वे फङ्ख नेपाल भ्रमण: चीन नेपाली सेनासँग कस्तो सम्बन्ध चाहन्छ

चिनियाँ रक्षामन्त्री

तस्बिर स्रोत, RSS

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

चिनियाँ स्टेट काउन्सिलर तथा रक्षा मन्त्री जनरल वे फङ्खको एक दिने काठमाण्डू भ्रमणले नेपाली सेनासँग भारत र अमेरिकाकै स्तरको वा त्यो भन्दा अझ निकट सम्बन्ध गाँस्ने बेइजिङको चाहनालाई प्रतिविम्बित गरेको कतिपय विज्ञहरूले बताएका छन्।

नेपाली सेना स्थायी शक्तिको स्रोतका रूपमा रहेको र अहिले विश्व राजनीतिमा देखा परिरहेको भूराजनीतिक उथलपथलमा नेपालमा सेनासँगको सम्बन्ध विश्वासिलो बनाउनु क्षेत्रीय र विश्वशक्ति राष्ट्रहरूका लागि महत्त्वपूर्ण बन्दै गएको विश्लेषकहरू बताउँछन्।

अमेरिका र भारतसहितका साझेदार एकातर्फ अनि चीन अर्कोतर्फ उभिएको नयाँ शीतयुद्ध जस्तै परिस्थिति विकास भइरहेको भन्दै त्यसका प्रभावहरू नेपालमा पनि पर्नसक्ने टिप्पणीकारहरूले बताइरहेका छन्।

रक्षामन्त्री जनरल फाङ्खको भ्रमणका क्रममा उनले नेपाली सेनाका प्रधानसेनापतिसँग क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि छलफल गरेको चिनियाँ पक्षले जनाएको छ।

सैनिक सम्बन्ध विस्तार गर्ने चिनियाँ चाहना

झण्डै ९ घण्टा नेपालमा बिताएका चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गरेका थिए।

चिनियाँ रक्षा मन्त्रालयका अनुसार वेले चिनियाँ पक्षले निरन्तर सम्पर्कमा रहेर नेपालको सैन्य क्षमता अभिवृद्धिका लागि सहयोग र समर्थन गर्ने बताएका थिए। त्यसबाट दुवै देशका जनताले लाभ पाउने र क्षेत्रीय शान्ति र स्थिरतालाई पनि मद्दत गर्ने वेले उल्लेख गरेको चिनियाँ रक्षामन्त्रालयको वेबसाइटमा उल्लेखित विज्ञप्तिमा जनाइएको छ।

राष्ट्पति सी जिनपिङको नेतृत्वमा रहने चिनियाँ मिलिटरी कमिसनका सबैभन्दा बरिष्ठ सदस्य हुन् वे। तीन वर्ष अघि पनि रक्षामन्त्रीको तहमा नेपाल भ्रमण भएको थियो।

त्यसै अवधिमा नेपाली रक्षामन्त्रीले दुई पटक बेइजिङको भ्रमण गरेका छन् र चीनले नेपाली सेनालाई ३०० मिलिअन आरएमबी (५ दशमलव ३ अर्ब रुपैयाँ) बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको छ।

चिनियाँ रक्षामन्त्री

तस्बिर स्रोत, RSS

गएको वर्षको अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जीनपिङले नेपाल भ्रमण गरेपछि दुई देशले रणनीतिक तहको साझेदारी कायम भएको बताएका थिए।

यसपालि नेपाली अधिकारीहरूसँगको भेटमा पनि चिनियाँ रक्षामन्त्रीले नेपाली सेनाका लागि थप सहायता उपलब्ध गराउने जनाएका थिए।

त्यसबारे जानकारी दिँदै सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेल भन्छन्, "उहाँहरूले कोभिड-१९ का लागि थप अनुदान उपलब्ध गराउँछौँ भन्नुभएको छ। यति नै भन्ने उल्लेख छैन। अब सैनिक सहचारीको तहमा छलफल गरेर हामी टुङ्गोमा पुग्छौँ।"

नेपाली सेनाले कोभिड-१९ का कारण प्रभावित रहेका संयुक्त तालिम र शिक्षार्थी आदानप्रदान र विगतका सहमतिको कार्यान्वयनका बारेमा पनि चिनियाँ रक्षामन्त्रीसँग छलफल भएको जनाएको छ।

नयाँ शीतयुद्ध र उत्तरको सन्देश

अधिकारीहरूले जनरल वेको भ्रमणलाई नियमित किसिमको भ्रमणका रूपमा प्रस्तुत गरिरहेका छन्।

