प्रेस काउन्सिलमा परेको बीबीसीको वृत्तचित्रमाथिको उजुरीमा 'कूटनीतिक समन्वयमार्फत् अघि बढ्न अनुरोध'

प्रेस काउन्सिलको कार्यालय

तस्बिर स्रोत, PCN/FB

पढ्ने समय: ३ मिनेट

प्रेस काउन्सिल नेपालले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनबारे बीबीसी वर्ल्ड सर्भिसबाट बिहीवार सार्वजनिक भएको वृत्तचित्रबारे सिर्जित विवाद आफ्नो "स्पष्ट क्षेत्राधिकारभित्र पर्ने नदेखिएको" हुँदा आवश्यक प्रक्रिया अगाडि बढाउन नेपाल सरकार र निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको जनाएको छ।

बीबीसी वर्ल्ड सर्भिसबाट सार्वजनिक सो भिडिओलाई विभिन्न नेपाली सञ्चारमाध्यमहरूले प्रयोग गरेकोमा त्यसबाट पनि निर्वाचन आचारसंहिता उल्लङ्घन भएको उजुरी परेको निर्वाचन आयोगका अधिकारीहरूले बताएका थिए।

काउन्सिलले के भन्यो

शुक्रवार साँझ काउन्सिलका सूचना अधिकारी रामशरण बोहोराले जारी गरेको विज्ञप्तिमा काउन्सिलले उक्त वृत्तचित्रबारे आफ्नो ध्यानाकर्षण भएको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, "पत्रकार आचारसंहिता, २०७३ को दफा ११ को अधीनमा रही बनेको 'पत्रकार आचारसंहिता उजुरी र कारबाहीसम्बन्धी कार्यविधि, २०७५ को दफा ५(ठ) मा 'विदेशबाट सञ्चालित अनलाइन वा अन्य माध्यमविरुद्ध उजुरी परी कारबाही चलेको अवस्थामा नेपाली नागरिक भएको भए त्यहाँस्थित नेपाली दूतावास र विदेशी नागरिक भइसकेको भए कूटनीतिक माध्यमबाट समन्वय गर्नुपर्दछ' भन्ने व्यवस्था रहेको छ भने निर्वाचन आचारसंहिता, २०८२ को दफा २५ मा 'सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण' तोकिएको छ।

"सोही आचारसंहिताको परिभाषा खण्डको (ञ) मा 'सञ्चार प्रतिष्ठान' भन्नाले सञ्चारसम्बन्धी कुनै व्यवसाय वा सेवा सञ्चालन गर्ने उद्देश्यले प्रचलित कानुनबमोजिम स्थापना वा दर्ता भएको सरकारी वा सामुदायिक वा निजी सञ्चार माध्यम वा सङ्गठित संस्था सम्झनुपर्दछ' भन्ने उल्लेख छ।

"त्यसैगरी निर्वाचन आचारसंहिता, २०८२ को दफा २५(१)(ट) मा 'नेपालको निर्वाचन, राजनीतिक दल र उम्मेदवारलाई नकारात्मक असर पुग्ने गरी विदेशी सञ्चार माध्यमबाट प्रकाशित वा प्रसारित सामग्री पुनः प्रकाशन वा प्रसारण गर्न नहुने' व्यवस्था रहेको छ।"

प्रेस काउन्सिल नेपालले आफ्नो वेबसाइट र सामाजिक सञ्जालमा राखेको विज्ञप्तिमा थप भनेको छ, "पछिल्लो समय कतिपय नेपाली सञ्चार माध्यमबाट बीबीसी विश्व सेवाले सम्प्रेषण गरेको वृत्तचित्रलाई त्यसको विश्वसनीयताको परीक्षण नै नगरी आफ्नो धारणासहित विश्लेषण गर्दै सामग्री सम्प्रेषण भइरहेको देखिएको छ।"

काउन्सिलले आचारसंहिताविरुद्धका सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई कारबाहीको प्रक्रिया अगाडि बढाइनेसमेत चेतावनी दिएको छ।

"प्रेस काउन्सिल नेपाल राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सम्पादकीय स्वतन्त्रताको सम्मान गर्दछ। तथापि निर्वाचनजस्तो संवेदनशील विषयमा निर्वाचनलाई प्रभाव पार्ने किसिमका, निर्वाचनमा भाग लिएका राजनीतिक दल तथा उम्मेदवारलाई नकारात्मक असर पुर्‍याउने, मतदातालाई दिग्भ्रमित गर्ने खालका, निष्पक्ष मतदानमा असर पुग्ने गरी चुनावी विश्लेषणात्मक सामग्रीका साथै विदेशी सञ्चारमाध्यमबाट सम्प्रेषित निर्वाचनलाई प्रभाव पार्ने प्रकारका सामग्री निर्वाचन सम्पन्न नभएसम्मका लागि पुनः प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न नगराउन आग्रह गर्ने आजै बसेको काउन्सिलको बैठकको निर्णयअनुसार आमसञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गर्दछ," विज्ञप्तिमा भनिएको छ।

प्रेस काउन्सिल नेपाल सरकारमातहतको सञ्चारमाध्यमको नियामक निकाय हो।

"बीबीसी विदेशी मुलुकबाट सञ्चालित भएको हुँदा उक्त सञ्चार माध्यम र त्यसअन्तर्गतको सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको नियमन गर्ने विषयमा यस काउन्सिलको स्पष्ट क्षेत्राधिकार भएको नदेखिएको हुँदा कूटनीतिक समन्वयमार्फत् प्रक्रिया अगाडि बढाउन नेपाल सरकार र निर्वाचन आयोगलाई अनुरोध गरी पत्राचार गर्ने आज बसेको काउन्सिलको बैठकले निर्णय गरेको छ," विज्ञप्तिमा भनिएको छ।

निर्वाचन आयोगको पत्राचार

निर्वाचन आयोग

तस्बिर स्रोत, Getty/BBC

यसअघि निर्वाचन आयोगले बिहीवार प्रकाशित बीबीसीको वृत्तचित्रले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै कारबाहीका लागि काउन्सिललाई पत्राचार गरेको बताएको थियो।

"बीबीसी विश्व सेवाले बनाएको वृत्तचित्र नेपालका सञ्चारमाध्यमले प्रसारण गर्ने कार्य आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल हुने देखिन्छ। अतः बीबीसी विश्व सेवाले बनाई सार्वजनिक तथा प्रसारण गरेको 'शट लाइक इनेमिज : इनसाइड नेपाल्स जेन जी अपराइजिङ' विषयक वृत्तचित्रसम्बन्धमा सम्बद्ध निकायसँग आवश्यक समन्वय गरी यथाशीघ्र कारबाही गर्न निर्णयानुसार अनुरोध छ," आयोगले काउन्सिललाई पठाइको पत्रमा उल्लेख छ।

आयोगले जेन जी आन्दोलनबारे जाँचबुझका लागि गठन भएको आयोगले काम नसक्दै निर्वाचनको सम्मुखमा बीबीसीबाट प्रसारित वृत्तचित्रले आचारसंहिता उल्लङ्घन भएको जनाएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।