घाउचोट लागेपछि जङ्गली चिम्पान्जीहरू आफैँ गर्छन् 'प्राथमिक उपचार'

तस्बिर स्रोत, Elodie Freymann
- Author, भिक्टोरिया गिल
- Role, विज्ञान संवाददाता, बीबीसी न्यूज
अफ्रिकी देश युगान्डामा चिम्पान्जीहरूले चोटपटक र अरू घाउ लाग्दा उपचार गर्न विभिन्न तरिकाले वनस्पतिहरू प्रयोग गरेर उपचार गरेको वैज्ञानिकहरूले देखेका छन्।
चोटपटक लागेको अवस्थामा चिम्पान्जीहरूले के गर्दा रहेछन् भन्ने खोजी गर्ने क्रममा ती जीवले आफ्नो उपचारका लागि निश्चित प्रकारका बोटबिरुवा खोज्ने र खाने गरेको गत वर्ष पत्ता लागेको थियो।
बुडोङ्गो फरेस्टसँगको सहकार्यमा अध्ययनमा सहभागी अक्स्फर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले चिम्पान्जीहरूले आफ्नो र कहिलेकाहीँ आफ्नो समूहका अरू जीवको 'प्राथमिक उपचार'का लागि औषधीय वनस्पति प्रयोग गरेको देखिने दृश्य पनि खिचेका छन्।
यसअघि अरू वैज्ञानिकहरूले दशकौँ देखि गरेका अवलोकनको अभिलेख र अक्स्फर्डका वैज्ञानिकहरूको पछिल्लो अध्ययनले चिम्पान्जीहरूले "जङ्गलमा प्राथमिक उपचार" गर्ने विभिन्न विधिहरू भएको देखाएका छन्।
पारिस्थितिक प्रणालीसम्बन्धी 'फ्रन्टिअर्स इन इकोलजी एन्ड ईभलूशन' जर्नलमा प्रकाशित शोधमा अनुसन्धानकर्ताहरूले जङ्गलमा स्वस्थ रहन चिम्पान्जी, ओराङ्उटान र गोरिलाहरूले प्राकृतिक औषधि प्रयोग गर्ने विभिन्न तरिकाबारे यसअघि जुटेका प्रमाणहरूमा थप तथ्यहरू जुटाएका छन्।
यसरी गर्छन् चिम्पान्जीले प्राकृतिक उपचार
अनुसन्धानको नेतृत्व गरेकी एलोडी फ्रिमनका अनुसार "जङ्गलमा चिम्पान्जीहरू बिरामी हुँदा वा घाइते हुँदा उनीहरूले उपचार र सरसफाइका लागि अपनाउने व्यवस्थित विधिहरू" हुने गर्छन्।
"त्यसमध्ये यहाँ पाइने वनस्पतिहरूको प्रयोग पनि पर्छ। उनीहरूले ती वनस्पति आफ्नो घाउमा दल्छन् वा चपाएर त्यसलाई चोट लागेको ठाउँमा लगाउँछन्," उनले भनिन्।
सानै उमेरकी एउटा पोथी चिम्पान्जीले पनि केही चपाएर आफ्नी आमाको चोटमा दलिदिएको गरेको दृश्य वैज्ञानिकहरूले अध्ययन गरेका थिए।
चिम्पान्जीहरूले आफूसँग सरोकार नभएका अरू जीवलाई घाउ हुँदा उपचार गर्न चासो दिएको अभिलेखबारे पनि अनुसन्धान गरिएको थियो।
चिम्पान्जीमा समानुभूतिको भावना

