‘मैदान संसार हो, विभेद वास्तविकता’

खेल खेलाउँदै लक्ष्मी

तस्बिर स्रोत, BIJAY GAJMER/BBC

तस्बिरको क्याप्शन, महिला रेफ्रीको सङ्ख्या अत्यन्तै थोरै छ
    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

छोरी आठ महिनाकी हुँदा मेरिना धिमालले मैदानमा नटेकेको १६ महिना नाघिसकेको थियो। गर्भावस्थादेखि छोरीलाई स्तनपान गराइरहँदा उनी प्राय सोच्थिन्- फेरि खेलकुदमा फर्कन सक्छु कि सक्दिनँ होला?

किनकि आमा भएपछि उनले आफूमा थुप्रै शारीरिक र मानसिक परिवर्तन भोगेकी थिइन्।

दुबिधामा रहेकी उनलाई कसैले “अब खेलमा फर्कन सक्दैनस्” भनिदिएको भए पनि उनी रोकिने पक्षमा थिइनन्। त्यसैबीच आठौँ राष्ट्रिय खेलकुदबारे समाचारहरू छाउन थाले। उनको खेलमा फर्कने हुटहुटी झन् बढ्दै गयो।

सशस्त्र प्रहरी बलको सहायक हवलदार समेत रहेकी धिमालसँग “जागिर खाने र आराम गर्ने” विकल्प नभएको होइन। तर मन कहाँ मान्नु?

एक दिन आँट गरेर रेफ्री सङ्घका एकजना पदाधिकारीलाई उनले सम्पर्क गरिन् र भनिन्- “सर राष्ट्रिय खेलकुदमा म पनि रेफ्री बस्छु।"

उनले स्तनपान गराइराखेकी काखकी छोरी छोडेर मैदानमा उत्रने साहस जुटाएकी थिइन्।

“त्यतिबेला मलाई आफ्नै शरीरमाथि शङ्का थियो- कुद्न सक्दिनँ कि भन्ने। छोरीलाई अरूको भरमा छोड्नु पनि सहज थिएन? तर एक पटक अठोट गरेपछि पछाडि फर्किनँ,” उनले आफ्नो अनुभव सुनाइन्।

मेरिना धिमाल

तस्बिर स्रोत, BIJAY GAJMER/BBC

तस्बिरको क्याप्शन, काखकी छोरीलाई छाडेर मैदानमा उत्रने साहस गरेको मेरिना धिमालले बताइन्

धिमाल खेलका लागि दाङ पुगिन्। त्यहाँ कठिनाइहरूको आयाम दौडमा मात्र सीमित रहेन। छोरीले खाइरहेको दूध उनले खेर फाल्नु पर्थ्यो। त्यसका लागि मैदानको संरचनाले साथ दिएन।

“हरेक पटक गाह्रो हुँदा बसिरहेको होटलको कोठामा पुग्नु पर्थ्यो। त्यता दूध फाल्दै गर्दा नाबालक छोरीको याद आउँथ्यो। त्यति बेला साह्रै पीडा हुन्थ्यो। शारीरिक दुखाइ त के हो र?,” उनले मानसिक अप्ठ्याराहरूबारे बोलिन्।

यद्यपि परिवारले आफ्नो पेसालाई बुझ्नु र आवश्यक साथ दिनुले खेलमा फर्कन सहज भएको उनको निचोड छ।

धिमालको जस्तै समान अनुभव छ लक्ष्मी श्रेष्ठको।

redline
redline

इन्जिनियरिङ छोडेर मैदानमा

रेडार एन्ड कम्युनिकेसनमा स्नातकोत्तर गरेकी उनी पढाइले इन्जिनियर हुन् भने ‘पेसा र प्यासन’ले रेफ्री। फुटबल मैदानमा एक दशक बिताएकी उनले कहिल्यै सोचेकी थिइनन्- खेलमैदान नै आफ्नो आगामी बाटो बन्नेछ अनि गन्तव्य पनि।

