निर्वाचनको मुखमा नेपाली सेनाका चार पूर्वप्रमुख भारत जानुको कारण

न्याश्नल वार मेमोरिअल पुगेर वीरगतिप्राप्त सैनिकहरूप्रति सम्मान व्यक्त गर्दै भारतीय सेनाध्यक्षसहित नेपाली सेनाका पूर्वप्रमुख

तस्बिर स्रोत, ADGPI - Indian Army

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ५ मिनेट

भारतीय सेनाको आयोजनामा शुक्रवारबाट सुरु भएको नेपाल र भारतका पूर्वसेनाप्रमुखहरूको १०औँ सम्मेलनमा नेपालका चार जना पूर्वप्रधानसेनापतिहरूले सहभागिता जनाइरहेका र त्यसमा आपसी सैनिक सम्बन्धबारे छलफल हुने अधिकारीहरूले बताएका छन्।

नेपालमा फागुन २१ गते हुन लागेको निर्वाचनको मुखमा भारतीय सेनाले राखेको यो कार्यक्रमलाई कतिपयले अर्थपूर्ण ढङ्गले हेरिरहेका छन्।

भारतीय सञ्चारमाध्यमहरूले उक्त कार्यक्रममा भारतीय सेनाका सेनाध्यक्ष उपेन्द्र द्विवेदीले नेपालका पूर्वप्रधानसेनापतिहरूलाई आधुनिक युद्धकलासँग जुध्न देखा परेका नयाँ चुनौतीहरूबारे जानकारी गराउने उल्लेख गरेका छन्।

उक्त सम्मेलनमा नेपालका चार पूर्वप्रधानसेनापति र भारतका आठ जना पूर्वसेनाप्रमुख सहभागी भइरहेको कार्यक्रममा जनाइएको छ।

यो सम्मेलनको महत्त्व के हुन सक्छ?

दुवै देशका पूर्वसेनाप्रमुखहरूको सामूहिक तस्बिर। बीचमा भारतीय सेनाध्यक्ष बसिरहेको देख्न सकिन्छ

तस्बिर स्रोत, ADGPI - Indian Army

नेपाली सेनाका अधिकारीहरू नेपाल भारत 'चीफ्स कन्क्लेभ' नियमित कार्यक्रम भएको र त्यसको दशौँ संस्करण भारतले आयोजना गरिरहेको बताउँछन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बीबीसीसँग भने, "यो सेना दिवसको उपलक्ष्यमा नेपाल र भारतमा सञ्चालन हुँदै आएको छ। एउटा साल एउटा देशमा, अर्को साल अर्कोमा, यो आयोजना हुन्छ। गत साल नेपालमा आयोजना भएको थियो। यो साल भारतमा हुँदै छ, अर्को पालि फेरि नेपालमा नै आयोजना हुन्छ।"

भारतमा प्रत्येक वर्ष ज्यानुअरी १५ मा सैनिक दिवस मनाइन्छ। नेपाली सेनाले चाहिँ महाशिवरात्रिमा नेपाली सेना दिवस मनाउने गरेको छ।

यसपालि भारतले कार्यक्रम गरिरहेकाले त्यसको अजेन्डा उसले नै तय गर्ने उल्लेख गरेका नेपाली सेनाका सहायक रथी बस्नेतले यो नियमित कार्यक्रम भएको बताए।

उनले भने, "नेपाल र भारतका सेनाप्रमुख एकअर्काको देशको सेनाका मानार्थ जेनरल रहने अभ्यास रहँदै आएको छ। यो (कार्यक्रम) त्यसकै निरन्तरता हो। हाम्रोतर्फबाट कार्यक्रम राख्दा विशेष गरी आपसी सम्बन्ध, सैनिक-सैनिक तहको सम्बन्धमा नै छलफलहरू केन्द्रित हुन्छन्।"

भारतीय सेनाले आफ्नो सामाजिक सञ्जालमार्फत् उक्त सम्मेलन सुरु भएको जानकारी गराउँदै भारतीय सेनाका मनार्थ महारथी रहेका नेपाली सेनाका पूर्वप्रमुखहरूले न्याश्नल वार मेमोरिअल पुगेर वीरगतिप्राप्त सैनिकहरूप्रति सम्मान व्यक्त गरेको जनाएको छ।

नेपालका पूर्व सेनाप्रमुखहरूलाई फागुन १७ गतेसम्मका लागि भारत निम्त्याइएको पनि अधिकारीहरूले उल्लेख गरेका छन्।

भारतबाट कोको सहभागी हुँदै छन्?

