सयौँ जन्मदिन मनाउँदै डेभिड एटन्बरो, उनको सम्मानमा जीवको नामकरण

सर डेभिड एटन्बरो शुक्रवार १०० वर्ष पुगेका छन्
    • Author, स्टीभन
    • Role, मनोरञ्जन रिपोर्टर
  • पढ्ने समय: ३ मिनेट
डेभिड एटन्बरो र एउटा इग्वाना
तस्बिरको क्याप्शन, आफ्नो लामो कार्यकालमा सर डेभिडको जम्काभेट 'लिभिङ विथ डाइनसोर्स'मा देखाइएको यो इग्वानाजस्ता धेरै जीवसँग भएको थियो

सर डेभिड एटन्बरोले सयौँ जन्मदिनमा आफूले पाएका सन्देशहरूबाट आफू "पूर्ण रूपमा प्रफुल्ल" भएको बताएका छन्।

एक सय वसन्त पार गरेका यी वरिष्ठ प्रसारक र पर्यावरणवादी शुक्रवार आफ्नो जन्मोत्सव मनाउँदै छन्। त्यस अवसरमा रोयल अल्बर्ट हल लन्डनमा एउटा विशेष साङ्गीतिक कार्यक्रम पनि आयोजना गर्न लागिएको छ।

बिहीवार एउटा अडिओ सन्देश जारी गर्दै सर डेभिडले भने, "मैले त चुपचाप मनाउने विचार गरेको थिएँ तर तपाईँहरूलै अरू तरिका सोच्नुभएको रहेछ।"

"शिशु शिक्षालयदेखि स्याहारघरमा बस्नेहरूसम्म सबै उमेरका अनगिन्ती व्यक्ति र परिवारले पठाएको शुभकामना सन्देशबाट म आह्लादित भएको छु।"

"म तपाईँहरू सबैलाई छुट्टाछुट्टै जबाफ पठाउन सक्दिनँ तर सबैलाई म धन्यवाद दिन चाहन्छु र कार्यक्रम आयोजना गर्नेहरूलाई भन्न चाहन्छु : तपाईँको दिन शुभ रहोस्।"

सर डेभिड पश्चिम लन्डनमा ८ मे १९२६ मा जन्मिएका थिए। उनले १९५२ मा बीबीसीमा काम गर्न सुरु गरे।

उक्त समारोहका बेला सर डेभिडले काम गरेको बेलाका वन्यजन्तुसम्बन्धी विशेष क्षणहरू स्मरण गरिने छ।

बीबीसीको कन्सर्ट अर्केस्ट्राले लाइभ सङ्गीतका साथमा उनका प्रख्यात टेलिभिजन शृङ्खलाका दृश्यहरू प्रसारण गर्ने छ।

बीबीसीले यो साता विशेष कार्यक्रमसहित सर डेभिडको सयौँ जन्मोत्सव मनाइरहेको छ।

गत सप्ताहान्तमा सर डेभिड र उनका समाचार उत्पादन टोलीका सदस्यहरूले सन् १९७९ मा 'लाइफ अन अर्थ' शृङ्खलामा गरेको कामबारे आफ्नो अनुभव सुनाएका थिए।

बीबीसीकी प्रमुख कन्टेन्ट अफिसर केट फिलिप्सले भनिन्, "अद्भुत व्यक्ति सर डेभिडको सयौँ जन्मोत्सव एउटा असाधारण क्षण हो।"

हिउँमा सर डेभिड एटन्बरो र उनको टोलीका सदस्यहरू भिडिओ छायाङ्कन गर्ने क्रममा
तस्बिरको क्याप्शन, असाध्यै प्रतिकूल मौसममा काम गर्दा पनि उनी समूहका एक सदस्यकै रूपमा काम गर्ने उनका सहकर्मी बताउँछन्

एटन्बरोको सम्मानार्थ नयाँ जीवको नामकरण

उनले 'द ट्रायल्स अफ लाइफ' र 'द ब्लू प्लानेट' लगायतका प्राकृतिक इतिहास शृङ्खलामा काम गरेका छन्।

उनकी दिवङ्गत पत्नी जेनबाट उनका दुई सन्तान छन्। जेनको मृत्यु सन् १९९७ मा भएको थियो।

उनका भाइ रिचर्ड ओस्कर पुरस्कारप्राप्त नायक तथा निर्देशक थिए। उनको मृत्यु सन् २०१४ मा भएको थियो।

न्याचरल हिस्ट्री म्यूजिअमले एटन्बरोप्रति सम्मान व्यक्त गर्न बिहीवार परजीवी बारुलोको प्रजातिलाई उनको नाम दिएको छ।

'एटन्बरन्कुलस टाउ' नामकरण गरिएको उक्त जीव चिलीको प्याटागोनिअन तालको रैथाने हो। सङ्कलन गरिएको चार दशकपछि उक्त जीवको नमुना सो ब्रिटिश सङ्ग्रहालयमा फेला परेको थियो।

विगतमा जङ्गली फूल, पुतली, फट्याङ्ग्रा, डाइनसोर र माछाका एउटाएउटा प्रजातिको वैज्ञानिक नामकरण गर्दा एटन्बरोको नाम प्रयोग गरिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।