कीर्तिमानी कप्तान रोहित पौडेलमाथि नेपालको भरोसा

हालै एक हजार रन पुरा गरेका थिए

तस्बिर स्रोत, Rohit Kumar Paudel/Facebook

तस्बिरको क्याप्शन, हालै रोहित पौडेलले एकदिवसीय खेलमा एक हजार रन पुरा गरेका थिए
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

सन् २०१४ मा नेपालले २० ओभरको विश्वकप खेलिरहँदा त्यसमा नेपाली खेलाडीहरूको समर्थनमा सम्पूर्ण ध्यान लगाउने खेलप्रेमी नेपाली को थिएनन् होला।

हो, रोहित पौडेलले पनि त्यति नै बेला सपना बुनेका थिए-" म पनि कुनै दिन राष्ट्रिय जर्सी लगाएर खेल्नेछु। "

८ वर्ष बित्यो। र, अहिले पौडेल राष्ट्रिय क्रिकेट टोलीका ११ औँ कप्तान छन्। संसारमा थोरै खेलाडीको सपनाले मात्र यस्तो सार्थकता पाउने गर्छ।

उनको ब्याटिङ कलाबाट नेपाली क्रिकेट समर्थकहरू मन्त्रमुग्ध छन्। थुप्रै खेलमा उनले नेपाललाई 'हारको मुख' बाट उकासेका छन्।

उनको नाममा थुप्रै विश्व कीर्तिमान समेत बनिसकेको छ।

र, अहिले भन्न थालिएको छ - "पारस खड्का युगपछि नेपाली क्रिकेट हाँक्नसक्ने खुबी रोहितसँग छ।"

युवा सपना

नवलपरासी बर्दघाट १४ का रोहितको स्कुलमा राम्रो क्रिकेट खेल्ने विद्यार्थीको छवि थियो।

घरको वातावरण पनि खेलमैत्री थियो। भारतीय सेनाका लाहुरे बुबा कुमार पौडेल पनि क्रिकेट प्रेमी नै थिए।

माथि उल्लेख भए झैँ बाङ्ग्लादेशमा भएको टी-२० विश्वकपका सबै खेल हेरेपछि रोहितमा क्रिकेटमा थप डुबुल्की लगाउने हुटहुटी जाग्यो।

गाउँ छोडेर उनी काठमाण्डूको बालुुवाटार क्रिकेट एकेडेमीमा भर्ना भए। त्यहाँ डेढ वर्ष सिक्दा क्रिकेटको वातावरणसँग मज्जाले घुलमिल हुने अवसर उनले पाए।

redline
यो पनि पढ्नुहोस्
redline

त्यतिले चित्त बुझेन र उनी भारत पुगे। नयाँ दिल्लीको गुरुचरण सिंह एकेडेमीमा प्रशिक्षण लिए। परिवारले उनको हरेक इच्छाको होस्टेमा हैंसे गरिरह्यो।

त्यसैबेला नेपाल क्रिकेट सङ्घले एसीसी यू-१९ एसिया कपका लागि 'ट्यालेन्ट हन्ट' मार्फत देशभरिबाट खेलाडी खोज्ने क्रममा रोहित बुटवलमा भएको 'हन्ट 'मा प्रशिक्षकहरूको नजरमा परे।

अनि पौडेल सन् २०१६ मा श्रीलङ्कामा हुने एसीसी यु-१९ एसिया कपमा छानिए। अर्थात् सपना बुनेको दुई वर्षपछि नै रोहितले जुनिअर राष्ट्रिय जर्सी लगाउन पाए। त्यति बेला उनी १४ वर्षका मात्र थिए।

अनि पहिलो खेलमा नै उनले भारत विरुद्ध अविजित ६८ रन बनाउँदै आफ्नो क्षमता प्रमाणित गरिदिएका थिए।

श्रीलङ्काबाट फर्केर बर्दघाट पुग्दा त उनलाई गाँउलेहरुले फुलमाला बर्साएर गाउँ घुमाएका थिए। त्यतिबेला स्थानीय नायक भएका थिए रोहित पौडेल।