डिसेम्बरमा नेपाल र भारतबीच सूर्यकिरण नामक संयुक्त अभ्यास सम्पन्न भएको थियो

तस्बिर स्रोत, India in Nepal/Facebook

तस्बिरको क्याप्शन, डिसेम्बरमा नेपाल र भारतबीच सूर्यकिरण नामक संयुक्त अभ्यास सम्पन्न भएको थियो

भारतीय ञ्चारमाध्यमहरूका अनुसार मिजोरमका गभर्नर तथा पूर्वसेनाध्यक्ष भीके सिंहसहित आठ जना भूतपूर्व सेना प्रमुखहरू उक्त सम्मेलनमा भाग लिने छन्।

त्यसबाहेक भारतीय सेनाका दिवङ्गत फिल्ड मार्शल श्याम मानेक्श र जनरल विपिन रावतका परिवारलाई पनि निम्तो दिइएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

बीबीसीले उक्त कार्यक्रमको अजेन्डाबारे भारतीय सेनालाई इमेलमार्फत् प्रश्न गरेको भए पनि त्यसको जबाफ प्राप्त भइसकेको छैन।

भारतीय सेनाका अवकाशप्राप्त मेजर जेनरल अशोक मेहता यस्ता बैठकमा क्षेत्रीय सुरक्षा र आपसी हितबारे छलफल हुने बताउँछन्। "नेपाल-भारत सम्बन्ध र दुई देशका सेनाहरूबीचको सम्बन्धजस्ता विषयमा पनि कुरा हुन्छन्। यो शिष्टाचार आदानप्रदानप्रदानको कार्यक्रम हो, अरू ठूलो अर्थ छैन," उनले भने।

तर कतिपय भारतीय सञ्चारमाध्यमहरूले पाकिस्तानविरुद्ध भारतले गत वर्ष गरेको सैन्य कारबाही 'अपरेशन सिन्दूर'बारे पनि छलफल हुन सक्ने चर्चा गरेका छन्। पहलगाममा एक नेपालीसहित २६ जनाको ज्यान लिने गरी उग्रवादीहरूले गरेको आक्रमणको जबाफमा भारतले उक्त कारबाही गरेको थियो।

नेपाली सेनाका अवकाशप्राप्त उपरथी बिनोज बस्न्यात दुई देशका पूर्वसेनाप्रमुखहरूको सम्मेलनलाई कूटनीतिक गतिविधि ठान्छन्।

उनले बीबीसीसँग भने, "मलाई लाग्छ अहिलेको समयमा यस्तो गर्नु साङ्केतिक हो। यो एक खालको कूटनीति हो। हामीलाई यसरी बोलायौँ, बुझ्ने कोसिस गर्‍यौँ भन्ने हुन सक्छ। उनीहरूले आफ्नो कुरा पनि सुनाउँछन्।"

एकअर्काका सेनाप्रमुखलाई मानार्थ जनरल उपाधि दिनेबाहेक नेपाल र भारतका सेनाबीच तालिमलगायतका क्षेत्रमा नियमित सहकार्य रहेको छ।

गएको डिसेम्बर महिनामा नेपाल र भारत प्रत्येक देशका ३३४ जना सैनिक सहभागी सूर्यकिरण सैनिक अभ्यास भारतको पिथौरागढमा सम्पन्न भएको थियो।

नेपालले चीन र अमेरिकासँग पनि विभिन्न खालका सैन्य अभ्यासहरू गर्ने गरेको पाइन्छ।

सैनिक कूटनीति कस्तो देखिन्छ?

अमेरिकी सेनाका प्यासिफिक कमान्डका कमान्डरले नेपाली सेनाको हेलिकप्टर

तस्बिर स्रोत, US Army Pacific Command

तस्बिरको क्याप्शन, अमेरिकी सेनाका प्यासिफिक कमान्डका कमान्डरले हालै नेपालको भ्रमण गरेका थिए। नेपाली सेनाको हेलिकप्टरमा उनले विभिन्न ठाउँको भ्रमण गरे

भारतीय नेपाली सेनाका पूर्वप्रमुखहरूसहित सम्मेलन आयोजना गरिरहँदा संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा नेपाली सेना दिवसको अवसरमा बुधवार साँझ आयोजित रात्रिभोजमा दक्षिण तथा दक्षिणपूर्वी एशिया हेर्ने उपविदेशमन्त्री एन्ड्रू बायर्स उपस्थित थिए।

केही दिनपहिले अमेरिकी सेनाको इन्डो प्यासिफिक कमान्डका कमान्डर एड्मिरल स्यामुएल जे पापरोले नेपाल भ्रमण गरी उच्चस्तरीय राजनीतिक भेटवार्ताहरू गरेका थिए।

अवकाशप्राप्त मेजर जनरल बस्न्यात नेपालले अहिले सङ्कट सामना गरिरहेका कारण पनि नेपाली सेनाको भूमिका बढिरहेको बताउँछन्।

उनले भने, "नेपाल र बाङ्ग्लादेशमा भएका चुनाव अनि ड्यूरान्ड लाइन (अफगानिस्तान र पाकिस्तानबीचको सीमा)मा जारी तनाव जस्ता कारणले दक्षिण एशियामा रणनीतिक स्वार्थ व्यक्त भइरहेको देखिन्छ। नेपालमा अवस्था के छ भनेर स्थलगत रूपमा नै आएर बुझ्न पनि कतिपय भ्रमणहरू भएका हुन्।"

उनले निर्वाचनबाट चुनिने प्रतिनिधिहरूले नेपालमा देखिएको सङ्कटको व्यवस्थापन कसरी गर्छन् भन्नेमा धेरै कुरा निर्भर हुने बताए।

उनले थपे, "अब निर्वाचनपछि परिणाम कसरी आउँछ, चुनावको परिणाम स्वीकार्य हुन्छ कि हुँदैन र अब बन्ने सरकारले रणनीतिक मुद्दाहरूलाई सम्बोधन गर्छ कि गर्दैन, त्यसले सेनाको कूटनीति र भूमिकालाई बढाउने र घटाउने निर्धारण गर्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।