'मदिरा सेवन गर्दा भाले भुसुना अझ आकर्षक बन्छन्'

किवी फलमाथि बसेर समागम गर्न लागेका भाले र पोथी भुसुना (फ्रूट फ्लाइ)

तस्बिर स्रोत, Anna Schroll

तस्बिरको क्याप्शन, पानी पिएकाभन्दा मदिरा पिएका भाले भुसुना समागम गर्न बढी सफल भए
    • Author, टिम डड
    • Role, जलवायु तथा विज्ञान संवाददाता

'एल्कहोल' अर्थात् मदिरा सेवन गर्ने 'फ्रूट फ्लाइ' भनिने एक किसिमका भुसुनाका भालेहरूप्रति पोथीहरू बढी आकर्षित हुने गरेको एउटा अध्ययनले देखाएको छ।

भाले भुसुनाको आहारामा मदिरा थपिँदा पोथीलाई आकर्षित गर्न तिनको शरीरले बनाउने र निकाल्ने रासायनिक पदार्थको मात्रा बढ्छ र ती धेरै पोथीहरूसँग समागम गर्न सफल हुन्छन्।

पाकेका वा सडेगलेका फलफूल र खाद्यपदार्थमा झुम्मिने भुसुनाको वैज्ञानिक नाम 'ड्रोसोफिला मेलानोगास्टर' हो। फलफूल र खाद्यपदार्थ कुहिँदा बिस्तारै मदिरा निस्कन्छ।

वैज्ञानिकहरूले भुसुनाहरू किन मदिरा मन पराउँछन् र त्यसले तिनमा कस्तो प्रभाव पार्छ भन्ने जान्ने प्रयास गरेका छन्

मदिराप्रति भुसुनाहरूले देखाएको आकर्षणबारे केही मान्यताहरू, जस्तै - भालेहरू परमानन्दको अवस्थामा रहन चाहन्छन् वा पोथीहरूले अस्वीकार गरेका भालेहरू समागमबाट प्राप्त हुने चरम सुखको विकल्पको खोजीमा हुन्छन् भन्ने - निकै प्रचलित छन्। यसअघि गरिएको अनुसन्धानले ती मान्यताको जाँच गरेको थियो।

माक्स प्लाङ्क इन्स्टिट्यूटको ईभलूशनरी न्यूरोईथोलजी विभागका प्रमुख तथा अनुसन्धानकर्ता बिल ह्यान्सनका अनुसार पहिलाका अनुसन्धानहरूमा मानवीय दृष्टिकोणबाट भुसुनाको व्यवहारको अध्ययन गरिएको थिए। तर उनको नेतृत्वमा भएको अध्ययनले मदिरा सेवनबाट भुसुनाले प्रजननका लागि कस्तो लाभ पाउँछ भनेर खोजेको छ।

"चिन्तामा परेर भुसुनाले मदिरा सेवन गर्छन् जस्तो हामीलाई लाग्दैन," उनले भने।

यौनिक सङ्केत प्रसार गर्ने पदार्थ

सडेगलेका फलफूलमा हुने कार्बोहाइड्रेट तथा यीस्ट अनि मदिराप्रति भुसुनाहरूको आकर्षण छुट्ट्याउन नसकिने उनको भनाइ छ।

यो अध्ययनमा एल्कहोल, विशेष गरी मेथनोलका कारण भालेहरूमा यौनिक सङ्केत प्रसार गर्ने 'फेरमोन' भनिने रासायनिक पदार्थको उत्पादन र निष्काशन बढ्छ भन्ने देखियो। त्यही पदार्थका कारण भालेप्रति पोथीहरू बढी मोहित हुन्छन्।

कुनै जीवले आफ्नै प्रजातिका अरू जीवको व्यवहार प्रभावित पार्न हावामा फेरमोन निकाल्छ।

तसर्थ भाले भुसुनाहरू, विशेष गरी पहिला समागम नगरेका 'कुमार' भुसुनाहरू, एल्कहोलप्रति धेरै आकर्षित हुन्छन्।

मस्तिष्कको भूमिका

यो अध्ययनबाट एल्कहोलको गन्धमा भुसुनाको प्रतिक्रिया तिनको मस्तिष्कमा हुने तीनवटा भिन्नाभिन्नै तन्त्रिका कोशिकाहरूले नियन्त्रण गर्ने कुरा पनि पत्ता लागेको छ।

तीमध्ये दुइटा कोशिकाले एल्कहोल थोरै मात्रामा हुँदा भुसुनालाई त्यसतिर आकर्षित गर्छन् भने मात्रा अत्यधिक हुँदा ठिक्क उल्टो प्रभाव पार्छ।

एल्कहोल हानिकारक पनि हुन्छ। त्यसैले भुसुनाको मस्तिष्कले त्यो सेवन गर्दा हुने लाभ र हानि सतर्कतापूर्वक हिसाब गर्नुपर्छ। त्यसका लागि मस्तिष्कले आकर्षण र विकर्षणका सङ्केतहरूबीच सन्तुलन मिलाउँछ।

"अर्थात् भुसुनामा हानि नपुग्ने गरी मदिरा सेवनबाट हुने सबै लाभ लिन सघाउने एउटा नियन्त्रण-संयन्त्र हुन्छ," यो शोधका मुख्य लेखक तथा यूनिभर्सिटी अफ नब्र्यास्काका वैज्ञानिक ईअन कीसीले भने।

यो अनुसन्धानका लागि वैज्ञानिकहरूले भुसुनामा हुने शारीरिक प्रक्रियाहरूको अध्ययन (मस्तिष्कमा हुने प्रक्रियाहरू हेर्न प्रयुक्त इमेजिङ विधिसहित), हावामा भएका गन्धहरूको रासायनिक विश्लेषण र भुसुनाहरूको व्यवहारको अध्ययन गरेका थिए।

यो शोध यही साता साइअन्स एड्भान्सेस मा प्रकाशित भएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।