विश्वकप छनोटको कठिन परीक्षामा आठ वर्षपछि नेपाली क्रिकेट

नेपाल क्रिकेट टिम

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

सन् २०१४ मा नेपालले पहिलो पटक २० ओभरको विश्वकप खेल्दा नेपाली खेलकुद क्रिकेटमय बनेको थियो।

नेपालले खेलेको प्रत्येक खेलमा देशभर उत्सवको वातावरण सिर्जना भएको थियो।

लाग्थ्यो, नेपाली क्रिकेटले अब नयाँ उचाइ छुनेछ।

तर भयो त्यसको ठिक विपरीत।

देशको क्रिकेट घरेलु राजनीतिमा नमज्जाले पिसियो। त्यसको अर्को साल त अन्तर्राष्ट्रिय प्रतिबन्धमै पर्‍यो।

त्यसयता खेलेको ४ वटा टी-२० विश्वकप छनोटमा नेपाल असफल हुँदै आएको छ।

नेपाल यतिसम्म कमजोर भयो की, पछिल्लो छनोटमा पूर्वी एसियाली छनोटका कमजोर टीमसँग हार्दै नेपाली टोली लज्जास्पद ढङ्गबाट बाहिरिन पुगेको थियो।

अहिले, झन्डै एक दशक लामो हन्डरपछि नेपाल फेरि २०ओभरको विश्वकप छनोट खेल्न ओमान यात्रामा निस्केको छ।

र, यसपालि नेपाली टोली छनोट चरण पार गर्ने 'मूड' मा देखिएको छ।

एक दशकको यो अवधिमा धेरै परिवर्तन भएको आभास क्रिकेटमा देखिएको छ।

खेलाडी मात्र होइन, प्रशंसकहरू सम्मलाई विश्वास बढेको छ की यसपालि खोलो फर्किनेछ।

तर त्यो सजिलो भने छैन।

कसरी पुगिन्छ विश्वकप

झट्ट हेर्ने हो भने तीन खेलको जितले आगामी अक्टोबर/ नोभेम्बरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको यात्रा नेपालले तय गर्नेछ।

त्यसैले पनि यसपालि नेपाललाई विश्वकपमा पुग्ने राम्रो मौका रहेको बताइएको छ, क्रिकेटप्रेमी आशावादी छन्।

नेपालले आफ्नो समूहमा रहेको ओमान, क्यानडा र फिलिपिन्स सँगको दुई खेल जिते सेमिफाइनलमा पुग्नेछ।

सेमिफाइनलमा टोलीले अर्को समूहबाट आउने सम्भावित राष्ट्र आयरल्याण्ड वा युएईसँग भेट्न सक्छ, जसमा विजयी भएर फाइनल पुग्नासाथ विश्वकपको ढोका खुल्नेछ।

तर विश्वकप छनोट अगाडि यी प्रतिद्वन्द्वीहरूसँग खेलिएको चार देशीय शृङ्खलाले सङ्केत गरिसकेको छ की यो यात्रा सहज हुनेछैन।

सो शृङ्खलामा नेपालले ओमानलाई पराजित गरेपनि आयरल्याण्ड र युएईसँग हार बेहोरेको छ।

विश्वकप छनोटमा नेपालको खेल तालिका

  • फागुन ६ गते विरुद्ध ओमान
  • फागुन ७ विरुद्ध फिलिपिन्स
  • फागुन ९ विरुद्ध क्यानडा
  • फागुन १० सेमिफाइनल
  • फागुन १२ फाइनल

नेपालको चिन्ताको विषय के हो

खेलाडीहरूको मध्यम प्रदर्शन र चोटग्रस्त खेलाडीहरू नेपालको चिन्ताको विषय हो।

खास गरी ओमानमै खेलिएको चार राष्ट्र सम्मिलित टी २० क्रिकेट शृङ्खलामा देखिएको प्रदर्शनपछि चिन्ता बढेको हो।

नेपाल क्रिकेट टिम

तस्बिर स्रोत, CAN

चिन्ताको अर्को कारण प्रतिद्वन्द्वीहरूको खारिएको प्रदर्शन पनि हो।

शृङ्खलामा युएईले नेपाली बलरलाई नमज्जाले प्रहार गर्दा आयरल्याण्डले भने ब्याटिङ कमजोरी उदाङ्गो पारिदिएको थियो।

विश्वकप छनोटका प्रतिश्पर्धाका लागि त्यो खेल पाठ हुने नेपाली प्रशिक्षक पुबुदु दशानायके बताउँछन्।

उनले भने"खेलाडीको चोट र अभ्यासको हार आफ्नो ठाउँमा छ। हारमा मलाई दु:ख छैन। बरु अभ्यासले खेलाडीहरूमा आत्मविश्वास झन् बढेको मैले पाएको छु।"

दशानायकेले टिममा सन्तुलन रहेको भन्दै खुसी व्यक्त गरेका छन्।

चुनौती के छन्

नेपालले विश्वकपको सुरुआत ओमान विरुद्धको खेलबाट गर्दै छ।

चार देशीय शृङ्खलामा जित हात पारेपनि ओमान बलियो प्रतिद्वन्द्वी हो।

नेपालको विश्वकप यात्राको मुख्य परीक्षा ओमान विरुद्धको खेलबाट नै हुनेछ।

ओमान उड्नु अगाडि नेपालको ब्याटिङ पक्षको प्रशंसा भयो, तर चार देशीय शृङ्खलामा त्यो प्रमाणित हुन सकेन।

दीपेन्द्र सिंह ऐरी मात्र एक्लो ब्याट्सम्यान देखिए, जसले ब्याट र बल दुबैमा आत्मविश्वासपूर्ण खेल पस्केका थिए।

