

सन् २०१४ मा कान्छो एसोसियट राष्ट्रको रूपमा नेपालले बाङ्ग्लादेशको यात्रा गर्दा कतिपय राष्ट्रहरूले खासै ध्यान दिएका थिएनन्।

तर जब लिग चरणमा नेपालले हङकङ र त्यति बेला चर्चामा आइरहेको अफगानिस्तानलाई लगातार २ खेलमा पराजित गर्‍यो, सबैको ध्यान नेपालतिर आकर्षित हुन पुगेको थियो।

लिगको अन्तिम खेलमा आयोजक बाङ्ग्लादेशलाई पनि नेपालले कडा टक्कर दिएको थियो।

एक समय त नेपाल बाङ्ग्लादेशमाथि भारी परिसकेको थियो। तर उक्त खेल हारेसँगै नेपाल लिग चरणबाट बाहिरियो र बाङ्ग्लादेश दोस्रो चरणमा प्रवेश गर्‍यो।

अहिलेको नेपाली टोली पनि उच्च प्रदर्शनको अवस्थामा छ।

पछिल्लो समय नेपाली विश्वकप लिग २ मा अनि एशिया कपमा भारत र पाकिस्तानसँगको प्रशंसनीय प्रदर्शन, एवं एशियाली खेलकुदमा देखाएको साहसिक प्रदर्शनको चर्चा अझै सेलाएको छैन।

नेपालले अमेरिका/वेस्ट इन्डिजमा पनि उक्त प्रदर्शन जारी राख्ने आशा कैयौँले गरिरहेका छन्।

नेपालका अनुभवी खेलाडी सोमपाल कामीले भने, "हामी विश्वकपमा पुग्ने मात्र होइन, त्यहाँ जित्ने पनि हो।"