पारस खड्का भन्छन् राष्ट्रिय क्रिकेट टोलीमा पर्न धेरै युवा खेलाडी आतुर छन्

तस्बिर स्रोत, Courtesy: Raman Shiwakoti
संयुक्त अरब इमिरेट्समा हाल जारी नेपाल-युएई क्रिकेट प्रतियोगितामा नेपालले एकदिवसीय श्रृङ्खला आफ्नो पोल्टामा पारिसक्यो।
ट्वेन्टी ट्वेन्टी श्रृङ्खला हाल एक-एक को बराबरीमा रहेको छ।
आइतवार हुने निर्णायक खेलको पूर्वसन्ध्यामा नेपाली टोलीका कप्तान पारस खड्काले आफ्ना खेलाडीहरूको प्रदर्शनप्रति सन्तोष व्यक्त गरेका छन्।
"दुई चार खेलकै आधारमा मूल्याङ्कन गरिहाल्ने बेला हुँदैन। तर हाम्रो टोली सही बाटोमा चाहिँ छ," उनले बीबीसीसँग बोल्दै भने।
भविष्य उज्ज्वल छ तर धेरै मेहनत गर्न बाँकी छ।
"युएईलाई उसकै मैदानमा हराएर श्रृङ्खला जित्नु सहज चुनौती होइन। त्यसैले एक टोलीको रूपमा हामीले राम्रो प्रदर्शन गर्यौँ।"
राष्ट्रिय टोलीमा पर्न तीव्र प्रतिस्पर्धा किन?
पछिल्ला खेलहरूमा नयाँ खेलाडीहरूले पनि निकै राम्रो प्रदर्शन गरेको देखिँदा कप्तान पारस खड्काले अब राष्ट्रिय टोलीको ११ सदस्यभित्र पर्न पनि निकै प्रतिस्पर्धा बढेको अनुभव सुनाए।
"यस्तो प्रतिस्पर्धा हुनु राम्रो हो। यसले खेलाडीहरूलाई उच्च प्रदर्शन गरिरहन मद्दत पुग्छ," उनले भने।
"धेरै खेलाडी छन् जसले ढोका ढक्ढक्याइरहेका छन्। अब त राम्रो प्रदर्शन नगरि स्थान पक्का हुन सक्दैन। आगामी वर्षहरूमा शक्तिशाली टोली बनाउने हाम्रो आकांक्षा छ र यसलाई यो प्रतिस्पर्धाले सहयोग पुग्छ भन्ने आशा छ।"
कीर्तिमानको चर्चा
यसै श्रृङ्खलाका बेला दुई नेपाली खेलाडीले विश्व कीर्तिमान रचे।
रोहित पौडेलले भारतका सचिन तेन्दुलकर तथा पाकिस्तानका शाहिद अफ्रिदीको कीर्तिमान तोड्दै सबभन्दा कम उमेरमा अर्धशतक बनाएको रेकर्ड राखे।
"रोहितले राम्रो खेल्दै आएको छ। त्यतिखेर हामी कसैलाई थाहा थिएन कि उसको कीर्तिमान बन्दैछ भनेर। एउटा म्याच भन्दा पनि आगामी दिनमा निरन्तर राम्रो प्रदर्शन गर्नु जरूरी छ," खड्काले भने।
त्यस्तै सन्दीप जोराले ट्वेन्टी ट्वेन्टी खेलमा सबभन्दा कम उमेरमा अर्धशतकको रेकर्ड राखे।
"ठीक छ राम्रा छन् युवा खेलाडीहरू। उनीहरूमा राम्रो प्रदर्शन गर्ने भोक छ।"








