'इरानी सत्ता थप मजबुत र बदलातर्फ उन्मुख'

तस्बिर स्रोत, Reuters
- Author, फर्गल कीन
- Role, विशेष संवाददाता
- पढ्ने समय: ५ मिनेट
इरान युद्धमा होमियो। त्यसपछि युद्धविराम पनि भयो। तर ती सबै उथलपुथलमा पनि इरानको इस्लामिक गणतन्त्रको सत्ता टिकिरहेकै छ।
इरानमा मानिसहरू जता गए पनि वा घरमै टेलिभिजन खोले पनि हत्या भएका नेता र त्यसपछि सत्तामा आएका नयाँ नेताहरूका पोस्टर वा दृश्य देख्छन्।
बीबीसीले इरानभित्र कुरा गरेका मानिसहरूका अनुसार इरानको सत्ता कमजोर हुनुको साटो अझै मजबुत भएको छ र बदला लिने मनस्थितिमा छ।
परिवर्तनको आशा र आशङ्का
सना र दियाको (दुवै नाम परिवर्तन) तेहरानमा बस्ने युवा जोडी हुन्। शिक्षित मध्यमवर्गीय परिवारका उनीहरू इरानमा कट्टरपन्थी धार्मिक शासनको अन्त्य चाहनेमध्येका मानिसहरू हुन्।
हामीले यसभन्दा धेरै उनीहरूको परिचय जनाउने विवरण उल्लेख गर्न सक्दैनौँ किनभने ती विवरणहरूका आधारमा विदेशी सञ्चारमाध्यमसँग खुलेर बोल्न डराउने समाजमा हामीसँग कुरा गरेका इरानी मानिसहरूलाई सत्ताले निगरानीमा राख्न सक्छ।
इरानमा बीबीसीलाई सहयोग गरिरहेका पत्रकारहरूले एउटा पार्कनजिकै सना र दियाकोसँग भेटेर कुराकानी गरेका थिए। युद्धविरामका समयमा भएको कुराकानीमा दियाको जीवनप्रति आशावादी थिए।
"यो परिवर्तन हुन्छ," उनले भने। "यसअघि नै परिवर्तन आइसकेको छ।"
उनले यसो भनिरहँदा सना हाँस्छिन्।
"परिवर्तन भयो?" उनी प्रश्न गर्छिन्।
"यो त झन् रेभलूशनरी गार्ड्सको हातमा गयो। देश अस्तव्यस्त छ," इजरेल र अमेरिकाले आक्रमण गरेपछि सनाले आफ्नो भावनामै परिवर्तन आएको महसुस गरेकी छन्।
"सुरुमा त म युद्ध नभइदिओस् भन्ने चाहन्थेँ… तर युद्धको बीचतिर पुग्दा उनीहरूले मुख्य व्यक्तिहरूमाथि निसाना बनाउन सुरु गरेपछि वास्तवमा भन्नुपर्दा ती हरेकको मृत्युमा मलाई आनन्द लाग्यो," उनले भनिन्।

तस्बिर स्रोत, EPA
युद्ध लम्बिँदै जाँदा आयतोल्लाह अली खामेनेई र अन्य वरिष्ठ नेताहरूको क्षतिका बाबजुद पनि नयाँ सत्ता वा सम्झौताका लागि अनुकूल वातावरण बन्न नसकेको सनालाई महसुस भयो।
"उनीहरूका धेरै मानिसहरू अहिले पनि अडिग छन्। मैले कल्पना गरेजस्तो केही भएन। सबै कुरा झन् खराब भयो अनि हामी इस्लामिक गणतन्त्रमै छाडियौँ। उनीहरूले युद्ध जितेको कुराले मलाई दुःखी बनाएको छ," उनले सुनाइन्।
'कठोरता बढ्यो'
इरानी समाजबाट सत्तालाई प्राप्त समर्थनको स्तरबारे बताउन असम्भव छ। सत्ताका समर्थकहरूले नियमित जस्तो ऐक्यबद्धता जनाउन र्यालीहरूको आयोजना गरिरहेका छन्। तर अर्कोतर्फ विपक्षीका र्यालीमा प्रतिबन्ध लगाइएको छ।
इरानमा रहेको हाम्रो विश्वस्त स्रोतले विपक्षी अभियानकर्मी, मानव अधिकार वकिलहरू र स्वतन्त्र पत्रकारसँग पनि कुरा गरेको छ अनि उनीहरू सङ्कट निम्तिन सक्ने चिन्तामा रहेको हामीले पायौँ। युद्ध अन्त्यपछि राज्यले आन्तरिक दमनलाई अझै बढवा दिने डर त्यहाँका मानिसहरूमा बारम्बार दोहोरिँदै आएको छ।

