इरान युद्धबाट यी कम्पनीले कमाए अर्बौँ डलर

इरान युद्धमा पनि कमाउने उद्योगको सङ्केत गर्ने एक तस्बिर - हरियो ज्याकेट र हेल्मेट लगाएका श्रमिकजस्ता एक व्यक्ति मोबाइल हेर्दै छन्

तस्बिर स्रोत, Getty Images

    • Author, आर्ची मिचल
    • Role, व्यापार संवाददाता
  • पढ्ने समय: ४ मिनेट

अमेरिका र इजरेलले इरानमा सुरु गरेको युद्धले विश्वभरि हरेक घरमा खर्च बढाइरहँदा केही कम्पनीहरूलाई भने फाइदैफाइदा भएको छ।

युद्धले निम्त्याएको अनिश्चितता अनि इरानले होर्मुज जलमार्ग ठप्पप्रायः बनाउँदा मानिसहरूको दैनिक खर्च मात्रै बढेको छैन, सरकारदेखि निजी कम्पनी र परिवारहरू समेत नियमित खर्च कटौती गर्न बाध्य भएका छन्।

तर सबैले यस्तो घाटा मात्रै बेहोरिरहेका छैनन्। युद्धका कारण इन्धनको मूल्यमा उतारचढाव भइरहँदा केही व्यवसायहरूले अहिलेसम्मकै धेरै नाफा कमाएका छन्।

मध्यपूर्वको युद्ध सुरु भएपछि अर्बौँ डलर कमाएका केही व्यवसाय र कम्पनीहरूबारे हामीले यहाँ चर्चा गरेका छौँ।

१. तेल र ग्यास

इरान युद्धको अहिलेसम्म सबैभन्दा ठूलो मार ऊर्जा अर्थात् इन्धनको मूल्यमा परेको छ।

विश्वको २० प्रतिशत तेल र ग्यास होर्मुज जलमार्ग हुँदै ढुवानी हुन्छ। तर युद्धका कारण फेब्रुअरीको अन्त्यबाट त्यो बाटो भएर ढुवानी गर्ने सबै ढुवानी ठप्प भयो।

त्यसको परिणाम इन्धनको बजारमा तत्कालै देखियो। इन्धनको मूल्य अचानक ह्वात्तै बढ्दा विश्वका ठूला तेल र ग्यास कम्पनीहरूले कुस्त नाफा कमाए।

त्यसबाट नाफा कमाउने युरोपका ठूला तेल व्यापारी कम्पनीहरू थिए। ब्रिटिश तेल तथा ग्यास कम्पनी बीपीको नाफा यो वर्षको पहिलो त्रैमासिकमा पहिलो पटक दोबरले बढेर ३ अर्ब अमेरिकी डलरभन्दा धेरै पुगेको छ।

अर्को ब्रिटिश तेल तथा ग्यास कम्पनी शेलको पनि पहिलो त्रैमासिक नाफा झन्डै ७ अर्ब डलर पुगेको छ।

सन् २०२६ का सुरुवाती तीन महिनामा फ्रान्सको अन्तर्राष्ट्रिय कम्पनी टोटल एनर्जिजको नाफा पनि एकतिहाइले बढेर ५.४ अर्ब अमेरिकी डलर पुगेको छ। तेल र ऊर्जा बजारमा देखिएको उथलपुथलका कारण यो कम्पनी पनि नाफा आर्जन गर्न सफल भयो।

अमेरिकी कम्पनीहरू एक्सअन मोबिल र शेभ्रनको नाफा भने अघिल्लो वर्षको प्रथम त्रैमासिक अवधिका तुलनामा घटेको छ।

मध्यपूर्वबाट आपूर्ति प्रणालीमा देखिएको अवरोधका कारण यी कम्पनीहरूले चाहिँ अपेक्षित नाफा कमाउन सकेनन्। तर विश्लेषकहरूले वर्षको अन्त्यसम्म यी कम्पनीहरूले पनि नाफा आर्जन गर्न सक्ने अपेक्षा गरेका छन्।

२. ठूला ब्याङ्कहरू

विश्वका केही ठूला ब्याङ्कहरूले पनि इरानमा युद्ध जारी रहँदा आफ्नो नाफा बढाएका छन्।

सन् २०२६को पहिलो त्रैमासिक अवधिमा जेपी मोर्गन ब्याङ्कको व्यापार शाखाले ११.६ अर्ब आय गरेको छ। योसँगै ब्याङ्कको समग्र त्रैमासिक नाफा अहिलेसम्मकै दोस्रो धेरै कायम भएको छ।

यो वर्षको पहिलो तीन महिनामा विश्वका सबैभन्दा ठूला छ वटै ब्याङ्कको नाफा बढेको देखिएको छ। पहिलो त्रैमासिक अवधिमा उल्लेख्य नाफा बढाउने ती छ वटा ब्याङ्कहरू ब्याङ्क अफ अमेरिका, मोर्गन स्ट्यान्ली, सिटी ग्रूप, गोल्डमन साक्स, वेल्स फार्गो र जेपी मोर्गन हुन्।

ती ब्याङ्कहरूले सन् २०२६को पहिलो त्रैमासिक अवधिमा एकमुष्ट गरेर ४७.७ अर्ब अमेरिकी डलर नाफा कमाए।

