गुलशन झाले नेपाली क्रिकेटमा थपेको ‘सुवास’

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
'सपना देख्नु र त्यो पूरा हुनु' बीच एउटा दूरी हुने गर्छ।
कसैको लागि त्यो दूरी लामो हुन सक्ला कसैको लागि छिटो वा कतिपयको सपना त सपनामा नै सीमित हुने गर्छ।
गुलशन झाको हकमा त्यो दूरी छोटो रह्यो भने सफलताको स्वाद चाहिँ मिठो।
कीर्तिपुर क्रिकेट मैदानमा पाइला राखेको दुई वर्ष बित्दा नबित्दै झा अहिले राष्ट्रिय टोलीका नयाँ ‘स्टार’का रूपमा उदाएका छन्।
एसीसी प्रिमियर कपको फाइनलमा नायकमय प्रदर्शन पस्किएपछि क्रिकेट प्रेमीको मनमा उनले खास स्थान बनाइसकेका छन्।
साँच्चै भन्ने हो भने पछिल्लो दुई महिनाबीच झाको खेल यसरी माझियो की त्यसको शायदै उनी आफैँले कल्पना गरेका थिए होलान्।


महत्त्वपूर्ण मोड
दुई वर्ष अगाडि काठमाण्डूमा भएको मेयर्स कप क्रिकेटमा झा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगितामा झुल्किएका थिए।
प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबबाट खेलेका उनले प्रतिद्वन्द्वी एपीएफका शरद भेषावकरसहित ४ महत्त्वपूर्ण विकेट लिएर ‘म्यान अफ द फाइनल’ बने।
बस् त्यति नै थियो उनले देखाएको प्रतिभाको झिल्को। तर कीर्तिपुर मैदानको एउटा कुनामा बसेर खेल हेरिरहेका राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक डेब ह्वाटमोरको आँखामा उनी परिहाले।
त्यति बेला विश्वकप लीग -२ अन्तर्गत अमेरिका र ओमानसँग खेल्नका लागि राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु हुँदै थियो।

तुरुन्तै झा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइए। त्यति बेलासम्म उनलाई राष्ट्रिय टोलीमै परिन्छ भन्ने आशा थिएन।
तर जब उनी ओमान भ्रमण गर्ने राष्ट्रिय टोलीको अन्तिम सूचीमा परे, आफैँलाई विश्वास गर्न गाह्रो पर्यो। त्यति बेला उनले भनेका थिए - "मेरो लागि यो सपना जस्तै हो।"
अनि २०२१ सेप्टेम्बर १७ तारिखमा अमेरिका विरुद्धको खेलमा उनको राष्ट्रिय टोलीमा ‘डेब्यु’ वा प्रवेश भयो।
अमेरिकासँग नेपालले हारेको सो खेलमा झाले छैटौँ नम्बरमा ब्याटिङ गर्दै २८ रन जोडेर आफ्नो प्रभाव छोड्न सफल भएका थिए। त्यतिखेर उनले ३ ओभर बलिङ गरेर ३१ रन दिएका थिए।
यी सबै घटना उनले कीर्तिपुरमा खेलेको ६ महिनाको बीचमा भएको हो।
सुरुआत
सर्लाहीमा जन्मिएका झा परिवारका जेठा छोरा हुन्। पारिवारिक स्वतन्त्रताले पनि उनलाई क्रिकेटमा भिज्न मद्दत पुगेको देखिन्छ।
८ कक्षाको पढाइ चलिरहेको बेला बुबा अखिलेश झा र आमा अन्जुदेबीले छोरामा देखिएको क्रिकेट मोहलाई ध्यानमा राखेर उनलाई क्रिकेट खेल्न अचम्मको छुट दिएका थिए।
क्रिकेटर नै बन्ने उनको अठोट देखेर परिवारले उनलाई पढाइभन्दा क्रिकेटलाई प्राथमिकतामा राखेर भारतमा क्रिकेट सिक्न पठाएका थिए।
१२ वर्षको उमेरमा झा झारखण्डको राँचीमा रहेको अरुणोदय क्रिकेट एकेडेमीमा क्रिकेट सिक्न गए। त्यहाँ उनले भारतको रणजी ट्रफी प्रतियोगितामा खेल्ने खेलाडीहरूसँग घुलमिल भएर सिक्ने अवसर पाउँदा राम्रो बलरका रूपमा उनको प्रतिभा तिखारियो।
कोभिडले प्रशिक्षण प्रभावित भएपछि उनी नेपाल फर्किए।
नेपाल फर्किँदा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि मधेश प्रदेशमा छनोट चलिरहेको थियो। तर प्रदेशले उनलाई पत्याएन।