तस्बिर स्रोत, EPA
वाशिङ्टनस्थित 'ह्यूमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी' (एचआरएएनए) का अनुसार गएको ज्यानुअरीमा भएको सरकारविरोधी प्रदर्शन र युद्ध सुरु हुनुभन्दा अघिसम्म ५३,००० जना भन्दा बढी मानिस पक्राउ परेका थिए।
युद्ध सुरु भएयता थप हजारौँ मानिसहरूलाई हिरासतमा लिइएको ठानिएको छ। राजनीतिक बन्दीहरूलाई मृत्युदण्ड दिइएको सङ्ख्यामा पनि अहिलेसम्मकै उच्च वृद्धि भएको छ। युद्ध चलिरहेकै समयमा मात्रै २१ जनालाई मृत्युदण्ड दिइएको छ। यो छोटो अवधिमा मृत्युदण्ड दिइएको विगत ३० वर्षयताकै सबैभन्दा उच्च सङ्ख्या हो।
झुन्ड्याएर मृत्युदण्ड दिइएका नौ जना ज्यानुअरीको विरोध प्रदर्शनसँग सम्बन्धित रहेको र १० जना विपक्षी समूहको सदस्य भएको आरोप लागेका अनि दुई जना जासुसीको आरोप लागेका व्यक्ति थिए।
हिरासतमा रहेका व्यक्तिहरूलाई कानुनी सहायता दिने एक वकिल सुसान (परिवर्तन नाम) जेलको अवस्था कठोर रहेको सुनाउँछिन्। "युद्धभन्दा पहिले विरोध प्रदर्शनको नेतृत्व गर्नेहरू वा पेट्रोल बम र हतियार बोक्नेहरूलाई मात्र कठोर व्यवहार गरिन्थ्यो। तर युद्धको समयमा कठोरता उल्लेख्य रूपमा बढेको छ," उनी भन्छिन्। उनको व्यक्तिगत कथाले पनि यो द्वन्द्वका कारण कसरी परिवारहरूलाई विभाजित गरिरहेको छ भन्ने देखाउँछ।
उनका आमाबुवा खुला रूपमा सरकारको समर्थक हुन्। तर केही गरी सरकार ढल्यो भने उनीहरू नयाँ सत्ताको निसानामा पर्ने डर उनलाई छ। उनका भाइ सरकारविरोधी भावना राख्छन्। परिवारको चिन्ताबारे कुरा गर्दा उनका भाइ निश्चिन्त जबाफ दिँदै भन्छन् : " उनीहरू शहीद हुन चाहन्छन् भने उनीहरूलाई त्यो हकबाट किन वञ्चित गर्ने?"
युद्ध सकिए पनि नसकिने त्रास

तस्बिर स्रोत, EPA/Shutterstock
सुसान युद्ध अन्त्य भएको हेर्न चाहन्छिन् तर युद्ध सकिएपछि उनीजस्ता मानिसहरू अझ बढी दबावमा पर्ने उनी ठान्छिन्। बन्दीहरूको भविष्यलाई लिएर पनि उनी त्रसित छिन्। "युद्ध समाप्त भयो भने सत्ताले यो युद्धको रिस कैदीहरूमाथि पोख्न के बेर। मलाई त हामी उधारो समयमा बाँचिरहेको जस्तो महसुस हुन्छ।"
मानव अधिकारवादीहरूका अनुसार यस वर्ष हालसम्म इजरेली विदेशी गुप्तचर संस्था 'मोसाद' सँग सम्बन्ध रहेको आरोपमा चार जनालाई मृत्युदण्ड दिइएको छ।
स्वतन्त्र पत्रकारहरू पनि आफूमाथि अमेरिका वा इजरेललाई सहयोग गरेको आरोप लाग्न सक्ने डरमा बाँचिरहेका छन्। राज्यले शत्रु ठान्ने विदेशी सञ्चारमाध्यमहरूलाई सामग्री पठाएको आरोपमा थुप्रै मानिसहरूलाई पक्राउ गरिएको छ।
तेहरानस्थित हाम्रा सहकर्मीसँग कुरा गर्दै आर्मिन (परिवर्तित नाम) ले युद्धका तथ्यहरूबारे समाचार बनाउनु मात्र पनि पक्राउ हुन सक्ने पर्याप्त आधार बन्न सक्ने बताउँछन्। अनि यसको परिणाम ज्यानै जानेसम्मको घातक हुन सक्ने उनी बताउँछन्।
"पहिले हामीमाथि राजनीतिक कसुरको आरोप लाग्न सक्थ्यो। तर अहिलेको युद्धकालीन अवस्थामा युद्धको बारेमा गरेका रिपोर्टिङकै कारण हामीमाथि जासुसीको आरोप लाग्न सक्छ," उनले भने।
सत्ताको इसारामा चल्ने आरोप लाग्ने गरेको यहाँको अदालती प्रणालीमा जासुसीको आरोपमा मृत्युदण्डसम्मको सजाय हुन्छ। "पहिले हामी कति मानिसहरूलाई असर पर्यो वा विरोध प्रदर्शनको असर कुन हदसम्म हुन सक्छ भन्ने कुरा बुझ्न प्रयास गर्थ्यौँ," आर्मिन भन्छन्।
"तर अहिले अवस्था फरक छ। अहिले हामी आफ्नो र आफ्नो परिवारको ज्यान जोगाउनमा मात्र केन्द्रित छौँ।"
उनको परिवार सुत्ने तरखर गरिरहँदा आर्मिन चाहिँ बेचैन हुन्छन्।
"म भविष्यमा के हुने होला भनेर सोच्दासोच्दै रातभरि निदाउँदिन। अनिश्चितताले डरलाग्दो चिन्ता निम्त्याउँछ," आर्मिन भन्छन्। विपक्षीहरू सडकबाट हराउनु कुनै अचम्मको कुरा होइन। यहाँको सत्ता नै मानिसको जीवन र मृत्युको मालिक बनेको छ।
एलिस डोयार्डबाट थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



























