नेपाली क्रिकेटरहरू अन्तिम समयमा किन चुकिरहेका छन्

क्रिकेट हेरिरहेका नेपाली दर्शकहरू

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

फेरि एक पटक उस्तै घटना दोहोरियो।

आईसीसी क्रिकेट विश्वकप लीग २ को स्कटल्यान्डविरुद्धको खेलमा गुलशन झाले अन्तिम समयमा दबाव झेल्न नसक्दा नेपाल दुई रनले पराजित हुन पुग्यो।

संयोग के रह्यो भने पछिल्ला केही ठूला अन्तर्राष्ट्रिय हार बेहोरेको खेलमा क्रिजमा गुलशन झा थिए। त्यसैले गुलशनको चर्चा फेरि चुलिएको छ।

उनलाई आलोचना गर्ने वा सान्त्वना दिने दुवै खाले समर्थकहरूले अहिले बहस गरिरहेका छन्।

हुन त क्रिकेटको मजा नै त्यही हो। प्राय: अन्तिम ओभरसम्म पुगेको खेल हेर्नुको मजा नै बेग्लै हुन्छ।

यद्यपि बारम्बार चुक्दा प्रश्न उठेको छ- नेपाली खेलाडीहरू ठूला टीमविरुद्ध दबाव झेल्न किन सकिरहेका छैनन्?

राष्ट्रिय टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरी भन्छन्, "खेलाडीले त्यति बेला के निर्णय लिन्छन्, त्यही नै महत्त्वपूर्ण हुन्छ। यो 'निर्णय क्षमता' को कुरा हो।"

नेपाली खेलाडीहरूको दबाव झेल्न सक्ने/नसक्ने वा दबावका बेला निर्णय लिन सक्ने विषयमा कहाँ चुकिरहेका छन्, त्यो अहिले मूल बहसको विषय बनिरहेको छ।

गुलशनको संयोग

नेपाली क्रिकेट खेलाडीहरू

तस्बिर स्रोत, CAN

सुरुमा तीन ठूला खेलको कुरा गरौँ।

सन् २०२४ को अमेरिका/वेस्ट इन्डिज टी २० विश्वकपमा दक्षिण अफ्रिकासँगको १ रनको हार त नेपाली क्रिकेट प्रेमीहरूले कहिल्यै बिर्सन नसक्ने घटना भइहाल्यो। त्यति बेला क्रिजमा गुलशन थिए।

एक रन लिन सक्ने अवस्था हुँदा पनि त्यो 'अत्यन्त तनावको क्षण' मा उनी चुक्न पुगेका थिए।

दुई महिनाअगाडि मुम्बई टी २० विश्वकपमा इङ्ल्यान्डसँगको ४ रनको हार अर्को ठूलो नमुना बन्यो, जहाँ लोकेश बमले अन्तिम समयमा दबाव झेल्न सकेनन्। त्यहाँ करण केसीले स्ट्राइक लोकेशलाई दिन रुचाए भने अघिल्लो बलमा गुलशन झा बोल्ड हुन पुगेका थिए।

कीर्तिपुर क्रिकेट रङ्गशालामा जारी आइसीसी विश्वकप लीग २ को स्कटल्यान्डविरुद्ध यसै हप्ता बेहोरेको २ रनको हार फेरि ताजा उदाहरण बन्न पुगेको छ।

त्यहाँ लगभग कठिन स्थितिबाट खेल उकास्ने क्रममा उनले गजबको खेल पस्किँदै आफ्नो अर्धशतकका साथ टोलीलाई जित नजिक सम्म पुर्‍याए। तर अन्तिममा चुक्न पुगे।

क्रिकेट खेलाडी गुलशन झा

तस्बिर स्रोत, CAN

निर्णय क्षमता

त्यसो त नेपाली क्रिकेट टीमले 'कार्डियाक किड्स' अर्थात् 'हृदयाघात गराउने केटाहरू' को उपनाम नै पाएको छ।

