नेपाल क्रिकेट: ज्ञानेन्द्र मल्ल र अरू तीन खेलाडी किन परे क्यानको कारबाहीमा, सन्दीप लामिछाने नयाँ कप्तान - अब के होला

क्यान
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

नेपाल क्रिकेट सङ्घ क्यानको बुधवार बसेको आकस्मिक बैठकले ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीलाई कप्तान र उपकप्तानको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ।

अन्य दुई खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि कारबाही गर्दै ती सबै खेलाडीलाई आगामी छ महिनाका लागि 'सेन्ट्रल कन्ट्र्याक्ट' अथवा तलब सुविधा नदिने निर्णय गरेको छ।

सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीको नयाँ कप्तान नियुक्त गरिएको छ।

क्यानको यो कदमले खेलाडी र क्यानबीच पछिल्लो समय देखिँदै आएको विवादलाई फेरि चर्काएको छ।

क्यानको भर्चूअल बैठकमै छजना केन्द्रीय सदस्यले उक्त निर्णयविरुद्ध 'नोट अफ डिसेन्ट' प्रकट गरेको बताइएको छ।

राष्ट्रिय टोलीका केही सदस्यहरूले क्यानको निर्णयको साङ्केतिक रूपमा विरोध जनाएका छन्।

विनोद भण्डारी, करण केसी, कुशल भुर्तेल, अविनाश बोहरा र रोहित पौडेलले क्यानले जारी गरेको विज्ञप्तिमा "आई एम डन" (मलाई पनि पुग्यो) लेख्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

सामाजिक सञ्जालमा सो निर्णयको समर्थन र विरोधमा लामै बहस भइरहेको छ। धेरैले क्यानको निर्णय गलत भएको भन्दै त्यसको विरोध गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

विवाद के हो?

विवादको थालनी राष्ट्रिय टोलीका खेलाडीहरूको वर्गीकरणबाट भएको हो जुन सही नभएको भन्दै मल्ल र अन्य खेलाडीले विरोध जनाएका थिए।

पहिलो गल्ती क्यानबाट भएको धारणा केही विश्लेषकको छ।

ज्ञानेन्द्र मल्ल

खेलाडीहरूको वर्गीकरण गरेर क्यानले त्यसलाई सार्वजनिक गर्नुपर्नेमा खेलाडीहरूलाई एक्लाएक्लै बोलाउँदै सम्झौतामा हस्ताक्षर गरायो।

त्यतिबेला वर्गीकरण देखेकाले त्यसमा चित्त बुझाएनन्। तीमध्ये चार जनाले सार्वजनिक रूपमा त्यसप्रति असन्तुष्टि प्रकट गरे।

कतिपय खेलाडीहरूले अझै सम्झौतामा हस्ताक्षर गरेका छैनन्।

क्यान अधिकारीहरूले सम्झौताभित्र रहेका खेलाडीले सङ्घको कुरा सार्वजनिक गर्दा त्यो खेलाडी र क्यानकै लागि अनुपयुक्त भएको माने।

चार खेलाडीलाई सोधिएको स्पष्टीकरणको संयुक्त उत्तरमा उनीहरूले क्यानविरुद्ध ११ बुँदे मागपत्र पेस गरेपछि विषयले थप चर्को रूप लियो।

दुई पटक सोधिएको स्पष्टीकरणमा खेलाडीहरू विरोध मात्र जनाएको भन्दै क्यानले कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँचसदस्यीय छानबिन समिति गठन गर्‍यो।

त्यही समितिले बुझाएको प्रतिवेदनको आधारमा भन्दै बैठकले खेलाडीहरूविरुद्ध अनुशासनको कारबाही गरेको हो।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द भन्छन्, "अनुशासन खेलाडीको सबैभन्दा ठूलो सम्पत्ति हो। त्यसबाट विचलित हुन थाल्यो भने प्रदर्शन नै प्रभावित हुन्छ। यो विषयमा खेलाडीहरू स्पष्ट हुन जरुरी छ।"

कारबाहीबाट क्यानले दुई कुरा स्पष्ट पार्न खोजेको देखिन्छ: पहिलो, सङ्घभन्दा ठूला खेलाडी होइनन् र दोस्रो, खेलाडीहरू आफ्नो सीमाभित्र बस्नुपर्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'म क्रिकेटमा सिस्टम बनाउने कोसिस गर्नेछु': पारस खड्का

वर्गीकरणमा किन विवाद?

