महिला विश्‍वकप छनोटमा खेलाडीहरू ‘जोखिममा’

सन् २०१९ को विजेता संयुक्त राज्य अमेरिकासहित ३२ वटा देश महिला विश्‍वकपमा खेल्दै छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१९ को विजेता संयुक्त राज्य अमेरिकासहित ३२ वटा देश महिला विश्‍वकपमा खेल्दै छन्
    • Author, अमेलिया बटर्ली र रेबेका थर्न
    • Role, बीबीसी १०० विमिन

एउटा नयाँ प्रतिवेदनले विश्‍वका चर्चित महिला खेलाडीहरू निम्न आय, स्वास्थ्य सुपरिवेक्षण र तालिमसम्बन्धी पूर्वाधारहरूका कारण जोखिममा रहेको खुलासा गरेको छ।

खेलाडीहरूको संस्था फिफ्प्रोले छवटा महादेशीय च्याम्पिअन्शिपको अध्ययन गरेपछि हालको अवस्था ‘प्रदर्शनका लागि बाधक’ रहेको जनाएको छ।

युरोपबाहेकका यी सबै क्षेत्रीय प्रतियोगितालाई महिला विश्‍वकप छनोट चरणका रूपमा प्रयोग गरिन्छ।

सर्वेक्षण गरिएका प्रत्येक तीनमध्ये झन्डै एक महिलाले यी खेलहरूका लागि आफ्ना राष्ट्रिय टोलीले आफूलाई पैसा नदिने बताएका छन्।

आधाभन्दा धेरैले आफूहरूले प्रतियोगिताअघि स्वास्थ्य परीक्षण पनि गराउन नपाएको गुनासो गरेका छन्।

यसै वर्षको सुरुमा फुटबलको सर्वोच्च निकाय फिफाले खेलाडीहरूका लागि समान सर्तहरूको घोषणा गरेको थियो। यात्राका सुविधामा सुधार र प्रत्येक खेलाडीहरूलाई होटलमा छु्ट्टै कक्ष दिइने भनिएको भए पनि महिला र पुरुष विश्‍वकप प्रतियोगिताको पुरस्कार रकम भने बराबरी राखिएको थिएन।

अहिले फिफ्प्रोले विश्‍वकप छनोटका खेलहरूमा पनि समान सुविधाहरू उपलब्ध गराइनुपर्ने माग गरेको छ।

स्वास्थ्य सुविधा

फिफ्प्रोकी महिला फुटबलसम्बन्धी रणनीतिक सम्बन्ध निर्देशक सारा ग्रिगोरिअस त्यस्तो वातावरणले खेलाडीहरूले सदैव राम्रो प्रदर्शन गर्न सहयोग नपुर्‍याउने बताउँछिन्।

फिफ्प्रोको सर्वेक्षणमा सहभागी कतिपय महिलाहरूले दिएका सुझाव चिन्ताजनक रहेको उनको भनाइ छ।

खेलअगाडिको स्वास्थ्य जाँचका बारेमा उनी भन्छिन्, “ती सङ्ख्यालाई मात्रै हेर्दा नै अवस्था स्तब्ध तुल्याउने र खतरनाक खालको छ।”

सबै खेलाडीहरूलाई त्यस्तो सुविधा दिइनुपर्ने भन्दै त्यस्तो नगर्नु ‘पूर्ण रूपमा अस्वीकार्य’ हुने उनी बताउँछिन्।

धेरै देशहरूमा व्यावसायिक पुरुष फुटबल खेलको लामो इतिहास छ। विज्ञहरूले स्थापित पूर्वाधारहरू हुनु पनि आंशिक रूपमा महिलाको तुलनामा पुरुष खेलाडीहरूले स्थायी स्वास्थ्य स्याहार पाउनुको कारण रहेको बताउने गरेका छन्।

“(महिलाका) सीमित व्यावसायिक क्लबले व्यावसायिक मापदण्डको सुविधा उपलब्ध गराउने कारण….महिला खेलाडीहरूको अन्तर्राष्ट्रिय तहमा परीक्षण गराउनु अझ महत्त्वपूर्ण छ,” फिप्प्रोको महिला फुटबल अनुसन्धान प्रमुख एलेक्स कल्भिन भन्छिन्।

अफ्रिकी फुटबल महासङ्घ यस क्षेत्रमा उपलब्धिको उदाहरण रहेको बताउँदै उनी पर्याप्त स्वास्थ्य परीक्षणका लागि त्यहाँका खेलाडीहरूले अरू महासङ्घका प्रतियोगिताभन्दा बढी अवसर पाउने सम्भावना रहेको जानकारी दिन्छिन्।

