पारस खड्का: अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास, 'अबको लडाइँ व्यवस्थापन सुधारमा'

पारस खड्का:
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले आफ्नो दुई दशक लामो अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याउने घोषणा गरेका छन्।

बाह्र वर्ष राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गरेका खड्कालाई नेपालको सबैभन्दा सफल कप्तान मानिन्छ।

खड्का नेपाली क्रिकेटका सबैभन्दा चर्चित र सफल खेलाडीमध्येमा पर्छन्।

उनले आईसीसी क्रिकेट लिग डिभिजन ५ बाट खेल्दै नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट मान्यता प्राप्त राष्ट्र बनाउन महत्त्वपूर्ण योगदान दिएका थिए।

अब क्रिकेट व्यवस्थापनमा

मङ्गलवार बिहान सामाजिक सञ्जालमार्फत संन्यास लिने घोषणा गरे।

संन्यासको निर्णयबारे बीबीसीसँग खड्काले भने, "दुई दशक मैदान भित्र लडेँ। अबको दिनमा [मेरो लडाइँ] क्रिकेटको व्यवस्थापनमा भूमिका खेल्नको लागि हुनेछ।"

"म त्यता पनि केही गरेरै देखाउन चाहन्छु। प्रणाली बनाउन तिर म कोसिस गर्नेछु।"

उनले खेलाडी नै रहेको बेला पनि नेपाल क्रिकेट सङ्घ भित्रको अव्यवस्थाविरुद्ध बारम्बार आवाज उठाउँदै आएका थिए।

क्रिकेट सङ्घको निर्वाचनमा आँखा

पारस खड्का:

तस्बिर स्रोत, RSS

दुई वर्षपछि क्रिकेट सङ्घको निर्वाचन हुँदा त्यसमा आफ्नो उपस्थिति जनाउने खड्काले बताए।

उनले भने, " क्रिकेट सङ्घको विधान अनुसार चुनावमा जान खेलाडीले दुई वर्ष क्रिकेट छोडेको हुनुपर्छ। त्यो हिसाबमा पनि समय मिलेको छ।"

खड्का गत चुनावमा पनि संलग्न हुन खोजेका थिए। तर अन्तर्राष्ट्रिय खेलाडी भएकै कारण रोकिनु परेको थियो।

तर खड्काले क्रिकेटमा रहेको विकृतिविरुद्ध लड्न आफ्नो एकल प्रयास पर्याप्त नहुने र त्यसमा सबैको साथको आशा गरेको पनि बताए।

उनले भने, "कोसिस गर्ने हो। यहाँ मान्छेको सोच्ने तरिकादेखि नै परिवर्तन जरुरी छ। यसो गर्न सके नेपाली क्रिकेटलाई धेरै उचाइसम्म पुर्‍याउन सकिन्छ।"

संन्यासको घोषणा

पारस खड्का:

आफ्ना सबै सामाजिक सञ्जालमा खड्काले मङ्गलवार बिहान संन्यासबारे अङ्ग्रेजी र नेपालीमा घोषणा गरेका थिए।

उनले लेखेका छन्: "अन्तर्राष्ट्रिय क्रिकेटरको रूपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै बामे सर्दैछन्।"

"क्रिकेटरका रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेँ।"

उनले नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता पनि व्यक्त गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, खेल्न छाडेपछि सङ्घमा जाने इच्छा

युवा खेलाडीमा विश्वास

राम्रो खेलिरहेकै बेला खड्काले संन्यास लिए पनि राष्ट्रिय टोलीको सन्तुलनमा असर नपर्ने उनको भनाइ छ।

वर्तमान खेलाडीहरूमा युवा बाहुल्यता रहेको र उनीहरूले राम्रो गर्न सक्ने विश्वास व्यक्त गर्दै खड्काले भने, "युवा टिम छ। टिमसँग ओडीआई खेल्न दुई वर्षको समय बाँकी छ।"

"खेलाडीहरूमाथि मलाई विश्वास छ। टिम भावना र व्यक्तिगत स्वार्थबाहिर रहेर खेले सफलता पाइन्छ।"

पारस खड्का:

तस्बिर स्रोत, RSS

पारस खड्काको खेल जीवन

सन् २००४ मा युवा टोलीमा प्रवेश गरेका खड्काले त्यसपछि निरन्तर दुई दशक खेले।

त्यस क्रममा उनले यू -१५, यू -१७ र यू -१९ हुँदै राष्ट्रिय टोलीसम्म पुगे।

अलराउण्डरको भूमिकामा निकै प्रभावशाली देखिएका खड्काको मुख्य विशेषता कप्तानको रूपमा गर्ने चुस्त निर्णय थियो।

गत वर्ष थाइल्यान्डमा एसीसी पूर्वीय क्षेत्रको टी-२० खेल्नु उनको राष्ट्रिय जर्सीबाट अन्तिम अन्तर्राष्ट्रिय खेल हो।

पारस खड्का:

तस्बिर स्रोत, RSS

मुख्य सफलता

खड्काको कप्तानीमा नेपालले सन् २०१४ को टी-२० विश्वकप खेल्यो जुन नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहभागिता थियो।

अनि सन् २०१८ मा नेपालले एक दिवसीय राष्ट्रको मान्यता पायो।

खड्का नेपालकोलागि एक दिवसीय र टी- २० दुबैमा पहिलो शतक प्रहार गर्ने खेलाडी हुन्।

उनले १० एकदिवसीय, ३३ टी-२० अन्तर्राष्ट्रिय, दुई प्रथम श्रेणी, ४४ लिस्ट-ए र ५६ टी-२० खेल खेलेका छन्।