कक्षा पाँचमा पढ्दा फुटबल खेलाडी बनेर मैदानमा प्रवेश गरेकी थिइन् उनी। एसएलसी दिएदेखि स्नातक तह पढ्न काठमाण्डू आउँदासम्म खेलकुदमा नियमित हुन सकिनन्।

“त्यति बेला परिवारको इच्छाअनुरूप पढाइमा केन्द्रित थिएँ। अहिले सोच्दा लाग्छ- सही बाटो देखाउने कोही भइदिएको भए मैले पढाइको विषय पनि खेलकुदसम्बन्धी नै कुनै रोज्थेँ होला,” श्रेष्ठले बीबीसीसँग सुनाइन्।

लक्ष्मी श्रेष्ठ

तस्बिर स्रोत, BIJAY GAJMER/BBC

तस्बिरको क्याप्शन, पढाइले इन्जिनियर भए पनि लक्ष्मी श्रेष्ठको लगाव भने खेल मैदानमै छ

केही वर्ष अघिसम्म त आमाबुवाले उनलाई “पढेको विषयमा काम गर्न” सुझाएका थिए। उनले प्रयास पनि नगरेकी होइनन्। तर एक निजी कम्पनीमा दुई महिना काम गरेपछि उनले “म समय र स्वतन्त्रताको सीमिततामा बाँधिएर काम गर्न सक्दिनँ” भन्ने महसुस गरिन्। र, पुनः फुटबलकै मैदानमा फर्किइन्।

“यो काममा स्वतन्त्रता छ र सन्तुष्टि पनि। समयसँगै मैले आमाबुबालाई आफ्नो रुचि र रहरबारे बुझाउन सकेँ। अहिले उहाँहरूले पनि ‘तिमीलाई जे गर्दा आनन्द मिल्छ त्यही गर’ भन्न थाल्नुभएको छ,” उनले भनिन्।

यी महिला रेफ्रीहरू अहिले वर्षभरि व्यस्त रहन्छन्। देशभरि जहाँ महिला फुटबल प्रतियोगिता हुन्छ त्यहाँ एन्फामार्फत् उनीहरूलाई नै बोलाइन्छ। कतिपय ठाउँमा पुरुष फुटबल तथा फुटसल प्रतियोगिताका लागि पनि आयोजकहरूले प्रत्यक्ष उनीहरूलाई नै सम्पर्क गर्छन्।

“वर्षभरि हामीले कम्तीमा १० देखि १५ वटा प्रतियोगिता खेलाउँँछौँ। आजभोलि फुटसल खेलाउनका लागि बोलाउने क्रम पनि बढ्दो छ,” श्रेष्ठले जानकारी दिइन्।

यद्यपि आफूहरूका लागि खेल मैदान संसार भए पनि यहाँ हुने विभेद वर्षौँ अघिदेखि अहिलेसम्म ज्यूँका त्यूँ रहेको यी दुई महिला रेफ्रीको भोगाइले सङ्केत गर्छ।

redline
redline

‘छोरी भएर पनि छोराजस्तो’

मोरङमा हुर्कँदै गर्दा मेरिनाले स्थानीय केटाहरू एउटा बलको लागि कुदेको देख्थिन्। उनलाई यस्तो दृश्य निकै रमाइलो र रोमाञ्चक लाग्थ्यो। हरेक पटक खेल सकिँदा त्यहाँ उत्साह र उल्लास हुन्थ्यो।

मनमनै सोच्थिन्- म पनि कुनै दिन फुटबल खेल्छु। तर उनको कल्पना विपरीत समाज भन्थ्यो- यो त छोराले खेल्ने खेल हो।

“महिलाले पाइन्ट लगाएको असहज मान्ने समाजमा खेलमा हाफ पाइन्ट लगाउनु कल्पना बाहिरको कुरा थियो। तर जब हाम्रै गाउँका गङ्गा र जमुना दिदीहरूले फुटबल खेलेर नाम कमाउनुभयो तब हाम्रो लागि पनि खेल्ने बाटो खुल्यो,” उनले सुनाइन्।

