कोरोनाभाइरस: न्यूयोर्कमा 'बुलेट ट्रेनको गतिमा' सङ्क्रमण फैलँदो

तस्बिर स्रोत, Getty Images
अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रू कोमोले कोभिड-१९ 'बुलेट ट्रेन' भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधोपचार सामग्रीको आपूर्तिका लागि अपील गरेका छन्।
मङ्गलवार पत्रकारहरूसँग बोल्दै उनले सङ्क्रमणको दर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताए।
सङ्घीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको उनले गुनासो गरे।
सङ्घीय सरकारले चार ४०० वटा भेन्टिलेटर पठाएकोमा उनले आलोचना गरे। न्यूयोर्कमा ३०,००० वटा भेन्टिलेटरको खाँचो रहेकोमा अहिले त्यहाँ केवल ७,००० वटा रहेको उनले बताए।
अमेरिका अर्को 'केन्द्रबिन्दु'
न्यूयोर्कमा हालसम्म २५,००० जनालाई सङ्क्रमण अनि कम्तीमा २१० जनाको मृत्यु भएको पुष्टि भएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्गलवार अमेरिका कोरोनाभाइरस प्रकोपको अर्को केन्द्रबिन्दु बन्ने सम्भावना रहेको बतायो।

तस्बिर स्रोत, Getty Images
राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को महिना अमेरिका व्यापारका लागि खुला हुने आशा व्यक्त गरेपछि ती चेतावनी आएका छन्।
न्यूयोर्कबाट आउनेहरू क्वारन्टीनमा
अमेरिकी सरकारले केही दिन यता न्यूयोर्क सहरबाट बाहिरिएका प्रत्येक मानिसलाई आगामी दुई सातासम्म स्वयं अलग्गिएर 'सेल्फ क्वारान्टीन' अर्थात् एकान्तवासमा बस्न भनेको छ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले सो सहर सङ्क्रमणको एउटा केन्द्रबिन्दु भएको बताए।
अमेरिकाभरि कोरोनाभाइरस सङ्क्रमण नयाँ पत्ता लागेकामध्ये दुईतिहाइ न्यूयोर्कमा छन्।
अमेरिकामा ५३,००० भन्दा धेरैलाई सङ्क्रमण भएको पाइएको छ। झन्डै ७०० जनाको ज्यान गइसकेको छ।
राष्ट्रपति ट्रम्पले भने, "हाम्रा निर्णय वास्तविक तथ्यमा आधारित हुनेछन्। ईस्टर पर्वसम्ममा अमेरिकीहरू काममा फर्किनेमा म आशावादी छु। तर कुनै पनि निर्णय अमेरिकीहरूको स्वास्थ्य र सुरक्षामा आधारित भएर गरिनेमा म सबैलाई आश्वस्त पार्न चाहन्छु।"

- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्

अन्यत्रको अवस्था
ब्रिटेनले आगामी साता ४,००० मानिसलाई उपचार गर्न सक्ने आपत्कालीन उपचारकक्ष खोल्ने जनाएको छ।
स्वास्थ्य न्त्री म्याट ह्यान्ककले पूर्वी लन्डनस्थित एक प्रदर्शनीकक्षलाई अस्पतालमा परिणत गरिने बताए।
स्वास्थ्य सेवालाई सघाउ पुर्याउन अनि जोखिममा रहेका मानिसलाई सहयोग गर्न अढाइ लाख स्वयंसेवी भर्ना गर्ने प्रयास गरिने पनि उनले बताए। ब्रिटेनमा थप ८७ सहित ४२२ जनाको कोभिड-१९ बाट ज्यान गइसकेको छ।
कोरोनाभाइरसका कारण इटलीले चर्को मूल्य चुकाउने क्रम रोकिएको छैन। त्यहाँ गत २४ घण्टामा थप ७४३ जनाको ज्यान गएको छ।
तर नयाँ सङ्क्रमणको वृद्धि दर भने लगातार तेस्रो दिन पनि घटेको छ।
स्पेनमा एक दिनमा ५,०० जनाभन्दा धेरैको ज्यान गएपछि उसले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोसँग मानवीय सहायता मागेको छ।