भारतका तर्फबाट उसका खुफिया एजेन्सी रअका निकायका प्रमुख, त्यसपछि स्थल सेनाध्यक्ष अनि विदेश सचिवले नेपाल भ्रमण गरिसकेका छन्।

त्यसपछि बेइजिङबाट भएको यो भ्रमणलाई अर्थपूर्ण ठानिएको छ।

साउथ एसिया सेन्टर अफ पोलिसि स्टडिजका कार्यकारी निर्देशक श्रीधर खत्री भन्छन् "भारत र चीनबीच विवाद बढेका कारण त्यसले नयाँ दिल्लीलाई इन्डो प्यासिफिक रणनीतितर्फ धकेलेको अवस्था छ। हालै भारत, अस्ट्रेलिया, अमेरिका र जापानले बङ्गालको खाडीमा संयुक्त अभ्यास पनि गरे। यसको कुनै न कुनै आयाम चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणमा जोडिएको छ भन्ने मलाई लाग्छ।"

उनले थपे, "भुटान सँगको सीमा क्षेत्रमा पनि चिनियाँहरूले दीर्घकालीन सोचले संरचनाहरू बनाएका भूउपग्रहहरूबाट लिइएका तस्बिरले देखाउँछ। यतिका वर्ष वार्ता गर्दा भारतसँगको उनीहरूको सीमा विषय समाधान नभएको अवस्था छ। त्यसले हामीलाई दबाव पर्छ।"

विगतमा नेपाललाई भारतसँग मिलेर अघि बढ् भनेर सम्झाउने गरेको चीन अहिले बढेको आत्मविश्वाससहित फरक रूपमा प्रस्तुत भइरहेको प्राध्यापक खत्री बताउँछन्।

उनले भने, "यदि अमेरिकाको बाइडन प्रशासनले पनि इन्डो प्यासिफिक रणनीतिलाई निरन्तरता दियो भने नयाँ शीतयुद्धको एउटा अर्कै आयाममा हामी पनि पर्छौँ।"

भारत र अमेरिकाकै तहको सैन्य सहकार्य कायम गर्ने इच्छा

भूराजनीतिक मामिलाका जानकार कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा नेपाली सेनासँग आफ्नो मुख्य सम्बन्ध होस् भन्ने चाहना चिनियाँहरूमा देखा परेको बताउँछन्।

उनले भने, "नेपालको भारत र अमेरिकाको सेनासँग एकखालको रणनीतिक साझेदारीजस्तै छ। त्यसकै तहमा आफूलाई पनि पुर्‍याउने वा त्यो भन्दा अघि बढेर आफ्नो मुख्य सम्बन्ध राख्ने चिनियाँहरूको प्रयास देखिन्छ।"

उनी थप्छन्, "त्यसका लागि चीनले धेरै प्रयासहरू गरिरहेको देखिन्छ। चीनमा तालिम लिन जाने सैनिकहरूको सङ्ख्यामा वृद्धि हुन थाल्यो होला तर अहिले पनि (नेपाली सेनाको) निकट सहकार्य भारतीय र अमेरिकी सेनासँगै छ।"

"त्यो समीकरण उनीहरूले बिगार्न चाहेको जस्तो मलाई लाग्दैन। तर सम्बन्ध स्थापनाको हिसाबले यी तीनवटा देशमध्ये नेपाली सेनासँग सबैभन्दा पछि सम्बन्ध स्थापना गर्ने देश चीन नै हो।"

जनरल वेको भ्रमणबारे चिनियाँ सरकारको आधिकारिक विज्ञप्तिमा उल्लेख भएको क्षेत्रीय भन्ने शब्दले भारतलाई र अन्तर्राष्ट्रिय भन्ने शब्दले अमेरिका र त्यसमा पनि नेपालमा विवादमा तानिएको इन्डो प्यासिफिक रणनीतिलाई जनाउने कतिपय विश्लेषकले ठानेका छन्।

नेपालका प्रधानसेनापतिसँग क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिबारे रक्षामन्त्री वेले कुरा गरेको चिनियाँ पक्षले जनाएको छ।

नेपालबाट उनी बाङ्ग्लादेश गएको अधिकारीहरूले बताएका छन्।

अहिले कसले कस्तो सैन्य सहयोग दिइरहेका छन्?

