कसरी केही जनावरले पनि ख्यालठट्टा गर्छन्

तस्बिर स्रोत, Getty Images
- Author, ज्यास्मिन फक्स-स्केली
- Role, बीबीसी फ्यूचर
हामीलाई मान्छेले मात्र हाँस्ने, हँसाउने वा एकअर्कासँग जिस्किने कार्य गर्न सक्छ जस्तो लाग्छ। तर पृथ्वीका अन्य प्राणीहरूले पनि आपसी सम्बन्ध राम्रो बनाउन यस्तो गर्ने गरेका पाइएको छ।
एकअर्कासँग ख्यालठट्टा गर्ने र जिस्किने क्षमताले गर्दा सामान्यतया मानिस अन्य जनावरभन्दा फरक रहेको मान्ने गरिन्छ।
हामी हाँस्न मन पराउँछौँ र हाँस्यव्यङ्ग्यप्रति हामी प्राकृतिक रूपमा नै आकर्षित हुने गर्छौँ। मात्र तीन महिना पुगेका शिशुहरू पनि हाँस्छन् र आमाबाबुले हास्यास्पद अनुहार बनाउँदा रमाइलो मान्छन्। आठ महिना पुग्दासम्म बच्चाहरूले आफ्नो अनुहार, शरीर र आवाज प्रयोग गरि ठूलाहरूलाई हँसाउन जानिसकेका हुन्छन्। अझ पछि त बच्चाहरू पूर्णकालीन हास्यकलाकार नै बनेर जान्छन्। उनीहरू आफ्ना आमाबुवाका साथ ख्यालठट्टा गर्न जानाजानी खेल्न नहुने सामानसँग मुस्कुराउँदै खेल्न थाल्छन्।
तर एउटा नयाँ अध्ययनमा अन्य प्राणीहरूले पनि आपसमा ख्यालठट्टा गर्ने देखिएको छ। क्यालिफोर्निया विश्वविद्यालय लस एन्जलसका पोस्ट-डक्टोरल शोधार्थी इजाबेल लाउमरले आफ्ना सहकर्मीहरूका साथ मिलेर ठूला वानरहरू (ग्रेट एप्स) ले आफ्ना समुहका अन्य जनावरहरूसँग अन्तर्क्रिया गरेको दृश्यहरू सहितको ७५ घण्टाभन्दा लामो अवधिका भिडिओहरू हेरिन्।
ओराङ्गउटाङ्ग, चिम्पान्जी, बोनोबो, गोरिल्ला जस्ता ठूला वानरहरूलाई मानवजातिका नजिकका प्रजाति मानिन्छ। यो अध्ययनका लागि हेरिएका वानरहरू सबै चिडियाखानामा रहेका थिए र तिनीहरूको दिनचर्याको भिडिओ खिचिएको थियो।
ती भिडिओमा यी चारै प्रजातिका वानरहरूले एकअर्कालाई जिस्काउने गरेको देखियो। अनुसन्धानकर्ताहरूले १८ किसिमका जिस्काउने व्यवहार पहिचान गरे जसमध्ये घोच्ने, पिट्ने, आफ्ना साथीका क्रियाकलापमा बाधा हाल्ने, पछार्ने र शरीरका विभिन्न अङ्ग तान्ने सबैभन्दा धेरै देखिए।
केही वानरहरूले वस्तु वा आफ्ना शरीरका अङ्ग आफ्ना साथीको अनुहार अगाडि हल्लाउने गरेको र ओराङ्गउटाङ्गको हकमा एकअर्काको कपाल तान्ने गरेको देखियो।

तस्बिर स्रोत, Getty Images
"हामीले अर्को वानरको हेरचाहमा व्यस्त हुँदा बच्चा वानर वयस्कको पछाडि आइ लुक्ने र कहिलेकाहीँ ठूलालाई पनि थाहा नहुने गरी सुटुक्क पछाडिबाट हिर्काएर वा घोचेर भाग्ने गरेको देख्यौँ," उक्त अध्ययनका प्रथम लेखिका लाउमरले भनिन्।
"त्यसो गरेपछि बच्चाहरू वयस्कको प्रतिक्रियाका लागि पर्खन्थे। यदि वयस्कले केही प्रतिक्रिया नदिए उनीहरू जिस्काइ नै रहन्थे र आफूलाई बेवास्ता गर्न नसकियोस् भनेर कहिलेकाहीँ वयस्कलाई पूरा बल लगाएर धकेल्ने पनि गर्दथे।"
