कोरोनाभाइरस: वुहानमा पाँच दिनको शून्यतापछि फेरि नयाँ सङ्क्रमण

तस्बिर स्रोत, Getty Images
अहिले विश्वभरि फैलिरहेको कोरोनाभाइरसको उद्गमस्थल मानिएको चीनको वुहान सहरमा पाँच दिनको शून्यतापछि फेरि उक्त भाइरस देखा परेको छ।
कोभिड-१९ नामक रोग लगाउने नयाँ कोरोनाभाइरस पहिलो पटक हुबे प्रान्तको उक्त सहरमा देखिएको थियो।
त्यहाँ केही दिनयता सङ्क्रमण घट्दै गएको थियो तथा पाँच दिनदेखि कुनै पनि नयाँ सङ्क्रमण देखिएको थिएन।
अहिले चीनभित्रबाट भन्दा पनि बाहिरबाट सङ्क्रमण भित्रिरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार विगत २४ घण्टामा चिनियाँ मुख्य भूभागमा ८० वटा नयाँ सङ्क्रमण पाइएको छ।
सङ्क्रमित व्यक्तिमध्ये चार जना बाहेक बाँकी सबै चीन बाहिरबाट आएको अधिकारीहरूको भनाइ छ।
दक्षिण कोरियामा घट्दै
चीनको पूर्वी छिमेकी दक्षिण कोरियामा कोरोनाभाइरस सङक्रमण घट्ने क्रम जारी रहेको छ। चार हप्ताअघि त्यहाँ सङ्क्रमण दर उच्च रहेको थियो।

तस्बिर स्रोत, EPA
त्यहाँ विगत २४ घण्टामा कोभिड-१९ भएका ६४ जना व्यक्ति भेटिएको बताइएको छ।
त्यससँगै त्यहाँ सङ्क्रमित मानिसको सङ्ख्या ८,९६१ पुगेको छ। त्यहाँ १११ जनाको ज्यान गइसकेको छ।
दक्षिण कोरियामा स्वास्थ्यकर्मीहरूले सर्वसाधारणहरूले अझै पर्याप्त सावधानी नअपनाएको भन्दै कोरोनाभाइरससँगको सङ्घर्ष अझै लामो हुन सक्ने बताएका छन्।
दक्षिण कोरियामा दैनिक २०,००० जनाको परीक्षण भइरहेको छ। यो दर विश्वभरिकै सबैभन्दा बढी हो।
त्यहाँ अहिले सार्वजनिक र निजी प्रयोगशालाहरूको सञ्जाल बनाइएको छ।
रोगको लक्षण देखिएका मानिसहरू आफैँ गाडी चलाएर गई स्वास्थ्य परीक्षण गराउन सक्छन्।

- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्


युरोपको स्थिति
युरोप अहिले पनि विश्वव्यापी महामारीको केन्द्रबिन्दु बनेको छ।
इटलीमा आइतवार ६५१ जनाको मृत्यु भएको जनाइएको छ।
त्योसँगै त्यहाँ कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या ५,४७६ पुगेको छ।
स्पेनमा विगत २४ घण्टामा ४६२ जनाको मृत्यु भएको छ।
यो वृद्धिसँगै त्यहाँ मृत्यु हुनेको सङ्ख्या २,१८२ पुगेको छ।