उनले अञ्चल स्तरीय खेलबाट फुटबल यात्रा सुरु गरिन्।

“गाउँलेले त छोरी भएर पनि छोराजस्तो खेलेर हिँडेको भन्दै वचन लगाए। मेरो बाबुआमाले नपढेको भए पनि मलाई हौसला दिनुभयो,” उनी खेलकुदको सुरुवातका दिनहरू सम्झन्छिन्।

लक्ष्मी श्रेष्ठ धनगढीमा हुर्किइन्। झन्डै दुई दशकअघि त्यहाँका महिलाका लागि खेलकुदमा सहभागी हुनु “पहाड फोर्नु सरह” भएको उनले बताइन्।

डेनमार्कमा खेल खेलाउन जाँदा लक्ष्मी श्रेष्ठ र मेरिना धिमाल

तस्बिर स्रोत, MERINA DHIMAL

तस्बिरको क्याप्शन, डेनमार्कमा खेल खेलाउन जाँदा लक्ष्मी श्रेष्ठ र मेरिना धिमाल। कामको सिलसिलामा उनीहरू भुटान, चीनलगायत देश पनि पुगेका छन्।

“सुदूरपश्चिम सोच र विकास दुवै हिसाबले पछाडि नै थियो। त्यसैले एउटी छोरी मान्छे खेल्दै हिँडेको स्वीकार्य हुने कुरै भएन। तर परिवारले ‘खेल्ने समयमा खेल, पढ्ने समय पढ’ भनेपछि मैले त्यसै गरेँ,” श्रेष्ठ बताउँछिन्।

कुरा काट्नेहरूको वास्ता नगरेकै कारण आज आफू सुदूरपश्चिमको एक मात्र महिला रेफ्री बन्न सफल भएको उनको जिकिर छ।

धिमाल र श्रेष्ठ दुवैले एकसाथ रेफ्रीको तालिम लिएका हुन्।

रेफ्री बनाउने त्यो अवसर

२०६९ सालमा नेपाल फुटबल सङ्घले महिला केन्द्रित रेफ्री प्रशिक्षण आयोजना गरेको थियो। भर्खरभर्खर सशस्त्र प्रहरी बलमा जवान बनेकी धिमाल र इन्जिनियरिङको परीक्षाफल पर्खिरहेकी श्रेष्ठले त्यो अवसर गुमाउन चाहेनन्।

त्यति बेला दुवैले ठानेका थिए- पेसा र पढाइले फुटबल नियमित खेल्न दिँदैन। तर रेफ्रीको रूपमा यस क्षेत्रसँग निकट रहन सकिन्छ।

सात दिन लामो तालिममा उनीहरूले खेलाडी होइन खेल खेलाउनेको नियम पढे, तरिका सिके। झन्डा उठाउने शैली र सिट्ठी फुक्ने समयबारे थाहा पाए। सिकेको कुरा व्यवहारमा उतार्ने परीक्षा दिए र अन्ततः एन्फाको मान्यता प्राप्त रेफ्री बने।

खेल खेलाउँदै लक्ष्मी

तस्बिर स्रोत, BIJAY GAJMER/BBC

तस्बिरको क्याप्शन, फुटसल खेल खेलाउने निम्ता पनि धेरै आउने लक्ष्मी श्रेष्ठले बताएकी छन्

उनीहरूसहित ५० जना महिला त्यो प्रशिक्षणमा सहभागी भएका थिए। तर हाल तीमध्ये जम्मा तीनजना मात्र अहिलेसम्म मैदानमै छन्।

“काम त हामी ७ जनाले सुरु गरेका थियौँ। तर कोही विदेश गए। कोही विवाह गरेर खेलमा फर्किएनन्। सबैको आ-आफ्नै कारण होलान्। तर हामीकहाँ महिला रेफ्रीको लागि अवस्था उत्साहजनक छैन,” श्रेष्ठले भनिन्।