नेपाल क्रिकेट टिम

तस्बिर स्रोत, CAN

ती तमाम कमजोरी विश्वकपमा नदोहोर्‍याउनु प्रशिक्षक र खेलाडीहरूको लागि चुनौती हुनेछ।

त्यसमा चार देशीय शृङ्खलामा देखिएको 'अधैर्य ब्याटिङ' मा सुधार गरिनुपर्ने मुख्य विषय देखिन्छ।

ब्याटिङको क्रम मिलाउन थुप्रै प्रयोग गरेका प्रशिक्षक दशानायकेले त्यसलाई अन्तिम रूप दिने तयारी गरिरहेका छन्।

टी २० का लागि प्रभावशाली हुन सक्ने भनिएका युवा खेलाडी कुशल मल्ललाई टिमबाट हटाउँदै उनले १४ सदस्यीय टोली घोषणा गरिसकेका छन्।

उनी भन्छन्- "ब्याटिङमा सुधार गर्ने मौका पाएको छ। तेज बलर र स्पिनरहरूको स्थिति राम्रो छ। अनि विश्वकप अलग्गै प्रतिस्पर्धा हो। "

कमजोर भनिए पनि नेपालको बलिङ पक्ष ओमानमा प्रभावकारी नै देखियो।

युवा खेलाडीको काँधमा जिम्मेवारी

सोमपाल र करणको अभाव पूर्ति गर्ने जिम्मा भेट्रान जितेन्द्र मुखिया, अभिनाश बोहरा र युवा कमल सिंह ऐरीको हातमा छ।

चोटका कारण सोमपाल कामीलाई टिममा गुमाइसकेको नेपालले ओमान भ्रमणमा करण केसीलाई पनि गुमाएको छ।

अलराउण्डर केसी टोलीको मुख्य खेलाडी हुन सक्थे।

यस्तोमा सन्दीप लामिछानेको काँधमा कप्तानीसँगै बलिङ आक्रमणको जिम्मेवारी रहनेछ।

"चार देशीय शृङ्खला खेलाडी प्रदर्शन र मैदानको अवस्था बुझ्नका लागि प्रभावकारी रह्यो। अब विश्वकपमा हामी कसरी, कुन योजनामा खेल्छौँ, त्यसमा भर पर्छ। तर हामी सक्षम छौँ जस्तो लाग्छ," कप्तान लामिछाने भन्छन्।

नेपाल क्रिकेट टिम

तस्बिर स्रोत, CAN

नेपाली टोलीमा अहिले बढी जिम्मेवारी युवा खेलाडीहरूको काँधमा देखिन्छ।

सन् २०१४ को विश्वकपको टोलीमा रहेका ३ जना खेलाडी बाहेक बाँकी सबै खेलाडी युवा छन्।

प्रशिक्षक दशानायकेले अन्तिम १४ मा कुशल मल्ल सहित प्रदीप ऐरी र शाहब आलमलाई समेटेनन्।

उनले भेट्रान खेलाडी ज्ञानेन्द्र मल्ल र शरद भेषावकरमाथि नै विश्वास गरेका छन्। जितेन्द्र मुखिया पछिल्लो विश्वकप छनौट पछि टिममा फर्केका हुन्।

टोली पूर्ण रूपमा युवाको भरमा नराखि सन्तुलनमा राख्न प्रशिक्षकले त्यसो गरेको देखिन्छ।

नेपाली टोलीका प्रमुख छनोटकर्ता तथा पूर्व राष्ट्रिय खेलाडी दीपेन्द्र चौधरी भन्छन्- "नेपालका अधिकांश खेलाडीहरू १८ देखि २४ वर्ष बीचका छन्। अन्य टोली हेर्दा २५ माथिका धेरै छन्। यसैले युवा जोस र पाकाको मिश्रणले नतिजा दिने हामीलाई विश्वास छ।"

फाइनलमा पुग्न के गर्नुपर्छ?

खेलाडी प्रशिक्षकहरूको एउटै जवाफ हुने गर्छ- 'टी २० हो केही भन्न सकिन्न।' एक ओभरले खेलको नक्सा बदल्न सक्छ।

प्रशिक्षक जगत टमाटाको भनाई सुन्ने हो भने ओमानको डेथ पिचमा सन्तुलित प्रदर्शन गर्ने टोली हाबी हुन सक्छ।

उनी भन्छन् - "ओमानको पिचमा अहिले निरन्तर प्रतियोगिता भइरहेको हुनाले विश्वकप छनोटको बेला पिच 'डेथ' भइसकेको हुनेछ। यस्तोमा ब्याटिङ र बलिङ दुवै पक्षलाई बराबर मौका हुनेछ। बलरहरूले १०/१५ रन रोक्न सके परिणाम राम्रो आउनेछ।"

समग्रमा नेपाल कमजोर टोली होइन।

ओमानमा केही सकारात्मक सङ्केत पनि नेपाली टोलीले पाएको छ। ती हुन् दीपेन्द्र सिंह ऐरीको मजबुत उपस्थिति, युवा खेलाडीहरूले खेलेका केही आक्रामक शट्, ओमान विरुद्धको जित, बलिङमा भरोसा आदी।

अनि विकेटकिपर आसिफ शेखले आयरल्याण्डका खेलाडीलाई रन आउट नगरेर 'स्पिरिट अफ क्रिकेट' को नमुना देखाउँदै वाहवाही मात्र पाएका छैनन्, विश्वको ध्यान फेरी नेपाली क्रिकेट तिर तानिएको पनि छ।