राजीनामा दिइसकेका उपाध्यक्ष राजुबाबु श्रेष्ठको समितिले खेलाडीको वर्गीकरण गरेको थियो।

सन् २०२१ को एप्रिलदेखि डिसेम्बरसम्मको लागि गरिएको वर्गीकरणमा 'ए' श्रेणीमा सोमपाल कामी छैनन् भने रोहित पौडेल कुनै पनि श्रेणीमा परेका छैनन्।

त्योबाहेक गुलशन झा पनि श्रेणीभित्र अटाउनुपर्ने खेलाडीहरूको माग छ।

साथै वर्गीकरण गर्दा खेलाडीहरूको राय नलिएकोमा पनि उनीहरू खुसी छैनन्।

कप्तान मल्लले भनेका थिए, "खेलाडीको लागि गरिएको काममा हाम्रो पनि सल्लाह लिएको भए राम्रो हुने थियो र प्राविधिक त्रुटि पनि हुँदैनथ्यो। "

विगतमा २० जना खेलाडी वर्गीकरणमा पर्ने गरिएकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको निर्देशनअनुसार १८ जना खेलाडी मात्र वर्गीकरणमा परेका छन्।

त्यसले गर्दा पनि केही खेलाडी बाध्यात्मक रूपमा छुट्न गएको क्यान अधिकारीहरूको भनाइ छ।

नेपाली क्रिकेट खेलाडी

को-को परेका छन् वर्गीकरणमा?

वर्गीकरणमा मासिक ५०,००० रुपैयाँ तलब पाउने ए श्रेणीमा परेका खेलाडीहरू पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र करण केसी हुन्।

त्यस्तै मासिक ४०,००० रुपैयाँ तलब पाउने बी श्रेणीमा शरद भेषावकर, विनोद भण्डारी, सोमपाल कामी, कुशल मल्ल, अविनाश बोहरा र सुशन भारी छन्।

मासिक रु ३०,००० तलब पाउने सी श्रेणीमा कुशल भुर्तेल, आरिफ शेख, कमलसिंह ऐरी, आशिफ शेख, सन्दीप जोरा, पवन सर्राफ र शाहब अलाम छन्।

नेपाली खेलकुदमा राष्ट्रिय खेलाडीहरूले पाउने मासिक तलबमा यो सबैभन्दा राम्रो रकम हो।

अब के होला?

सामान्यता सङ्घले गरेको कारबाही भोग्नुको विकल्प खेलाडीहरूसँग छैन।

त्यसको अर्थ अर्को साताबाट पोखरामा हुने भनिएको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी भएमा यो अध्याय समाप्त हुनेछ। त्यहाँ फेरि नेपाली टोली सम्हाल्न आएका प्रशिक्षक पुबुदु दशानायकेले सन् २०२२ मा हुने टी-२० विश्वकप छनोटका लागि प्रशिक्षण थाल्नेछन्।

तर खेलाडी र क्यानको सम्बन्ध राम्रो हुन नसकेको इतिहास र आफ्नो माग पूरा गर्न क्यानसँग बारम्बार लड्नुपरेका कारण खेलाडी र क्यानबीच फेरि विवाद लम्बिन सक्ने आकलन पनि कतिपयले गरिरहेका छन्। यद्यपि यो घटनाले नेपाली क्रिकेटको धेरै पाटोमा भने असर पर्ने देखिन्छ।

क्यान अधिकारीहरूको "असक्षमता देखिएको" भनिएको कार्यलाई यसले ढाक्ने होइन नभई झन् उदाङ्गो पार्ने केहीको मान्यता छ।

अर्कोतिर राष्ट्रिय टोलीका खेलाडीहरूबीच बढ्दै गएको भनिएको गुटबन्दीले थप मलजल पाउन सक्छ, जुन सूक्ष्म रूपले विगतदेखि नै बढिरहेको थियो।

अनि अर्को प्रभाव पुस महिनाको दोस्रो साता धनगढीमा हुन लागेको क्यानको साधारण सभामा पर्न सक्नेछ।

उक्त सभामा रिक्त रहेको दुई पद उपाध्यक्ष र सचिवको निर्वाचन हुँदैछ।