शोधकर्ताहरूका अनुसार बालक वानरहरूको व्यवहार मानव बच्चाहरू समान नै थियो। हाम्रा बच्चा जस्तै उनीहरू पनि जानाजानी, उत्तेजक तरिकाले निरन्तर जिस्की रहन्छन् र जिस्काइएको वानरको प्रतिक्रिया हेर्छन्। यो भनेको हामीले कसैलाई जिब्रो देखाएर भागेको जस्तै हो।
पशुजगत्मा जिस्किने व्यवहार
जिस्काइको यस्तो व्यवहारबाट व्यङ्ग्यको थप जटिल स्वरूप विकास हुन सक्ने सम्भावना छ। "मानिसहरूमा व्यङ्ग्य गर्दा एकदम जटिल मानसिक प्रक्रियाहरू सक्रिय हुन्छन्," लाउमरले भनिन्। "यसको लागि हामीले अरू कसैको दृष्टिकोणबाट संसार हेर्न सक्नुपर्छ, हामीसँग सामाजिक मान्यताहरूको ज्ञान हुनुपर्छ, अरूको प्रतिक्रियाको अनुमान लगाउने क्षमता हुनुपर्छ र हामी सङ्गीहरूको अपेक्षा उल्लङ्घन गर्दा विकसित हुने अवस्था बुझ्न सक्नुपर्छ।"
अध्ययन गरिएका चारै वानर प्रजातिहरूमा जिस्किने क्षमता देखिएकोले एक करोड ३० लाख वर्षअगाडि पृथ्वीमा रहेका मानव-वानरको अन्तिम साझा पुर्खाले पनि ठट्टा गर्न सक्थे भनी बुझ्न सकिन्छ।
यद्यपि धेरै वैज्ञानिकहरू अन्य धेरै प्रजातिले पनि ठट्टा गर्ने व्यवहार देखाउने विश्वास गर्छन्। उदाहरणका लागि, जीववैज्ञानिक चार्ल्स डार्विनले आफ्नो 'द डिसेन्ट अफ म्यान' किताबमा कुकुरहरूले पनि ठट्टा गर्ने बताएका छन्।
"यदि कुकुरलाई देखाई कुनै लट्ठी वा वस्तु फ्याँकियो भने उसले त्यो लिएर केही पर जान्छ र आफ्नो मालिकले लिन आउँछ कि भनेर हेर्छ। यदि आयो भने उसले त्यो लट्ठी लिएर भाग्छ र खुसी हुन्छ।"

तस्बिर स्रोत, Getty Images
कुकुर पाल्ने अन्यले पनि ध्यान दिएका होलान् कि खेल्दै गर्दा कुकुरहरू हाँसो जस्तो सुनिने गरी सास फेर्छन्। सन् २००५ मा एक अध्ययनको सिलसिलामा पशुव्यवहारविद् प्याट्रिसिया सिमोनेले उद्धार गरिएका कुकुरहरूका अगाडि त्यस्तो "हाँसो" को रेकर्डिङ्ग बजाएर सुनाएकी थिइन्। यसो गर्दा ती कुकुरहरूलाई "अलि राहत महसुस" भएको देखिएको उनले बताएकी थिइन्।
कोलोराडो विश्वविद्यालयमा परिस्थितिकी प्रणाली तथा जैविक विकासका एमेरिटस प्राध्यापक मार्क बेकफले आफूसँग कुकुरहरूले जिस्किने व्यवहार देखाउने गरेको सम्बन्धी दशकौँदेखि सङ्कलन गरिएको डेटा रहेको बताएका छन्। उनले आफ्नो पेसागत जीवनमा घोडा, भालु र रातो माको सहित धेरै प्रजातिहरूले हास्यकलाकारझैँ व्यवहार देखाउने कुरा सुनेको बताए।
मुसाहरू पनि हाँस्छन्
यसैबीच डल्फिनहरूले जिस्केर भिडन्त गर्दा खुसीका आवाज निकाल्ने र हात्तीहरू उत्साहित हुँदा ठूला आवाज निकाल्ने गरेका अन्य शोधकर्ताहरूले देखेका छन्। सुगाहरूले पनि सिट्ठी आदि बजाएर अरू जनावरहरूलाई जिस्काउँछन्।
मुसाहरू समेत हाँस्ने गरेका प्रमाण पाइएको छ।
