सहमतिमा नआए इरानले भीषण बमबारीको सामना गर्नुपर्ने ट्रम्पको चेतावनी

डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Reuters

    • Author, क्याथ्रिन आर्मस्ट्रङ
  • पढ्ने समय: ३ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत २४ घण्टामा इरानसँग निकै राम्रो वार्ता भएको बताएका छन्। यद्यपि तेहरानको तर्फबाट अहिलेसम्म कम सकारात्मक सङ्केतहरू आइरहेका छन्।

ट्रम्पले दुई देशबीच एउटा सम्झौता हुन सक्ने एकदम सम्भव देखिएको बताए। तर इरानीहरूले सहमति नजनाएमा उनीहरूले नयाँ चरणको अझ भीषण अमेरिकी बमबारीको सामना गर्नुपर्ने चेतावनी उनले दिए।

इरानी अधिकारीहरूले युद्ध अन्त्य गर्ने अमेरिकी नयाँ प्रस्तावबारे अझै विचार भइरहेको बताएका छन्।

तर उच्च इरानी वार्ताकार मोहम्मद बागेर गालिबाफले तेहरानलाई अमेरिकाले आत्मसमर्पण गराउन चाहिरहेको टिप्पणी गरेका छन्।

इरानसँग १४ बुँदे समझदारीपत्रमा सहमति हुने ह्वाइट हाउसले विश्वास गरेको अमेरिकी समाचार एक्सिओसले बुधवार जनाएको थियो।

खाका निर्धारण

इरानी संसद्‌का एक वरिष्ठ सदस्यले अमेरिकी "चाहनापत्र" भन्दै त्यसलाई खारेज गरेका छन्। तर तेहरानस्थित इरानी विदेश मन्त्रालयका एक अधिकारीले पाकिस्तानी मध्यस्थकर्तामार्फत् धारणा साझा गरिने बताएका छन्।

पाकिस्तानी विदेशमन्त्रीले "यो युद्धविरामलाई युद्धको स्थायी अन्त्यमा परिवर्तन गराउने प्रयास" आफ्नो देशले गरिरहेको बताएका छन्।

एक पृष्ठको १४ बुँदे मेमोले विस्तृत परमाणु वार्ताको खाका निर्धारण गर्न सक्ने एक्सिओसले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

इस्माइल बागेई

तस्बिर स्रोत, Reuters

अमेरिकी प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू हटाउने र होर्मुज जलमार्गबाट फेरि निर्वाध आउजाउ शुरू गर्ने लगायतका विषय समेटिएका छन्।

सो विषयमा ब्रिफिङ गरेका दुई अमेरिकी र अरू दुई स्रोतहरूलाई उद्धृत गर्दै एक्सिओसले समाचार लेखेको छ।

ती स्रोतहरूका अनुसार मेमोमा उल्लिखित कतिपय शर्तहरू अन्तिम सहमतिमा पुगेपछि लागु हुने छन्।

अमेरिका र इरानबीचको मध्यस्थतामा सम्बद्ध दुई वटा स्रोतलाई उद्धृत गर्दै शुरूमा एक्सिओसले दिएको विवरणलाई समाचार संस्था रोएटर्सले पुष्टि गरेको छ। तर उक्त प्रस्ताव सार्वजनिक गरिएको छैन।

एकअर्कालाई चेतावनी

"अमेरिकी प्रस्तावबारे इरानले अझै विचार गरिरहेको छ र त्यो सकेपछि पाकिस्तानमार्फत्‌ तेहरानको धारणाबारे जानकारी गराइने छ," इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले इरानी समाचार संस्था आईएसएनएसँग भनेका छन्।

एक्सिओसको रिपोर्टप्रति प्रतिक्रिया जनाउँदै इरानी संसद्‌को राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगका प्रवक्ता इब्राहिम रेजाईले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, "अमेरिकीहरूले गुमाइरहेको यो युद्धमा केही हासिल गर्ने छैनन्, उनीहरूले प्रत्यक्ष वार्तामा केही प्राप्त गरेका छैनन्।"

उनले "इरानको औँला ट्रिगरमा रहेको र तयार रहेको" भन्दै "अमेरिकाले आत्मसमर्पण र सहुलियत नदिएमा" इरानले "कठोर र गल्ती महसुस गराउने कदम चाल्ने" चेतावनी दिए।

सहमतिको आशा व्यक्त गरेका ट्रम्पले हिंसाबारे नयाँ चेतावनी पनि दिएका छन्। सम्झौताका लागि इरान सहमत नभएमा "बमबारी शुरू हुने छ र दुःखका साथ भन्नुपर्दा त्यो पहिलाको भन्दा अझ उच्च स्तरको अनि भीषण हुने छ" भनेर आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमा ट्रम्पले लेखेका छन्।

परमाणु कार्यक्रम कहिल्यै सञ्चालन नगर्ने लगायत "अरू कैयौँ विषय"मा इरान सहमत भएको दाबी पनि ट्रम्पले गरेका छन्। यो प्रकृतिको दाबी उनले पहिलो पटक गरेका होइनन्। उनको दाबीलाई तेहरानले पुष्टि गरेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।