तस्बिर स्रोत, Elodie Freymann
फ्रिमन आफ्नो अनुसन्धानका कारण निकै उत्साहित छन्। "जङ्गली चिम्पान्जीहरूमा पनि अरूप्रति समानुभूतिको भावना हुन्छ भन्ने कुरामा यसले अर्को प्रमाण जुटाएको छ," उनी भन्छिन्।
डा फ्रिमन र उनका सहकर्मीहरूले बुडोङ्गो जङ्गलमा गरिएका हजारौँ अवलोकनको अभिलेख अध्ययन गरेका थिए।
कतिपय उदाहरणीय प्रमाणहरू सन् १९९०को दशकसम्मका थिए। ती अभिलेख पुस्तिकामा जङ्गलमा खटिएका स्थानीय कर्मचारी, अनुसन्धाताहरू र अवलोकनकर्ताहरूले आफूले देखेको कुरा लेख्दै आएका थिए। चिम्पान्जीहरूबारे आफूले देखेका सबै रोचक कुरा अभिलेखमा राख्ने गरिएको छ।
यस्ता पुस्तिकामा चिम्पान्जीहरूले अरू चिम्पान्जीलाई चोटपटक लागेका ठाउँमा पात दलिदिएको र हात पाखुराबाट पासो निकाल्न सहयोग गरेका विवरणहरू छन्।
चिम्पान्जी र मान्छेको बानी उस्तै

तस्बिर स्रोत, Elodie Freymann
चिम्पान्जीहरूका कतिपय आनीबानीहरू मानिसका जस्तै रहेको पुराना अभिलेखपुस्तिकामा उल्लेख छ।
एउटा टिपोटअनुसार मलत्याग गरिसकेपछि कतिपय चिम्पान्जीहरूले मलद्वार पातले पुछेको देखिएको थियो।
यो अनुसन्धान टोलीले चिम्पान्जीहरूले चोटपटक लागेका बेला खाने गरेका केही वनस्पतिको पहिचान यसअघि नै गरेको थियो।
वैज्ञानिकहरूले ती वनस्पतिका नमुना परीक्षण गर्दा अधिकांशमा एन्टि-ब्याक्टेरिअल अर्थात् ब्याक्टेरियालाई नियन्त्रण गर्ने क्षमता भएका तत्त्वहरू भएको पाइएको थियो।
मानवजाति, चिम्पान्जीसहितका पुच्छरविहीन वानरसदृश जीव र बाँदरहरू प्राइमेट हुन्।
नयाँ औषधि पत्ता लगाउन सहयोग पुग्ने विश्वास
वनस्पतिबाट औषधोपचार गर्न सकिन्छ भन्ने ज्ञान मानव र चिम्पान्जीमा मात्र सीमित छैन। हालैको एउटा अनुसन्धानमा जङ्गली ओराङ्उटानले आफ्नो अनुहारमा लागेको घाउ निको पार्न पात चपाएर प्रयोग गरेको देखिएको थियो।
जनावरका आनीबानीको अध्ययन र चिम्पान्जीहरूले बिरामी पर्दा वा चोटपटक लाग्दा प्रयोग गर्ने वनस्पतिको ज्ञानले नयाँ औषधिहरूको खोजीमा सहयोग पुग्ने विश्वास वैज्ञानिकहरूको छ।
डा फ्रिमनका अनुसार चिम्पान्जीहरूको आनीबानी र बुद्धिमत्ताबारे जति धेरै थाहा भयो "मानवजातिलाई प्रकृतिको संसारबारे कति थोरै कुरा मात्रै थाहा रहेछ भन्ने महसुस हुन्छ"।
"यदि मलाई यो जङ्गलमा कुनै पनि खानेकुरा र औषधिबिनै छोडियो र म घाइते वा बिरामी भएँ भने धेरै समय बाँच्न सक्छु भन्नेमा मलाई शङ्का नै छ," चिम्पान्जीहरूको ज्ञानसँग तुलना गर्दै डा फ्रिमन भन्छिन्।
"तर चिम्पान्जीहरूलाई यहाँका गुप्त कुराहरूबारे थाहा छ र आफूवरपर भएका आवश्यक कुराहरूका आधारमा कसरी बाँच्ने भन्ने थाहा छ र उनीहरू यहाँ स्वस्थ छन् र फस्टाएका छन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