उनीहरूलाई तालिम लिएकै वर्ष एन्फाका श्याम लामाले काठमाण्डूमा आयोजित देशव्यापी विद्यालय स्तरीय फुटबल प्रतियोगितामा 'ड्युटी' दिएका थिए।

“उहाँले पहिलो पाइला कसरी टेक्ने भने सिकाउनुभयो। त्यसपछिको यात्रा झन् सहज बन्दै गयो,” उनले थपिन्।

अप्ठ्यारा र चुनौतीहरू

केही खेल खेलाएपछि थप अवसरहरू आउँदै गए। खेलका निम्ति उनीहरूलाई विशेष गरी एन्फाको रेफ्री सङ्घमार्फत् बोलाइन्छ। यद्यपि ती अवसरहरू महिलाको खेलमा मात्र सीमित छन्। सर्वाधिक र नियमित हुने पुरुषको खेलमा उनीहरूलाई बोलाइँदैन।

“पुरुषको खेलमा आफ्नै व्यक्तिगत सम्पर्कबाट मात्र काम पाइन्छ। एन्फामा पुरुषको खेलमा पनि हामीलाई राख्ने प्रस्ताव गरिएको छ। ‘सी क्वालिफायर’का दुई खेलमा राखिएको पनि हो। तर त्यस प्रयोगलाई निरन्तरता दिइएन,” धिमालले भनिन्।

यसलाई लैङ्गिक विभेदको फरक रूप ठानेका छन् उनीहरूले। किनकि “रेफ्री हुनु भनेको महिला या पुरुष हुनु होइन। यो त मानसिक र शारीरिक रूपमा सक्षम भएर खेल खेलाउनु” भएको धिमालको बुझाइ छ।

उनको कुरामा आड थप्दै श्रेष्ठ भन्छिन्, “आखिरमा हामीले सोही खेलाडीहरूलाई एन्फा बाहिरका खेलमा खेलाएकै हुन्छौँ। खुला प्रतियोगिताहरू तुलनात्मक रूपमा कम व्यवस्थित हुन्छन्। खेलाडीहरू दायरामा रहँदैनन्। तुलनात्मक रूपमा गाह्रो हुन्छ, तर पनि सदैव आफ्नो जिम्मेवारी पूरा गर्छौँ।”

redline
redline

यद्यपि नेपाल रेफ्री सङ्घका अध्यक्ष बुद्धि गुरुङ यसलाई विभेद मान्दैनन्।

पुरुष खेलाडी सरह फिटनेस परीक्षण उत्तीर्ण गर्न सके महिला रेफ्रीले पनि पुरुषलाई खेलाउन पाउने गुरुङको दाबी छ।

“महिलाहरूको खेल नै कम हुने भएकाले अवसर कम देखिएको हो। नत्र हामीले महिला रेफ्री बढाउन नियमित तालिम प्रदान गरिरहेकै छौँ,” उनले भने।

महिला रेफ्री रहेको पुरुषको खेलमा विवाद र झगडा कम हुने महिला रेफ्रीहरूले देखेका छन्। त्यसैले पनि आजभोलि खुला प्रतियोगिताहरूमा महिला रेफ्री खोजिने क्रम बढेको उनीहरूले ठानेका छन्। यसलाई श्रेष्ठ “महिलाप्रतिको सम्मान”को संज्ञा दिन्छिन्।

खुला खेलमा आफूहरूको पारिश्रमिक पुरुष सरह हुने र समयमै प्राप्त गर्ने उनीहरू बताउँछन्।

खेल खलाउँदै लक्ष्मी

तस्बिर स्रोत, BIJAY GAJMER/BBC

तस्बिरको क्याप्शन, महिला रेफ्री रहेको पुरुषको खेलमा विवाद र झगडा कम हुने महिला रेफ्रीहरूले देखेका छन्

एन्फाको हकमा “जसरी महिला खेलाडीको खेल र पारिश्रमिक कम हुन्छ, रेफ्रीको अवस्था पनि त्यस्तै” भएको कुरामा उनीहरू एकमत सुनिन्छन्।