राष्ट्रिय टोलीका लागि संघर्ष र डेब्यू

रोहीत पौडेल

तस्बिर स्रोत, CAN

१९ वर्ष उमेर समूहको प्रतिस्पर्धा खेलेपछि राष्ट्रिय टोलीका लागि प्रयास गर्नु स्वाभाविक हो नै। रोहितले पनि त्यही गरे। तर उनको बन्द प्रशिक्षणमा पर्ने अनि फ्याँकिने क्रम सुरु भयो। किनकि राष्ट्रिय टोलीका लागि उनी 'उमेरमा काँचो' थिए, अनुभवमा पनि।

यस बिचमा उनलाई आफ्नो क्षमता प्रस्तुत गर्ने माध्यम बन्यो एभरेष्ट प्रिमियर लिग (इपीएल)। इपीएलमा भैरहवा गोल्डेन्समा अनुबन्धित उनले प्रभावशाली खेल प्रदर्शन गरे। यसले उनलाई राष्ट्रिय टोलीको ढोका ढकढक्याउन मदत गर्यो।

विश्वकप लिग-२ को नामिविया यात्रामा रोहित सिनिअर राष्ट्रिय टोलीमा छानिए।

सन् २०१८ फेब्रुअरी ८ तारिखमा उनले नामिविया विरुद्धको खेलबाट राष्ट्रिय टोलीमा 'डेब्यु' गरे।

आफूले चार वर्ष अगाडिको विश्वकपमा टेलिभिजनमा देखेका 'आइडल' खेलाडीहरूसँग एउटै टिममा खेले। पहिलो खेलमा आठौँ नम्बरमा ब्याटिङ गर्ने अवसर पाएका उनले १७ रन जोडेका थिए। जसको मदतमा टोली एक विकेटले विजयी भयो।

त्यो भ्रमण पौडेलका लागि जीवनको अविस्मरणीय खेल पनि बन्न पुग्यो। किनकि यो त्यही ऐतिहासिक श्रृंखला थियो, जहाँबाट नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय राष्ट्र (ओडिआई) को मान्यता लिएर फर्केको थियो।

फेब्रुअरी १४ मा क्यानडालाई अन्तिम बलमा १ विकेटले जितेको त्यो खेल, करण केसी र सन्दीप लामिछानेले अन्तिम विकेटका लागि ५२ रन बनाएको खेल, पारस खड्का गोल्डेन डक आउट भएको खेल र करणले नटआउट ४२ रन बनाएको खेल।

पौडेल जति खेर पनि त्यो खेल सम्झेर रोमाञ्चित र अभिप्रेरित हुने गरेको बताउँछन्। सो खेलमा उनले पनि २७ रनको इनिङ्गस् खेलेका थिए जुन नेपाली ब्याटरले बनाएको तेस्रो उच्च स्कोर थियो।

एकपछि अर्को कीर्तिमान

यो भ्रमणले पौडेललाई राष्ट्रिय टोलीमा स्थापित हुने मौका दियो। त्यसको ६ महिनापछि नेपालले नेदरल्याण्डस्‌सँग ओडिआई राष्ट्रको हैसियतले खेल्ने भयो।

सो टोलीमा रोहित पनि समावेश भए। पहिलो खेलमा उनले मौका पाएनन्। तर शरद भेषावकर घाइते भएपछि दोस्रो खेलमा उनलाई मौका दिने बित्तिकै नयाँ कीर्तिमान बन्यो।

१५ वर्ष ३३५ दिनको उमेरमा ओडिआई खेल्ने उनी विश्वका चौथो कान्छा खेलाडी बने। उनीभन्दा माथि पाकिस्तानका हसन रजा, केन्याका गुरदिप सिंह र क्यानडाका नितिश कुमार कान्छा खेलाडी थिए।

यद्यपि अहिले रोहित त्यसको छैटौँ स्थानमा पुगिसकेका छन्। चार वर्षका बीचमा अरू दुई खेलाडीले पनि कान्छो खेलाडीका रूपमा डेब्यू गरिसकेका छन्। जसमा एकजना उनका सहकर्मी गुलशन झा पनि हुन्। झा अहिले तेस्रो नम्बरमा छन्।