भाग्यमानी
तर प्रदेशका केही पदाधिकारीहरूलाई उनमा प्रतिभा रहेको भन्ने लागेको रहेछ। प्रधानमन्त्री कप खेल्न नपाए पनि उनलाई काठमाण्डूमा गएर खेल्न सङ्घका पदाधिकारीहरूले सघाए।
तिनै पदाधिकारीहरूले नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाललाई झालाई प्रयोग गर्न सुझाए।
कटुवालले तुरुन्तै उनको प्रतिभा चिनिहाले। त्यसै बेला पुलिसका तीव्र गतिका बलर रसिद खान घाइते हुन पुगेपछि कटुवालले झालाई उनको स्थानमा टोलीमा राखेका थिए।
त्यही एउटा अवसरले उनको भाग्य बदलियो।
उनी भाग्यमानी हुनुको अर्को पाटो पनि छ। राष्ट्रिय टोलीका कप्तान पारस खड्काले त्यही बेला राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरे।
अर्थात् राष्ट्रिय टोलीमा पनि एउटा अलराउण्डरको स्थान खाली भएको थियो। पारसको बहिर्गमन पनि झाको आगमनको भाग्यमानी संयोग बन्न पुग्यो।
उनी भाग्यमानी यस कारण पनि थिए कि कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण त्यति बेला राष्ट्रिय टोलीमा १७ जना खेलाडी राख्न पाइन्थ्यो।
विशेषता
गुलशन झाका केही खास विशेषताहरू छन्।
बलिङ अलराउण्डर भूमिकामा देखिएका उनी दायाँ हाते बलर हुन् भने बायाँ हाते आक्रामक ब्याटर।
लामो रन अप लिएर बलिङ गर्ने झा को स्लोअर, कटर र बाउन्सर बल राम्रो मानिन्छ।
६ फुट १ इञ्च अग्लो कदले उनको छवि आकर्षक देखिन्छ।
अनि अहिले उनी १७ वर्षीय युवा छन्, अर्थात् उनले राष्ट्रिय टोलीमा लामो समय योगदान दिन सक्छन्।
झाको अर्को विशेषता भनेको आफैँमाथिको विश्वास पनि हो।
राष्ट्रिय प्रतियोगिता खेल्न आउँदा फाइनलका उत्कृष्ट खेलाडी बनेपछि उनले भनेका थिए - "म हरेक बलमा विकेट देख्छु। विपक्षी को हो कहिले हेर्दिनँ।"

अबको बाटो
विश्वकप लीग २ को अन्तिम खेलमा युएई विरुद्ध बनाएको अविजित ५० रनको प्रदर्शन र एसीसी प्रिमियर कपको फाइनलमा पनि युएई विरुद्ध नै बनाएको अविजित ६७ रनको पारी उनको उच्च कोटीको खेलको उदाहरण बनेको छ।
तर यो उनको खेल जीवनको सुरुआत मात्र हो।
हालसम्म उनले १६ वटा एक दिवसीय र एउटा मात्र टी -२० खेल्न भ्याएका छन्।
उनले राष्ट्रिय टोलीमा आफ्नो स्थान बलियो बनाएका त छन्। तर परीक्षा बाँकी नै छन्।
हाल उनी करण केसीको स्थानमा खेल्ने टोली ‘भित्र बाहिर’ भइरहेका छन्।
कमल सिंह ऐरी, सुशन भारी, अविनाश बोहरा जस्ता राम्रा बलरहरू पनि राष्ट्रिय टोलीको दौडमा छन्। जहाँ झाले आगामी दिनमा पनि आफूलाई अझै प्रमाणित गरिरहनु पर्नेछ।
तर वर्तमान राष्ट्रिय टोलीमा उनको आत्मविश्वासी प्रदर्शनबाट भन्न सकिन्छ कि झाले आगामी दिनमा नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउन अझ थुप्रै योगदान पक्कै दिनेछन्।