“एउटै तहको खेलमा काम उही, लगन र समय लगानी उही, थकान उही तर पारिश्रमिक भने कम। हामीले रकम बढाउन र बराबरीको माग गरेका छौँ। सुनुवाइ भएको छैन,” श्रेष्ठ भन्छिन्।

कतिपय अवस्थामा एक वर्षअघिको खेलको समेत पारिश्रमिक नबुझेको मेरिना सुनाउँछिन्। उनी भन्छिन्,"हामी संस्थागत परिवर्तनको आशामा छौँ।"

परिवर्तनले जगाएको आशा

हाल महिला केन्द्रित फुटबल क्लबहरू बढेका छन्। त्यसैले राम्रा खेलाडीहरूले काम पाएका छन्। यी रेफ्रीहरूका अनुसार निजी क्षेत्रमा नियमित प्रतियोगिताहरू आयोजना हुन्छन्। पहिले महिलाको हकमा विद्यालय स्तरीय र राष्ट्रिय खेलकुदबाहेक अन्य प्रतियोगिता थिएनन्। अहिले स्थानीय तहले पनि खेलकुदलाई प्राथमिकतामा राखेको छ।

“पहिले त खेल छ भने हतारमा लान्थे। तीन दिन तालिम दिएर राम्रो खेल्न दबाब दिन्थे। अहिले त पूर्व तयारी पनि हुन्छ। साथै बाहिर जाने अवसरहरू पनि दिइन्छ,” श्रेष्ठले भनिन्।

यो सबै भइरहँदा खेलाडीबाट रेफ्री बनेका श्रेष्ठ र धिमाललाई नाम र पहिचानको अभाव खट्कन्छ। चाहे त्यो सञ्चारमाध्यम होस् वा दर्शक - कसैले पनि खेलमा रेफ्रीको महत्त्व नबुझेको उनीहरूको धारणा छ।

यद्यपि, हातमा रेडकार्डको शक्ति बोकेर खेल खेलाउने उनीहरू परिवर्तनले ठूलो फड्को मार्नु पर्ने पक्षमा छन्।

उनीहरू चाहन्छन्- गाउँगाउँका दिदीबहिनीले फुटबललाई चिनुन्। “छोटो लुगा लगाएर” खेल खेलाउन पुगेको आफूहरूलाई देखेर त्यहाँका आमाहरू र दिदीबहिनीहरूले कानेखुसी नगरुन्।

लक्ष्मी श्रेष्ठ

तस्बिर स्रोत, BIJAY GAJMER/BBC

एन्फाले अहिले महिला पुरुष दुवैलाई सँगै तालिम दिन्छ। श्रेष्ठ भन्छिन्,”हामीपछि तालिम लिनु भएको दिदीबहिनी खोइ त? उहाँहरू मैदानमा देखिनु भएकै छैन।“

उनीहरूलाई अवसर र बाटो देखाउने मान्छेको अभावले लखेटेको हुनसक्ने श्रेष्ठको आकलन छ। धिमाललाई लाग्छ, पलायन हुनु पर्ने डरले उनीहरू खेलमा होमिएका छैनन्।

आजकल उनकी पाँच वर्षे छोरीले पनि आफू ठूलो भएर फुटबलर बन्ने बताउँछिन्। तर आमासँगै खेलप्रति अगाध लगाव भएकी रेफ्रीको रूपमा उनी भन्छिन्,”खेलमा भविष्य नदेखिकन कसरी छोरीलाई खेलाडी बन भनूँ? आखिर यस क्षेत्रमा नामै पनि खुट्टा चलुन्जेल मात्र चल्छ।”

धिमालको पो पेन्सन आउने जागिर छ। यो क्षेत्रबाट टाढिन नसक्ने श्रेष्ठ पनि कहिलेकाहीँ सोच्छिन्- सुदूरपश्चिममा फुटबल एकेडेमी सञ्चालनबारे आफ्नो योजना सफल नभए, भोलि के?