सोही साल २०१८ मा उनले टी-२० मा डेब्यु गरे र इङ्ल्याण्डमा एमसीसीसँग खेले।

कलिलो उमेरमा राष्ट्रिय टोलीको नियमित सदस्य हुनुको रोहितलाई फाइदा थियो। उनले त्यसको सदुपयोग गरे। सन् २०१९ मा अर्को कीर्तिमान रचे।

युएईसँग उनीहरूकै घरेलु मैदानमा खेलिएको ओडिआई सिरिजमा जनवरी २६ का दिन उनले अर्धशतक प्रहार गरे, जुन कान्छो उमेरमा अर्धशतक बनाउने कीर्तिमान बन्यो।

रोहीत पौडेल

तस्बिर स्रोत, CAN

उनले त्यो बेला ५७ बलमा ७ चौका प्रहार गरेर ५५ रन बनाएका थिए। उनी त्यो दिन १६ वर्ष १४६ दिनका भएका थिए।

उक्त स्कोरपछि भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद अफ्रिदी जस्ता विश्व चर्चित खेलाडीहरूको रेकर्डलाई उछिने।

तेन्दुलकरले १६ वर्ष २१३ दिन तथा अफ्रिदीले १६ वर्ष २१७ दिनमा अर्ध शतक बनाएका थिए।

अहिले यो कीर्तिमानमा रोहितलाई नेपालकै कुशल मल्लले उछिनीसकेका छन्। कुशलले तीन वर्ष अगाडि १५ वर्ष ३४० दिनमा अर्धशतक प्रहार गरेर रोहितलाई उछिनेका थिए।

redline
यो पनि पढ्नुहोस्
redline

रोहित पौडेलको विशेषता के छ भने उनी परिस्थिति अनुकूल खेल्न सक्छन्। ब्याटिङमा उनको धैर्यता महसुस गर्न सकिने खालको हुनेगर्छ।

नेपालको लागि ६५ एक दिवसीय खेल्ने क्रममा उनले पटक पटक आफ्नो भूमिकामा न्याय दिएका छन्। सो क्रममा कीर्तिपुर क्रिकेट मैदानमा पपुवा न्युगिनी विरुद्ध रोहितले बनाएको १२६ रनको शतकीय इनिङ्गस्‌ले दुई कीर्तिमान रच्यो।

एक, त्यो कान्छो उमेरका एक दिवसीय शतकमा विश्वको नवौँ स्थानमा थियो। गत वर्ष बनेको त्यो शतकका दिन उनी १९ वर्ष २०४ दिनका थिए। अर्को, यो एक दिवसीयमा कुनै पनि नेपालीले बनाएको सर्वाधिक रन थियो।

कान्छा कप्तान र भाग्यको साथ

यूएईमा यो साताबाट सुरू हुने श्रृङ्खलाका लागि खेल्न जाने क्रममा

तस्बिर स्रोत, Rohit Kumar Paudel/Facebook

तस्बिरको क्याप्शन, यूएईमा यो साताबाट सुरू हुने श्रृङ्खलाका लागि खेल्न जाने क्रममा टोलीका सदस्यहरूसँग

रोहित पौडेलको नाममा बनेको अर्को कीर्तिमान हो विश्वको दोस्रो र नेपालको पहिलो कान्छो कप्तान।

गत कार्तिक २७ गते कप्तान नियुक्त हुँदा उनी २० वर्ष ७३ दिनका थिए। उनी भन्दा माथि अफगानिस्तानका रसिद खान मात्र छन्, जो १९ वर्ष १६५ दिनमा कप्तान भएका थिए।

यसका लागि उनलाई भाग्यको पनि साथ रह्यो। नेपाली क्रिकेटमा घटेका केही घटनाक्रमका कारण रोहितले कप्तानको जिम्मेवारी सोचेभन्दा अगाडि पाउन सके।

भएको के थियो भने गत वर्ष नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी लगायत केही खेलाडीहरू र क्रिकेट सङ्घबीच खेलाडीहरूको वरीयता र पारिश्रमिकको विषयलाई लिएर असमझदारी बढ्यो।

