कोरोना भाइरस: चिडियाखानामा पशुपक्षीको यसरी फेरियो गतिविधि
ललितपुरस्थित सदर चिडियाखानामा रहेका जनावरले अकस्मात् मानिसहरूले आउन छोडेको चाल पाएको रेखदेखमा खटिएका कर्मचारीहरू बताउँछन्।
झण्डै ११२ प्रजातिका एक हजारभन्दा बढी जनावरहरू रहेको यो चिडियाखाना अहिले लकडाउनका कारण बन्द छ।
करिब ७० जना कर्मचारीले रहेको चिडियाघरमा हाल स्वास्थोपचार, खानाको बन्दोबस्ती तथा रेखदेख र सुरक्षासम्बद्ध गरी २० जना सक्रिय रहेको बताइन्छ।
सदर चिडियाखानाका प्रमुख डा. चिरञ्जिवीप्रसाद पोखरेलका अनुसार बाँदर र बिरालो प्रजातिका जनावर र चराचुरुङ्गीले विगतको तुलनामा केही भिन्न महसुस गरेको बताए।
डा. पोखरेलले भने, "अहिले जनावरको आनीबानी फरक देखिएको छ। मानिससँग घुलमिल हुने आचरणका बाँदर प्रजाति अहिले मानिस नदेख्दा निराश बनेका छन्।"
तर कैयन् जनावर तथा चराचुरुङ्गीहरू भिडभाड नहुनाले स्वतन्त्रता थपिदिएको छ। केहीको दिनचर्या भने सामान्य देखिएको छ।
डा. पोखरेलले भने, ''मानिसहरूको भिडभाड नभएकोले मयुर नाँच्न पाएका छन् भने उज्यालोमा खासै नदेखिने बाघ, चितुवा र भालुहरू देखिन थालेका छन्।"
"पहिला लुकेर बस्ने बिरालो प्रजातिका जनावर बाहिर देखिन थालेका छन्।''
चिडियाखानाका वरिष्ठ प्राविधिक राधाकृष्ण घर्तीका अनुसार पोखरी आसपासका हाँसहरूले समेत प्रजनन तथा अण्डा कोरल्न पर्याप्त समय पाएका छन्।

तस्बिर स्रोत, RSS
जनावरलाई व्यस्त राख्न अनेक उपाय
मानिसहरूसँग भेटघाट नहुँदा पनि उनीहरूलाई व्यस्त राख्न विभिन्न उपाय अपनाइएको पशुचिकित्सक डा. प्रवतजङ्ग थापाले बताए।
उनले भने, "पहिले नियमित रूपमा उनीहरूको खाना तथा खेलौना जहाँ राखिन्थ्यो अहिले त्यो भन्दा केही फरक स्थानमा राखिदिन्छौँ जसले गर्दा उनीहरूले खाना खोजेर खान परोस्।"
छोपेर वा रूखका हाँगा तथा डोरीमा झुण्ड्याएर वा उनीहरूले झट्ट नभेट्ने स्थानमा खानेकुरा राख्दा उनीहरूको व्यस्तता बढेको थापाले बताए।
तर सरसफाइ गर्ने तथा खाना वितरणको समयतालिकामा भने कुनै परिवर्तन नगरिएको चिडियाखाना प्रशासनले जनाएको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

त्यसका अतिरिक्त आफ्नो कारणले उनीहरूलाई कुनै खालको रोग वा सङ्क्रमण नसरोस् भनेर आफूहरू थप सक्रिय र चनाखो भएको उनीहरूले बताएका छन्।
घर्तीले भने, "कोरोनाभाइरसको सङ्क्रमण बढेका कारण मानिसबाट केही जनावरमा सर्ने सम्भावित जोखिम कम गर्न हामीले विशेष सुरक्षा सचेतना अपनाएका छौँ।"
बन्दाबन्दीको अवधिभर चिडियाखानामा खटिने कर्मचारीलाई पहिले नै यकिन गरेर कोरोनाभाइरसको जोखिम कम गर्न भित्रै बस्ने व्यवस्था मिलाइएको उनीहरूले बताए।
त्यसैगरी बाहिरबाट ल्याउनुपर्ने माछा,मासु, दाना तथा फलफूल लगायतका खाना र अन्य बन्दोबस्तीका सामान समेत आवश्यक जाँच तथा डिसइन्फेक्ट गरेर मात्र भित्र लैजाने गरिएको प्रमुख पोखरेलले बताए।
के खान्छन् चिडियाखानाका जनावर?
चिडियाखाना प्रशासनका अनुसार दैनिक ३५ किलोसम्म राँगाको मासु, १० किलोसम्म कुखुराको मासु तथा पाँच किलोसम्म माछाको खपत हुने गरेको छ।
त्यसका अतिरिक्त विभिन्न फलफूल, गहुँ, चामल, मकै र पीठो लगायत भण्डार गरेर राखिएको छ।
तर अन्न वा दानाको अभाव नहुने अनुमान गरिए पनि लकडाउन थप लम्बिएमा माछा,मासुको अभाव खट्किन सक्नेमा उनीहरूको चिन्ता छ।
प्रमुख पोखरेलले भने, "त्यसका लागि उपत्यका बाहिरबाट समेत ल्याएर भण्डारण गर्नुपर्ने हुन सक्छ तर हामीसँग एक हप्ताका लागि भन्दा बढी माछा,मासु भण्डारण गर्ने क्षमता छैन।"
तर माछाको हकमा भने हाल चिडियाखाना परिसरमै रहको पोखरीका माछा प्रयोग गरिएको उनले बताए।
चिडियाखानाका चिन्ता
चिडियाखानाको मुख्य चिन्ता भनेको आर्थिकमन्दी रहेको उनीहरूले बताएका छन्।
चिडियाखानाका अनुसार हालसम्म टिकट बेचेर पैसा सङ्कलन गरी खर्च व्यवस्थापन गरिँदै आएकोमा हाल आगन्तुक नभएको कारणले आर्थिक सङ्कट बढ्न थालेको छ।
पोखरेलले भने, "सरकारले हामीलाई छुट्टै बजेट नछुट्ट्याएको र टिकट बेचेरै खर्च चलाउनुपर्ने हुनाले हाम्रो गुनासो राष्ट्रिय प्रकृति संरक्षण कोषलाई सुनाएका छौँ।"
उनीहरूका अनुसार टिकट बेचेरै सरदर दैनिक चार लाख रुपैयाँसम्म आम्दानी हुने गरेको थियो।