भारतसँग ब्रिटिश इण्डियाकै पालादेखि रक्षा सम्बन्ध भएको नेपालले संयुक्त राज्य अमेरिकासँग सन् १९६० को दशकको मध्यमा सैन्य सहायताहरू प्राप्त गर्न थालेको थियो।

चीन र नेपालबीचको रक्षा सहकार्य भने सन् १९८० को अन्त्यतिर अघि बढेको हो।

नेपाली सेनाका प्रवक्ता पौडेल नेपालको परराष्ट्र नीतिकै आधारमा सबैसँग सैनिक सम्बन्ध विस्तार गरिएको बताउँछन्।

उनले भने, "भारतीय सेनासँग हाम्रो राम्रो सम्बन्ध छ र चिनियाँ सेनासँग पनि हाम्रो राम्रो सम्बन्ध छ। सैनिक सम्बन्ध भनेको हाम्रो परराष्ट्र नीतिकै अङ्ग हो। त्यहीँ आधारमा हामीले सबैसँग सम्बन्ध अघि बढाउने हो।"

जानकार अधिकारीहरूका अनुसार अहिले पनि नेपाललाई सबैभन्दा ठूलो परिमाणमा सैन्य सहयोग उपलब्ध गराउने देश भारत हो।

दुई देशबीच सैन्य सहायताका बारेमा छलफल गर्ने अलग्गै संयन्त्र नै छ। भारतले नेपाललाई सशुल्क, नि:शुल्क वा सहुलियत दरमा हतियार तथा गोलीगठ्ठाजस्ता सामग्री उपलब्ध गराउने गरेको छ।

नेपाल र भारत बीचको संयुक्त अभ्यासमा दुई देशका १६ सय बढी सैनिक सहभागी हुने गरेका छन्।

नेपाल-चीन

तस्बिर स्रोत, MOFA

तस्बिरको क्याप्शन, केही महिनाअघि हुम्लाको सीमावर्ती क्षेत्रमा चीनले केही भवनहरू बनाएको थाहा भएपछि नेपाली सञ्चारमाध्यममा त्यसबारे समाचार आएको थियो। तर चीन र नेपाल सरकार दुवै पक्षले ती भवनहरू चिनियाँ भूमिमा बनेको बताएका थिए

चिनियाँ सहायता चाहिँ बढी विपद् व्यवस्थापन र स्वास्थ्य जस्ता गैरघातक क्षेत्रमा केन्द्रित छ।

शान्ति सेनालाई आवश्यक पर्न बन्दोबस्तीका सामग्री पनि चीनले नेपाललाई उपलब्ध गराउने गरेको छ।

नेपाल र चीनबीच सन् २०१६ मा शुरू भएको संयुक्त सैन्य अभ्यास अझै सानो तहमा नै अघि बढिरहेको छ।

अमेरिकासँग नेपाली सेनाले उच्च हिमाली भूगोलमा विशेष तालिमसहित अन्य संयुक्त अभ्यासहरू गर्ने गर्छ।

अमेरिकी सेनाको प्यासिफिक कमाण्डसँग मिलेर विपद् व्यवस्थापन र शान्ति स्थापनाजस्ता विषयमा नेपाल र अमेरिकाबीच कैयौँ दुईपक्षीय र बहुपक्षीय आदानप्रदान भएका छन्।

अमेरिका, भारत र चीन तीनै देशमा नेपाली सेनाले तालिमका लागि शिक्षार्थीहरू आदानप्रदान गर्ने गरेको छ।

अमेरिकाले अनुदानमा वा रकम लिएर सेनालाई हतियार तथा सैन्य उपकरण उपलब्ध गराउने गरेको छ।

दुई वर्षअघि नेपाली सेनाले अमेरिकाबाट एम सिक्स्टिन सहितका अत्याधुनिक हतियार खरिद गर्ने टुङ्गो लागे पनि रकम तिर्ने ढाँचामा केही अघि मात्रै दुई देशबीच सहमति भएका विवरण आएका थिए।

उसो त पञ्चायतको अन्त्यतिर नेपालले चीनसँग विमानलाई मार हान्न सक्ने एन्टी एअर क्राफ्ट गन र एके-४७ राइफलजस्ता हतियार खरिद गरेको बताइन्छ।

भारत, अमेरिका र युरोपेली देशले सक्रिय शाही शासनकालको विरोधमा नेपाललाई हतियारको आपूर्ति रोक्दा सन् २००५ मा चीनले सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।

दोस्रो जनआन्दोलनमार्फत् भएको राजनीतिक परिवर्तनसँगै नेपाली सेना र सशस्त्र प्रहरीसहितका सुरक्षा संयन्त्रसँग बेइजिङले तीव्र रूपमा सम्बन्ध विस्तार गरेको देखिन्छ।