“उक्त महासङ्घले स्वास्थ्य र ईसीजी (मुटुको चालको परीक्षण गर्ने इलेक्ट्रोकार्डिओग्राम) जाँच सबै खेलाडीहरूलाई उपलब्ध गराउन वास्तविक प्रयास गरेको छ। त्यही भएर अन्य महासङ्घले यस्तो विषयलाई प्राथमिकता बनाए भने तथ्याङ्क बदलिन सक्छ।”

इन्फोग्राफिक्स

फिफ्प्रोको अनुसन्धानमा सहभागी लगभग सबैले आर्थिक सुविधा र पुरस्कार राशिमा पनि सुधार गरिनुपर्ने बताएका छन्।

सर्वेक्षणमा सहभागी लगभग एकतिहाइले छनोट प्रतियोगिता खेल्नलाई आफूले आफ्नो कामबाट बेतलबी बिदा लिनुपर्ने बताएका थिए।

प्रतिवेदनमा फिफ्प्रोले लेखेको छ, “खेलाडीहरूले आफ्नो राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने वा आफ्नो अर्को काम र आम्दानीको स्रोतलाई निरन्तरता दिने विकल्पबाट एउटा छान्नुपर्ने अवस्था छ। खेलाडीहरूले त्यो रोज्नुपर्ने विषय होइन।”

'विश्‍वकपको सपना'

महिला विश्‍वकपका खेलाडीहरूका लागि न्यूनतम सेवासुविधासम्बन्धी प्रतिबद्धता व्यक्त गर्ने क्रममा यस वर्ष फिफाले पुरस्कार रकम खेलाडीहरूमा बाँडिने जनाएको थियो।

टोलीमा रहेका २३ जनासम्म खेलाडीहरूलाई प्रतियोगितामा गरिने प्रदर्शनका आधारमा रकम दिइने भनिएको छ।

समूह चरणबाट बाहिरिने टोलीका सदस्यलाई ३०,००० अमेरिकी डलर र विजेता टोलीका प्रत्येक सदस्यलाई २.७० लाख अमेरिकी डलर दिइने जनाइएको छ।

इभारिन काटोङ्गो
तस्बिरको क्याप्शन, जाम्बियाकी मिडफील्डर इभारिन काटोङ्गो विश्‍वकपले आफ्ना लागि नयाँ अवसरको ढोका खोल्ने ठान्छिन्

यस वर्ष जाम्बियाको पुरुष वा महिला टोलीले पहिलो पटक विश्‍वकप खेल्दै छ।

त्यसै कारण धेरै जनाले महिला फुटबललाई ध्यान दिइरहेको छनोट भएको टोलीकी मिडफील्डर इभारिन काटोङ्गो बताउँछिन्।

उनी फिफाको प्रतिबद्धता चुनौतीपूर्ण परिस्थिति वा कमजोर आय भएका ठाउँबाट आउने फुटबल खेलाडीहरूका लागि सकारात्मक विषय रहेको बताउँछिन्।

“वास्तवमै यसले खासगरी अफ्रिकी खेलाडीहरूलाई प्रभाव पार्ने छ। त्यसबाट उनीहरूले परिवारका लागि राम्रो गर्न सक्ने छन् र सम्भवतः आफ्ना आवश्यकताहरू पनि पुरा गर्न सक्ने छन्।”

जाम्बियामा महिला फुटबल दिनानुदिन लोकप्रिय बन्दै गएको ठान्ने उनी आफ्नो सपना देशभित्र भन्दा पनि देशबाहिरको खेलले सफल बनाउने बताउँछिन्। 

विदेशमा फुटबलमा धेरै पैसा र अवसर रहेको बताउँदै उनी भन्छिन्, “मेरा लागि विश्‍वकपबारे आफूले देखेको सपनाको अर्थ मलाई अरू टोलीहरूले पनि हेरिरहेको हुने छन् भन्ने पनि हो। विश्‍वकपपछि मैले जाम्बियाको स्थानीय लिगमा पुनः खेलिरहनुपर्दैन।”

Grey line to show separation

विस्तारमा फिफ्प्रोको सर्वेक्षण

  • छ महादेशका ३६२ खेलाडीहरू सर्वेक्षणमा सहभागी थिए।
  • पाँचमध्ये छ महासङ्घले कुन टोली विश्‍वकप छनोट हुने छन् भन्ने निर्णय महादेशीय प्रतिस्पर्धाबाट गर्ने गर्छन्। यूईएफएले यो सर्वेक्षण पठाइएपछि सम्पन्न भएको अलग्गै प्रतिस्पर्धाबाट निर्णय लिएको थियो।
  • फिफ्प्रोका नेतृत्वकर्ताहरूले प्रतिवेदनको सुरुमा नै छनोट चरणका क्रममा खेलाडीहरूलाई आफ्नो जीवनका सर्वाधिक प्रतिस्पर्धात्मक क्षणहरूमा परिणाम दिनेगरी खेल्न फुटबलका अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा नगरिएको र त्यसले खेलाडी अनि खेल दुवैलाई जोखिममा पुर्‍याएको उल्लेख गरेका थिए।
Grey line to show separation