त्यही निहुँमा क्यानले कप्तान मल्ल र उपकप्तान ऐरीलाई हटाउँदै सन्दीप लामिछानेलाई कप्तानीको जिम्मेवारी दिएको थियो।

तर लामिछानेमाथि नाबालिग बलात्कारको कसुरमा मुद्दा चलेपछि गत भदौ २३ गते उनी क्यानको निलम्बनमा परे। त्यसपछि उपकप्तान रोहितको कप्तान बन्ने बाटो खुलेको हो।

ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरीजस्ता कप्तानका दाबेदारहरूका माझ रोहित उदाए। जबकी ऐरीलाई लामो समय अघि नेपालको कप्तानको रूपमा हेरिन्थ्यो।

भरोसा र परीक्षा एकसाथ

रोहीत पौडेल

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, जीतपछि सहकर्मी करण केसीसँग कप्तान रोहीत पौडेल

कीर्तिपुरमा भर्खरै खेलिएको विश्वकप लिग-२ मा त उनको कप्तानीमा नेपालले सबै चार खेल जितेर शृङ्खलामा अभूतपूर्व 'क्लीन स्वीप' गर्‍यो।

यो क्रममा रोहितले २ वटा अर्धशतक सहित टिमलाई जिताउन अहम् भूमिका खेले। स्कटल्यान्ड विरुद्धको अन्तिम खेलमा टिम हारको सङ्घारमा पुग्दा उनले अविजित ९५ रन जोडेर खेल जिताए।

पहिलो दिनमा नामिवियाले दिएको २८६ रनको लक्ष्य पूरा गर्न उनले ७२ रन बनाएका थिए।

चार खेलमा कुल २१२ रन जोडेका उनी एक दिवसीय खेलमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली पनि बनेका छन्। अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा उनको कुल रन सङ्ख्या १ हजार १५७ छ।

क्रिकेटलाई शालीन खेल मान्ने हो भने त्यसको प्रकृतिसँग मिल्दाजुल्दा खेलाडी रोहित पौडेल हुन् भन्दा फरक पर्दैन।

उनी कम बोल्ने गर्छन्, धेरै कुरा हाँसोमै टार्छन्। बोलेको छ त केबल मैदानमा उनको ब्याट।

नेपाली क्रिकेटमा रोहितको यात्रा र उनले रचेको इतिहासपछि यो मान्न करै लाग्छ कि उनमा नेपाली क्रिकेटलाई लामो समय डोर्‍याउने ल्याकत छ।

पूर्व राष्ट्रिय खेलाडी सञ्जम रेग्मी भन्छन् - "रोहित त्यो क्षमताका खेलाडी हुन्, जो लेखाजोखा गरेर विषम परिस्थितिमा खेल्न सक्छन्, खेल जिताउने क्षमता राख्छन्। भरपर्दा छन्। "

अहिले कप्तान रोहित माथिको भरोसाको परीक्षा पनि भइरहेको छ। किनकि नेपालले अब खेल्ने विश्वकप लिग-२ को ८ मध्ये ५ खेल जित्नु छ।

नेपाली क्रिकेटलाई अर्को उचाइमा पुर्‍याउनुअघि मैदानमा नतिजा दिलाएर अहिले कायम रहेको एक दिवसीय क्रिकेट राष्ट्रको हैसियत कायम राख्नु रोहित र नेपाली टोलीका लागि पहिलो चुनौती देखिन्छ।

नेपालका कप्तानहरू

  • उत्तम कर्माचार्य - सन् १९९६
  • एलबी क्षेत्री - सन् १९९८
  • पवन अग्रवाल - सन् २०००
  • स्व. गणेश शाही - २००१
  • राजु खड्का- सन् २००२-२००४
  • परेश लोहनी- सन् २००४
  • विनोद दास - सन् २००५-२००९
  • पारस खड्का - सन् २००९-२०१९
  • ज्ञानेन्द्र मल्ल - सन् २०१९-२०२१
  • सन्दीप लामिछाने - सन् २०२२
  • रोहित पौडेल - सन् २०२३ देखि जारी