कोरोना भाइरस सङ्क्रमण : के दोहोर्याएर कोभिड-१९ हुन सक्छ?

तस्बिर स्रोत, Getty Images
केही बिरामी कोभिड-१९ बाट निको भए। तर फेरि पछि तिनमा सङ्क्रमण पाइयो। सामान्यतया साधारण रुघाजस्तै कोरोनाभाइरस एकचोटि सङ्क्रमण भए प्रतिरोधी क्षमता बढ्छ। तर यो भाइरसमा के फरक छ?
सत्तरी वर्ष नाघेका एक पुरुष बिरामी चिकित्सकहरूसामु अनौठो र चिन्ताजनक उदाहरण बने।
ती व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण पाइएपछि टोक्योको अस्पतालमा आइसोलेशनमा राखिएको थियो।
जापानी समाचार प्रसारक एनएचकेका अनुसार ती निको भए र सामान्य जीवनमा फर्किए। उनले सार्वजनिक यातायात पनि प्रयोग गरे। केही दिनपछि पुन: बिरामी भए र उनलाई ज्वरो आयो।
ती पुरुष अस्पताल फर्किए। त्यहाँ उनलाई फेरि उक्त भाइरसको सङ्क्रमण भएको पाइयो।

तस्बिर स्रोत, Getty Images
उनको जस्तो घटना अरू नभएको त होइन तर यसरी पुन: सङ्क्रमित हुनेको सङ्ख्या न्यून छ। तर पनि कतिपयमा छ। किन होला?
भाइरस फर्कियो
स्पेनका जैविक प्रविधिसम्बन्धी राष्ट्रिय केन्द्रका भाइरोलजिस्ट लुई इन्वानेस भन्छन्: कम्तीमा १४ प्रतिशत बिरामीमा पुन: कोभिड-१९ भएको पाइएको छ।
उनको विश्वासमा यो फेरि सङ्क्रमण भएको नभई पुरानै भाइरस फेरि बल्झिएको हो।
"मेरो विचारमा यो भाइरसको पनि मानिसमा प्रतिरोधी क्षमता त जन्मन्छ तर कतिपयमा भने प्रतिरोधी क्षमता सशक्त नहुन सक्छ," उनले भने।
"जब प्रतिरोधी क्षमता खस्किन्छ तब शरीरमा रहेका भाइरस फेरि बल्झन्छन्।"
भाइरस शरीरमा रहन्छ
कतिपय भाइरस शरीरमा तीन महिना वा लामो अवधिसम्म रहन्छन्।

तस्बिर स्रोत, Getty Images
कोभिड-१९ का बारे वैज्ञानिकहरूले अनौठो मानेको कुरा चाहिँ के हो भने निको भइसकेका बिरामीहरूमा यसरी पुन: सङ्क्रमण निकै चाँडो अवधिमा पाइएको छ।
भिन्न भिन्न रोगका लागि प्रतिरोधी क्षमता भिन्न भिन्न प्रकारले काम गर्छ भन्ने हामीलाई थाहा छ।
दादुराको हकमा बाल्यकालमा दिइएको एउटै खोपले जीवनभरि प्रतिरोधी क्षमता बनाइराख्छ। तर कतिपय स्वास्थ्य अधिकारीहरूले भने निश्चित उमेरका मानिसहरूलाई सुरक्षित राख्न पहिलेको भन्दा आधुनिक खोप पुन: दिनु राम्रो हुन्छ।
अन्य कतिपय भाइरसका निम्ति खोप उति प्रभावकारी हुँदैनन्। त्यसैले त्यस्ता खोप बेला बेला फेरि दिइरहनुपर्छ।
अनि कतिपय यस्ता खोप पनि छन् - उदाहरणका लागि इन्फ्लूएन्जाको वा साधारण रुघाको खोप - जुन हरेक वर्ष दिनुपर्छ किनकि त्यसको भाइरस बारम्बार परिवर्तन भइरहन्छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

अझै बुझ्न बाँकी
कोभिड-१९ नयाँ भाइरस भएकाले यसको व्यवहार बारे वैज्ञानिकहरूलाई बुझ्न बाँकी छ। त्यसपछि मात्रै किन छिटो पुन: सङ्क्रमण भएको भन्ने पत्ता लाग्ला।
मड्रिडस्थित कार्लोस तृतीय स्वास्थ्य प्रतिष्ठानका अनुसन्धाता इसिडोरो मार्टिनेज पनि कोरोनाभाइरसको पुन: सङ्क्रमण हुन सक्ने भए पनि कोभिड-१९ को पुन: सङ्क्रमण चाँडो भएकोमा अनौठो मान्छन्।

तस्बिर स्रोत, Getty Images
"यदि लामो समयसम्म प्रतिरोधी क्षमता नरहने हो भने एक दुईवर्षपछि आउने अर्को महामारीमा फेरि सङ्क्रमित भइन्छ। त्यो सामान्य हो," मार्टिनेजले बीबीसीलाई बताए।
"तर निको भएलगत्तै फेरि त्यही भाइरसबाट सङ्क्रमित भइहाल्नु भनेको अनौठो हो। अहिलेसम्म हामीले बुझेअनुसार यो कोरोनाभाइरस फ्लूको भाइरस जति परिवर्तित भइरहँदैन," उनले भने।
अस्थायी वृद्धि
उनको भनाइ इन्वानेसको जस्तै छ।
"सम्भवत: के भइरहेको हुन सक्छ भने जो व्यक्ति कोभिड-१९ बाट निको भएका छन् तिनमा फेरि बाँकी रहेका भाइरसको अस्थायी वृद्धि भएको छ।"
तर दुवै अनुसन्धानकर्ताहरूले कोभिड-१९ बारे जान्न थप अनुसन्धान आवश्यक रहेको बताए।
प्यान अमेरिकन हेल्थ अर्गनाइजेशनले बीबीसीलाई भन्यो, "यो (कोभिड-१९) नयाँ भाइरस हो जसका बारे हामी हरेक दिन नयाँ कुरा थाहा पाइरहेका छौँ।" त्यसैले पुन:सङ्क्रमण बारे पनि अहिले नै यही हो भन्न सकिँदैन।
तर विज्ञानले सरकारहरूलाई के कस्ता जनस्वास्थ्यका उपाय अपनाउनु सही हुन्छ भन्ने बारे सघाउन यथासम्भव उत्तर खोजिरहेको छ।