‘धेरै त्याग’

कोलम्बियाकी अन्तर्राष्ट्रिय खेलाडी लेइसी सान्टोस ठूलो क्लबसम्म पुग्न सफल हुने खेलाडीहरूमा गनिन्छिन्। एट्लेटिको मड्रिडबाट व्यावसायिक रुपमा खेल्न उनी सन् २०१९ मा स्पेन पुगिन्।

त्यसअघि आफ्नो खेलजीवनको थालनी गर्दा उनले आफ्नो सपना पूरा गर्न कैयौँ कष्ट बेहोर्नुपरेको थियो।

“म एकदमै साधारण पृष्ठभूमिको परिवारबाट आएकी हुँ,” ग्रामीण कोलम्बियामा हुर्किँदाको आफ्नो समयबारे उनी भन्छिन्।

लेइसी सान्टोस
तस्बिरको क्याप्शन, सन् २०१५ मा कोलम्बियाको टोलीबाट विश्‍वकप खेलेकी लेइसी सान्टोस आफ्नो जीवनको दोस्रो विश्‍वकपको तयारीमा छिन्

“सन् २०१२ मा कोलम्बियाको राष्ट्रिय टोलीमा आबद्ध नहुन्जेल मलाई कुनै पनि आर्थिक सहयोग थिएन। त्यसपछि प्रत्येक पटक तालिममा जाँदा मैले थोरै मात्रामा आम्दानी गर्न थालेँ किनकि राष्ट्रिय टोलीले मलाई यात्राका लागि खर्च दिने गर्थ्यो।”

त्यस बेलाबाट आफूले परिवारसँग पैसा माग्न छाडेको उल्लेख गर्दै उनी आफूले प्राप्त गरेको थोरै रकमबाट पनि सकेसम्म परिवारलाई सहयोग गर्न थालेको बताउँछिन्।

राष्ट्रिय टोलीबाट खेले पनि लेइसीलाई फुटबलबाट मात्रै जीविकोपार्जन गर्न सम्भव थिएन। आम्दानीका लागि आफ्नी आमासँगै घरको सफाइको काम गरेको बताउँदै उनी फुटबलमा मात्रै केन्द्रित हुन नपाएको गुनासो गर्छिन्।

सन् २०१९ मा एट्लेटिको मड्रिडले लेइसीलाई अनुबन्ध गरेपछि उनले आफ्नो आफ्नो व्यावसायिक जीवनमा ठूलो परिवर्तन महसुस गरिन्। “म यस्तो क्लबमा छु जसले मलाई प्रशिक्षण र स्वास्थ्यसुविधादेखि तलबसम्म उपलब्ध गराउँछ,” उनले भनिन्।

“मलाई थाहा छ यहाँ म भाग्यमानी छु। यही स्पेनमा पनि केही लीगमा यस्तो कुनै सुविधा छैन र (खेलाडीहरूले) खराब अवस्थाबाट गुज्रिनुपरिरहेको छ।”

लेइसी

तस्बिर स्रोत, Handout

तस्बिरको क्याप्शन, लेइसी (सबैभन्दा बायाँ) सन् २०१२ मा कोलम्बियाको राष्ट्रिय टोलीमा आबद्ध भएकी थिइन्

आयोजकहरूले अहिलेसम्मकै उच्च दुई अर्ब मानिसहरूले यस पटकको महिला विश्‍वकप हेर्ने अपेक्षा गरेका छन्। सन् २०१९ मा फ्रान्समा सम्पन्न महिला विश्‍वकप फुटबल १.१२ अर्ब मानिसहरूले हेरेका थिए।

“मलाई लाग्छ विगतदेखि रहेको परम्परागत धारणालाई प्रहार गर्नका लागि यो [खेल] उपयुक्त तरिका हो,” यूएन विमिनकी स्पोर्ट प्रमुख जेनिफर कूपर भन्छिन्।

“यसले महिलाहरू क्षमतावान् छन् भन्ने देखाउँछ। त्यसले किशोरीहरूलाई आदर्श व्यक्ति र सपना दिन्छ अनि पुरुष र महिला दुवैले फुटबल खेल्छन् भन्ने झल्काउँछ।”

बीबीसी हन्ड्रेड विमिनले फिफा, छवटा महादेशीय फुटबल निकाय र कोलम्बिया तथा जाम्बियाका राष्ट्रिय टोलीसँग प्रतिक्रिया मागेको भए तापनि उनीहरूले जबाफ दिएनन्।

अगस्टिना लटुरेट र सेलिस्टिन क्यारोनीको थप रिपोर्टिङ