जब दुई इन्चको मुसाले ३७ घण्टा व्यावसायिक उडान रोक्यो

तस्बिर स्रोत, COURTESY: BUDDHA AIR
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली, संवाददाता
आफ्नो एउटा यात्रुवाहक विमानभित्र मुसा फेलापरेपछि उक्त विमानको व्यावसायिक उडान लगभग ३७ घण्टा अवरुद्ध भएको बुद्ध एअर सम्बद्ध अधिकारीहरूले जनाएका छन्।
शनिवार बिहान मधेश प्रदेशको राजधानी जनकपुरबाट उक्त विमान काठमाण्डू आउने तय भएको थियो।
उडानका लागि यात्रुहरू विमान चढिसकेपछि एक जना यात्रुले मुसा देखेपछि उड्डयन सुरक्षा प्रोटोकललाई मध्यनजर गर्दै उडान स्थगित गरी यात्रुहरूलाई अर्को विमानमा काठमाण्डू पठाएर जाँच अघि बढाइएको थियो।
विमानभित्र थापिएको पासोमा करिब २४ घण्टापछि मुसो परेको भएपनि सम्पूर्ण निरीक्षण प्रक्रिया पुरा गरेर मात्रै व्यावसायिक उडान थालिएको उक्त वायु सेवाले जनाएको छ।
नागरिक उड्डयन प्राधिकरणका एक जना प्रवक्ताले यो घटनालाई आफूहरूले गम्भीर रूपमा लिएको भन्दै उड्डयन सुरक्षामा सम्झौता गर्न नसकिने बताएका छन्।
यो घटना के हो?
बुद्ध एअरका अनुसार काठमाण्डूबाट जनकपुर गएको 9N-AJL कलसाइन भएको ७२ सीट क्षमताको एटिआर विमान राजधानी फर्कने क्रममा यो घटना भएको हो।
जनकपुर विमानस्थलका प्रमुख भिमदत्त पन्तका अनुसार यात्रुले मुसा देखेको खबर उडान भर्न ठिक्क परेका पाइलटले टावरलाई दिएपछि सुरक्षा प्रोटोकललाई ध्यान दिँदै उडान स्थगित गरिएको थियो।
उनले भने, “त्यसपछि सम्पूर्ण जाँच गरियो र त्यो रात त्यो विमान यहीँ बस्यो। दोस्रो दिनमात्रै मुसोलाई पासोमा पार्न सकियो।”
उनका अनुसार मुसा फेलापरेपछि थप प्राविधिकसहित बुद्ध एअरको टोली जनकपुर पुग्यो जसले लगभग ३ घण्टा ग्राउन्ड तथा रन अप परीक्षणहरू गरेको थियो।
पन्तले भने, “यो जहाज उडाउन योग्य छ भनेर इन्जिनियरले प्रतिवेदन दिइसकेपछि मात्रै हामीले उडानका लागि अनुमति दिएका हौँ।”
त्यसपछि उक्त रित्तो जहाजलाई प्रशिक्षक पाइलट र प्राविधिकले काठमाण्डू ल्याएर थप जाँच गरेका थिए।


कसरी मुसा फेला पर्यो?

तस्बिर स्रोत, SANJEEV GIRI / BBC
बुद्ध एअरका सञ्चारव्यवस्थापक दिपेन्द्र कर्णका अनुसार कार्गो र लगेज विमानमा राखेर यात्रुहरूलाई ‘बोर्डिङ्ग’ गरिरहँदा एक जना महिला यात्रुले मुसा देखिएको गुनासो गरेकी थिइन्।
तिनीसँगै रहेकी अर्की महिला यात्रुले पनि मुसा भएको पुष्टि गरेपछि तत्कालै जहाज खाली गराइएको थियो। त्यसपछि उनीहरूलाई वैकल्पिक जहाज व्यवस्था गरेर काठमाण्डू पठाइएको थियो।
कर्णले भने, “त्यो दिन हामीले हरेक पार्ट पुर्जा जुन खोलेर हेर्न मिल्नेछ त्यो हेर्यौँ। हामीले ठाउँ-ठाउँमा मुसालाई ट्र्याप गर्ने पासोहरू पनि राख्यौँ। र, भोलीपल्ट बिहान २ इन्च लम्बाईको मुसा पासोमा पर्यो। त्यसपछि काठमाण्डूबाट गएको हाम्रो प्राविधिक टोलीले सम्पूर्ण चेकजाँच गर्यो, दुई तीन घण्टा जहाज स्टार्ट गरेर रन अपहरू पनि लिइयो। र नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर प्रशिक्षक चालक र प्राविधिक टोलीले त्यसलाई काठमाण्डू ल्यायौँ।”
उनले काठमाण्डू ल्याएर पनि थप परीक्षणहरू गरेर आइतबारबाट व्यावसायिक उडान गर्नुअघि लगभग ३७ घण्टा उक्त प्लेनले व्यावसायिक उडानहरू नगरेको जानकारी दिए।
विमानभित्र मुसा कसरी पस्यो?
अधिकारीहरूले नेपालमा उड्न लागेको विमानभित्र मुसा देखिएको सम्भवतः यो पहिलो घटना भएको बताएका छन्।
तर कसरी मुसा पस्यो भन्नेबारे उनीहरूले केही पनि खुलाएका छैनन्।
बुद्ध एअरले समाजिक सञ्जाल फेसबुकमा उक्त घटनाबारे जानकारी दिन राखेको पोस्टमा यात्रुहरूलाई आफ्नो ब्यागेज तथा लगेज राम्रोसँग बन्द गरेर ल्याउन अनुरोध गरेको छ।


नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यस्ता घटनाहरूलाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताए।
उनले भने, “मुसा यात्रुहरूकै सामानबाट पसेको पनि हुनसक्छ वा काठमाण्डूमा वास बसेको जहाज यहीँबाट पनि गएको हुनसक्छ। तर मुख्य कुरा त्यसले कति बिगार गर्यो भन्ने हो। बोर्डिङ गर्दा गर्दै मुसा देखिएकाले त्यसले खासै असर गरेन।”

तस्बिर स्रोत, Getty Images
मुसा फेला परेको यो पहिलो घटना भएको भन्दै उनले थपे, “जहाज चेक जाँच गरेर उडाइएको हुन्छ। यात्रुहरूले खाने सामानहरू ल्याएका कारणले पनि मुसा आएको हो की भनेर आशङ्का गर्न सकिन्छ।”
उनका अनुसार मुसाले तारहरू काट्ने जस्ता जोखिमप्रति आफूहरूको चिन्ता रहने भन्दै त्यसकै लागि विमानको प्राविधिक जाँच गराइएको उल्लेख गरे।
उनले भने, “मुसाले तारहरू काट्न सक्छ र त्यसले सञ्चार नै अवरुद्ध गर्न सक्छ। यसपाली समस्या देखिएन। तर अब यात्रु र एअरलाइन्सका साथीहरूसहित सबै पक्षले यस्तो घटना नदोहोरिने गरी काम गर्नुपर्छ।”
उनले उडिरहेको विमानमा मुसा वा कुनै जोखिम उत्पन्न गराउने जनावर देखिए सो विमानलाई तत्कालै नजिकको विमानस्थलमा अवतरण गराएर चेक जाँच गर्नुपर्ने व्यवस्था उड्डयन सुरक्षा सम्बन्धी मापदण्डमा गरिएको जनाए।
जनावरसँग जोडिएका कस्ता अन्य हवाई दुर्घटना नेपालमा हुन्छन्
केही समय पहिले पार्किङ गरेर राखिएको नेपाल वायु सेवा निगमको विमानको ककपिट नजिकैको झ्याल खुल्ला राखिएको पाइएपछि सुरक्षा चिन्ताहरू व्यक्त भएका थिए।
उक्त घटनामा दुई जना प्राविधिकलाई कामबाट वञ्चित गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणको सन् २०२२ को हवाई सुरक्षा प्रतिवेदनका अनुसार जनावर र चरासँग सम्बन्धित कारणहरूले नेपालको नागरिक उड्डयन क्षेत्रमा उल्लेख्य चुनौती थप्ने गरेको छ।
उक्त प्रतिवेदनमा चरासँग जोडिएका ७३ र जनावरसँग जोडिएका १९ घटनाको चर्चा गरिएको छ।
चरामा धेरै घटनाहरू चील, गिद्ध, लाटोकोसेरो र अन्य साना पक्षीसँगका घटना बढी हुने प्रतिवेदनमा जनाइएको छ।
त्यसबाहेक स्याल, कुकुर, नीलगाई, बँदेल, दुम्सीजस्ता जनावर पनि विमानसँग ठोक्किएका घटना सो प्रतिवेदनमा उल्लेख छ।
कतिपय नेपालका विमानस्थलमा चरा र बाँदर धपाउन सिकारीहरू तैनाथ गरिएका अधिकारीहरूले जनाएका छन्।