विगत एक दशकदेखि अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयमा अनुसन्धानका सहप्राध्यापक जेफ्री बर्गडोर्फले मुसालाई काउकुती लगाइरहेका छन्। मुसाहरूलाई काउकुती लाग्दा तिनीहरू तीखो आवाजमा हाँसिरहेकाझैँ चिच्याउँछन्। तिनीहरू काउकुतीका लागि पुनः पुनः आइरहन्छन् र हम्बोल्ट विश्वविद्यालयमा गरिएको छुट्टै अनुसन्धानमा देखिए अनुसार काउकुतीको "इनाम" का लागि लुकामारी खेल्न समेत सिक्न सक्छन्। अब बर्गडोर्फ र उनको टोलीले यी सबै ज्ञानलाई उदासीनता अर्थात डिप्रेशनको उपचारका लागि जानकारी प्रदान गर्न प्रयोग गरिरहेका छन्।
"जनावरहरूले यी आवाज निकाली रहँदा उनीहरू सबैभन्दा बढी सतर्क हुने हामीले देखेका छौँ," बर्गडोर्फ जानकारी दिए।

तस्बिर स्रोत, Getty Images
"मेरा सुपरिवेक्षक [स्नायुविद् याक पान्सेप] ले जहिले खेललाई मस्तिष्कको मल भन्थे, जुन सत्य पनि हो। खेल्दा तिनीहरूको मस्तिष्कले नयाँ सम्बन्धहरू विकास गर्छन्। यसले गर्दा ठट्टा गर्दा हामी उत्कृष्ट मानसिक अवस्थामा हुन्छौँ भनी भन्न सक्छौँ,"उनले भने।
तर मुसालाई काउकुती मनपर्ने भन्दैमा तिनीहरूलाई व्यङ्ग्य पनि मन पर्ने भन्न सकिन्छ त? धेरै बृहत् अध्ययनहरू नगरिएका हुनाले जनावरको व्यङ्ग्यचेतको बारेमा हामीसँग ठोस प्रमाण छैनन्।
जनावरहरूको व्यवहारको उद्देश्य निश्चित गर्न पनि गाह्रो छ। लाउमरले अध्ययन गरेका वानरहरूले जिस्की नै रहेका थिए कि द्वन्द्व कम गर्न, खेल खेल्न वा ध्यान आकृष्ट गर्न खोजिरहेका थिए?
आखिर सँगै हाँसेर न साथी बन्छन्
के मलाई जनावरहरूमा व्यङ्ग्यबारे चेतना हुन्छ जस्तो लाग्छ? अवश्य लाग्छ, तर प्रमाणित गर्न कठिन छ," बेकफले स्वीकारे।
"मैले दुईटा कुकुर भएको कुनै कुनै घरमा देखेको छु, खाना खाने समयमा एउटा कुकुर ढोकामा गइ भुक्न थाल्छ। यो देखेर दोस्रो कुकुर ढोकामा को आएको छ भनेर हेर्न जान्छ र यही बेला पहिलो कुकुर आएर दोस्रो कुकुरको खाना खाइदिन्छ। यो भनेको कुकुर जिस्केको पनि मान्न सकिन्छ वा उसले बढी खान पाइन्छ भनेर सिकेको तरिका पनि हुनसक्छ," उनले भने।
फेरि ठट्टा गर्ने व्यवहार जनावरमा किन विकास हुन्थ्यो भन्ने पनि प्रश्न छ। मान्छेहरूमा यो सम्बन्ध सुदृढ गर्ने उपायका रूपमा विकास भएको विश्वास गरिन्छ। आखिर सँगै हाँसेर न साथी बन्छन्।
जनावरमा पनि यही उद्देश्यका साथ ठट्यौली व्यवहार विकास भएको हुनसक्छ।
"मान्छेहरूलाई चुटकिला आदि व्यङ्ग्यले अवस्था सहज बनाउन, सामाजिक अवरोध हटाउन र सम्बन्ध गाढा बनाउन सहयोग गर्छ," लाउमरले भनिन् । "अन्य जनावरमा पनि यही हो कि भनेर हामीलाई थाहा छैन तर सम्भावना रहेको छ। यो पत्ता लगाउन हामीलाई थप परीक्षण र अवलोकन आवश्यक हुन्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