"व्यापारको ठूलो परिमाणले लगानी ब्याङ्कहरूलाई फाइदा भयो। खास गरी मोर्गन स्ट्यान्ली र गोल्डमन साक्सजस्ता ब्याङ्कहरूलाई," वेल्थ क्लबका लगानी रणनीतिकार सुसाना स्ट्रीटर भन्छिन्।

वाल स्ट्रीटका प्रमुख ऋण दाताहरूको मूल्य पनि व्यापारका लागि माग बढेका कारण उच्च भएको छ। लगानीकर्ताहरूले जोखिम भएका धितोपत्र र ऋणपत्र बेचेर सुरक्षित ठानिने नगद सम्पत्ति थुपार्दा ब्याङ्कहरू फाइदामा गए।

अर्थतन्त्रमा देखिएको उतारचढावको मौका छोप्दै लगानीकर्ताहरूले व्यापारको परिमाण पनि बढाए।

"युद्धले सिर्जना गरेको उतारचढावले व्यापार बढायो। युद्ध बढ्ने डरले केही लगानीकर्ताहरूले धितोपत्र बिक्री गरे। बाँकीले मूल्य घटेको मौका छोपेर त्यही बेला किने, जसले घटेको मूल्य उकास्न सहयोग गर्‍यो," स्ट्रीटर थप्छिन्।

३. हतियार कम्पनीहरू

यूकेको व्यापार परामर्शदाता आरएसएमकी वरिष्ठ विश्लेषक एमली साभिचका अनुसार युद्धका समयमा पहिलो नाफा कमाउने रक्षा क्षेत्र अर्थात् हतियार उत्पादन तथा बिक्री कम्पनीहरू हुन्।

"युद्धले रक्षा क्षमतामा देखिएको खाडल उजागर गरिदिन्छ र क्षेप्यास्त्र प्रतिरक्षा, ड्रोन प्रणाली र सैन्य उपकरणमा युरोप र अमेरिकाभरि लगानी बढाउँछ," उनले बीबीसीसँग भनिन्।

रक्षा कम्पनीहरूको महत्त्व उजागर गर्दै युद्धले सरकारहरूलाई पनि हतियारको मौज्दात बढाउन उद्वेलित गर्छ र हतियारको माग पनि बढाउँछ।

एफ३५ लडाकु विमानका पाटपुर्जासहितका उपकरण बनाउने बीएई सिस्टम्सले यो वर्ष आफ्नो बिक्री र नाफा दुवै बढ्ने अपेक्षा गरिएको जनाएको छ।

उसले विश्वभरि नै बढ्दो "सुरक्षा जोखिम"का कारण सरकारहरूले रक्षा खर्च बढाउँदा आफ्नो कम्पनीलाई सहयोग पुगेको उल्लेख गरेको छ।

बोइङ एन्ड नोर्थ्रोप ग्रमनका लकहीड मार्टिनका अनुसार विश्वका सबैभन्दा ठूला तीन वटा रक्षा ठेकेदारहरूले सन् २०२६को पहिलो त्रैमासिक अवधिको अन्त्यमा अहिलेसम्मकै धेरै माग पूरा गर्न बाँकी रहेको जनाएका छन्।

पछिल्ला वर्षहरूमा व्यापक मात्रामा बढेको रक्षा कम्पनीहरूको शेअरको मूल्य चाहिँ मार्चको मध्यबाट खस्कन थालेको छ।

४. नवीकरणीय ऊर्जा क्षेत्र

विश्लेषक स्ट्रीटर जीवाश्म इन्धनमा निर्भरता घटाउनुपर्ने आवश्यकता पनि यो युद्धले बोध गराएको बताउँछिन्।

यसले अमेरिकामा पनि "नवीकरणीय ऊर्जामा मानिसहरूको चासो ह्वात्तै बढाएको छ," उनी भन्छिन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि जीवाश्म इन्धन सकेसम्म धेरै उत्खनन गर्न उत्साहित गर्ने अभिव्यक्ति दिएका थिए।

युद्धले नवीकरणीय ऊर्जाका क्षेत्रमा पनि लगानी गरिनु उत्तिकै महत्त्वपूर्ण र सङ्कटका समयमा स्थिरताका लागि सहयोग हुने महसुस गराएको स्ट्रीटर बताउँछिन्।

मानिसहरूले नवीकरणीय ऊर्जामा लगानी बढाउँदा अमेरिकाकै फ्लोरिडाको नेक्स्ट एरा एनर्जीको शेअर मूल्य यो वर्ष मात्रै १७ प्रतिशतले बढेको छ।

डेममार्कका वायु ऊर्जा कम्पनीहरू भेस्टस तथा ओर्स्टेडले पनि आफ्नो नाफा बढेको विवरण प्रकाशित गरेका छन्।

यसले युद्धका कारण अर्थतन्त्रमा समस्या निम्तिँदा पनि नवीकरणीय ऊर्जामा काम गर्ने कम्पनीहरू कसरी उकालो लागिरहेका छन् भन्ने दर्साउँछ।

यूकेको अक्टोपस एनर्जीले युद्धले फेब्रुअरीयता सौर्य ऊर्जा उत्पादनका लागि प्रयोग हुने प्यानलहरूको बिक्री ५० प्रतिशतले बढाएको हालै बीबीसीसँग बताएको थियो।

पेट्रोलको मूल्य बढ्दा विद्युतीय सवारी साधनहरूको माग पनि बढेको छ। यसको सबैभन्दा ठूलो फाइदा चिनियाँ कार उत्पादकहरूले लिइरहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।