थुप्रै यस्ता खेलहरू नेपालले खेलेको छ, जहाँ अन्तिम बलमा खेलको निर्णय भएको छ।

यस्तोमा कैयौँ खेलमा नेपालले जित हासिल पनि गरेको छ। तर ठूला खेलहरूमा चुक्नु चिन्ताको विषय बनेको छ।

दक्षिण अफ्रिका र इङ्गल्यान्ड जस्ता टेस्ट राष्ट्र सँगको हारलाई क्रिकेट विश्लेषकहरूले 'टेस्ट र एसोसियट राष्ट्रबीचको भिन्नता' भनेर विश्लेषण गरेका थिए।

विश्वकप लीगकै शृङ्खलाअन्तर्गत गत वर्ष स्कटल्यान्डमा गएर खेलेको अन्तिम खेलमा पनि नेपाल २ रनले नै पराजित भएको थियो। त्यसपछिको यो भेटमा पनि त्यही नियति दोहोरिन पुग्यो।

बढीभन्दा बढी अन्तर्राष्ट्रिय अनुभव बोकिसकेका खेलाडीहरूले दबाव खेप्न सक्ने र कठिन परिस्थितिमा पनि खेल जिताउने सक्ने बताइन्छ।

नेपालका खेलाडीहरूको अनुभव पुगेको छैन भने विगत चार वर्षदेखि लगभग उही खेलाडीहरू राष्ट्रिय टोलीमा छन् र उनीहरूले निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन्। तर अझै पनि कहीँ न कहीँ केही नपुगेको जस्तो देखिएको छ।

पूर्वकप्तान चौधरी थप्छन्, "अहिले पनि अनुभव कम छ भन्न मिल्ने अवस्था पनि छैन। 'माइन्ड सेट' को कमी हो। धेरैभन्दा धेरै अभ्यासको विकल्प छैन।"

उनका अनुसार खेलाडीहरूलाई मानसिक रूपमा बलियो बन्ने विषयहरूमा प्रशिक्षण दिनुपर्छ।

क्रिकेट खेलाडीहरू

तस्बिर स्रोत, CAN

जित्ने मनोविज्ञान

रङ्गशालाभरिका दर्शकमाझ तनावको त्यस्तो समयमा खेल्नु सहज भने कुनै पनि खेलाडीलाई हुँदैन।

नेपालका प्रशिक्षक स्टुअर्ट ल ले स्कटल्यान्डसँगको पराजयपछि खेलाडीहरूको बचाउ गर्दै भनेका थिएः "टीभीमा हेरे जस्तो मैदानमा सजिलो हुँदैन।"

तर खेलमा जित्ने मनोविज्ञान सबैभन्दा महत्त्वपूर्ण हुने गर्छ, जसको कमी नेपाली खेलाडीहरूमा देखिएको आभास भएको छ।

भारतीय टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीले भनेका थिए, "त्यस्तो बेला शारीरिक शक्तिभन्दा मानसिक शक्ति जरुरी हुन्छ।"

नेपाली राष्ट्रिय टोली 'ए' का प्रशिक्षक राजु बस्नेत दबावको स्थितिसम्म खेल पुग्न नदिने सूत्र नेपालका लागि आवश्यक रहेको बताउँछन्।

उनका अनुसार कतिपय बेला नेपाली खेलाडीहरूले खेललाई अन्तिम बलसम्म लाने गर्दा फस्न पुगेको देखिएका छन्।

उनी भन्छन्, " अन्तिम बलसम्म खेल पुर्‍याउन दिनु हुँदैन। एक दुई ओभरअगाडि नै रिस्क उठाऊँ। दबावको स्थितिसम्म किन खेललाई लाने ? "

नेपाली टोली अहिले आईसीसी विश्वकप लीग २ शृङ्खलाको खराब स्थितिमा छ। त्यसबाट पार पाउन नेपालले अबका खेलहरूमा जित्नुको विकल्प देखिँदैन।

यस्तोमा नेपाली खेलाडीहरूलाई दबावको स्थितिबाट निकाल्न अझ धेरै मानसिक प्रशिक्षणहरूको आवश्यकता भने टड्कारो देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।